भर्खरै :

“जलजला” उपन्यास पढ्दा

“जलजला” उपन्यास पढ्दा

मोहनविक्रम सिंहद्वारा लिखित, जनशिक्षा गृहबाट प्रकाशित, प्रकाशक दुर्गा पौडेल जिसी रहेको प्रथम संस्करण मङ्सिर २०८१ ‘प्रेमको कथा, विश्व दर्शनमा आधारित’ ‘का. जलजला’ उपन्यास प्रकाशित भई बजारमा आएको छ । पुस्तक कम्युनिस्ट कार्यकर्ता ‘जलजला’ प्रति समर्पित छ ।
पुस्तकको आकार धेरै ठुलो छ । अहिलेको व्यस्त दुनियाँमा उपन्यास समयानुकूल छैनभन्दा वेश होला । १३२० पृष्ठको यो पुस्तक न बोक्न सकिने खालको छ न त समय नै दिन सकिने खालको छ । उपसंहार ‘क’ देखि ‘घ’ सम्म अर्को पुस्तक हुनसक्छ । पुस्तकको अन्तर्य र उपसंहारको अभिव्यक्ति मेल खाँदैन । उपन्यास दुई खण्डमा विभाजित छ । ७० परिच्छेदलाई २७२ ओटा भागमा बाँडिएको छ । पुस्तकलाई विश्व दर्शन र उपन्यासभन्दा नियात्रा भनिदिए हुने थियो ।
पूर्वीय दर्शनमा इतिहास र भूगोलको सामान्य अध्ययन गरेको मान्छेको उपन्यासमा नयाँ कुरा केही छैन । हेगेल, लुडविग फायरबाख, चार्वाक, अरस्तु, दाँते आदि व्यक्तिका केही भनाइ उल्लेख छन् ।
आदर्शवाद, भौतिकवाद, माक्र्सको द्वन्द्वात्मक भौतिकवादबिचको भेदलाई पुस्तकमा प्रस्ट्याउन खोजिएको छ । हेगेलको द्वन्द्ववाद आदर्शवादी थियो, फायरबाखको द्वन्द्ववाद यान्त्रिक थियो भने माक्र्सको द्वन्द्वात्मक भौतिकवादको सिद्धान्त प्रतिपादन गरेको कुरा उपन्यासमा उल्लेख छ ।
जलजला उपन्यासका पात्रहरू भारतको कुमाउकी सुनन्दा, चितवन तोरीखेतकी जलजला (विद्या) र अजित (भारतीय) सुरुदेखि अन्त्यसम्म छुट्दैनन् । जगदिश संशोधनवादी र अवसरवादी पात्रको रूपमा देखिन्छन् । उनी ख्रुश्चेभका समर्थको रूपमा देखापर्छन् ।
सुनन्दा गान्धीवादी सोचकी डिग्री पढिरहेकी छात्रा हुन् । उनी अपरिचित जलजलालाई खोज्न नेपाल आउने क्रममा भैरहवामा पक्राउ पर्छिन् र त्यही जेलमा थुनिन्छिन् । थुनामा रहँदा पुरुष वार्डका राजनैतिक बन्दीहरू छुटेर जान्छन् । उनीहरूको खाना पकाउन बनाइएको चुलो भत्काउन पर्ने भएकाले नाइकेले महिला बन्दीहरूलाई चुलो भत्काएर लिपपोत गर्न लगाउँछन् । चुलो भत्काउँदा बिचमा राजबन्दीहरूले लुकाएर राखेका स्तालिनले लेख्नुभएको सोभियत सङ्घको इतिहास, द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादलगायतका माक्र्सवादी दर्शनका किताबहरू भेटिन्छन् ।
ती पुस्तक लुकाएर सुनन्दा अध्ययन गर्छिन् र कम्युनिस्ट विचारप्रति आकर्षित हुन्छिन् । अजित र जलजला पहिले नै कम्युनिस्ट पार्टीका सदस्य र पेशेवर कार्यकर्ता हुन्छन् ।
उनीहरूकै जीवन सङ्घर्षको चित्रण गरिएको छ ‘जलजला’ उपन्यासमा ।
पुस्तकले समाज विकासको क्रमलाई निरन्तरता दिएको छ । समाजवादी क्रान्ति हुँदै साम्यवादी समाज अनिवार्य स्थापना हुन्छ भन्ने उल्लेख गरिएको छ । हाल संसारमा कुनै पनि देशमा समाजवादी सरकार नभएको दाबी छ उपन्यासमा । तर, त्यो दाबी सत्य होइन । चीन, रुस, क्युवा, उत्तर कोरिया, भियतनाममा समाजवादी राज्यसत्ता उल्टिएर पुँजीवाद पुनःस्थापित भएको भन्ने विचार लेखकले उल्लेख गरेका छन् । सोभियत सङ्घका संशोधनवादीहरू अमेरिकी साम्राज्यवादसँग डराएर समाजवादी व्यवस्थालाई भङ्ग गरेका थिए । तर, चीन, क्युवा, प्रजग कोरिया र भियतनाममा समाजवादी व्यवस्थाकै विकासमा सङ्घर्षरत छन् ।
लेखकको दृष्टिकोणमा जर्मनका तथाकथित माक्र्सवादी–लेनिनवादी कम्युनिस्ट पार्टीका विचारबाट प्रभावित छ । तिनीहरू आज संसार दुई पुँजीवादी खेमाबाट परिचालित सम्झन्छन् – एक अमेरिकी पुँजीवादी र साम्राज्यवादी खेमाबाट, अर्काे चिनियाँ पुँजीवादी खेमाबाट । त्यस गलत समझदारीबाट प्रभावित मोहन विक्रमजीको उपन्यास विष मिसाइएको फान्टा र कोकाकोलाजस्तै छ ।
लेखकले दर्शनका पुस्तकबाट सारेर पहिले नै उल्लेख भइसकेका घटना र परिवेशलाई दोहो¥याएर–तेहे¥याएर ठुलो आकार दिन खोजेको हो वा अगाडिकै प्रसङ्ग बिर्सेको हो भन्ने अनुमान गर्न मुस्किल पर्छ । उपन्यासका प्रेमका पात्रहरूसँग घुलमिल गर्नु, प्रेमका पात्रहरूलाई, प्रेम प्रसङ्गसँगै पेशेवर क्रान्तिकारी कार्यकर्ता बनाएर उपन्यास तयार गरेर क्रान्तिलाई खेलबाड गरिएको भान हुन्छ पुस्तकको आदि–अन्त्यसम्म अध्ययन गर्दा ।
पुस्तकको अध्ययनले भारतका विभिन्न सहरहरू र नेपालका चितवन, कपिलवस्तु, प्युठान, अर्घाखाँची, रोल्पा, रुकुम, दाङका बस्ती र स्थानका नामहरूको जानकारी पाइन्छ ।
क्रान्तिको मार्गमा लागिसकेपछि जस्तोसुकै कठिनाइ हुँदा पनि बिचलित हुनुहुँदैन, निरन्तर लागिरहनुपर्छ । पुस्तकलाई गोवाडा फुकेजस्तो नबनाएर संश्लेषित र सानो आकारको बनाएको भए पाठकहरूलाई अध्ययन गर्न सजिलो हुने थियो । साथै मूल्य ३००० हेरेर पाठकको मन हच्किने थिएन ।
अन्त्यमा लेखक तथा प्रकाशन संस्थालाई समय सुहाउँदो पुस्तकहरू प्रकाशन गर्नमा सफलता हासिल हुनेमा अग्रीम साधुवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *