भर्खरै :

डिजिटल साम्राज्यवादतर्फ उद्यत् अमेरिकी प्रविधि कम्पनी

डिजिटल साम्राज्यवादतर्फ उद्यत् अमेरिकी प्रविधि कम्पनी

अमेरिकी प्रविधि कम्पनीले अन्य देशका नियमलाई चुनौती दिन अमेरिकी कानुनलाई हतियारका रूपमा प्रयोग गरिरहेका छन्
एक्सजस्ता सामाजिक सञ्जाल मञ्च राष्ट्रिय सीमाभन्दा बाहिर सञ्चालित छन् र यिनका प्रयोगकर्ता विश्वभर फैलिएका छन् । तर, मिथ्या सूचना, उग्रवाद र अनलाइन बदमासीजस्ता समस्यालाई नियन्त्रण गर्न सरकारले गर्ने नियमन प्रयास प्रायः अमेरिकी प्रविधि कम्पनीको हितसँग मिल्छ । सरकारले नियमनको प्रयास गरिरहँदा यी कम्पनीले कर्पोरेट लबिङ, राजनीतिक हस्तक्षेप र अभिव्यक्ति स्वतन्त्रताको कानुनी संरक्षणको आडमा प्रतिरोध जनाउँदै आएका छन् । नतिजा डिजिटल शासनको विषयमा विश्वव्यापी सङ्घर्ष चर्किँदै छ, जहाँ अमेरिकी प्रविधि कम्पनीले अन्य देशका नियमलाई चुनौती दिन अमेरिकी कानुनलाई हतियारका रूपमा प्रयोग गरिरहेका छन् । विभिन्न विज्ञ यसलाई ‘डिजिटल साम्राज्यवाद’का रूपमा हेर्छन् ।
फेब्रुअरी २०२५ मा ब्राजिलको न्यायपालिका र अमेरिकी सामाजिक सञ्जाल प्लेटफर्मबिच तनाव बढ्यो । ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुप र रम्बलले अमेरिकी अदालतमा ब्राजिलका सर्वोच्च अदालतका न्यायाधीश अलेक्जान्द्रे डे मोराएसविरूद्ध मुद्दा दायर गरे, जहाँ मोराएसले मिथ्या सूचनासँग जोडिएका एकाउन्ट निलम्बन गर्न दिएको आदेशलाई चुनौती दिइयो । यसअघि इलोन मस्कको एक्सले पनि यस्तै ब्राजिली आदेश रोक्ने असफल प्रयास गरिसकेको थियो । यी घटनाले अमेरिकी राजनीतिक तथा प्रविधि कम्पनीले विदेशी नियमनलाई कमजोर पार्न अमेरिकी कानुनलाई विश्वभर प्राथमिकता दिने प्रवृत्ति बढ्दै गएको देखाउँछन् । यस विवादको केन्द्रमा प्रभावशाली ब्राजिलियन दक्षिणपन्थी नेता इलन दोस सान्तोस छन्, जो सन् २०२१ मा ब्राजिलले मिथ्या सूचनाको सञ्जाल सञ्चालन गरेको र हिंसा भड्काएको आरोपमा उनको गिरफ्तारी आदेश दिएपछि अमेरिका फरार भएका थिए । ब्राजिलले उनको सुपुर्दगी गर्न अनुरोध गरे पनि अमेरिकी अधिकारीले यसलाई आपराधिक मुद्दाभन्दा अभिव्यक्ति स्वतन्त्रताको मामिला भन्दै उपेक्षा गरेका थिए ।
ट्रम्प मिडिया र रम्बलको मुद्दाले ब्राजिलको न्यायिक कारबाहीलाई नियमन नभई सेन्सरसिपका रूपमा चित्रित गर्न खोज्छ र यसलाई क्षेत्रीय अतिक्रमणका रूपमा देखाउँछ । लक्ष्य अमेरिका रहेकाले पहिलो संशोधनअनुसार अमेरिकी अभिव्यक्ति स्वतन्त्रताको संरक्षण लागू हुन्छ भन्ने उनीहरूको दाबी छ । प्रतिबन्धित व्यक्ति ब्राजिली नागरिक भएकाले वा उनले ब्राजिलमा गलत सूचना र घृणा फैलाएको आरोप भए पनि यसले फरक नपर्ने उनीहरूको तर्क छ । फेब्रुअरीमा फ्लोरिडास्थित एक न्यायाधीशले ब्राजिलको अदालतको आदेश पालना गर्न नपर्ने भन्दै ट्रम्प मिडिया र रम्बलका पक्षमा फैसला गरेका छन् ।
यस मुद्दाले प्लेटफर्म उत्तरदायित्वको सङ्घर्षमा महत्वपूर्ण परिवर्तन सङ्केत गर्छ, जहाँ कर्पोरेट लबिङ र राजनीतिक दबाबबाट सिधै विदेशी अदालतको फैसलामा कानुनी चुनौती दिने प्रवृत्तिमा रूपान्तरण भएको छ । अमेरिकी अदालत अब विश्वभरिका नियमनविरूद्ध प्रयोग भइरहेका छन्, जसको प्रभाव ब्राजिल बाहिर युरोपियन युनियनजस्ता क्षेत्रमा पनि पर्न सक्छन् । डिजिटल नियमनविरूद्धको प्रतिरोध ट्रम्प प्रशासनअघिदेखि नै चल्दै आएको छ । ब्राजिलमा गुगल, मेटा र एक्सजस्ता ठुला प्रविधि कम्पनीले कडा नियमनको विरोध गर्दै यसलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको खतरा भनेर चित्रण गर्दै आएका छन् । सन् २०२० मा ‘फेक न्युज बिल’को विरोधमा ती कम्पनीले व्यापक लबिङ र प्रोपगान्डा अभियान नै सञ्चालन गरेका थिए, जसले नियमन प्रक्रियालाई सुस्त र कमजोर बनाउने काम ग¥यो । गुगलले आफ्नै ब्राजिलियन होमपेजमा कानुनविरूद्धको सन्देश राख्यो भने मेटाले डिजिटल अर्थतन्त्रमा पर्ने असरबारे विज्ञापन सञ्चालन ग¥यो ।
कर्पोरेट र राजनीतिक शक्तिबिचको सीमा अस्पष्ट हुँदै गएको छ, जहाँ ट्रम्प मिडिया र इलन मस्कजस्ता व्यक्ति अमेरिकी संविधानको पहिलो संशोधनको आडमा विदेशी डिजिटल नियमनको विरोध गरिरहेका छन् । अमेरिकी अभिव्यक्ति स्वतन्त्रता असमान रूपमा लागू गरिएको छ, जसले द्वेषी भाष्यलाई संरक्षण दिँदै फरक मतलाई दबाइरहेको छ ।
कर्पोरेट भाष्यको सुरक्षा डिजिटल प्लेटफर्ममा फैलिएको छ र अमेरिकी अधिवक्ता विदेशी कानुनी ढाँचाको विरोध गर्न अमेरिकी अभिव्यक्ति स्वतन्त्रता प्रयोग गर्ने प्रयास गर्दै छन् । यो ब्राजिल र जर्मनीजस्ता देशको दृष्टिकोणको ठिकविपरीत छ, जहाँ अभिव्यक्ति स्वतन्त्रतालाई अन्य अधिकारसँग सन्तुलित गर्नुपर्ने मानिन्छ । अमेरिकी संविधान पहिलो संशोधनले अधिकांश लोकतन्त्रभन्दा बृहत्स्तरमा अभिव्यक्ति स्वतन्त्रता प्रदान गर्छ ।
प्लेटफर्म नियमनको कानुनी सङ्घर्ष केवल अमेरिका–आधारित प्लेटफर्म र ब्राजिलबिचको सङ्घर्षमा सीमित छैन । युरोपियन युनियनको डिजिटल सेवा ऐन र बेलायतको अनलाइन सुरक्षा ऐनजस्ता उदाहरण पनि छन्, जसले सामाजिक सञ्जाल मञ्चमा नियन्त्रण राख्ने प्रयास गरिरहेका छन् । ट्रम्प मिडिया र रम्बलको ब्राजिलको सर्वोच्च अदालतविरूद्धको मुद्दा विश्वव्यापी राजनीतिको महत्वपूर्ण मोडको सङ्केत हो । मेटाजस्ता अमेरिकी प्रविधि धनाढ्य कम्पनी ट्रम्प प्रशासनबाट आएको अभिव्यक्ति स्वतन्त्रताको पक्षमा गइरहेका छन् र मस्कले विदेशमा रहेका उग्र–दक्षिणपन्थी समूहलाई समर्थन गरिरहेका छन् ।
सामाजिक सञ्जाल मञ्चको नीति प्राथमिकता र अमेरिकी राजनीतिक चासोबिचको यो मिश्रणले नयाँ युगको सुरूवातको सङ्केत गर्छ, जहाँ अभिव्यक्ति स्वतन्त्रता समर्थकले कानुनी नजिर बनाउने प्रयास गर्दै छन् । यसले अन्य राष्ट्रको नियमन प्रयासलाई चुनौती दिन सक्छ । जबसम्म विभिन्न देशले डिजिटल क्षेत्रको व्यवस्थापन गर्नका लागि नियम बनाउँदै छन् । ब्राजिल र युरोपियन युनियनमा एआई नियमनका लागि कानुन निर्माण गरिँदै छ । सामाजिक सञ्जालले यी नियमको विरोध गर्ने तौरतरिका ठुला कम्पनीको शक्ति र सार्वजनिक सुरक्षाका कानुनी आवश्यकताबिचको भविष्यको सन्तुलन निर्धारण गर्नमा महत्वपूर्ण भूमिका खेल्नेछन् ।
(मेन्दोन्का भर्जिनिया विश्वविद्यालयकी अनुसन्धान सहायक हुन् र ग्रेनियर फोरम अन इन्फर्मेसन एन्ड डेमोक्रेसीका कार्यकारी निर्देशक हुन् । )

द कन्भर्सेसनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *