भर्खरै :

व्यक्तिगत स्वार्थ र पैसाको पछि नलागे परिवर्तन सम्भव हुने

व्यक्तिगत स्वार्थ र पैसाको पछि नलागे परिवर्तन सम्भव हुने

भक्तपुर, २९ चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले व्यक्तिगत स्वार्थ र पैसाको पछि नलागी आफ्नो कर्तव्य इमान्दारीसाथ पूरा गरेमा समाज परिवर्तन हुन समय नलाग्ने बताउनुभएको छ  ।
शुक्रबार बाल विकास सेकेन्डरी स्कूलमा आयोजित बिस्काः जात्रा तथा नव वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले शासक दलहरूले विदेशी दलालहरूको आर्थिक प्रभावमा परेर नेपालको शिक्षालाई ध्वस्त पारेको बताउनुभयो । राणा शासनदेखि नेपाली विद्यार्थी विदेशमा बेचिने गरेको र गणतन्त्रमा समेत यो अवस्था अन्त्य नभएको विचार व्यक्त गर्दै उहाँले यसको जिम्मेवारी शासक दलहरूले लिनुपर्छ भन्नुभयो ।
देशमै गुणस्तरीय र सीपयुक्त शिक्षा दिन सके विद्यार्थीहरू बिदेसिने क्रम रोकिने भएकोले विद्यालयले त्यसतर्फ ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
म्यानपावर कम्पनीका मालिकसँग मोटा रकम खाएर सरकार र मन्त्रीहरू नै युवालाई सस्तो ज्यामीको रूपमा विदेशमा बेच्ने गरेको र सरकारकै कारण नेपालीले विदेशमा पशुको जस्तो व्यवहार भोग्न बाध्य हुनुपरेको उहाँले बताउनुभयो । उहाँले विद्यालयले सानै उमेरदेखि विद्यार्थीमा असल व्यवहार, संस्कार र देशप्रेम सिकाउनुपर्छ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले जनताको हितलाई केन्द्रमा राखेर काम गरिरहेको र देशका विभिन्न पालिकाले भक्तपुरको अनुकरण गरिरहेको बताउनुभयो । स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा सरकार नै आफ्ना कार्यकर्तालाई आन्दोलन गराएर आन्दोलनका नाममा स्थानीय तहको अधिकार सिंहदरबारमा लाने काम गर्न लागेको बताउनुभयो ।
सरकारको गलत नीतिले गर्दा नेपालको उच्च शिक्षा तहसनहस भएको बताउँदै भक्तपुर नगरपालिकाले अहिलेसम्म ४४–४५ हजार विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दा पनि सरकारको पक्षपातपूर्ण व्यवहारले गर्दा ख्वप विश्वविद्यालय विधेयक पारित हुन नसकेको धारणा राख्नुभयो । उहाँले विद्यालयले सबै विद्यार्थीको नतिजा राम्रो बनाउने कुरामा ध्यान दिनुपर्ने बताउनुभयो ।
विद्यालयका प्रिन्सिपल सुरेन्द्रराज गोसाईले विद्यालयले विद्यार्थीलाई प्रमाणपत्र मात्र नदिई समाजका लागि आवश्यक पर्ने ज्ञान, सीप र व्यवहार सिकाइरहेको बताउनुभयो । विद्यालयले शिक्षक कर्मचारीको चौतर्फी विकासमा ध्यान दिइरहेको बताउँदै नयाँ पुस्तालाई सिकाउने काम निकै चुनौतीपूर्ण भएकोले शिक्षकहरू सचेत हुनुपर्ने कुरामा उहाँले जोड दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा शिक्षिका सीता प्रजापति, ग्रेड तह इन्चार्ज देवना जोशीलगायत विभिन्न कक्षाका प्रतिनिधि शिक्षकहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो । उक्त अवसरमा कर्मचारीको तर्फबाट रामशङ्कर ह्यौमिखा, नज्मा प्रजापति र चण्डेश्वरी कोजूले पनि शुभकामना मन्तव्य राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *