भर्खरै :

स्थानीय सरकार सञ्चालनको भक्तपुर मोडेल

  • चैत्र ६, २०८१
  • शान्ति तामाङ, काठमाडौँ
  • विचार
स्थानीय सरकार सञ्चालनको भक्तपुर मोडेल

प्रतिबद्धताअनुसार काम गर्ने इमानदार प्रयासले बढ्दै छ नेतृत्वप्रति नगरका मतदाताको भरोसा र विश्वास । चुनावमा मतदाताको समर्थन जुटाउन आकर्षक नारा र कार्यक्रम प्रस्तुत गर्ने, तर जितेपछि प्रतिबद्धताबाट पन्छिने राजनीतिक नेतृत्वको प्रवृत्ति छ । तर, भक्तपुर नगरपालिकाको नेतृत्वले स्थानीय निर्वाचनमा व्यक्त गरेका प्रतिबद्धताअनुसार काम गर्ने इमानदार प्रयास गरिरहेको छ । यही कारण नगरपालिकाको नेतृत्वप्रति मतदाताको गुनासोभन्दा भरोसा र विश्वास बढी देखिन्छ ।
नेमकिपाले स्थानीय तह निर्वाचन २०७९ मा सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, पुनर्निर्माण, खेलकुद, वातावरण सरसफाइ, खानेपानी, कृषि, पर्यटन, युवा तथा बालबालिका गतिविधि, सहकारीलगायत ११ शीर्षकमा काम गर्ने प्रतिबद्धता जनाएको थियो । मेयर सुनील प्रजापति नेतृत्वको टोलीले यो प्रतिबद्धतापत्रलाई आधार मानेर योजनाबद्ध रूपमा काम गरिरहेको छ ।
“हामी प्रतिबद्धतापत्रका विषयलाई प्राथमिकता दिएर कार्यान्वयन गरिरहेका छौँ । हनुमन्ते खोलाको सफाइ कार्य चुनौतीपूर्ण भए पनि अन्य क्षेत्रमा प्रतिबद्धतामा उल्लेख भएको भन्दा बढी काम सम्पन्न गरेका छौँ,” मेयर प्रजापतिले भने ।
मेयर प्रजापतिका अनुसार पारदर्शी र समावेशी कार्यशैलीका कारण भक्तपुर नगरपालिकामा कुनै विवाद छैन । यहाँ उपभोक्ता समितिमा पदका लागि विवाद हुँदैन । यो सेवामुखी संस्था हो । विभिन्न परियोजनामा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू अध्यक्ष र उपाध्यक्षका रूपमा सहभागी छन् । लोभ र स्वार्थ नहुँदा पदका लागि विवाद हुने कुनै कारण रहँदैन । उनले भने, “हामीकहाँ सबै काम पारदर्शी र इमानदार रूपमा गरिन्छ ।”
राजनीतिक विश्लेषक प्रा.डा.लोकराज बराल भक्तपुर नगरपालिकाको काम गर्ने शैलीलाई विशिष्ट ठान्छन् । “भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत क्षेत्रमा धेरै प्रगति गरेको छ । यसको काम गर्ने शैली अन्य नगरपालिकासँग मेल खाँदैन । भक्तपुरले भ्रष्टाचारमुक्त वातावरण सिर्जना गर्दै आफूलाई उदाहरणीय बनाएको छ”, बरालले भने, “भक्तपुरमा धेरै विकासका काम भएका छन् । नगरपालिकाभित्र बस्ने धेरैले आफूलाई सुरक्षित महसुस गर्छन् ।”
प्रतिबद्धतापत्रमा के छ ?
शिक्षाअन्तर्गत ख्वप विश्वविद्यालय सञ्चालन गर्न जोड दिने, सामुदायिक विद्यालयको शैक्षिकस्तर उठाउन शिक्षक तालिम र भौतिक पूर्वाधार निर्माणमा जोड दिने, जनज्योति पुस्तकालयलाई ई–लाइब्रेरीको रूपमा विकास गर्ने र वडा–वडामा पुस्तकालयलाई समयानुकूल सुधार गर्दै लाने उल्लेख छ ।
स्वास्थ्यअन्तर्गत ख्वपः अस्पताललाई एक सय शय्यामा स्तरोन्नति गरी सुविधासम्पन्न बनाउने, वडा–वडामा स्वास्थ्य उपचार केन्द्र विस्तार गर्ने तथा विशेषज्ञ डाक्टरमार्फत स्वास्थ्य शिविर सञ्चालन गर्ने र नगरवासीको व्यक्तिगत स्वास्थ्य विवरण तयार गरी घरदैलो नर्सिङ सेवा थप प्रभावकारी बनाउने उल्लेख छ ।
यसबाहेक भाज्या पुखु, इखालाछी मठ, लक्ष्मीनरसिंह मन्दिर, इन्द्रायणी द्योछेँलगायत निर्माणाधीन सम्पदा सम्पन्न गर्ने र कला सङ्ग्रहालय रहेको न्हय्क झ्या दरबार मल्लकालीन शैलीमै पुनर्निर्माण अगाडि बढाउने उल्लेख छ । समुदायको सहभागितामा वातावरण सुधार, हरियाली व्यवस्थापनलगायत कार्य अझ प्रभावकारी ढङ्गले सञ्चालन गर्ने, कुहिने र नकुहिने फोहोर अलगअलग सङ्कलन गरी प्राङ्गारिक मल बनाउन किसानलाई तालिम उपलब्ध र फोहोर सङ्कलनबाट प्राप्त वस्तुहरूको पुनः प्रयोग गर्ने उल्लेख छ ।
नेमकिपाको प्रतिबद्धतापत्रमा भक्तपुर नगरपालिकालाई पर्यटकीय गन्तव्यस्थल बनाउन आवश्यक भौतिक सुधार गर्ने र गाईजात्रा प्रदर्शन मार्गलाई पर्यटकीय मार्गको रूपमा विकास गर्ने उल्लेख छ । नगरभित्र सञ्चालित सहकारी संस्थाका सदस्यको सांस्कृतिक स्तर उठाउने र नगरप्रति उत्तरदायी बनाउने तथा उत्पादनमूलक गतिविधि सञ्चालनमा प्रोत्साहित गर्ने साथै उत्पादनमूलक गतिविधि गरी रोजगारी सिर्जना गर्नेजस्ता विषय समावेश गरेर काम गर्ने प्रतिबद्धतापत्रमा छ ।

फुटपाथ व्यवसायको अब्बल व्यवस्थापन
भक्तपुर नगरपालिकाले फुटपाथ व्यवसायलाई जनजीविकासँग जोड्दै व्यवस्थित रूपमा सञ्चालन गर्ने नीति अपनाएको छ । स्थानीय जनताको दैनिक जीवन सहज बनाउँदै आर्थिक गतिविधिलाई पनि चलायमान बनाउने प्रयास भएको छ । यसैअनुसार स्थानीयलाई नगरपालिका कार्यालयअगाडि नै केही तरकारी बेच्न अनुमति दिइएको छ ।
“हामीले धनीहरूको पक्षमा मात्र सोच्ने होइन, गरिबहरूको जीविकोपार्जन कसरी सहज हुन्छ भन्ने कुरामा ध्यान दिनुपर्छ । उनीहरूले कसरी व्यवसाय गर्छन् र जीविका चलाउँछन्, त्यो सोचेर समय मिलाएर फुटपाथमा अलिअलि सामान राखेर बेच्न दिएका छौँ । सामान बेच्नेले नै क्षेत्र सफा गर्नुपर्छ भनेर निर्देशन दिएका छौँ,” मेयर प्रजापतिले भने । प्रजापतिका अनुसार गरिबहरूको दुःख र आवश्यकतालाई बुझ्नुपर्छ । “हामी आफैँ पनि गरिबीबाट आएका हौँ । कसैको लागि पाँच रूपैयाँको आम्दानी पनि ठुलो कुरा हो । त्यो आम्दानीले कसैको चुलो बल्छ । गरिबहरूको सहयोग गर्न सक्नुपर्छ, यही हाम्रो सुन्दरता हो । यही हेर्न मान्छे यहाँ आउँछन्,” उनले थपे ।

सय शय्याको ख्वप अस्पताल
नगरपालिकाले अहिले एक सय शय्याको अस्पताल चलाइरहेको छ । २५ शय्याको अस्पताललाई एक सय शय्यामा स्तरोन्नति गर्ने सार्वजनिक रूपमा घोषणा भएअनुुसारै नगरपालिकाले अस्पताल सञ्चालनमा ल्याएको हो ।
प्रजापतिले निर्वाचित भएको अर्को वर्ष नै एक सय शय्याको अस्पतालले स्वीकृति प्राप्त ग¥यो । हाल ६० जना डाक्टरले ११ घण्टा सेवा दिएका छन् ।
अस्पतालमा मेडिकल डाक्टरबाट सेवा लिएको ५० र विशेषज्ञ डाक्टरबाट सेवा लिएको ८० रूपैयाँ मात्र शुल्क लाग्छ । एक अर्बको यो योजना पूरा गर्न नगरपालिका आफैँले करोडौँ खर्च गरेको छ । “सस्तो र गुणस्तरीय सेवा दिन्छौँ भनेर लागेका छौँ,” उनले भने । “यो योजना सफल बनाउन हामीले धेरै दुःख ग¥यौँ । भवन निर्माणको लागि मन्त्रालय धायौँ । न्यूनतम १८ करोड पाउने व्यवस्था भए पनि यो योजनाका लागि केन्द्रबाट जम्मा ६ करोड मात्र पायौँ । बाँकी आफ्नै पैसाले बनायौँ । उपकरणदेखि सबै खरिद गरेर ल्यायौँ,” उनले भने ।
हाल अस्तपतालमा पाँच भेन्टिलेटर, ६ वटा आईसीयूसमेतकोे शय्याको सुविधा छ । यसैगरी, नगरपालिकाले प्रसूति सेवा पनि थप गरेर सेवा दिएको छ । वडा–वडामा सहरी स्वास्थ्य केन्द्र छन् । चालू आवमा ख्वप तिलगङ्गा आँखा अस्पतालसमेत सञ्चालनमा ल्याएको छ ।

शैक्षिक प्रमाणपत्र धितोमा राखेर पाँच लाख ऋण
नगरपालिकाले आव ०८१/८२ को लागि १५१ जना नगरवासी विद्यार्थीलाई शैक्षिक ऋण उपलब्ध गराउन स्वीकृत गरेको छ । नगरपालिकाले गरिब तथा जेहनदार विद्यार्थीको लागि उच्च शिक्षा अध्ययनलाई सघाउ पु¥याउन शैक्षिक ऋणको व्यवस्था गर्दै आएको हो ।
१२ कक्षाभन्दा माथि अध्ययन गरेका विद्यार्थीले शैक्षिक प्रमाणपत्र धितो राखी उच्च शिक्षाका लागि नगरपालिकाबाट सहुलियत ऋण प्राप्त गर्छन् । यस्तो ऋण विद्यार्थीले पढाइ पूरा नहुँदासम्म तिर्नुपर्दैन । पढाइ पूरा भएको चार वर्षभित्र वार्षिक २५ प्रतिशतका दरले ऋण चुक्ता गर्नुपर्ने व्यवस्था छ । यसअघि ६ सय विद्यार्थीलाई नगरपालिकाबाट पाँच लाखसम्म ऋण उपलब्ध गराइसकेको छ ।
हालसम्म कुल ७५१ जनाले पाँच लाख शैक्षिक ऋण सुविधा लिएर उच्च शिक्षा अध्ययन गरिरहेका छन् भने ५१ जनाले ऋण चुक्ता गरिसकेका छन् । नगरपालिकाले शैक्षिक ऋणमा १३ करोड ६९ लाख ५० हजार लगानी गरेको छ भने एक करोड ६४ लाख ९४ बराबरको साँवा–ब्याज फिर्ता भइसकेको छ । नगरपालिकाले ७५३ स्थानीय तहमध्ये शैक्षिक ऋणको व्यवस्था गर्ने आफू पहिलो भएको दाबी गरेको छ ।

ख्वप विश्वविद्यालय सञ्चालनका लागि निरन्तर प्रयास
ख्वप विश्वविद्यालय सञ्चालनका लागि नगरपालिका निरन्तर रूपमा लागिरहेको छ । सल्लाघारीको जग्गा र संसद्बाट ख्वप विश्वविद्यालय विधेयक, ०८० स्वीकृत भएमा नगरपालिकाले नै काम थाल्ने गरी तयारी गरेको छ । काम अगाडि बढे विश्वविद्यालय सञ्चालन गर्ने नगरपालिका पहिलो स्थानीय तह हुनेछ । नगरपालिकाले सञ्चालन गरेका सातवटा क्याम्पसमा सात हजार विद्यार्थी अध्ययनरत छन् । “हामीले गर्नुपर्ने सबै गरेका छौँ । तर, विश्वविद्यालय सञ्चालन गर्ने वा नगर्ने हाम्रो हातमा छैन, सांसदहरूको हातमा छ,” प्रजापतिले भने, “विश्वविद्यालयका लागि सल्लाघारीको एक सय आठ रोपनी जग्गा उपलब्ध गराई पाऊँ भनेर भूमिसुधार मन्त्रालय, नेपाल ट्रस्टलगायत सबैतिर गएका छौँ । त्यो पनि उपलब्ध गराउनुभएको छैन ।”

सम्पदा संरक्षणमा सर्तसहितको लगानी प्रतिबन्ध
नगरपालिकाले सम्पदा संरक्षणमा सर्तसहितको लगानी प्रतिबन्ध गरेको छ । अहिले पनि केही सम्पदा पुनर्निर्माणको लागि नगरपालिकालाई आर्थिक सहायता आवश्यक छ । तर, सर्तसहितको रकम अस्वीकार गर्दै आएको छ । “हामीले एनजीओ, आईएनजीओसँग काम नै नगर्ने भनेको होइन । तर, सर्तसहितको कुनै पनि काम हामीले गर्नुहुँदैन भन्ने मान्यता लिएका छौँ,” मेयर प्रजापति भन्छन् । सोही मान्यताअनुसार नगरपालिकाले जर्मन सरकारले उपलब्ध गराएको एक अर्ब २० करोड रूपैयाँ अस्वीकार गरेको थियो ।

मौलिक घर बनाउनेलाई १० लाखसम्म अनुदान
सांस्कृतिक नगरपालिकाको रूपमा विकास गर्न नगरपालिकाले मौलिक घर निर्माण गर्नेलाई १० लाखसम्म अनुदान दिएको छ । मौलिक घर निर्माण गर्ने स्थानीयलाई अनुदानको व्यवस्था गरेको छ । नगरपालिकाले यसका लागि वार्षिक एक करोड रूपैयाँसम्मको बजेट छुट्याएको थियो । स्थानीयले इँटा, झिँगटी र काठजस्ता परम्परागत सामग्री प्रयोग गरी घर निर्माण गर्दा अनुदान प्राप्त गरेका थिए । अघिल्लो आर्थिक वर्षसम्म केही परिवारले १० लाख रूपैयाँसम्म अनुदान लिएका थिए । तर, हाल नगरपालिकाले अनुदान वितरणमा समानता सुनिश्चित गर्दै मौलिक घर निर्माण गर्ने प्रत्येक परिवारलाई तीन लाख रूपैयाँ अनुदान दिने नीति लागु गरेको छ ।

सहकारीबाट फाइदा लिँदै
नगरपालिकाले सहकारीलाई आर्थिकस्तर उठाउने माध्यम बनाएपछि धेरैजसो सहकारी उत्पादनमूलक गतिविधिमा छन् । २८ मङ्सिरदेखि २ पुससम्म भएको भक्तपुर महोत्सवमा सहकारी गतिविधि तथा उत्पादनका स्टल, सदस्यहरूबाट उत्पादित वस्तु तथा सेवाको बिक्री स्थल राखिएको थियो । भक्तपुरमा १८० सहकारी छन् । जसमध्ये दुई/चारवटा सहकारी मात्र समस्याग्रस्त छन् । प्रदेशमा दर्ता भएर नगरपालिकाभित्र २० वटा बहुउद्देश्यीय सहकारी संस्था आएका थिए । तर, नगरपालिकाले दर्ता गरेन ।

फोहोरबाट मोहर
भक्तपुरमा दैनिक करिब ३५ टन फोहोर उत्पादन हुन्छ । नगरपालिकाले त्यो फोहोरलाई स्रोतमै छुट्याएर उठाउने गरेको छ । स्रोतमै नछुट्टिएका फोहोर नगरपालिकाले उठाउँदैन । उठेकामध्ये सुक्खा फोहोर नगरपालिकाले बिक्री गरेर आम्दानी गर्छ । उठेकामध्ये ६५ प्रतिशत कुहिने फोहोर पनि मल बनाएर बिक्री गर्छ । नगरपालिकाले तरकारी खेती लगाउने समयमा प्रतिकिलो १० रूपैयाँको दरले कृषकलाई मल बिक्री गर्ने गरेको छ ।

पर्यटनमैत्री गतिविधिमा जोड
नगरपालिकाले पर्यटनमैत्री क्रियाकलापमा जोड दिएको छ । आन्तरिक र बाह्य पर्यटकलाई भक्तपुर चिनाउनुपर्छ भनेर नगरपालिकाले पर्यटक आकर्षित गर्नको लागि कहिले पोखरी पदयात्रा, कहिले सांस्कृतिक पदयात्रा, घरेलु मेला प्रदर्शनी, गाईजात्रा प्रर्दशनी मार्गलाई पर्यटक मार्गको रूपमा विकास र महोत्सव गर्ने गरेको छ । गत वर्ष नेपाल आएका १० लाख पर्यटकमध्ये साढे दुई लाख भक्तपुर नगरपालिका पुगेका थिए । जसबाट २७ करोड राजस्व सङ्कलन भएको थियो । नगरपालिकाले पर्यटनबाट ३५ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । १६ लाख पर्यटक नेपाल आए नगरपालिकाको लक्ष्य पूरा हुनेछ ।

युवालाई सहुलियतपूर्ण ऋण
नगरपालिकाले युवालाई मध्यनजर गरेर बेकरी, सिकर्मी, मोबाइल मर्मत तालिम चलाउँदै आएको छ । नपाले हेयर कटिङ, जुत्ता बनाउने, मोबाइल मर्मत, सिलाइ कटाइ, कुक, इलेक्ट्रिसियन र जग्गा नापीलगायत तालिम सञ्चालन गरिरहेको छ । जापानिज, चाइनिज भाषाको तालिमसमेत दिने गर्छ । तालिम लिन पाँच सय रूपैयाँ तिर्नुपर्छ । तालिम सञ्चालनका लागि नगरपालिका आफैँले लगानी गर्छ । तालिममा सहभागीलाई व्यवसाय सञ्चालनको लागि नगरपालिकाले पाँच लाखसम्म सहुलियतपूर्ण ऋण दिन्छ ।

‘नयाँ पत्रिका’ दैनिक २०८१ चैत २ बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *