भर्खरै :

समाजवादमा शिक्षा, स्वास्थ्य उपचार निःशुल्क हुने

समाजवादमा शिक्षा, स्वास्थ्य उपचार निःशुल्क हुने

भक्तपुर, २३ चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नेपाल सरकारले भक्तपुर नगरपालिकालाई मेडिकल कलेज खोल्ने अनुमति दिएको भए गरिब जनताका छोराछोरीहरूले कम शुल्कमा चिकित्साशास्त्र अध्ययन गर्न पाउने र देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने जनशक्ति तयार हुने बताउनुभयो ।
उहाँले शासक दलहरू पुँजीपतिवर्ग र मेडिकल माफियाहरूको इसारामा चलिरहेको हुँदा भक्तपुर नगरपालिकालाई मेडिकल कलेजसहितको ख्वप विश्वविद्यालय सञ्चालन गर्न अनुमति नदिएको प्रस्ट पार्नुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल र ख्वप बहुप्राविधिक अध्ययन संस्थानका कर्मचारीहरूबिच शनिबार सम्पन्न शुभकामना आदानप्रदान तथा मार्गनिर्देशन कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेँले समाजवादी देश क्युवामा दुई सय जना नागरिक बराबर एक जना डाक्टरको प्रबन्ध भएको चर्चा गर्दै समाजवादमा नागरिकको शिक्षा, स्वास्थ्य उपचारलगायतका सबै सुविधा सरकारको दायित्वअन्तर्गत निःशुल्क हुने जानकारी गराउनुभयो ।
भक्तपुर क्षेत्रफलको हिसाबले देशकै सानो नगर र राजधानीबाट नजिक भएको तथा यहाँका जनतामा एकता रहेको उल्लेख गर्दै भक्तपुरलाई विकास निर्माण, स्वास्थ्य उपचार, सम्पदा संरक्षणजस्ता कार्यमा सरकारले टेस्टट्युवको रूपमा नमुना कार्य गरेको भए त्यसबाट आउने सकारात्मक परिणाम देशभरि लागु गर्न सकिनेमा उहाँले जोड दिनुभयो ।
छिमेकी समाजवादी मुलुक चीनमा दु्रततर विकास हुनुमा सरकारका हरेक योजनाहरू तल्लो तहसम्म पटक पटक बैठक गरी जनतालाई सुसूचित पार्ने र जनताबिच अपनत्व कायम गर्ने अभ्यास भएको अनुसन्धानबाट थाहा भएको चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले नगरपालिका र ख्वप अस्पतालका सबै गतिविधि र सेवा–सुविधाबारे जनतालाई बताइरहनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “पटक पटकको बैठकबाट जनता सुसूचित हुन्छन् र नगरपालिकाका हरेक कार्यमा अपनत्व ग्रहण गर्छन् । अनि जनताले निःस्वार्थ भावले नगरपालिका र अस्पतालका हरेक कार्यमा साथ र सहयोग गर्छन् ।”
नयाँ पुस्तालाई आप्mनो मातृभाषाबाहेक कम्तीमा थप तीन वटा भाषा सिक्न उत्साहित गर्नुपर्ने सन्दर्भ जोड्दै अतिथि बिजुक्छेँले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई बिरामीको भावना बुझ्न र उपचार सेवालाई प्रभावकारी बनाउन बिरामीकै भाषामा बुझाउनुपर्ने बताउनुभयो ।
उहाँले संसारका नयाँ नयाँ प्रविधि र वैज्ञानिक अनुसन्धानहरूबारे अध्ययन गर्दै आफूलाई उत्कृष्ट बनाउन मेहनत जारी राख्न सल्लाह दिनुभयो ।
कार्यक्रममा नगर प्रमुख एवं ख्वप अस्पताल तथा ख्वप बहुप्राविधिक अध्ययन संस्था सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले ख्वप अस्पताल जनताको अस्पताल भएको चर्चा गर्दै कर्मचारीहरूलाई जनताको डाक्टर, जनताको नर्स र जनताको स्वास्थ्यकर्मी भई इमानदारीपूर्वक निःस्वार्थ भावले उपचारमा लाग्न निर्देशन दिनुभयो ।
उहाँले प्रतिकूलतालाई अनुकूलतामा र सङ्कटलाई अवसरमा परिणत गर्ने सङ्कल्पसहित कोभिड महामारीको समयमा जनताको साथ र सहयोगमा २०७८ वैशाख १७ गते जनस्वास्थ्य केन्द्रलाई ख्वप अस्पतालमा स्तरोन्नति गरेको र अक्सिजन प्लान्ट स्थापना गरी जनतालाई निःशुल्क वितरण गरेको बताउनुभयो ।
प्रमुख प्रजापतिले हाम्रा हरेक गतिविधिको जनताले मूल्याङ्कन गर्ने उल्लेख गर्दै सानो गल्तीले पनि समाजमा ठुलो दुर्घटना हुनसक्नेतर्फ सचेत हुन तथा जनताको उपचार सेवामा कुनै कमजोरी नगर्न सबैलाई अनुरोध गर्नुभयो ।
उपप्रमुख रजनी जोशीले गरिब तथा आर्थिक अवस्था कमजोर भएका जनतालाई महँगा निजी अस्पतालको सेवा कम शुल्कमा उत्कृष्ट ढङ्गबाट प्रदान गर्ने उद्देश्यसहित ख्वप अस्पताल सञ्चालन भएको बताउनुभयो । उहाँले नेपाल मजदुर किसान पार्टीको मार्गनिर्देशनबमोजिम नै भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्य उपचार सेवालाई प्राथमिकता दिएको प्रस्ट पार्नुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले भक्तपुर नगरपालिकाले नगरवासीहरूलाई निःशुल्क अक्सिजन र रगत प्रदान गरिरहेको अनुकरणीय अभ्यास भएको बताउनुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य ई. सुनिल दुवाल र ख्वप कलेज अफ ल का प्राचार्य अधिवक्ता अनिता जधारीले नगरपालिकाबाट सञ्चालित शिक्षण संस्थाहरूबाट देशभरिका विद्यार्थीहरूले शिक्षा पाइरहेको चर्चा गर्दै देशभक्त, अनुशासित, इमानदार र दक्ष नयाँ पुस्ता तयार गर्ने कार्य निरन्तर जारी रहेको बताउनुभयो ।
ख्वप बहुप्राविधिक अध्ययन संस्थानका इन्चार्ज ईश्वरी डंगोलले ख्वप अस्पतालमा कार्यरत दुईतिहाइ भन्दा बढी नर्सिङ जनशक्ति ख्वप बहुप्राविधिक अध्ययन संस्थानकै भएकोमा खुसी व्यक्त गर्नुभयो ।
ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्ल र भक्तपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख डा. रत्नसुन्दर लासिवाले स्वास्थ्य सेवामा लागिरहेका कर्मचारीहरूलाई ऊर्जा प्रदान गर्न निरन्तर अग्रजहरूको प्रत्यक्ष मार्गनिर्देशनमा जनताको सेवा गरिरहँदा गर्व अनुभूति भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *