भर्खरै :

कुर्सीमा बसेकाहरूले संविधानअनुसार काम गर्न नसके राजीनामा दिनुपर्ने

कुर्सीमा बसेकाहरूले संविधानअनुसार काम गर्न नसके राजीनामा दिनुपर्ने

भक्तपुर, २२ चैत । नेपाल क्रान्तिकारी युवा सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा नेमकिपाको आठौँ महाधिवेशनको सन्देश तथा धन्यवाद ज्ञापनका साथ जिल्लास्तरीय युवा भेला शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा पार्टीका सचिव प्रेम सुवालले देश र जनताको निःस्वार्थरूपमा सेवा गर्ने नेपाल मजदुर किसान पार्टीको उद्देश्यमा सहयोग गर्नु नेक्रायुसङ्घको जिम्मेवारी भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “राजनीति सबै नीतिको मूल नीति हो । राजनीतिक नेतृत्व देश र जनताप्रति समर्पित हुनु जरूरी छ । सरकारमा गएका दलका नेता, प्रम एवम् मन्त्रीहरू देश र जनताको निःस्वार्थरूपमा सेवा गर्ने राजनीतिमा समर्पित भएनन् । सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाइएको टिप्पणी सार्वजनिक भइरहेको छ ।”
संविधानमा जनताले शिक्षा–स्वास्थ्य–रोजगारी पाउने मौलिक अधिकारको व्यवस्था भए पनि प्रम र मन्त्रीहरूले संविधानमा उल्लेख मौलिक हकलाई कार्यान्वयन गर्न नसकेको उल्लेख गर्दै सचिव सुवालले सरकारको कुर्सीमा बसेकाहरूले संविधानअनुसार काम गर्न नसके राजीनामा दिनुपर्ने बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “अबको संविधान संशोधनमा विद्यालय शिक्षा निःशुल्क र अनिवार्य, विश्वविद्यालय शिक्षा निःशुल्क, देशभित्र रोजगारी, सम्पत्तिको सीमाड्ढन, विदेशमा सम्पत्ति राख्न नपाउने बन्दोबस्त हुनु जरूरी छ । राजतन्त्र पुनस्र्थापनाको लागि भनिएको चैत १५ गतेको कार्यक्रममा सहभागी अधिकांश जनता यस्तै अपेक्षा राखेर पुगेका हुन् । अहिलेको पुँजीवादी गणतन्त्र वा संवैधानिक राजतन्त्रमा जनताका यी माग सम्बोधन हुन्न । जनताका माग सम्बोधन हुने राजनीतिक व्यवस्था समाजवादी गणतन्त्र हो ।”
सरकारले सर्वसाधारण जनताको उपचार गर्ने अस्पतालहरूको स्वास्थ्य बीमाको बक्यौता १८ अर्ब रूपैयाँभन्दा बढी अविलम्ब भुक्तानी गर्नु जरूरी भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “सरकारले सहकारी संस्थालाई यसको सिद्धान्तअनुसार जोताहा किसान र मजदुरवर्ग सदस्य हुने, ठगहरू सदस्य हुन नपाउने कानुन बनाएर सञ्चालन गराउनु आवश्यक छ । सहकारी संस्थाका ठगहरूको सम्पत्ति र लगानी जफत गरी जनताको बचत फिर्ता गर्नु जरूरी छ ।”
सचिव सुवालले भन्नुभयो, “संसदीय व्यवस्थामा पहिलो पार्टीको नेतृत्वमा सरकार गठन हुने र दोस्रो दल प्रमुख विपक्षीको भूमिकामा हुनु जरूरी छ । अहिले पहिलो पार्टी नेकाले दोस्रो पार्टी एमालेलाई समर्थन गरी संयुक्त सरकार बनाएको संसदीय व्यवस्थाको सिद्धान्तविपरीत हो† यसले प्रजातन्त्र कमजोर हुनेछ ।”
“ट्रम्पले अमेरिकामा सामान पठाउने १८५ देशलाई १० प्रतिशतदेखि ५४ प्रतिशतसम्म कर लगाए । यसले अमेरिकी उपभोक्तालाई मर्का पार्नेछ । अमेरिका अहिले ३६ ट्रिलियन डलर ऋणमा छ । छिमेकी र टाढाको देशले अमेरिकालाई लुटेको ट्रम्पको दाबी झूटो हो । ट्रम्पको यो नीतिले अमेरिका धनी हुनेछैन”, उहाँले भन्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “अमेरिकाले इजरायललाई हतियार बेचेर प्यालेस्टिनी जनतामाथि बमबारी गर्दै छ भने युक्रेनलाई हतियार पठाएर रूसविरूद्ध छद्मयुद्ध गर्दै छ । अमेरिकाले फिलिपिन्सलाई झन्डै ६ अर्ब डलरको हतियार बेचेर चीनविरूद्ध उक्साउँदै छ । अमेरिकी साम्राज्यवाद पुनः एक पटक कागजी बाघ पुष्टि हुँदै छ ।”
नेपाल क्रान्तिकारी युवा सङ्घले पार्टी प्रकाशनबारे नियमित अन्तरक्रिया गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिबारे जानकारी राख्नु जरूरी भएको उहाँले बताउनुभयो ।
नेमकिपा भजिस उपाध्यक्ष न्हुछेभक्त फोजूले शासक दलहरूकै कारण चैत १५ को घटना हुन पुगेको बताउँदै देशको सार्वभौमिकतामाथि खेलबाड गर्ने जोकोहीलाई नेपाली जनताले खबरदारी गर्ने भनाइ राख्नुभयो । उहाँले देशको नदीनाला विदेशलाई बेच्ने, उद्योगहरू निजीकरण गरी कौडीको मूल्यमा बेच्ने ठुला भनाउँदा राजनीतिक दलहरूले कम्युनिस्टको नाममा जनतालाई ठग्दै आइरहेको चर्चा गर्नुभयो ।
नेक्रायुसङ्घका पूर्वकेन्द्रीय सहसचिव पाण्डव सुवालले सैद्धान्तिक रूपमा स्पष्टता र राजनीतिकरूपमा परिपक्वताको निम्ति नेमकिपाले समाजवादी गणतन्त्र प्रचार अभियान थालेको बताउँदै अबको गन्तव्य समाजवाद हो भन्नुभयो ।
नेक्रायुसङ्घ भजिसका अध्यक्ष मिनबहादुर बाटाको सभापतित्वमा भएको उक्त भेलामा राजकुमार लघु, एचएस सुवाल, जीएस गोसाई, सङ्गीता नेपाली, श्रीकृष्ण थापा, मुना बासुकला, सुजन दुवाल, श्याम बासुकला, हरिकृष्ण बखुन्छेँ, पृथ्वीराज श्रेष्ठ, रूकेश कर्माचार्यलगायतले बोल्नुभयो । भेलाबाट जगतराम धुख्वाको संयोजकत्वमा २४ सदस्यीय १२ औँ भक्तपुर जिल्ला सम्मेलन तयारी समिति गठन गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *