लेनिनका सम्झनाहरू
- बैशाख ११, २०८२
जाडोयामको आकाशमा कमै मात्र घाम देखिने भएकोले सिछुवानका मानिसलाई कुनै दिन आकाशमा घाम देखिए पर्व लागे जस्तै हुन्छ । याङची नदीको सहायक नदी मिन नदीको जलाधार क्षेत्र र वरपर अग्ला पहाडले घेरिएकोले सिछुवानमा हप्तौँसम्म आकाश बदली पर्छ । आकाशमा बिरलै देखिने घाम कुनै दिन देखिए सिछुवानका कुकुरहरू पनि घामतिर हेरेर चकित पर्दै खुब भुक्छन् रे । घाम लागेको दिन पार्क, खुला चिया पसल आदि सार्वजनिक थलोमा मानिसको घुइँचो लाग्छ । चिनियाँ सेरामिक्सका हिसी परेका स–साना कपमा अनेकथरी र अनेक नामका चियाका पातमा तातो पानी खन्याउँदै, थप्दै पिउनु र घण्टौँ गफ गर्दै बस्नु सिछुवान संस्कृतिको पाटो मानिन्छ । मानिसहरू यसरी चिया पसलमा बाँसले बनेका पुराना शैलीका कुर्सीमा बसेर चिया पिउँदै बसेको देख्दा पेइचिङ र साङ्घाईका बासिन्दा छङ तुका मानिससँग ईष्र्या गर्छन् रे । पेइचिङ र साङ्घाईमा व्यस्तताको भारीले लोथ परेका मानिसलाई छङ तुका मानिसहरू यसरी घाम ताप्दै चिया पिउँदै गरेको र माजाङ खेल्दै गरेको देख्दा ईष्र्या नलागोस् पनि कसरी ?
छङ तु महानगरको केन्द्र मानिने थियान्फु चोकबाट केही मिनेटको दुरीमा छ पिपुल्स पार्क । यो पार्कमा जापानी उपनिवेशवादविरोधी लडाइँको क्रममा बनाइएको सुरुङ अझै संरक्षित छ । सहरको केन्द्रमै पर्ने भएकोले पिपुल्स पार्कमा घुम्न आउने मानिसको कहिल्यै कमी हुँदैन । चिनियाँ भाषामा एउटा उखान छ, मानिसको पहाड, मानिसको समुद्र । पिपुल्स पार्कमा सधैँ लाग्ने मानिसको घुइँचोको वर्णन गर्न यो निकै सुहाउँदो उखान हो । पार्कभित्रको तलाउ छेउमा बनाइएको चिया पसलमा चिया पिउन जहिल्यै पालो कुर्नुपर्छ । हजारौँ मानिस स–साना टेबुल वरपर बाँसका कुर्सीमा बसेर चिनियाँ पाते चियासँगै बदाम र सूर्यमुखी फूलका बियाँ छोडाउँदै खाँदै गरेको दृश्य सुरुमा देख्दा जोकोहीलाई ताजुब लाग्छ । तातो पानीले भरिएका थर्मस र चियाका कप बोकेका चिया पसलका कामदारहरूलाई टेबुलपिच्छे चिया पु¥याउन भ्याईनभ्याई भइरहेको हुन्छ । चुइँचुइँ कराउने बाँसका कुर्सी, हजारौँ मानिसका गलफती, अनि कान सफा गर्ने मानिसहरूले हातमा बजाउँदै हिँड्ने औजारको आवाजले पुरै पिपुल्स पार्क गुञ्जायमान हुन्छ । तर, त्यो हल्लाबिच पनि हरेक टेबुल वरपर मानिसहरू आरामसँग आपसमा अनेकानेक कुराकानी गरिरहेका हुन्छन् ।
मलाई भने पिपुल्स पार्कको भीडभाड र होहल्लाभन्दा टाढा वाङच्याङ पार्कको चिया पसलमा गएर चिया पिउन खुब रहर लाग्छ । फुनान खोलाको किनारामा पर्ने वाङच्याङ पार्क चीनकै सबभन्दा पहिलो बाँस पार्क भनेर पनि परिचित छ । वाङच्याङ पार्कमा चीनभरि पाइने विभिन्न प्रजातिका बाँसहरू हुर्काइएका छन् । निगालोदेखि आकाश छुने मोटा बाँसहरू यो पार्कका विशेषता हुन् । खोला किनारमा चिटिक्क देखिने वाङच्याङ पार्कको चिया पसलमा पनि बिदा र घमाइलो दिनमा चिया पिउन आउने मानिसको उस्तै घुइँचो लाग्छ । ज्येष्ठ नागरिकहरू पार्कमा बसेर माजाङ र तास खेल्दै अनेकथरीका चिया खाँदै गरेको देखिन्छ । कान सफा गर्ने मानिसहरू उस्तै गरी हातमा आफ्ना औजार बजाउँदै डुलिरहेका हुन्छन् । अनि हातमा तातो पानी भरिएका थर्मस र कप बोकेर चिया पसलका कामदार यताउति दौडिरहेका हुन्छन् । वाङच्याङ पार्क मलाई कहिल्यै पनि पिपल्स पार्कजस्तै अस्तव्यस्त लागेन । समय मिल्दा कपको चियापतिको अन्तिम स्वाद बाँकी रहेसम्म तातो पानी थप्दै पिउँदै हामीले वाङच्याङ पार्कमा धेरै घण्टा बिताएका छौँ । पार्कका चिया पसलमा यसरी बिताएका समयको सम्झना मात्रले पनि हामीलाई फेरि फेरि उसरी नै त्यहाँ गएर केही घण्टा बिताऊँ जस्तो महसुस हुन्छ । रोममा जाँदा रोमनजस्तो हुनु भन्ने त पुरानो भनाइ नै छ । हिजोआज सिछुवानमा हामी सिछुवानीजस्तै चिया पसलमा गएर सिछुवान शैलीमा चिया पिउने भएका छौँ ।
त्यसो त वसन्त पर्व सकिएको महिना दिनभन्दा बढी समय व्यतीत भइसकेको छ । तर, सिछुवानमा वसन्त पर्वपछि पनि राम्ररी घाम नलाग्दा वसन्तयामको आयु यो वर्ष छोटियो, जाडोयाम अलि लामो समय बाँचेर भर्खरै बिदा भयो । वसन्त ऋतुले उचाइ लिन पनि नपाउँदै केही दिनमै गर्मी भने निकै बढ्यो । तथापि, न्यानो घामको थकथकी मेटाउन गर्मी झेल्दै मानिसहरूले पार्कमा गएर तातो चिया पिउन छोडेका छैनन् ।
छिङमिङ पर्व (चिनियाँहरूको पितृपुजन पर्व) को बिदामा मित्र वन हानको कतै घुम्न जाने प्रस्तावलाई धेरै दिनदेखि कतै टाढा घुम्न नगएको मलाई सहजै स्वीकार्न समय लागेन । मेट्रोमा चालिस मिनेटको यात्रापछि उनले भनेको गन्तव्यमा पुगेँ । डानियल आफ्नो गाडीमा हामीलाई पर्खिरहेका थिए । अङ्ग्रेजी बोल्न खुब मन पराउने रसिला डानियल धेरै दिनपछि हामीलाई भेट्दा खुसीले हुरुक्कै थिए । उनको गाडीमा झन्डै आधा घण्टाको यात्रा पछि हामी छङ तुकै बाहिरी घेरामा अवस्थित अर्धग्रामीण क्षेत्र फङ चनमा पुग्यौँ ।
फङ चनको एक सय वर्ष पुरानो चिया पसलमा चिया पिउन त्यो दिन त्यहाँ पुग्ने हामी मात्र भने थिएनौँ । झिङ्गटी छाएका एकतले घरहरूको सानो गाउँले बजारमा हजारौँ मानिसको भीड कतै मेला लागेजस्तै थियो । छिङ वंशको उत्तर्राद्र्धतिर बनेको यो सानो बजार कुनै बेला अनाज र तोरी व्यापारको केन्द्र थियो । वरपर गाउँका गाउँले अनाज र तोरी बेच्न त्यहीँ आउँथे । छङ तुलगायत ठुला सहरबाट व्यापारीहरू अनाज र तोरी किन्न पनि त्यहीँ जान्थे । बेच्ने र किन्नेहरूको आवतजावतले जीवन्त बनेको बजारमा ल्युच्याङतोङ नामको चिया पसल खुल्यो । चियाका पारखी चिनियाँहरूको लागि ल्युच्याङतोङ आपसमा भेट्ने, कुराकानी गर्ने, चिया पिउने केन्द्र बन्यो । त्यही ल्युच्याङतोङ चिया पसल समयका अनेकानेक आरोहअवरोह छिचोल्दै आफ्नै लयमा आज पनि चिया बेचिरहेको छ ।
एक सय वर्ष पुरानो चिया पसलमा चिया पिउन हामीभित्र पस्दा अचानक कम्तीमा आधा शताब्दी पुरानो समयमा प्रवेश गरेजस्तो भान भयो । चिया पसलका भित्तामा माओ त्सेतुङ र चिनियाँ क्रान्तिकारीहरूका पुराना भित्तेचित्रले हामीलाई माओकालीन चीनमा पुगेको अनुभव भयो । चिया पसलभित्र बाँसका पुराना कुर्सीमा बसेका सयाँै मानिस चिनियाँ शैलीका पाते चियामा तातो पानी थप्दै चिया पिउनुको मज्जा लिइरहेका थिए । चिया पसलको भुइँदेखि भित्ता र छानाले पनि पुरानै समयको छनक दिइरहेको थियो । ठुलो कराइमा उमालिएको पानी ठुलठुला चियादानीमा खन्याउँदै थिए, चिया पसलका कामदारहरू । अनि त्यही चियादानीबाट तातोपानी ससाना कपमा ओब्याउँदै टेबुल टेबुलमा पु¥याउन उनीहरूलाई भ्याइनभ्याई थियो ।
झन्डै शताब्दीअघि पनि यो चिया पसलमा यसरी नै ठाउँ ठाउँका मानिस आएर यसरी नै चिया पिउँथे होलान् । थरी थरीका पातेचियामा पानी थप्दै उनीहरू संसार र चीनको भविष्यबारे छलफल गर्थे होलान् । चिनियाँ समाजमा समयसँगै आएका परिवर्तनबारे उनीहरू बहस गर्थे होलान् । अनि उनीहरूको बहसमा ऊर्जा थप्दै चिया पसलका कामदारहरू घरीघरी तातोपानी थप्न आउँथे होलान् । त्यहीबिच आउँथे होलान्, कान सफा गर्ने र शरीर मालिस गराउने मानिसहरू आफ्नो औजार टिरिङ टिरिङ बजाउँदै । नजिकको छङ तु सहर विकासको दौडमा बेतोड दौडिरहँदा ल्युच्याङतोङ भने आफ्नै पुरानै लयमा समय व्यतीत गरिरहेको छ । फरक, अहिले त्यहाँ चिया पस्किने कपमा केही चिनियाँ अक्षर लेखिन थालेको छ, एक सय वर्ष पुरानो चिया पसल ।
वन हान र डानियलसँग केही घण्टा चियासँगै कुराकानी गरेपश्चात् हामीले केहीबेर बजार घुम्ने निधो गर्याैँ । बजार घुम्दै जाँदा त्यो सानो बस्तीका अधिकांश घरमा चिया पसल भएको देख्दा थप रोचक लाग्यो । एक सय वर्ष पुरानो चिया पसलको कारण त्यहाँ धेरैतिरबाट मानिसहरू चिया पिउन आउन थालेपछि हिजोआज त्यहाँका हरेक घर नै चिया पसल बनाइएको रहेछ । (त्यो दृश्यले मलाई भने नेपालको सप्तरी जिल्लाको बरमजियाको पेदा पसलको याद आयो । कुनै बेला बरमजियामा एक जना बुढो मान्छेले खोलेको पेदा पसल निकै चर्चित भएछ । समयान्तरमा त्यो बजारभरिका सबै मानिसले त्यही नाममा अनेकथरी विशेषण थप्दै पेदा पसलहरू खोल्न थाले ।) गल्लीभित्रका घरको बलेसीमा कम्तीमा एउटा टेबुल राखेर चिया पसल बनाइएको छ । घरको आँगनमा चिटिक्क शृङ्गारेर बनाइएका ती पसलहरूले स्थानीयहरूलाई गरी खाने बाटो दिएको छ । कतिपय पुराना घरलाई पुरानै शैलीमा जीर्णोद्धार गरेर पुरानो समयको आभास दिने चिया पसल बनाउन लागिएको देखियो ।
हप्ताको पाँच दिन काममा व्यस्त रहने सहरिया चिनियाँहरू सप्तहान्तमा कम्तीमा नजिक नजिकका ठाउँमा घुम्न मन पराउँछन् । परिवार र केटाकेटीलाई मौसमअनुसारका प्राकृतिक थलो, सङ्ग्रहालय, पुस्तकालय, सम्पदा क्षेत्र, ऐतिहासिक ठाउँमा घुमाउन र देखाउन लगिरहेका हुन्छन् । विशेषतः केटाकेटीलाई समाज र देशबारे जानकारी दिने हेतुले पनि आमाबुबाले समय मिलाएर नजिकका त्यस्ता गाउँठाउँमा घुम्न जान्छन् । विद्युतीय उपकरणको लतबाट केटाकेटीलाई जोगाउन र समाजको खास अवस्था प्रत्यक्ष अनुभव गराउन केटाकेटीका हात समाएर यसरी घुमाउन लाने चलन चिनियाँ समाजको भविष्यप्रतिको चिन्ताको परिणाम हो । व्यस्त आमाबुबाले नभ्याए बाजेबज्यैसँगै पनि केटाकेटी यसरी घुम्न आइरहेका हुन्छन् । यसरी मानिसहरू घुम्न थालेपछि यसअघि ओझेलमा परेका ठाउँहरू पनि अहिले पर्यटनको केन्द्र बनेका छन् । सामाजिक सञ्जालका छोटा भिडियोहरूले पनि त्यस्ता ठाउँको प्रचारमा टेवा पु¥याइरहेका हुन्छन् । ठाउँको विशेषताअनुसार पर्यटन प्रवद्र्धनको लागि स्थानीय सरकारले पनि पूर्वाधारमा लगानी गरिरहेको देखिन्छ । फलतः ग्रामीण क्षेत्रका मानिसहरूको आम्दानीका स्रोत बढेको छ जसले चिनियाँ समाजलाई आर्थिकरूपमा समान र सम्पन्न बनाउन मद्दत गरिरहेको छ । विशेषतः स्थानीय सरकारहरूले त्यस्ता सम्भावित पर्यटकीय क्षेत्रको अनुसन्धान र प्रवद्र्धनमा अग्रणी भूमिका खेलिरहेका हुन्छन् । त्यसैको एउटा सकारात्मक उदाहरण हो फङ चन । क्षेत्रफलको हिसाबमा त्यो ठाउँ त्यति ठुलो ठाउँ होइन । केही सय घर भएको एउटा सानो संरक्षित गाउँ जस्तो । संरक्षित ठाउँभित्र सबै घर एकतले र झिङ्गटीले छाएका गाउँले घरहरू छन् । तर, सबै घरले आआफ्नो हिसाबले पर्यटनबाट आर्थिक लाभ लिने चाँजो मिलाइएको छ ।
आफ्नै लयमा अघि बढिरहेको एक सय वर्ष पुरानो चिया पसल कुनै दिन यसरी त्यो ठाउँको परिचय बन्न सक्छ भन्ने कुरा सय वर्षअघिका चिया पसलेले सायदै सोचेका होलान् । तर, आज त्यही ज्येष्ठतामा आफ्नो विगत खोज्न र केही बेर विगत अनुभव गर्न हजारौँ मानिस फङ चनमा जाने गरेका छन् । किनभने, त्यहाँको चियामात्र चिया होइन, बरु चियासँगै इतिहासका केही थान अनुभव पनि हुन् ।
फङ चन वरपरका तोरीबारीले दिनलाई अझ उज्यालो बनाएको थियो । फङ चनको चियासँगै केही फरक अनुभव सङ्गालेर हामी छङ तुतिर दौडियाँै ।
Leave a Reply