भर्खरै :

असी वर्षअघिको त्यो अपराध

असी वर्षअघिको त्यो अपराध

घटना सन् १९४५ को मार्च महिनाको हो । ९ र १० गते दुई रातभर अमेरिकी वायुसेनाले टोकियो सहरमाथि नेपाम बम प्रहार ग¥यो । कारबाहीको नाम थियो ‘अपरेसन मिटिङहाउस’ । त्यो अपराध विश्वभरि कुख्यात भयो ।
म अमेरिकी नागरिक हुँ । एक अमेरिकीको नाताले त्यो बर्बर कुकर्मका लागि म मनैदेखि लज्जित छु । म संरा अमेरिकाले गरेको त्यो अपराधका लागि जापानी जनतासँग माफी माग्छु ।
अमेरिकी वायुसेनाले बाक्लो बस्ती भएको टोकियोमाथि निसाना साँध्यो । त्यति बेला टोकियोभरि काठका घर थिए । ती घर सजिलै बल्न सक्छन् भन्ने अमेरिकी सेनालाई थाहा थियो । घातक नेपाम बमले टोकियो सहर दनदनी बल्यो । डेढ लाख मानिस ठाउँको ठाउँ मारिए । ३ लाख मानिस घाइते भए । १० लाख मानिस बेघर भए । त्यो एउटा नरसंहार थियो । अमेरिकी इतिहासमा त्यसअघि त्यति ठूलो आकारमा मानिसलाई एकै चिहान पारिएको थिएन ।
त्यो घटना हुनुभन्दा एक महिनाअघिको कुरा हो । सन् १९४५ फेब्रुअरी १३ को दिन संरा अमेरिका र बेलायतले जर्मनीको ड्रेसडेन सहरमा आततायी गलैँचे बमबारी गरेका थिए । त्यो बमबारीमा परेर १० हजारभन्दा बढी मानिसले ज्यान गुमाएका थिए ।
टोकियो सहरको बमबारीले अमेरिकालाई नयाँ खालको युद्धमा उक्ल्यायो ।
सन् १९४५ पछि संरा अमेरिकाले निर्दोष नागरिकमाथि बमबारी गर्नुलाई सामान्य ठान्न थाल्यो । मारिने मान्छे जो भए पनि क्रूरतापूर्वक गोलाबारी गर्नु अमेरिकी रक्षा नीतिको अङ्ग बन्न पुग्यो ।
मार्च १० को दिन टोकियोमाथि बमबारी गर्नुको कारण अर्कै थियो । त्यो वास्तवमा आउँदो अगस्त १५ को तयारी थियो । अगस्त १५ मा हिरोसिमा सहरमाथि आणविक बम प्रहार गर्ने तय भइसकेको थियो । खासमा टोकियोमाथिको बमबारी एउटा आततायी आक्रमणको प्राविधिक अभ्यास मात्र थियो । त्यति मात्र होइन, त्यो मान्छेको चेतनालाई नष्ट गर्ने तयारी पनि थियो । मान्छेको दिमागलाई कसरी ठप्प पार्ने भन्ने अभ्यास थियो । युद्ध गर्ने सबैभन्दा कठोर र निर्दयी तरिका थियो त्यो । त्यसैले त्यसमा प्रयोग हुने सेनाको दयाभाव कसरी मार्ने ? त्यसको तयारी थियो टोकियोमाथिको बमबारी ।
युद्धको त्यो निर्दयी शैली दोस्रो विश्वयुद्धसँगै टुङ्गिएन । कोरिया, भियतनाम र इराकपछि अहिले सिरियामा त्यही शैली दोहो¥याइँदै छ । आइमाई, केटाकेटी, बुढापाका केही नभनी बमबारी गर्ने अमेरिकी पारा जारी छ । यो अमेरिकाको युद्धशैली बनिसकेको छ ।
टोकियोमा ८० वर्षअघि जुन दुष्ट भावनाले बमबारी गरेको थियो, त्यो हिजोको कुरा मात्र होइन । त्यो दैत्य दिनप्रतिदिन झन्झन् बलियो हुँदै छ । त्यो दैत्यले संरा अमेरिका, जापान र समग्र विश्वलाई नै विश्वयुद्धतिर धकेल्न दाउ खेल्दै छ । विश्वयुद्ध भइहाल्यो भने यसपालि सारा मानव जाति नै नष्ट हुनेछ ।
यो कुरा सत्य हो । संरा अमेरिकाले अहिले विश्वयुद्ध गर्ने गम्भीर योजना बुन्दै छ । यो पागलपनको पराकाष्ठा हो । यसमा कसैले शंका नगर्नुहोला । अमेरिका युद्धको तयारीमा छ । त्यो युद्ध कसैले जित्ने छैन । त्यस युद्धले हामी सबैलाई एकै चिहान पार्नेछ ।
तपार्इँले आजभोलि सुन्नुभएकै होला । अमेरिकीहरू आजभोलि ‘शान्ति’ शब्द उच्चारण पनि गर्दैनन् । लाग्छ, अमेरिकी सरकारको उद्देश्यभित्र पर्न छोडिसकेको छ ‘शान्ति’ ।
अमेरिकाका धेरैजसो नेता र जर्नेलहरू संसारलाई युद्धमा धकेल्नु ‘ठिकै हुने’ ठान्छन् । तिनले सैनिक ठेक्काबाट अकूत धन कमाउने सपना देख्दै छन् ।
एक अमेरिकीको नाताले म असाध्यै लज्जित छु ।
अमेरिकी नेता र जर्नेलहरूलाई यसको लागि माफी दिन सकिन्न । आफ्नो अर्थतन्त्र र निजी नाफाको भकारी भर्न युद्धलाई सजिलो माध्यम ठान्ने कसैलाई पनि माफी दिन सकिन्न ।
संरा अमेरिकाले टोकियामाथि ८० वर्षअघि गरेको बमबारीलाई आपराधिक करार गर्ने बेला आइसकेको छ । अमेरिकी सरकारले नै त्यसलाई आपराधिक भन्नुपर्छ ।
आफ्नो अर्थतन्त्रलाई उकास्ने औजारको रूपमा युद्धको धुवाँ उडाउने नसाखोरी अमेरिकाले त्याग्नैपर्छ ।
अस्सी वर्षअघि टोकियोमाथि बमबारी गर्नु जघन्य अपराध थियो । जापानी जनतासँग र विश्वभरिका नागरिकसँग म माफी माग्छु । त्यो दुष्ट कुकर्मका लागि अन्तर हृदयबाट म पश्चाताप व्यक्त गर्दछु ।

(स्रोत : ग्लोबल रिसर्च । सम्यक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *