भर्खरै :

विश्वविरुद्ध ट्रम्पको भन्सार करका तीन लक्ष्य

विश्वविरुद्ध ट्रम्पको भन्सार करका तीन लक्ष्य

अमेरिकाविरुद्ध भन्सार कर लगाएको बदला लिन विश्वविरुद्ध विभिन्न मात्रामा भन्सार कर लगाउने ट्रम्पको निर्णयले विश्व अर्थतन्त्रको केन्द्रमै भुइँचालो गएको छ । उनी खुला र पारदर्शी व्यापार पुनः स्थापना गर्न चाहन्छु भन्छन् । त्यसले अमेरिकी कम्पनीहरूलाई लाभ हुने कुरा गर्छन् । तर, यसको विपरीत उनले भेगीयतालाई तीव्र पार्ने र विश्वलाई विभिन्न व्यापारिक गुटहरूमा विभाजित गर्ने सम्भावना छ । त्यो स्थितिमा उनी कम्तीमा तीन अप्रकट स्वार्थसिद्ध गर्ने दिशामा जान सक्नेछन् । यिनै तीन लक्ष्यका कारण उनको पछिल्लो नीति आएको हो ।
पहिलो लक्ष्य अमेरिकाको आपूर्ति शृङ्खला सम्प्रभुतालाई सबल पार्नु हो । यसले गर्दा अन्य देशले पाएको सहुलियत हटेर जानेछ । सहुलियत हटाउनका लागि मात्र हटाइने छैन । बरु सके सामरिक योजनाका लागि हटाइनेछ । यसले कुनै ठुलो युद्धतर्फ सङ्केत गर्छ । दुई सम्भावित शत्रु चीन र इरान हुन् । यीमध्ये कुनै एउटा देशविरुद्ध प्रत्यक्ष मुठभेड भएका खण्डमा विश्व अर्थतन्त्र भताभुङ्ग हुनेछ । त्यसैले ट्रम्पले अमेरिकाको हितमा अर्थव्यवस्थालाई अमेरिकाभित्र तान्ने कामलाई प्राथमिकता दिन चाहेको देखिन्छ । यसले गर्दा दुस्परिणाम घटाउन सकिने सोचिएको हुनुपर्छ ।
दोस्रो लक्ष्य पहिलोकै विस्तार हो । अमेरिका प्रत्येक देशलाई तिनका दुईपक्षीय सम्बन्धहरू पुनः परिभाषित गर्न उक्साउँदै छ । त्यो बेला अमेरिकाले केही सहुलियत लिएर ती देशलाई लगाइने भन्सार कर घटाउने प्रस्ताव राख्न सक्छ । यसो गरेर ती देशलाई केही हदसम्म चीनबाट टाढा राख्ने र चीनलाई हटाई अमेरिकालाई मुख्य व्यापारिक साझेदार कायम गर्ने हुन सक्छ । यसका साथै अमेरिकाले प्रविधिमा पहुँच दिने र सैन्य सम्झौताहरू गर्ने प्रस्ताव पनि राख्न सक्छ । यी सबैको लक्ष्य एउटै हुनेछ – चीनको विदेश व्यापार छिन्नभिन्न पार्दै उसलाई कमजोर बनाउने ।
अन्तिममा तेस्रो लक्ष्य हुनेछ – उदाउँदो विश्व व्यवस्थालाई आफूअनुकूल ढाल्ने । यसको लागि अमेरिकाले वर्तमान व्यवस्थालाई जतिसक्दो छिटो चिहानमा पु¥याउनुपर्नेछ । यसको लागि विश्व अर्थव्यवस्थाको केन्द्रलाई नै धक्का दिनुपर्छ । विश्वका सबै देशविरुद्ध भन्सार कर लगाएर ट्रम्पले भर्खरै त्यो धक्का दिए । आपूर्ति शृङ्खलामा सार्वभौम भएर र चीनलाई विश्वका धेरै देशको प्रमुख व्यापार साझेदारको स्थानबाट विस्थापित गरेर अमेरिकालाई विश्वमा ठुलो सहुलियत प्राप्त हुनेछ । त्यो मौकाका फाइदा अमेरिकाले कसरी उठाउला भनी अहिले नै भनिहाल्नु हतार हुनसक्छ । तर, के निश्चित छ भने अमेरिकाले चीनसँगको आफ्नो व्यवस्थागत दुश्मनी साँध्नेछ ।
ट्रम्पको विश्वव्यापी व्यापार युद्धले नचाहेरै पनि भेगीयतालाई तीव्र पा¥यो र विश्वलाई विभिन्न व्यापारिक गुटमा विभाजित ग¥यो भने उनले सोचे जस्तो शक्तिको खेल नखेलेर अर्कै परिणाम पनि निस्किन सक्छ । अमेरिकाले ‘किल्लाबन्द अमेरिका’ (फोट्र्रेस अमेरिका) को नीति लागू गरेर त्यो मौकाबाट फाइदा लिन सक्छ । पश्चिमी गोलाद्र्धमा एकछत्र अमेरिकी आधिपत्य पुनः स्थापना गर्नुलाई ‘किल्लाबन्द अमेरिका’ भनिएको छ । पश्चिमी गोलाद्र्धका मुलुकहरूको स्रोतसाधन र बजारमा अग्रतापूर्ण पहुँच पाएको खण्डमा अमेरिका सामरिक हिसाबले आत्मनिर्भर बन्नेछ ।
त्यस्तो स्थितिमा आफूले तयारी गरिरहेको ठुलो युद्धमा पराजित भएर पूर्वी गोलाद्र्धबाट अमेरिका बाहिर खेदियो अथवा विश्वको त्यो भाग अमेरिकाले व्यवस्थापन गर्न नसक्ने गरी बिथोलियो र बेकार भयो नै भने पनि अमेरिका बाँच्ने र हरिलोभरिलो हुन सक्नेछ । त्यो स्थितिमा अमेरिका आफ्नै घर फर्केर सन् १९२० को दशकको जस्तो एक्लिने नीतिमा रमाउन सक्छ । स्पष्ट हुनुपर्ने कुरा के भने अमेरिकाले आफुखुसी पूर्वी गोलाद्र्ध परित्याग गर्नेछैन । बरु परिस्थितिले बाध्य पारेर फर्किनुपरेछ भने मात्र फर्किने योजना बनाउन सक्छ ।
समग्रमा ट्रम्पको विश्वविरुद्ध व्यापार युद्ध एउटा इतिहास मोड्ने घटना हो । परिणाम जे आए पनि यसले अन्तर्राष्ट्रिय सम्बन्धमा दीर्घकालीन छाप छोड्नेछ । तर, परिणाम के होला भनी किटेर भन्नु हतार हुनेछ । कति यकिनसाथ भन्न सकिन्छ भने ट्रम्पको दिमागमा एउटा बृहत् योजना छ । उनका सम्भावित तीन लक्ष्य साकार नहुन सक्छन्, त्यो अर्कै कुरा हो । जे होस्, भूमण्डलीकरणको पुरानो युग समाप्त भएको छ । तर, त्यसको ठाउँमा कस्तो व्यवस्था आउला ? हेर्न बाँकी छ ।
(लेखक एन्ड्रयू कोरिब्को अमेरिकी मूलका राजनीतिक विश्लेषक हुन् । उनी मस्कोमा बस्छन् । खासगरी अफ्रिका र युरेसियामा अमेरिकी रणनीतिका साथै चीनको एक भेग एक मार्ग अनि नयाँ रेशम मार्गको विश्वदृष्टि तथा बहुपक्षीय हाइब्रीड युद्धकलामा कोरिब्कोको विशेष दखल छ ।)

स्रोत : लेखकको सबस्टाक
अनुवाद : सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *