भर्खरै :

जातिसंहारमा बाइडेनको भूमिकाको छानबिन गर

जातिसंहारमा बाइडेनको भूमिकाको छानबिन गर

गाजामा इजरायलले गरेको युद्ध अपराध तथा मानवताविरुद्ध अपराधमा राष्ट्रपति जो बाइडेन, विदेशमन्त्री एन्टोनी ब्लिङ्केन र रक्षामन्त्री लोयड अस्टिनलगायत संरा अमेरिकाका पूर्वअधिकारीको मिलेमतो तथा उक्साहटको विषयमा छानबिन गर्न अन्तर्राष्ट्रिय फौजदारी अदालतलमा अर्जीपत्र पेस गरिएको छ ।
युद्ध अपराधका वरिष्ठ अधिवक्ता रिड ब्रोडीले भने, “इजरायलले गरेका अपराधहरूमा जो बाइडेन, एन्टोनी ब्लिङ्केन र लोयड अस्टिनको मिलेमतो रहेको विषयमा छानबिन गर्ने बलिया आधार छन् ।” ब्रोडी संरा अमेरिकाको मानवअधिकारवादी समूह ‘डन’ का बोर्ड सदस्य हुन् । यही समूहले यी तीन अमेरिकी पूर्व अधिकारमाथि छानबिन हुनुपर्ने तर्क गर्दै अन्तर्राष्ट्रिय फौजदारी अदालतमा नालिस हालेका हुन् ।
ब्रोडी भने, “प्यालेस्टिनी अस्पताल, विद्यालय तथा आवासहरूमा खसालिएका बम अमेरिकी बम हुन् । मारकाट र अत्याचार गर्ने अभियान अमेरिकी सहयोगमै चलाइएको हो ।”
“इजरायलले जे गर्दै छ त्यसबारे अमेरिकी अधिकारीहरू जानकार रहँदै आएका छन् । तैपनि, तिनको सहयोग कहिल्यै रोकिएन,” ब्रोडीले थप भने ।
हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमा पेश गरिएको सन् १७२ पृष्ठ लामो अर्जीपत्रमा ‘डन’ ले अमेरिकी अधिकारीहरूमाथि छानबिन गर्ने कानुनी र तथ्यगत आधार प्रस्तुत गरेको छ । अदालतका मुख्य अभियोजक करिम खानको आह्वानको जवाफमा सो दस्तावेज बुझाइएको हो ।
दस्तावेजमा इजरायलले गाजामा गरेका सबै कर्तुतको एकएक जानकारी अमेरिकी अधिकारीहरूलाई थियो भन्ने प्रमाणहरूको फेहरिस्त थियो । उदाहरणको लागि, दस्तावेज भन्छ – सन् २०२३ को नोभेम्बर १६ र डिसेम्बर १२ को दिन राष्ट्रपति बाइडेनले सार्वजनिकरूपमै इजरायली प्रतिरक्षा बलले (गाजामा) ‘जथाभावी बमबारी’ गरेको स्वीकारे ।
‘डन’ लेख्छ – ब्लिङ्केनले व्यक्तिगतरूपमा इजरायललाई सैन्य सहयोग गर्ने र ठाडै हतियार बेच्ने आज्ञा दिए । आफ्नै स्टाफले यो कार्यबाट अमेरिकी कानुन मिचिने भन्दै विरोध जनाउँदा पनि मानेनन् । इजरायलले यी हतियार प्रयोग गरी अपराध गर्ने जान्दाजान्दै पनि उनले यस्तो आज्ञा दिए ।
‘डन’ थप लेख्छ, “यसरी उनले गाजामा इजरायली अपराध हुन नियोजितरूपमै पर्याप्त योगदान गरे ।”
यसैगरी, सो समूहको आरोप छ – इजरायललाई सैन्य तथा राजनीतिक आड उपलब्ध गराउन अस्टिनले निरन्तर र सोद्देश्य क्रियाकलाप तथा निर्णय गरे । यति कुरा नै गाजापट्टीमा इजरायली सेनाले गरेको अपराधलाई उनले सघाएको र उक्साएको अथवा सजिलो बनाएको प्रमाणित गर्न पर्याप्त छ ।
बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान, वाणिज्यमन्त्री जिना रेइमान्डो लगायत अन्य पूर्व अमेरिकी अधिकारीहरूमाथि पनि छानबिन गरिनुपर्ने ‘डन’ को तर्क छ । वाणिज्यमन्त्री रेइमान्डोले इजरायलले आपराधिक कार्यमा प्रयोग गर्न सक्ने गरी ‘दोहोरो प्रयोग गर्न मिल्ने’ प्रविधिको निर्यातमा सघाएकी थिइन् ।
संरा अमेरिकाले ‘मारकाट र विनाश’ मा सघायो
संरा अमेरिका अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) को सदस्य होइन । तैपनि, ‘डन’ समूह औँल्याउँछ – प्यालेस्टिनमा युद्ध अपराध गर्नमा मिलिभगत गर्नेहरू जुनसुकै राष्ट्र अथवा राज्यका नागरिक भए पनि तिनीहरूलाई ‘आईसीसी’ को फैसला लाग्छ ।
प्यालेस्टिनी मानवअधिकार समूह अल–हकका निर्देशक शावन जाबारिनले भने, “अमेरिकी सहयोगबेगर गाजामा जातिसंहार हुन सक्थेन । प्यालेस्टिनका बस्तीहरू ध्वस्त पार्ने बमहरू इजरायली बम मात्र होइनन् । ती बम बाइडेन, ब्लिङ्केन र अस्टिनको आदेशमा पठाइएका अमेरिकी बम पनि हुन् ।” ‘डन’ ले आयोजना गरेको अनलाइन कार्यक्रममा बोल्दै जाबारिनले यो विचार राखेका हुन् ।
जाबारिनले भने, “प्यालेस्टिनीहरूको भोकमरी, अस्पतालहरूको विनाश र नागरिकहरूमाथि नियोजितरूपमै निसाना बनाइनु इजरायली नीति मात्र होइनन्, अमेरिकाको आडभरोसामा गरिएका अपराध पनि हुन् ।”
गत वर्षको मार्च महिनामा अन्तर्राष्ट्रिय फौजदारी अदालतले जातिसंहारमा दोषी ठह¥याएर इजरायली प्रम बेन्जामिन नेतन्याहु र पूर्वरक्षामन्त्री योआभ ग्यालान्टविरुद्ध पक्राउ पुर्जी जारी ग¥यो ।
जाबारिनले जातिसंहार गर्ने इजरायली अधिकारीका साथै त्यसमा मिलिभगत गर्ने तिनका अमेरिकी सहयोगीहरूलाई पनि अदालतको कठघरामा ल्याउनु हाल भइरहेको अपराधलाई सुस्त पार्न, रोक्न र भविष्यमा हुने अपराध रोकथाम गर्न पनि निकै महत्वपूर्ण हुने कुरामा जोड दिए ।
जाबारिनले भने, “प्रतिदिन गाजा तथा पश्चिम किनारमा प्यालेस्टिनी जनताविरुद्ध भइरहेको हिंसा र विनाशमा अमेरिकाले मलजल गर्दै छ ।”
यसमा थप्दै उनले भने, “ट्रम्पले खुलेआम गाजालाई धम्क्याउँदै छन् । गाजाको भूमि लिने र त्यहाँका जनतालाई धपाउने बताउँदै छन् । यो सम्भावना टाढा पनि छैन । अन्तर्राष्ट्रिय फौजदारी अदालतले बेलैमा केही नगरे यो गाजाको आकाशमा मडारिइरहेको वास्तविक खतरा बन्न सक्छ । अमेरिकी अधिकारीहरूलाई पनि कठघरामा उभ्याउन र जवाफदेही बनाउन सकिन्छ भनेर अदालतले अहिल्यै सन्देश दिनुपर्छ ।”
बाइडेनका अपराध पछ्याउँदै ट्रम्प
पछिल्लोपल्ट ट्रम्पले बाइडेनको पालामा बनाइएको कानुन निष्प्रभावी बनाए । अमेरिकामा बनेका हतियारलाई अन्तर्राष्ट्रिय मानवअधिकारवादी कानुन उल्लङ्घन हुने गरी प्रयोग गर्न नपाइने प्रावधान थियो त्यो कानुनमा ।
‘आईसीसी’ मा ‘डन’ समूहले बुझाएको अर्जीपत्रमा प्रस्टसँग बाइडेनको पालामा आफ्ना हतियारलाई मानवअधिकार नमिच्ने गरी प्रयोग गर्न पाइन्न भन्ने अमेरिकी कानुनको धज्जी उडेको उल्लेख छ । ‘डन’ ले अमेरिकाको त्यो कानुन कागतमै कुँजिएको बताएको छ । ट्रम्पको पछिल्लो निर्णयलाई अमेरिकी नीतिकै निरन्तरताको रूपमा हेर्न सकिन्छ ।
तर, ‘आईसीसी’ ले अटल भएर काम गरेका खण्डमा ट्रम्पले पनि ‘आईसीसी’ को कठघरामा उभिनुपर्ने हुन सक्छ । यो महिनाको सुरुमै ट्रम्पले खानलगायत अन्तर्राष्ट्रिय फौजदारी अदालतका न्यायाधिकारीहरूविरुद्ध आर्थिक प्रतिबन्ध लगाए ।
‘आईसीसी’ को स्थापना सन्धितिर औँल्याउँदै ‘डन’ समूहले लेख्छ – यो आदेशका कारण एक व्यक्तिका रूपमा राष्ट्रपति ट्रम्प पनि रोम अधिनियमको दफा ७० अन्तर्गत न्यायमा भाँजो हालेकोमा दोषी ठहरिन सक्छन् ।
गाजाबासीहरूलाई धपाउने ट्रम्पको योजना कार्यान्वयन भयो भने उनी ‘युद्ध अपराध तथा आक्रमणको अपराधमा कसुरवार’ ठहरिन सक्छन् ।
अतिक्रमित प्यालेस्टिनी भूभागमा मानवअधिकारका निम्ति राष्ट्रसङ्घकी विशेष आयुक्त फ्रान्सेस्का अल्बानिजले बाइडेन र उनलाई सघाउने उच्च अधिकारीहरूलाई कानुनी कठघरामा ल्याउने ‘डन’ को प्रयासलाई ‘महत्वपूर्ण घटनाक्रम’ भनिन् । अल्बानिजले भनिन्, “अन्तर्राष्ट्रिय न्याय यसअघि कहिल्यै यति गम्भीर र ऐतिहासिक मोडमा पुगेको थिएन ।”

स्रोत : इलेक्ट्रोनिक इन्तिफादा
अनुवाद : सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *