भर्खरै :

भक्तपुरको शैक्षिक विकासमा बाहिरी जिल्लाका शिक्षकहरूको पनि महत्वपूर्ण योगदान

भक्तपुरको शैक्षिक विकासमा बाहिरी जिल्लाका शिक्षकहरूको पनि महत्वपूर्ण योगदान

भक्तपुर, २६ फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा बासु माध्यमिक विद्यालय, कालीघाटको ६२ औँ वार्षिकोत्सव समारोह– २०८१ को अवसरमा शिक्षक सम्मान, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
कलात्मक पानसमा दीप प्रज्ज्वलनका साथ समुद्घाटित उक्त कार्यक्रममा अतिथि बिजुक्छेँले शुभकामना मन्तव्य राख्दै शासक दलले विगतमा स्थानीय निकायलाई १५ वर्ष जनप्रतिनिधिविहीन बनाउँदा देशको विकास धेरै पछाडि परेको प्रस्ट पार्नुभयो ।
स्थानीय तहमा जनप्रतिनिधिले निरन्तरता पाएको भए भक्तपुर देशको लागि अझ नमूना लायक हुने थियो भन्दै उहाँले हामीसँग नभएको सीप विदेशबाट पनि सिक्न सकिने बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले अगाडि भन्नुभयो, “तर, यहाँका शासक सांसदहरू विदेशबाट सीप हैन सुन ल्याउने, सम्पत्ति कुम्ल्याउने बुद्धिका छन्; पञ्चायतको पालामा एक जनामात्र सुन बुढा थिए भने अहिले शासक दलका सांसदहरू धेरै ‘सुन बुढा’ भए ।”
बासु खेलकुद र बाजागाजामा ख्याती कमाएको विद्यालय हो भन्दै उहाँले कुनै बेला भक्तपुरका चोक चोकमा टेबलटेनिस बोर्डहरू भएको र किसानका छोराछोरीले उपत्यकाका हरेक प्रतियोगितामा पुरस्कार जितेको स्मरण गर्नुभयो ।
भक्तपुरको शैक्षिक विकासमा बाहिरी जिल्लाका शिक्षकहरूको पनि महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उहाँले विद्यालय व्यवस्थापन र नेतृत्वमा रहेका साथीहरूले कुनै पनि कमिशनको चलखेलमा नलाग्न सुझाव दिनुभयो ।
समाजवादी देशमा राज्यले जनताको सम्पूर्ण जिम्मेवारी बहन गरेको हुँदा देशभक्त मजदुरहरू ८ घण्टा काम गरेपुग्ने मा देशको लागि योगदान गर्ने भनेर थप ४ घण्टा बिनापारिश्रमिक काम गर्थे भन्दै अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “अरू देशलाई प्रगतिमा उछिन्ने राजनीतिक भावना शिक्षकसित भए त्यहीअनुसारको शिक्षा विद्यार्थीलाई प्रदान गर्नेछन् ।”
एक अर्को प्रसङ्गमा उहाँले राजा वर्गीयरूपले सामन्त वर्गमा पर्ने चर्चा गर्दै सिहानोकजस्ता कोही कोही देशभक्त राजा भए पनि बेलायती क्रान्ति र फ्रान्सेली क्रान्तिमा देशद्रोही राजाहरूलाई मृत्युदण्ड दिएको इतिहास बिर्सन नहुने बताउनुभयो ।
आफूलाई राजावादी भन्नेहरूलाई उहाँले प्रश्न गर्नुभयो, “राजा महेन्द्रले ल्याएको भूमिसुधारको बारेमा किन केही नबोलेको ? राजाबाट फाइदा पाएर मात्र राजावादी हुने हो ?”
सानो बेलाको लुगा ठुलो भएपछि काम नलागेको उपमा दिँदै उहाँले आज राजतन्त्र सान्दर्भिक नभएको प्रस्ट पार्नुभयो ।
अध्यक्ष बिजुक्छेँले सल्लाघारीको भक्तपुर नगरवासीको १०८ रोपनी जग्गामा समेत राजावादीहरूले कमिसन खोजेको बताउँदै राजालाई कन्जुसको सङ्ज्ञा दिनुभयो ।
जनताको चेतनास्तर नउठाई भोजभतेर खुवाएर गर्ने ठुलो भेलाको खासै अर्थ नहुने बताउँदै उहाँले समयानुकूल शिक्षण विधि अपनाए जनताका छोराछोरीहरूको इमानदारीपूर्वक सेवामा समर्पित हुन शिक्षकहरूलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा वाग्मती प्रदेशसभाका सांसद सृजना सैंजुले बासु स्कूलमा ८१ प्रतिशत बाहिरी जिल्लाका विद्यार्थीहरू अध्ययनरत रहेको सुन्दा भक्तपुर साँच्चै शैक्षिक गन्तव्य वा ज्ञानविज्ञानको केन्द्रको रूपमा अगाडि बढिरहेको प्रस्ट भएको बताउनुभयो ।
शिक्षण पेशामा ७० प्रतिशत महिलाहरू रहेको हुँदा देशको शिक्षा महिलाहरूको काँधमा छ, उहाँले भन्नुभयो ।
क्युवाका नेता क्यास्ट्रोले ‘क्रान्तिभित्रको क्रान्ति’ भनेझैँ नेमकिपाले मागेको बेलामा नै ख्वप विश्वविद्यालय पाएको भए आज टोल टोलमा चिकित्सक हुनेथिए भन्दै उहाँले शिक्षित र सङ्गठित महिला आजको आवश्यकता भएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले शिक्षक महासङ्घले काठमाडौँमा गरेको आन्दोलनमा देखिएको शिक्षकहरूको भेल ठुलो भए पनि वैचारिकरूपमा मेल नभएको प्रस्ट पार्दै पार्नुभयो, “एक नेताले शिक्षा विधेयक तुरून्त पारित गर्न माग गर्नुभयो भने अर्को नेताले उक्त विधेयक खारेजीको माग गर्नुभयो । महासङ्घ शिक्षा विधेयक खारेज वा पारित के गर्न चाहन्छ ? प्रस्ट होस् ।”
नेक्राशिसङ्घ शिक्षक महासङ्घमा नभएको स्पष्ट पार्र्दै उहाँले भन्नुभयो, “संविधानको सूची ८ ले मा.वि. तह स्थानीय तहको एकल अधिकारलाई हामी थप सबल बनाउन चाहन्छौँ तर महासङ्घ स्थानीय तहअन्तर्गत बस्न नचाहेको मात्र हैन जनप्रतिनिधिको अवमूल्यनसमेत गर्छ; जबकी जनप्रतिनिधि चुन्ने पनि उही महासङ्घका साथीहरू नै हुन् ।”
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् भनपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाको सभापतित्वमा भएको उक्त कार्यक्रममा सार्वजनिक मा.वि. समितिका अध्यक्ष राशेनराज तुइतुई, शिक्षक रामकुमार निरौला, वार्षिकोत्सव कार्यक्रम समितिका संयोजक विष्णुप्रसाद दुमरूले पनि बोल्नुभएको थियो ।
‘बासु’ बुलेटिन विमोचन गरिएको उक्त कार्यक्रममा विद्यालयका प्रअ रविलाल प्रधानले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
प्रतिवेदनअनुसार विद्यालयमा ९२१ जना विद्यार्थी रहेको, शिक्षक कर्मचारी दरबन्दी ३९ र निजी स्रोतका शिक्षकहरू ४४ जना छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *