भर्खरै :

अक्सिडेटिभ स्ट्रेस : नसर्ने रोगको जरोकिलो

अक्सिडेटिभ स्ट्रेस : नसर्ने रोगको जरोकिलो

चिकित्सा विज्ञान, पोषण, सरसफाइ, आनुवंशिक एवं वातावरणीय पक्ष र जीवनशैलीमा आएको परिवर्तनले मानिसको आयु (लाइफस्पान) पछिल्लो एक शताब्दीमा करिब दोब्बर भएको छ । तर रोग एवं औषधिरहित उत्पादनशील आयु (हेल्थस्थापन) भने सोअनुसार बढेको छैन । केही दशक अघिसम्म बुढ्यौलीका रोगका रूपमा चिनिएका उच्च रक्तचाप एवं मुटुरोग, मधुमेह, क्यान्सर आदि रोगहरू हिजोआज युवावस्थामै सामान्य भइसकेको छ ।
सन २०१९ को तथ्याङ्कअनुसार नेपालमा ७१ प्रतिशत मानिसको नसर्ने रोगबाट अल्पायुमा मृत्यु भयो, जसमध्ये ३० प्रतिशतको मुटुजन्य रोगबाट, १० प्रतिशतको दीर्घ श्वासप्रश्वासको रोगबाट, ९ प्रतिशतको क्यान्सरबाट, ४ प्रतिशतको मधुमेहबाट र १३ प्रतिशतको अन्य नसर्ने रोगबाट मृत्यु भएको देखिन्छ । यी नसर्ने रोगहरू जीवनशैलीजन्य मेटाबोलिक समस्या हुन् ।
जुन स्वास्थ्य प्रतिकूल आहार, विहार, विचार र आचारको कारणले लाग्दछ । सन् २०१८ मा सम्पन्न संयुक्त राष्टसङ्घको तेस्रो उच्च बैठकले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणको लागि फात् वाइ फात् मोडेलअघि सारेको छ । पाँच जोखिम तत्वहरू एवं कारणहरू (धूमपान सेवन, शरिरलाई हानि गर्ने गरी मध्यपान सेवन, शारिरिक निष्क्रियता, अस्वस्थकर खानपान र वायु प्रदूषण) ले पाँच नसर्ने रोग (मुटु तथा रक्तनलीजन्य रोग, दीर्घ श्वासप्रश्वास रोग, मधुमेह, क्यान्सर र मानसिक रोग) निम्त्याउँछ । यी कारणहरूले कोषीय एवं मोलिकुलर लेभलमा अक्सिडेटिभ स्ट्रेस, क्रोनिक इन्फ्लामेसन, इन्सुलिन रेसिस्ट्यान्स, डिस्बायोसिस, माइटोक्रोन्ड्रियल डिस्फङ्सन, ग्लाइकेसन, इपिजेनेटिक परिवर्तन, मेम्ब्रेन इनस्टाबिलिटी गराउँछ । जसबाट उपर्युक्तलगायतका अन्य नसर्ने रोग लाग्दछ । यी विकारहरूमध्ये अक्सिडेटिभ स्ट्रेस नसर्ने रोगको मुख्य जरो हो ।
शरीरमा चयपचय एवं जैविक क्रिया प्रतिक्रिया (मेटाबोलिज्म) हुने क्रममा हानिकारक रसायनहरूको उत्पादन हुन्छ, जसलाई फ्रि रेडिकल भनिन्छ । फ्रि रेडिकल बारेमा अध्ययन÷अनुसन्धान हुन थालेको करिब पाँच दशकमात्र भएको छ । पछिल्लो दुई दशकमा भएका अध्ययन अनुसन्धानहरूले फ्रि रेडिकललाई नसर्ने रोगको जरोकिलोको रूपमा स्थापित गरेका छन् । शरीरमा मेटाबोलिज्मको क्रममा अक्सिजन र नाइट्रोजन फ्रि रेडिकलहरू निस्कन्छन् । यिनीहरूलाई सामान्यतया शरीरमै विद्यमान एन्टिअक्सिडेन्ट डिफेन्स प्रणालीले निष्क्रिय गर्दछ । एन्टिअक्सिडेन्टहरूलाई इन्जाइमेटिक र नन्इन्जाइमेटिक गरी दुई प्रकारमा विभाजन गरिएको छ । भिटामिन ए, सी, डी, मेलाटोनिन, ग्लुटाथियोन आदि नन् इन्जाइमेटिक डिफेन्स हुन भने काटालेज, सुपरअक्साइड डिसम्युटेज, ग्लुटाथियोन पेरोअक्सिडेज आदि इन्जाइमेटिक डिफेन्स हुन् । फ्रि रेडिकल र एन्टिअक्सिडेन्टबिच सन्तुलनको अवस्था रहेमा शरीर स्वस्थ रहन्छ ।
विभिन्न कारणहरूबाट फ्रि रेडिकलको मात्रा बढी र एन्टिअक्सिडेन्टको मात्रा कम भएको अवस्थालाई अक्सिडेटिभ स्ट्रेस भनिन्छ । अक्सिडेटिभ स्ट्रेसकै कारण चयपचयसम्बन्धी र दीर्घ रोग लाग्दछ । आयुर्वेदमा नसर्ने रोगको कारणको रूपमा उल्लेखित आम र प्राकृतिक चिकित्सामा उल्लेखित विजातीय पदार्थको अवधारणा आधुनिक चिकित्सा विज्ञानको अक्सिडेटिभ स्ट्रेससँग मेल खाने देखिन्छ ।
फ्रि रेडिकलहरूले लिपिड, प्रोटिन र डिएनएको साथै समग्र कोषिकाको संरचनामा नकारात्मक असर पारी रोगको बिजारोपण गर्दछ । यसले कोषको एन्टिअक्सिडेन्ट डिफेन्स प्रणाली कमजोर बनाउनुको साथै कोषको मर्मत हुने क्षमतामा ¥हास ल्याउँछ, बिजातीय एवं रोग कारक प्रोटिन निर्माण गर्छ र नियमित कार्य गर्न असक्षम बनाउँछ । फ्रि रेडिकलले रक्तनलिको इन्डोथेलियममा इन्जुरी र दीर्घ सुजन गराउने गर्दछ, जसले कोरोनरी मुटु रोगको आधार तयार गर्दछ । अक्सिडेटिभ स्ट्रेसको अवस्थामा कोषहरूको इन्सुलिनप्रतिको संवेदनशीलता (इन्सुलिन सेन्सेटिभिटी) कम एवं इन्सुलिन रेसिस्टान्स गराउने, क्यान्सरलगायतका रोगवाहक जिनहरू सक्रिय हुने र कोषहरूको जीवन–चक्र असन्तुलित हुने हुन्छ । अन्ततोगत्वा यिनै मोलिकुलर र सेलुलर परिवर्तनले लामो समयमा नसर्ने रोग गराउँछन् ।
वैज्ञानिक अध्ययनहरूले सूर्तिजन्य पदार्थको सेवन, मद्यपान, प्रदूषण, हेभिमेटल, जिवाणु एवं विषाणु, किटनाशक विषादि, रेडियसन, चिनी, उच्च ग्लाइसेमिक इन्डेक्स एवं प्रशोधित कार्बोहाइड्रेट, जनावरजन्य प्रोटिन, ट्रान्स फ्याट (पुनः तताइएको चिल्लो), ओमेगा ६ युक्त प्रशोधित तेल (सूर्यमुखी तेल, भटमासको तेल, मकैको तेल आदि), मोटोपना, शारीरिक निष्क्रियता, अधिक शारीरिक व्यायाम, मानसिक तनाव आदिले अक्सिडेटिभ स्ट्रेस गराउने देखाएको छ । अतः नसर्ने रोगको वास्तविक कारणहरू यीनै हुन् ।
यसरी हेर्दा नसर्ने रोगको कारण अक्सिडेटिभ स्ट्रेस रहेको र अक्सिडेटिभ स्ट्रेसको अवस्था अस्वस्थकर आहार, विहार, विचार, आचार र वातावरणबाट निम्तिने भएकाले नसर्ने रोगलाई जरैबाट निवारण गर्न अक्सिडेटिभ स्ट्रेस गराउने उल्लिखित कारणहरूको त्याग गर्न र एन्टिअक्सिडेन्ट डिफेन्स प्रणालीलाई सुदृढ गर्नु जरुरी देखिन्छ । हाल प्रचलित औषधिहरूले यो काम नगर्ने भएकाले नसर्ने रोगहरू निको नभई नियन्त्रणमात्र हुने र जीवनभर रुसेवन गरिरहनुपर्ने अवस्था विद्यमान छ । अतः नसर्ने रोगबाट बच्न र उपचारमा समेत अक्सिडेटिभ स्ट्रेसको सिद्धान्तलाई मध्यनजर गर्न आवश्यक छ ।
सम्पूर्ण अन्न (होल ग्रेन) एवं कोदोजन्य अनाज (मिलेट) मा भिटामिन, फाइबर, मिनरल, लिग्नान आदि पाइन्छ जस्ले एन्टिअक्सिडेन्टको काम गर्दछ । यसैगरी अङ्कुरित अनाजमा पाइने पोलिफिनोलले फ्रि रेडिकललाई नष्ट गर्दछ । नट्सहरूमा स्वस्थकर चिल्लो, भिटामिन ई, फिनोलिक यौगिक पाइन्छ । सागपात एवं फलफूलहरू माइक्रोन्यूट्रियन्ट (भिटामिन र मिनरल्स) र फाइबरको प्रमुख स्रोत हुन् । यसमा पाइने विटा क्यारोटिन, भिटामिन सी, ई, फ्लेभोनाइडले अक्सिडेटिभ स्ट्रेस कम गराउन महत्वपूर्ण भूमिका खेल्दछ । यसैगरी, फाइबरले पेटमा स्वस्थकर गट माइक्रोबायोटाको उपस्थिति सुनिश्चित गर्दछ । चिसो र बहने पानिमा पाइने माछा ओमेगा ३ को राम्रो स्रोत हो ।
दलहन (लेगुम) मा बनस्पतिजन्य प्रोटिन, फाइबर, भिटामिन बी, मिनरल एवं फाइटोकेमिकल पाइन्छ । दैनिक मध्यम गतिको व्यायाम एवं योगाभ्यासले अक्सिडेटिभ स्ट्रेस घटाउने तथ्य वैज्ञानिक अध्ययनबाट प्रमाणित भएको छ ।
आहारको एन्टि अक्सिडेन्ट क्षमता अक्सिजन रेडिकल एब्जरबेन्स क्यापासिटी (ओर्याक) भ्यालुबाट नापिन्छ । उच्च ओर्याक भ्यालु भएका आहारहरूले फ्रि रेडिकल्सहरू नष्ट गरी अक्सिडेटिभ स्ट्रेस घटाउँछन् । अमला, चुकन्दर, गाजर, बेसार, ल्वाङ, दालिचिनीलगायतका मसलाजन्य जडिबुटी, बेरीज प्रजातिका फलफूल, सुन्तला, अनार, पालक लगायतमा हरिया सागपात आदिको ओर्याक भ्यालु उच्च छ । यिनीहरूको नियमित सेवनले अक्सिडेटिभ स्ट्रेस कम गरी नसर्ने रोग लाग्नबाट बचाउँछन् । यसैगरी जौ, कोदो, फापर, चिनो, कागुनोजस्ता मिलेटजन्य परिकार, अङ्कुरित अनाज एवं गेडागुडीहरू, काजुलगायतका नट्स र आलस, सूर्यमुमखी बिज, फर्सीको बिज, चियासिडहरूको ओर्याक भ्यालु निकै उच्च छ ।
सेतो चामललगायतका प्रशोधित अन्न र तयारी खाद्य परिकारहरूको ओर्याक भ्यालु निकै कम छ, जसले फ्रि रेडिकल नष्ट गर्नुको साटो बढाई नसर्ने रोग गराउँछन् । यसर्थ, नसर्ने रोगको रोकथाम एवं व्यवस्थापनको लागि आधुनिक प्रशोधित अन्न भन्दा परम्परागत कोदो एवं कोदोजन्य (मिलेट) परिकार र फलफूल एवं तरकारी अत्यन्तै उपयोगी छन् । अझ स्पष्टरूपमा भन्दा उच्च ओर्याक भ्यालुयुक्त यी परिकारहरूले नसर्ने रोगको जरोको रूपमा रहेको अक्सिडेटिभ स्ट्रेस कम गरी वास्तविक औषधिको रूपमा समेत काम गर्न सक्ने क्षमता राख्दछन् ।
नसर्ने रोग औषधिजन्य भन्दा पनि जीवनशैलीजन्य रोग हो । अध्ययनहरूले उपयुक्त रोकथाम रणनीति र स्वस्थकर जीवनशैलीले ८० प्रतिशत मधुमेह, ८० प्रतिशत कोरोनरी मुटु रोग र स्ट्रोक एवं ४० प्रतिशत क्यान्सर रोकथाम गर्न सकिने देखाएका छन् । यसका लागि प्रशोधित एवं उच्च ग्लाइसेमिक इन्डेक्स र न्यून फाइबरयुक्त आहार, अस्वस्थकर चिल्लो, धूमपान छोडी रिजनल, सिजनल र ओरिजिनल न्यून ग्लाइसेमिक इन्डेक्स र उच्च फाइबरयुक्त अन्न एवं मिलेट, पर्याप्त सागपात र फलफूल सेवन र दैनिक योगाभ्याससहितको व्यायाम गर्न अध्ययनहरूले सिफारिस गरेका छन् । यसो गरेमा नसर्ने रोगको जरोकिलोको रूपमा रहेको अक्सिडेटिभ स्ट्रेस निवारण भई नसर्ने रोगको नियन्त्रण एवं रोकथाम र उपचार हुने भएकाले यसतर्फ चिकित्सक, स्वास्थ्यकर्मी र बिरामी एवं आम नागरिकले ध्यान दिनु जरुरी छ ।
(डा. केसी स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशमा महाशाखा प्रमुखका रूपमा कार्यरत छन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *