भर्खरै :

युवा–विद्यार्थी सही बाटोमा जानु जरुरी

युवा–विद्यार्थी सही बाटोमा जानु जरुरी

अहिले विद्यालयमा प्रशासनबाहेक पढाइ बन्द छ । सबै विद्यार्थीहरूको परीक्षा सकिएको र नतिजा आइनसकेको या नतिजा आए पनि शैक्षिक सत्र सुरु नभएको हुँदा देशभरिको विद्यालयको पढाइ बन्द भएको हो । एसईई दिइसकेका विद्यार्थीलाई कलेज या क्याम्पसमा के पढ्ने भन्नेबारे नेक्राविसङ्घले प्रशिक्षण दिएको छ । कति विद्यार्थी कलेजमा भर्ना हुनको निम्ति तयारी कक्षामा जुटेका छन् । कति विद्यार्थीहरूको फुर्सदको उपयोग गर्दै विभिन्न भाषा तथा अन्य विषयमा सामेल भएर सुसजित हुँदै छन् । समयको सदुपयोग गर्ने र फुर्सदको समयमा केही सिक्ने कुरा राम्रो पक्ष हो । ती विद्यार्थीलाई कुनै न कुनै रचनात्मक कार्यमा सहभागी गराएर हरेक विषयमा जानकारी दिने काममा अभिभावक, शिक्षक, समाजसेवी र राजनीतिक कार्यकर्ताहरू लाग्नु आवश्यक छ । यसले ती विद्यार्थीलाई अनुशासित, देशभक्त, योग्य र देश र समाजप्रति समर्पित बनाउन सहयोग गर्नेछ ।
विद्यालयमा पढाइ सकेर नतिजा पर्खिरहेका विद्यार्थी र एसईई दिएसकेका विद्यार्थीहरूलाई कुनै पनि रचनात्मक, सामाजिक या राजनीतिक गतिविधिमा सरिक या भिजाउन नसके उनीहरू कुलत बाटोमा लाग्न सक्छन्; गलत व्यक्तिहरूको लहै लहैमा लागेर बिग्रिन सक्छन् । विद्यालय सञ्चालन भइरहेका बेला बरोबर स्कूल नआउने, स्कूल आएर भाग्ने र स्कूलको समयसकेपछि घर नपुगी गलत व्यक्तिहरूसँग बेलुका घुमफिर गर्ने, पाटी पौवा र सत्तलमा बसेर गाजा खाने, लागूऔषधको सुइ लिने, सर्वसाधारण बटुवाहरूलाई धाक धम्की दिएर गहना, मोबाइल, पैसा लुट्ने काम गर्ने विद्याथी–युवाहरू यो फुर्सदमा झन् गलत बाटोमा फस्ने सम्भावना हुन्छ । कति विद्यार्थीहरू पढाइमा कमजोर हुनुको कारण विद्यार्थीहरूको पढाइप्रति बेवास्ता पनि हो । आमाबुबाको कुरा नसुन्ने, समाज र विद्यालयप्रति वास्ता नगर्ने विद्यार्थीहरू तुलनात्मक रूपमा छाडा, उच्छृङ्खल, गफाडी र मनपरी बोल्ने स्वभावका हुन्छन् । कक्षामा बसे पनि हल्ला गरेर आफू मात्र होइन आफ्ना साथीको पनि बानी बिगार्ने विद्यार्थीहरूको पढाइ स्वाभाविकरूपमा कमजोर हुन्छ ।
विद्यालयमा नियमित कक्षा चलेन; विद्यालय खोले पनि शिक्षक उपस्थित भएन, उपस्थित भए पनि कक्षा सञ्चालन भएन या आफ्नो जिम्मेवारी पूरा नगरेको कारण विद्यार्थी कमजोर भयो भने त्यसको दोष विद्यालय प्रशासन, विद्यालयको व्यवस्थापन समिति र शिक्षकहरूलाई दिनुपर्छ । अहिले विद्यालय न खुलेकोले मावि तहका विद्यार्थी चोक, टोल, ठाउँ, सहर बजारमा खेलिरहेको हामी देख्छौँ । आमाबाबु काममा जाने र घरमा कोही नहुने हुँदा जहाँतहीँ पुग्नु, डुल्नु अस्वाभाविक होइन । अतः आमाबाबु, समाजका प्रतिष्ठित व्यक्ति र शिक्षकहरूले उनीहरूलाई तह लगाउनु आवश्यक छ या विद्यालय चलिरहेकै बेला शिक्षकहरूले मार्ग निर्देश गर्नु जरुरी छ । आफ्ना सन्तानलाई कसैले चासो नराखेमा जहाँ गए पनि, पुगे पनि त्यसै छोडेमा या नियन्त्रण गर्नेतर्फ ध्यान नदिएमा तिनीहरू गलत काममा लाग्नेछन् र बिग्रिने छन् । कारणवस उनीहरूले विद्यालय छोडेमा या विद्यालयमा पढाइ सकेपछि चोरी चकारी गर्ने गलत व्यक्तिको सम्पर्कमा गएर गाजा चरेस खाने, राति अबेलामा मात्र घर जाने, बाहिर हो–हल्ला गरी हिँड्ने कार्यमा लागेको पाइएको छ ।
यस्ता गलत कार्यमा लाग्नबाट बचाउन टोल, गाउँ, ठाउँमा रहेका प्रतिष्ठित, समाजसेवी, शिक्षक र राजनीतिक कार्यकर्ता अग्रसर हुनुपर्छ । टोलमा विभिन्न सामाजिक तथा रचनात्मक गतिविधि गरिरहनुपर्छ । समाजमा भिज्न पाइएन भने कुलतमा लाग्ने सम्भावना हुन्छ । विद्यार्थी–युवाहरू कुलत या गलत बाटोमा लागिसकेपछि त्यस बाटोबाट छुट्कारा पाउन मुस्किल हुन्छ । गलत व्यक्तिहरूको सम्पर्कमा लागेरै कति विद्यार्थी–युवाहरू चोरी चकारीमा परेका छन्; ज्यान मुद्दामा परेका छन् । सन्तान कुलतमा लागेरै आमाबाबुले दुःख पाएका छन् । यसबारे समाजका विभिन्न पक्ष सचेत हुनुपर्छ ।
युवा–विद्यार्थी या आफना सन्तानलाई बरोबर मार्ग निर्देश गरिरहनुपर्छ । आमाबुबाले सम्झाइबुझाइ गरिरहनुपर्छ । समाजसँग भिज्ने, समाजको दायित्वबोध गराउने, सामाजिक जनजीवन र व्यवहारिक कुरा सिकाइरहनुपर्छ । टोल, गाउँ, ठाउँ र बस्ती–बस्तीमा सामाजिक कार्यकर्ता, अगुवा, राजनीतिक कार्यकर्ता तयार गर्न सके आदर्शोमुख समाज स्थापनामा टेवा पुग्छ । देशको जिम्मेवारी बोक्नुपर्ने या देश निर्माणको लागि हाँक्नुपर्ने युवा र दक्ष जनशक्तिका भावी विद्यार्थीहरू बिग्रिएमा देश लङ्गडो हुन्छ; आवश्यक जनशक्ति तयार हुँदैन । देशको लागि आवश्यक जनशक्ति तयार भएन भने देश अरुको भरमा बस्नुपर्ने हुन्छ । अरूको भरमा रहेसम्म देश विकास सम्भव छैन । समाज र देशलाई सही दिशामा लान युवा–विद्यार्थी सही ठाउँमा हुनुपर्छ† अगुवाहरू इमानदार, देशभक्त, देश र जनताप्रति समर्पित तथा दूरदर्शी हुनुपर्छ । हरेक नागरिकलाई योग्य र असल बनाउन सबैको प्रयास भइरहनुपर्छ । अनि उनीहरूको काम–मामको व्यवस्था हुन्छ र जीवन सुनिश्चित हुन्छ । युवा–विद्यार्थीलाई समयमै मार्ग निर्देश गरेर सही ठाउँमा ल्याउनुपर्छ । सही ठाउँमा ल्याउने प्रयास गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *