अडिग क्युवा !
- जेष्ठ १३, २०८३
भनिन्छ, नेपाल सुन्दर देश हो । यो सुन्दर देशलाई शासक दलको गलत आचरणले कुरूप बनाउँदै छ । यहाँ अतुलनीय प्राकृतिक सुन्दरता छ, भूगोल छ । संस्कृति र सांस्कृतिक सम्पदाहरू छन् । चाँदीजस्ता सेता हिमश्रृङ्खला छ । वर्षभरि सङलो पानी बग्ने ठुला नदीहरू छन् । त्यस्तै हिमाल, पहाड, तराई र त्यसअनुसारको हावापानी, जल, जमिन, जङ्गल र जीवजन्तु छन् । नेपाल प्राकृतिक स्रोत र खनिजमा पनि धनी छ ।
देशमा राजनीतिमा अपराधीकरण र अपराधमा राजनीतीकरण भइरहेको छ । असन्तोष बढ्नुका कारण शासकहरूका गलत प्रवृत्ति र आचरण हुन् । उनीहरू पालैपालो ३०/३५ वर्ष सरकारमा गए । ५/७ पटक प्रधानमन्त्री भए । तर, देशको लागि कुनै राम्रो उल्लेखनीय काम भएन । देशमा देखिने गरी देशभरका जनताले अनुभव गर्न सक्ने गरी कुनै परिवर्तन भएन । त्यसअनुसारको देशमा स्वच्छ राजनीति भएन, देखिएन ।
सिरियाली साहित्यकार खलिल जिव्रानको एउटा महत्वपूर्ण भनाइ छ – “यो नसोध कि देशले तिम्रो लागि के गर्नसक्छ, आफैलाई सोध कि तिमी आफ्नो देशको लागि के गर्नसक्छौ ?” जिव्रानको यो महत्वपूर्ण भनाइले तिमी मात्र बनेर देश बन्दैन तर देश बन्यो भने तिमी पनि बन्छौ । व्यक्ति बने पनि देश बन्दैन, व्यक्ति धनी भए पनि देश धनी हुँदैन । देश नै बन्यो भने जनता पनि धनी हुन्छन् भन्ने हो । त्यसैले शासक दलका नेताहरू, बिचौलियाहरू, देशका राष्ट्र सेवक भनिएका उच्च तहका कर्मचारीहरू पहिले आफू बन्ने होइन देश बनाउन योगदान गर्ने हो । देश बनेपछि आफू पनि बनिहाल्छ । देशलाई आफ्नै खुट्टामा उभ्याउनु पर्छ । विदेशीसँग हात नथप । विदेशीको गुलियो चास्नीमा नडुब । त्यसो भयो भने विदेशीले हाम्रा नेता, प्रधानमन्त्री, मन्त्री, कर्मचारीहरूलाई मालिकले नोकरलाई जस्तो हप्काउन, दबाब, धम्की दिन सक्नेछैनन् । त्यस्तो दुव्र्यवहार कुनै विदेशीले गर्न खोज्यो भने हाम्रा नेताहरूले त्यसको विरोधमा प्रतिकार गर्नेछन् र देशको स्वाधीनता, सार्वभौमिकतालाई शिरमा राखेर लड्ने छन् । उनीहरूमा देशभक्तिको भावना हुनुपर्ने हो । तर, दुःखको कुरा त्यसो भएन । उनीहरू समाजवादी विचार, आचरणअनुसार जगत भलो त आफू भलोमा लागेनन् । उनीहरू पुँजीवाँदी विचारअनुसार आफू भलो त जगत भलो ठान्छन् । परिणाम आजको देशको दयनीय अवस्था हो ।
शासक नेताहरूले देशलाई दिनेभन्दा लिने काम बढी गरे । उनीहरू पालैपालो पटक पटक सरकारमा गए । उनीहरूले भृकुटी कागज कारखाना, गोरखकाली टायर, हेटौँडा कपडा, बाँसबारी छालाजुत्ता, हिमाल सिमेन्टजस्ता उद्योग र कारखाना सिध्याए । भारतलाई विद्युत् बेचेर नेपालमा लोडसेडिङ सुरु भएको छ । उनीहरूले देशको उत्पादन सिध्याएका छन् । करोडौँ नेपाली युवाहरू रोजगारीको लागि घरखेत बेचाएर, बन्धकीमा राखेर बिदेसिन बाध्य पारेका छन् । देश विकासको मेरूदण्ड युवाशक्ति विदेश पठाएपछि देशको विकास कसरी हुन्छ ? उनीहरूले एनजीओमार्फत डलर खाएर देशको मौलिक संस्कृति र संस्था सिध्याए । अनि जल, जमिन, जङ्गल सिध्याए । सबै मिलेर महाकाली, कोसी, गण्डकी, कर्णाली भारतलाई लुट्न वा कब्जा गर्न दिए । उनीहरूले आफ्नो पार्टी सङ्गठनको विचार, आदर्श, व्यवहारको छलफल, बहस, लडार्इँँ गर्ने थलोलाई बल, पाखुरा देखाउने, कमिसन खाने, भ्रटाचार गर्ने थलो बनाए । आफ्नो विद्यार्थी सङ्गठनलाई त्रिभुवन विश्वविद्यालयलगायत आङ्गिक क्याम्पसहरूमा तालाबन्दी हुन्छ । तोडफोड हुन्छ । त्यसलाई सरकार बुँख्याचाजस्तो टुलुटुलु हेरेर बस्छ । शासक दलका नेताहरूले आफूहरू नमुना आदर्श बनेर देखाउनुपथ्र्यो ।
आज देशमा दुई ठुला दल सरकारमा छन् । बहुमत उनीहरूसँग छ । खलिल जिव्रानले भनेजस्तै उनीहरूमा देश बनाउन सेवा गर्ने विचार र इच्छाशक्ति भएका भए, दूरदर्शी योजना भएका भए आफ्नै खुट्टामा उभेर गरेर देखाउने बेला हो । त्यसको लागि आवश्यक कानुन बनाउन सकिन्छ । सातै प्रदेशमा क्षमताअनुसार स्थानीय तहमा विद्यालय, कलेज, विश्वविद्यालय खोल्न सकिन्छ । स्थानीय तह र प्रदेश सरकारलाई सङ्घले अधिकार दिएर सहयोग गर्नसक्छ । सिँचाइ, मलको व्यवस्था गरेर बाँझो खेत हराभरा पार्न सकिन्छ । देशमा मल कारखाना खोल्न सकिन्छ । उद्योग, कारखाना खोल्न सकिन्छ । अस्पताल बनाउन सकिन्छ । बाटो बनाउन सकिन्छ । कमिसनखोर, बिचौलियालाई कडाइका साथ नियन्त्रण गर्न सकिन्छ । अनि बिदेसिएका करोडौँ युवालाई यही रोजगारी दिन सकिन्छ । तर, परिणामले त्यसो देखाएन । उनीहरूले विचार, सिद्धान्त, आदर्शलाई त्यागेका छन् । उनीहरूले नैतिकता र इमानदारिता छोडेका छन् । जसरी पनि सरकारमा जाने, भागबन्डा गरेर खानेमा प्रतिस्पर्धा गरेका छन् । परिणाम काठमाडौँमा बनेको घडेरी, बङ्गला, प्राडो, पजेरोले फाटेको चप्पल, कपडा लाएर काठमाडौँ छिरेको, फोहर राजनीति गरेका उनीहरूको सुकिला, मुकिला, भड्किला जीवन शैलीले देखाउँछ ।
शासक दलका देशघाती क्रियाकलाप, आचरणको जीवन शैलीले देश डुब्दै छ । देशको ऋण २७ खर्ब पुगेको छ । देशको शिक्षा, स्वास्थ्य, न्याय आदि क्षेत्रमा नेता र बिचौलियाहरूको राज छ । खराब उद्योगीसँग करोडौँ बक्यौता असुर्न खोज्ने, लोडसेडिङ हताउने मान्छेलाई बर्खास्त गरिएको छ । देशमा अन्धकार बढ्दै छ । भएका उद्योगहरू पनि विद्युत् कटौतीका कारण बन्द हुँदै छ । सबै सामानको भाउ बढ्दै छ । देशका पीडित जनताले देश कहिले बन्छ र भनेर सोध्दै छन् । उनीहरूको विचार, बुद्धिमा परिवर्तन आएमा देश बन्न गा¥हो हँुदैन । व्यवहारमा परिणाम देखिने गरी शासक दलका नेता, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसदहरू, न्यायाधीश, वकिल, सुरक्षाकर्मी आदि लाग्न सक्यो भने देश बन्छ । तर, जनता नै सचेत र सङ्गठित भएर नउठेसम्म देश बन्दैन ।
Leave a Reply