लेनिनका सम्झनाहरू
- बैशाख ११, २०८२
भक्तपुर, २७ चैत । चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालस्थित पञ्चकन्या माविको ३९ औँ वार्षिकोत्सव, अभिभावक दिवस, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम बुधबार सम्पन्न भयो ।
समारोहमा नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले अन्धविश्वासलाई खण्डन गर्न शिक्षा विज्ञानसम्मत हुनुपर्ने बताउँदै विद्यालयमा गीत, गजल, ¥याप, हाइकु, भजनलगायत साहित्य विज्ञानसम्मत हुनु आवश्यक छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “विद्यालय र कलेज सञ्चालकसँगै अभिभावकहरूको राजनीतिक चेतना माथि उठाउनु जरुरी छ । राजनीति देश र जनताको निःस्वार्थपूर्वक सेवा गर्ने हो । जनता राजनीतिकरूपले सचेत नभए प्रतिगामी, सामन्तवर्ग तथा पुँजीपतिवर्गले टाउको उठाउनेछन् ।”
“राजनीतिक चेतना नभएकाहरू देश र जनताको निःस्वार्थरूपमा सेवा गर्नेभन्दा पनि आफ्नो र आसेपासेको स्वार्थमा लाग्छन् । निर्वाचनमा पैसा र सामान बाँड्ने, भोजभेतर खुवाउनेहरू जितेर सहरमा घर जग्गा जोड्छन् र जनतालाई बेवास्ता गर्छन् । नेपालमा अहिले यही भइरहेको छ,” सांसद सुवालले भन्नुभयो ।
उहाँले विद्यालय र कलेजमा विद्यार्थीहरूको गृहकार्य परीक्षण गरी विद्यार्थीहरूलाई सुदृढ बनाउने, विद्यार्थीहरूलाई नाचगान, सङ्गीत, नेपालकै जातजातिको भाषा, विदेशी भाषा, खेलकुद, हस्तलेखन, चित्रकला, शारीरिक व्यायाम प्रशिक्षणमा जोड दिँदै विद्यार्थीहरूलाई स्वस्थकर खानेकुरा खुवाउने, तयारी पत्रु खाना नखुवाउने व्यवस्था गर्नु जरुरी छ भन्नुभयो ।
“धुलो, धुवाँ, डढेलोको कारण काठमाडौँ उपत्यकामा प्रदूषण बढ्दो छ । देशको सन्तुलित विकास नगरिएकोले समस्या बढेको हो । अमेरिकाको राष्ट्रपतिमा ट्रम्पको दोस्रो कार्यकालसँगै विश्वमा मानव अधिकारको हनन र व्यापार युद्ध बढ्ने सम्भावना छ । ट्रम्पको विरोधमा अमेरिकालगायत संसारका न्यायप्रेमी जनताले प्रदर्शन गर्दै छन्,” उहाँले भन्नुभयो ।
सांसद सुवालले भक्तपुर नगरपालिकाले ख्वप कलेजहरू सञ्चालन गरी ७७ जिल्लाका ४३ हजार विद्यार्थीलाई उच्च शिक्षाको मार्ग प्रशस्त भएको उल्लेख गर्दै चाँगुनारायण नगरपालिकाका ३०८, मध्यपुर नपाका ५४९, सूर्यविनायक नपाका ४३६ विद्यार्थीले इन्जिनियरिङ पढ्ने अवसर पाएको बताउनुभयो । उहाँले ख्वप विश्वविद्यालयको विधेयक र सल्लाघारीस्थित १०८ रोपनी जग्गा उपलब्ध भए भक्तपुर नगरपालिकाले देश र जनताको थप सेवा गर्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपालमा मिथिला, भोजपुरी, थारु भाषा बोल्ने क्षेत्रमा सोही भाषाबाट पढाइ हुने प्रदेश विश्वविद्यालय सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले यसले राष्ट्रिय एकता कायम गर्न मद्दत पुग्नेछ भन्नुभयो ।
“जात र भाषाअनुसार दमन गर्नु सामन्तवाद हो । सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउनु हुन्न, प्रजातन्त्र र जनविश्वासको थलो बनाउनु आवश्यक छ । सरकारमा गएका पार्टी र नेताहरू राम्रो भए फूल फुलेझैँ देश फुल्नेछ,” उहाँले भन्नुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका सदस्य तथा वाग्मती प्रदेशसभा सदस्य गीता काफ्लेले संविधानको व्यवस्थाअनुसार माविसम्मको शिक्षा अनिवार्य र निःशुल्क बनाउनुपर्ने माग नेमकिपाले संसद् र सडकमा निरन्तर उठाइरहेको बताउँदै शासक दलहरू जनअधिकारको पक्षमा नभएको बताउनुभयो ।
उहाँले शिक्षा क्षेत्रको उत्थानका लागि शिक्षा क्षेत्रमा रहेका अनियमितता र भ्रष्टाचार अन्त्य आवश्यक रहेकोमा जोड दिँदै विद्यालय व्यवस्थापन समिति, प्रअ, शिक्षक र अभिभावक सबै मिले विद्यालय राम्रो बनाउन गा¥हो नहुने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तराम दुलालको सभापतित्वमा सम्पन्न कार्यक्रममा चानपा वडा नं. ८ का वडाध्यक्ष जनक खत्री, शिक्षा विकास एकाइ भक्तपुरका प्रमुख कमला ज्ञवाली, चानपा नगर शिक्षा शाखाका प्रमुख दिनेश अर्याल, संयुक्त परीक्षा समिति भक्तपुरका प्रतिनिधि चक्रबहादुर चाकतुले विद्यालयको उत्तरोतर प्रगतिको कामना गर्नुभयो ।
समारोहमा विद्यालयका प्रअ नारायणप्रसाद दुलालले विद्यालयको प्रगति प्रतिवेदन, सहायक प्रअ प्रकाश तजलेले स्वागत तथा शिक्षक रामहरि अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
Leave a Reply