भर्खरै :

स्थानीय पथप्रदर्शकहरू विश्व राजनैतिक परिवेशबारे सचेत हुनुपर्ने

स्थानीय पथप्रदर्शकहरू विश्व राजनैतिक परिवेशबारे सचेत हुनुपर्ने

भक्तपुर, ३० चैत । नव वर्ष २०८२ तथा भक्तपुरको ऐतिहासिक बिस्का जात्राको अवसरमा स्थानीय पथप्रदर्शकहरूबिच शनिबार शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
वाग्मती प्रदेशका सांसद सृजना संैजुले पथप्रदर्शकहरूले पर्यटकहरूलाई भक्तपुरको कला, संस्कृति, इतिहास र यहाँको विकासबारे जानकारी दिएर राजदूतसरह जिम्मेवारी बहन गर्नुपर्ने बताउनुभयो । पथप्रदर्शकहरूले आफ्नो व्यक्तित्व विकासलाई ध्यान दिनुका साथै शिष्ट व्यवहार गर्न जोड दिनुभयो । विदेशीहरू यहाँको बारेमा अध्ययन गरेर भ्रमणमा आउने हुनाले यहाँको इतिहास, सांस्कृतिक, आर्थिक, सामाजिक र विश्व राजनैतिक विषयमा जानकार हुनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।
यो वर्ष चिनियाँ सरकारले सन् २०२५ लाई नेपाल भ्रमण वर्ष घोषणा गरेसँगै भक्तपुरमा चिनियाँ पर्यटकहरूको सङ्ख्यामा वृद्धि हुने सम्भावना बढेको उल्लेख गर्दै उहाँले भारतीयहरूका लागि नेपाल धार्मिक पर्यटनको सम्भावना रहेको गन्तव्य स्थल हो भन्नुभयो । उहाँले भन्नुभयो, “भक्तपुर विश्व सम्पदा सूचीमा सूचिकृत सहर हो । यहाँको कला, संस्कृति तथा जीवनशैली विश्व प्रसिद्ध छ । भक्तपुरलाई सम्पदा पर्यटन, विविध खाद्यहरूको खाना पर्यटन, विभिन्न समयमा जनताको हितमा भएको आन्दोलन र सङ्घर्षहरूबारे अध्ययनको लागि आउने राजनैतिक पर्यटनमार्फत भक्तपुरको पर्यटनमा थप विकास गर्न सकिन्छ ।”
भक्तपुर नगरपालिका र भक्तपुर पर्यटन विकास समितिको संयुक्त प्रयासमा विविध किसिमका पर्यटनको विकास गर्न सुझाव दिँदै उहाँले समसामयिक विश्वराजनैतिक परिवेशबारे जानकारी राख्नुपर्नेमा जोड दिनुभयो ।
साम्राज्यवादी तथा पुँजीवादी देश संयुक्त राज्य अमेरिकाले समाजवादी देशहरूलाई दुःख दिइरहेको उल्लेख गर्दै उहाँले विश्वमै अशान्त मच्चाइरहेका अमेरिकाले अहिले चीनको आर्थिक विकासलाई रोक्न व्यापार युद्ध गर्न खोजिरहेको छ† ट्रम्प सरकारले चिनियाँ समानमा १४५ प्रतिशत सम्मको चर्काे आयात कर लगाउने घोषणा गरेर अमेरिका–चीनबिच व्यापार युद्ध गरेको स्पष्ट पार्नुभयो ।
चीनले विश्वका विभिन्न गरिब जनतालाई सस्तो मूल्यमा विभिन्न वस्तुहरू उत्पादन गरी उपलब्ध गराइरहेको स्पष्ट पार्दै उहाँले अमेरिका र चीनसँग व्यापार युद्ध गरेर विश्व आर्थिक वृद्धिलाई सुस्त बनाउने र यसले विश्वव्यापी वृद्धिलाई मन्द बनाएर अन्य देशको अर्थतन्त्रलाई समेत हानि पु¥याउन सक्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा भक्तपुर स्थानीय पथप्रदर्शक परिचालन समितिका संयोजक गौतमप्रसाद लासिवाले भक्तपुरका स्थानीय पथप्रदर्शकहरूले भक्तपुरको पर्यटन विकास गर्न स्थानीय सरकारलाई सहयोग गरिरहेको र भविष्यमा थप सहयोग गर्न आह्वान गर्नुभयो । उहाँले नगरपालिकाले गरिरहेका विभिन्न गतिविधिबारे पर्यटकहरूलाई बताउनुपर्नेमा जोड दिँदै २०८१ सालमा भएका विभिन्न कमी कमजोरी तथा गल्तीहरूबाट सिकेर आगामी नयाँ वर्ष २०८२ सालमा सुधार गर्नुपर्नेमा सचेत पार्नुभयो । उहाँले पथप्रदर्शकहरू आर्थिक अनुशासनमा बस्नुपर्ने, व्यक्तित्व विकासको लागि निरन्तर अध्ययन गर्नुपर्ने र विकृति र विसङ्गतिबाट टाढा बस्नुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिका वातावरण तथा पर्यटन समितिका सदस्य मञ्जुमैया लाखाले पर्यटकहरू भक्तपुर भ्रमणमा आउँदा पहिला पथप्रदर्शकहरूसँग प्रत्यक्ष सम्पर्क हुने भएकोले भक्तपुरको अनुभवमा गहिरो प्रभाव पार्ने हुनाले पथप्रदर्शकहरू शिष्ट, मर्यादित तथा सभ्य हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दिपेशराज शर्माले पथप्रदर्शकहरूले पर्यटकहरूका विभिन्न समस्याहरू समाधान गर्न सक्षम हुन जोड दिनुभयो । उहाँले पर्यटकहरूलाई विभिन्न स्वास्थ्य समस्याहरू आइपर्नसक्ने हुनाले प्राथमिक उपचारका बारेमा समेत जानकारी राख्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पर्यटक प्रहरी भक्तपुरका असई चन्दे्रश्वर बनबरिया, पर्यटन शरद खत्री, स्थानीय पथप्रदर्शकहरू विष्णुप्रसाद सुवाल र विक्रम सुवालले पनि शुभकामना व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *