भर्खरै :

अरुणाञ्चलमा मोदी, चीनको आपत्ति

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अरुणाञ्चल प्रदेशमा गरेको भ्रमणप्रति चीनले आपत्ति जनाएको छ । चीनले कुटनीतिक माध्यमबाट त्यसको विरोध गर्ने बताएको छ ।
‘चीन–भारत सिमानाको सन्दर्भमा चीनको अडान स्थीर र स्पष्ट छ ।’, चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता केङ शुआनले भने । ‘चिनियाँ सरकारले कहिल्यै पनि अरुणाञ्चल प्रदेशलाई मान्यता दिएको छैन र त्यो विवादास्पद भूमिमा भारतीय नेताहरुको भ्रमणप्रति दृढतापूर्वक विरोध जनाउँछ ।’
बिहीबार भारतीय प्रधानमन्त्रीले इतानगरमा दोर्जे खाण्डु प्रादेशिक सभागृह र नागरिक सचिवालय भवनको उद्घाटन गरेका थिए । साथै उनले त्यहाँको नहारलागुन नगरमा तोमो रिभा स्वास्थ्य तथा चिकित्सा विज्ञान प्रतिष्ठानको शैक्षिक भवनको शिलान्यास गरेका थिए ।
केङले सीमाना विवादको संवाद र सरसल्लाहमार्फत् समाधान खोज्ने सहमति भएको बताए । ‘आफ्नो प्रतिबद्धता पूरा गर्न भारतीय पक्षलाई चिनियाँ पक्ष आग्रह गर्न चाहन्छ र दुई पक्षबीचको सहमतिको पालना गर्न अनुरोध गर्दछ । त्यसो नभए सीमा विवादले थप जटिल रुप लिन सक्नेछ ।’, उनले भने ।
चीनले सन् २०१७ को नोभेम्बरमा भारतीय राष्ट्रपति रामनाथ कोभिडले सो क्षेत्रमा गरेको भ्रमणप्रति आपत्ति जनाएको थियो । दुई पक्षीय सम्बन्ध निकै संवेदनशील मोडमा रहेको समयमा भारतले सीमा विवादलाई अझ चर्काउने काम गर्न नहुने चिनियाँ भनाई थियो ।
सन् २०१७ को अगस्टमा दोक्लाम क्षेत्रमा भएको सीमा विवादका कारण दुई देशबीच ७४ दिनसम्म तनाव भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *