भर्खरै :

कामदार जनताका छोराछोरीले आफूले चाहेको विषय पढ्न समाजवादी व्यवस्थाको लागि सङ्घर्ष गर्नुपर्ने

कामदार जनताका छोराछोरीले आफूले चाहेको विषय पढ्न समाजवादी व्यवस्थाको लागि सङ्घर्ष गर्नुपर्ने

भक्तपुर, २२ चैत । चैत ७ देखि १९ गतेसम्म सञ्चालन भएको कक्षा १० को एस.ई.ई. परीक्षा दिएर नतिजाको पर्खाइमा बसेका विद्यार्थीहरूलाई लक्षित गरी नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा दुईदिने शैक्षिक परामर्श कार्यक्रम शुक्रबार सुरु भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले देशको वर्तमान अवस्थामा भइरहेको राजनीतिक विकृतिलाई न्यून गर्नको लागि राम्रो मान्छे राजनीतिमा लाग्नुपर्ने बताउँदै विद्यालय जीवनबाटै राजनीतिक ज्ञान सिक्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “सानै उमेरदेखि राजनीतिकरूपमा सचेत र सङ्गठित हुनुपर्छ, त्यसो भएमात्र देशको नीति निर्माण गर्ने थलोमा राम्रो मान्छे पुग्छ, नत्र अहिलेको जस्तो ठेकेदार, कर छली गर्ने र भ्रष्ट मानसिकता भएका मानिसहरूको संसद्मा हालिमुहाली हुन्छ र कामदार जनताले दुःख पाउँछन् ।”
अध्यक्ष बिजुक्छेँले वर्तमान पुँजीवादी व्यवस्थामा पुँजीपतिवर्गका छोराछोरीले मात्र आफूले चाहेको विषय पढ्न पाउने भएकोले कामदार जनताका छोराछोरीले आफूले चाहेको विषय पढ्न समाजवादी व्यवस्थाको लागि सङ्घर्ष गर्नुपर्ने बताउनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले ७ वटा शैक्षिक संस्थाहरूमार्फत कम शुल्कमा इन्जिनियरिङ, कानुन, नर्सिङ, विज्ञान, मानविकी र व्यवस्थापनको स्नातकोत्तरलगायतका विषय अध्ययन गराउँदै आएको बताउँदै नगरपालिकाले १५ लाखमा डाक्टर पढाउने तयारी गरेको तर पुँजीपतिवर्गले आफ्नो कमाइ खाने भाँडो बन्द हुने दरले ख्वप विश्वविद्यालय स्वीकृति नदिएको बताउनुभयो ।
अहिले पनि देशका विभिन्न विद्यालय र क्याम्पसमा शिक्षक र अभिभावकहरूले परीक्षामा चिट चोर्न दिने गरेको समाचार आएको अवस्थामा भक्तपुरका विद्यालयमा त्यसो नभएको कारण शैक्षिक क्षेत्रमा अगाडि बढेको उहाँले बताउनुभयो । अध्यक्ष बिजुक्छेँले परीक्षा भनेको आफ्नो क्षमता पहिचान गर्ने माध्यम भएको बताउँदै भक्तपुरमा पनि विगतका दिनहरूमा परीक्षामा नक्कल गरेर पास गर्ने विकृति हटाउन धेरै सङ्घर्ष गर्नुपरेको स्मरण गर्नुभयो ।
“विद्यार्थीले आफूले रोजेको विषय अध्ययन गर्नुका साथसाथै भूगोल, इतिहास, अर्थशास्त्र र राजनीतिशास्त्रको ज्ञान लिनुपर्छ । आफूले अध्ययन गरेको विषयले आफ्नो मात्र नभई समाजको लागि सेवा गर्ने भावनाबाट प्रेरित हुनुपर्छ,” अध्यक्ष बिजुक्छेँले भन्नुभयो ।
उहाँले राजा आउँदैमा राम्रो हुने भए हामीले राजा किन फाल्छौँ भन्दै अब विश्वबाट राजतन्त्र बिस्तारै अन्त्य हुँदै जाने कुरा उल्लेख गर्नुभयो । उहाँले पञ्चायती व्यवस्थामा नेमकिपाविरुद्ध पञ्चायतले रचेको षड्यन्त्रले नेमकिपाले धेरै क्षति व्यहोर्नुपरेको र पञ्चायतविरुद्धको सङ्घर्षले अन्ततः पञ्चायती व्यवस्था नै ढलेको बताउनुभयो ।
उहाँले अहिलेको पुँजीवादी गणतन्त्रले पुँजीपतिवर्गको मात्र हित गर्ने हुँदा शासक दलहरूले विदेशी पुँजीको दलाली गरिरहेको प्रस्ट भएकोले त्यसको विरुद्धमा कामदार जनताको हित गर्ने समाजवादी गणतन्त्रको पक्षमा आवाज बुलन्द गर्नुपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ केन्द्रीय समितिका सचिव दिनेश खड्गीले नेक्राविसङ्घले निःशुल्क, अनिवार्य र वैज्ञानिक शिक्षाको पक्षमा आवाज उठाउँदै आएको बताउँदै शैक्षिक क्षेत्रमा भइरहको व्यापारीकरणलाई रोक्न सङ्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले त्रिभुवन विश्वविद्यालयले आर्थिक सहयोगको नाममा विदेशी निकायको निर्देशनमा पीसीएल खारेज गर्दा धेरै विद्यार्थी उच्च शिक्षाबाट वञ्चित भएको बताउनुभयो । उहाँले एउटै शैक्षिक संस्थाभित्र पैसा हुनेलाई एकथरी र पैसा नहुनेलाई अर्काे थरीको शैक्षिक प्रणाली भइरहेको उल्लख गर्दै त्यसविरुद्ध नेक्राविसङ्घले सङ्घर्ष गर्दै आएको बताउनुभयो । उहाँले विद्यार्थी जीवनमै सङ्गठित भई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषय जानकार भइरहनुपर्ने बताउनुभयो ।
नेक्राविसङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष विलम सुवालको सभापतित्वमा भएको कार्यक्रममा सुजी ह्योङ्गजु र इम्प्रेस सुवालले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा ख्वप कलेज अफ लका प्राचार्य अनिता जधारीले कानुन विषय, शिक्षिका मुना लवजूले नर्सिङ, शिक्षकद्वय रमेश प्रजापतिले आईटी र किशोर गोसाईले मानविकी विषयमा प्रस्तुतीकरणमार्फत परामर्श दिनुभएको थियो । शैक्षिक परामर्श कार्यक्रम शनिबार पनि हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *