मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
नेपाल मजदुर किसान पार्टी स्थापनाकालदेखि नै निरङ्कुश राजतन्त्रविरूद्ध कानुनी र गैरकानुनी सङ्घर्ष गर्दै आएको कम्युनिस्ट पार्टी हो; प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घ संस्थाभित्र पसेर देश र जनताको निःस्वार्थ र इमानदारीपूर्वक सेवा गर्दै आएको पार्टी हो । बहुदल र निर्दलबिचको जनमतसङ्ग्रहमा बहुदलको पक्षमा प्रचार गर्ने कम्युनिस्ट पार्टीहरूमध्ये नेमकिपा अग्रस्थानमा छ । जनमतसङ्ग्रहलाई शान्तिपूर्ण, निष्पक्ष बनाउन देशभित्र र बाहिर रहेका सबै राजबन्दीहरूलाई बिनासर्त रिहा गर्नुपर्ने, जाली मुद्दा खारेज गर्नुपर्ने, १८ वर्ष उमेरका मतदाताले मतदान गर्न पाउनुपर्ने आदि नारा अघि सार्दै वामपन्थी आन्दोलन भएको थियो । निरङ्कुश पञ्चायती व्यवस्था अन्त्य गर्नको निम्ति सदन र सडकमा आन्दोलन गर्दै आएको पार्टी नेमकिपा हो । यसरी सुरूदेखि पञ्चायती व्यवस्था अन्त्य नभएसम्म सङ्घर्ष गर्दै आएको पार्टी कसरी ‘राजतन्त्रवादी’ हुन्छ ?
पञ्चायती व्यवस्थालाई हाँक दिँदै तत्कालीन भक्तपुर नगर पञ्चायतले सरकारले गर्न नसकेको कक्षा ६ देखि ७ सम्म निःशुल्क गरेको थियो । पञ्चायती व्यवस्थाकै विरोध गरेको कारण पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) १० वर्षसम्म प्रवासमा बसेका थिए । पञ्चायती व्यवस्था अन्त्य गर्न सदा लागिपरेको पार्टी नेमकिपा र पार्टी अध्यक्ष रोहितलाई ‘राजतन्त्रको दास’ को उपमा दिनु निन्दनीय छ; लामो समयसम्म देश र जनताको पक्षमा सङ्घर्ष गरिरहेको दल र दलका अध्यक्ष रोहितलाई नचिन्नु बुझेर पनि बुझ पचाउनु हो; विरोधको लागि विरोध गर्नु हो; यो दृष्टिदोष हो; यो अन्धाले हात्ती छामेजस्तै हो ।
पञ्चायती व्यवस्थाको विरोध गरेर देश र जनताको सेवा गरेकै कारण पञ्चायती राज्यस्तरले तत्कालीन नेपाल मजदुर किसान सङ्गठन (पार्टी) लाई तहसनहस पार्न, सङ्गठन (पार्टी) का नेता तथा कार्यकर्ताहरूलाई त्यस दलबाट अलग्ग गराउन भक्तपुर काण्ड रचेको थियो । पञ्चायती राज्यस्तरबाट रचिएको भक्तपुर काण्डमा पार्टी अध्यक्ष रोहितलगायत अन्य नेता तथा कार्यकर्ताहरूलाई फाँसीको माग गरिएको थियो । पार्टीका नेता तथा कार्यकर्ताहरूको घर–घरमा गई पक्राउ गरिएको थियो; शारीरिक र मानसिक यातना दिइएको थियो । जिन्दगीभर जेलमा कोच्ने, सम्पत्ति सबै राष्ट्रियकरण गर्ने धाक धम्की दिइएको थियो । कुनै पनि पार्टीका नेता, कार्यकर्ता, समर्थक त के शुभचिन्तकहरू समेत कोही बाहिर आउन पाउँदैनथे; आएको थाहा हुनेबित्तिकै पक्राउ गर्थे । पञ्चायती शासक, पञ्चायती गुण्डा र प्रहरीले नेमकिपालाई समूल नष्ट गर्न राज्य आतड्ढ मच्चाएका थिए । त्यसको विरोधमा लड्ने, शत्रुसामु नझुक्ने, ज्यानको बाजी राखेर पञ्चायती व्यवस्थाविरूद्ध निरन्तर लडेको पार्टी र पार्टीका नेताहरू कसरी ‘राजतन्त्रका दास’ हुन्छन् ? दल र दलका अध्यक्ष रोहितको भावना र मर्म नै नबुझी आँखा चिम्लेर टिप्पणी गर्नु ‘चराको धोती हुँदैन; नकच्चरोलाई लाज हुँदैन’ जस्तै भएन र ?
पञ्चायती निरङ्कुश व्यवस्था फाल्न, राजनीतिक र मौलिक अधिकारसहित राजनीतिक दल खोल्न पाउन कहिले खुला, कहिले गोप्य, कहिले कानुनी र कहिले गैरकानुनी सङ्घर्ष गरेको दल र दलका अध्यक्षलाई चिन्न नसक्ने त्यो व्यक्तिमा अराजनीतिक चरित्र भएको थाहा हुन्छ । पञ्चायती व्यवस्थाविरूद्ध लड्दा लड्दै पार्टीका सयौँ नेता तथा कार्यकर्ता जेलमा परे, भूमिगत भए; जाली मुद्दामा परे; शारीरिक र मानसिक यातना खाए । कति सहिद भए त कति अपाङ्ग भए । नेमकिपा सामन्तवादविरोधी मात्र होइन, साम्राज्यवाद, विस्तारवाद, पुँजीवाद, उपनिवेशवादविरोधी दल हो । अहिले पनि नेमकिपा सामन्तवाद, साम्राज्यवाद, विस्तारवाद, पुँजीवादी, उपनिवेशवादको विरोधमा लड्दै छ । नेमकिपाको धारणा राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा स्पष्ट छ । नेमकिपाले जनतालाई कम्युनिस्टको नाउँमा भ्रममा राख्नु आवश्यक छैन । कम्युनिस्टहरू राजतन्त्रविरोधी हुन्छन् । निरङ्कुश पञ्चायती व्यवस्थाको निरन्तर विरोध गर्ने दल नेमकिपा हो । ‘राजतन्त्रको दास’ देख्ने त्यो व्यक्तिको कतै होस गुमेको त छैन ? के उनको दिमागमा गोबरले भरिएको छ ? सत्ता परिवर्तनको निम्ति ‘जनयुद्ध’ हाँक्ने नेकपा माओवादी केन्द्र सरकारसामु झुकेर के क्रान्तिकारी बाटो छोडेको दल होइन ? क्रान्तिकारी बाटो छोडेकै कारण मोहन वैद्य र विप्लव समूह छुटेको होइन ? कम्युनिस्टको नाउँमा कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार छोडेर विचार नमिल्ने दलसँग कहिले सत्ता गठबन्धन गर्ने, कहिले निर्वाचनमा संयुक्त गठबन्धन गर्ने माओवादी केन्द्रसँग कम्युनिस्टको चरित्र के बाँकी छ र ! यसरी झूट कुरा फलाक्दैमा, बक्दैमा कसैको सिद्धान्त र विचारलाई ढाकछोप गर्न सक्दैन; कसैले आफ्नो झ्यालको ढोका बन्द गर्दैमा सूर्यको किरण छेक्न सक्दैन । के सूर्यलाई थुक्दैमा अँध्यारो हुन्छ ? कम्युनिस्ट भन्ने पार्टीको एक जिम्मेवार कार्यकर्ताले भ्रम छर्न, झूटको खेती गर्न सुहाउँदैन । उक्त टिप्पणी माफी मागी तुरून्त फिर्ता लिनुपर्छ ।
Leave a Reply