खेलाडीहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा जानकारी राख्नुपर्ने
- बैशाख १, २०८२
भक्तपुर नगरपालिकाको आयोजनामा गत चैत २३ गतेदेखि २५ गतेसम्म अन्तर–नगर जिम्न्यास्टिक प्रतियोगिता सम्पन्न भयो । प्रतियोगितामा १८ वटा नगरपालिकाका १६६ जना खेलाडीहरूले सहभागिता जनाएका थिए । यस प्रतियोगितामा जुनियर छात्र/छात्रा र सिनियर छात्र÷छात्राको फ्लोर र भल्वका खेलहरूको प्रतियोगिता सञ्चालन भएका थिए ।
जिम्न्यास्टिक खेललाई मोडर अफ अल स्पोर्टस् ९ःयतजभच या बिि कउयचतक० भनिन्छ । सबै खेलको आधार खेल जिम्न्यास्टिकलाई लिने गरिन्छ । तर, नेपालमा थोरै कम प्रतियोगिता हुने खेलमध्ये जिम्न्यास्टिक पनि एक हो । जिम्न्यास्टिक खेल महँगो खेल मानिन्छ । यसका खेल सामग्रीहरू विदेशबाट आयात गर्नुपर्ने हुँदा नेपाल र नेपालीका लागि महँगो हुन्छ । यस खेलका खेल सामग्रीहरूको सुरक्षाका लागि कभर्डहलभित्र राख्नुपर्ने र खेलाडीहरूले अभ्यास पनि कभर्डहल भित्र गर्नुपर्ने कारणले जिम्न्यास्टिकको लागि हल अनिवार्य हुन्छ ।
सम्भवतः यस्तै कारणले हुनसक्छ, नेपालजस्तो विकासउन्मुख देशमा जिम्न्यास्टिकको विकास हुन सकेको छैन । तर, सीमित स्रोत साधनको उपलब्धमा पनि भक्तपुरका जिम्न्यास्टिक खेलाडीहरूले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा हासिल गरेको प्रगति देख्दा अचम्म मान्नुपर्छ । समग्र नेपालमा भक्तपुरका जिम्न्यास्टहरू अग्रपङ्क्तिमा रहेकोे तथ्याङ्कले देखाउँछ । राष्ट्रिय रेफ्री सृजना प्रजापतिले पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा चार गोल्डमेडल र अर्का राष्ट्रिय रेफ्री पिङ्की झाङले सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा २ वटा गोल्डमेडल जित्नु यस प्रमाण हो । भक्तपुर नगरपालिकाले आयोजना गरेको अन्तर–नगर जिम्न्यास्टिक प्रतियोगितामा भक्तपुर टीम च्याम्पियन हुन सफल भयो । जिम्न्यास्टिकका १५ जना राष्ट्रिय रेफ्री भक्तपुरका हुनुले पनि भक्तपुरमा जिम्न्यास्टिकको स्तर अन्य जिल्लाको अनुपातमा कहाँ छ भन्ने कुरा अनुमान गर्न सकिन्छ ।
वि.स. २०३७ सालबाट भक्तपुरमा जिम्न्यास्टिक खेलको प्रशिक्षण सुरू भएको देखिन्छ । सीमित खेल सामग्रीबाट सुरू भएको प्रशिक्षणबाट भक्तपुरमा उत्कृष्ट खेलाडीहरू उत्पादन भएको देखिन्छ । १२ वर्षको हुँदा वि.सं २०३७ सालबाटै जिम्न्यास्टिक प्रशिक्षण लिई तात्कालीन समयमा भएका विभिन्न प्रतियोगिता जित्दै भक्तपुरको मान सम्मान बढाउने कार्य गर्ने भक्तपुरका खेलाडीमध्ये विष्णुनारायण ग्वाछा पनि एक हुन् । १४ वर्षकै उमेरमा सन् १९८५ मा भारतको पतियाला गई प्रशिक्षण लिने अवसर उनले प्राप्त गरेका थिए । भक्तपुर नगरपालिकाले आयोजना गरेको अन्तर–नगर जिम्न्यास्टिक प्रतियोगिता मूल समारोह समितिका सदस्यसमेत रहेका ग्वाछासँग भक्तपुरको जिम्न्यास्टिक खेल र नगरपालिकाले आयोजना गरेको प्रतियोगिताकेन्द्रित रही जानकारीमूलक कुराकानी गर्ने अवसर पाएँ ।
भक्तपुर नगरपालिका वडा नम्बर ७ निवासी विष्णुनारायण ग्वाछा एक पूर्वजिम्नास्टिक खेलाडी हुन् । लामो समय (वि.स. २०३७) देखि जिम्न्यास्टिक क्षेत्रमा उनी सक्रिय हँुदै आएका हुन् । विष्णु्नारायण ग्वाछाले युवावस्थामा राष्ट्रियस्तरका विभिन्न प्रतियोगिताहरूमा भाग लिँदै थुप्रै शिल्ड, मेडल र प्रमाणपत्र जितेका थिए । उनले जिम्नास्टिकलाई आफ्नो जीवनको अभिन्न हिस्सा बनाएको देखिन्छ । उमेर र शारीरिक अवस्थाका कारण हाल उनी जिम्न्यास्टिक खेल्दैनन् । तर, यस खेलप्रतिको मोह र समर्पण उनमा अझै युवा अवस्थाको जस्तै देखिन्छ । यही कारणले उनी विभिन्न खेल गतिविधिहरूको प्रवद्र्धनमा सक्रिय भइरहन्छन् । उनी भक्तपुर जिल्ला जिम्न्यास्टिक सङ्घका उपाध्यक्ष र नेपाल जिम्न्यास्टिक सङ्घका केन्द्रीय सदस्यको रूपमा क्रियाशील छन् । भक्तपुर नगरपालिकाको आयोजनामा हालै सम्पन्न अन्तर–नगर जिम्न्यास्टिक प्रतियोगितामा उनी आयोजक समितिको सदस्यको रूपमा सक्रिय थिए ।
विष्णुनारायण ग्वाछा करिब ११–१२ वर्षको उमेरदेखि जिम्न्यास्टिकतर्फ आकर्षित भएका थिए । बाल्यकालमै शरीर चलाउने लचिलोपन र खेलप्रतिको जिज्ञासाले उनलाई यस खेलतर्फ डो¥याएको उनी बताउँछन् । त्यो बेलाको सन्दर्भमा खेलको स्रोत र संरचना आजजस्तो व्यवस्थित नभएको तर पनि जुनसुकै परिस्थितिमा अभ्यास जारी राख्ने गरेकोे उनी सम्झन्छन् । जिम्न्यास्टिकको कलात्मकता, सन्तुलन र मानसिक अनुशासनले उनलाई सधैँ मोहित बनाएको रहेछ । शारीरिक मात्र नभई मानसिक सुदृढताका लागि पनि जिम्न्यास्टिक खेल अत्यन्तै प्रभावकारी भएको उनी सुनाउँछन् । समयसँगै जिम्न्यास्टिक खेल उनको जीवनशैली र पहिचान बन्न पुग्यो ।
यसपटकको अन्तर–नगर जिम्न्यास्टिक प्रतियोगिता उत्साहजनक रहेको उनी बताउँछन् । जिम्न्यास्टिकजस्तो खेललाई प्राथमिकता दिइनु र स्थानीय युवाहरूलाई सहभागी गराइनु निकै सकारात्मक सङ्केतको रूपमा उनी लिन्छन् । । प्रतियोगिताको तयारीदेखि व्यवस्थापनसम्मको प्रक्रियामा सक्रिय भएर काम गरेका विष्णुनारायण ग्वाछा प्रतियोगितामा सहभागीहरूको उत्साह देख्दा निकै खुसी छन् ।
स्थान व्यवस्थापन, उपकरण उपलब्ध गराउने र प्रचारप्रसारमा भक्तपुर नगरपालिकाबाट आवश्यक सहयोग सधँै मिलेको कारण भक्तपुर जिल्ला जिम्न्यास्टिकसँगको सदस्यको हिसाबले खासै अप्ठ्यारो महसुस गर्न नपाएको उनी सुनाउँछन् । यद्यपि, अझ संस्थागत ढाँचामा काम गर्न सके सहयोगको प्रभावकारिता अझ बढ्न सक्नेमा उनी विश्वास गर्छन् ।
भक्तपुर नगरपालिकाले आयोजना गरेको अन्तर–नगर जिम्न्यास्टिक प्रतियोगिताको व्यवस्थापन समग्रमा प्रशंसनीय रहेको उनी बताउँछन् । कार्यक्रम समयमै सुरु भएको, खेलाडीहरूका लागि छुट्टै तयारी क्षेत्र बनाइएको र निर्णायक टोली पनि अनुभवी र निष्पक्ष देखिएको उनी बताउँछन् । खेल सामग्रीको व्यवस्थापन र सरसफाइमा पनि नगरपालिकाले ध्यान दिएको उनी सुनाउँछन् । “केही साना समस्याहरू पनि देखिए । प्रविधिको प्रयोग अझ सुदृढ गर्न सकिने थियो, स्कोरिङ प्रणाली अझ पारदर्र्शी र सहज बनाउन सकिन्थ्यो । तर, ती कुरा आगामी प्रतियोगितामा सुधार गर्न सकिने खालका हुन् । यो प्रतियोगिता जिम्न्यास्टिकको भविष्यका लागि उदाहरणीय कदम भएकोमा म सन्तुष्ट छु ।” नेपाल जिम्न्यास्टिक सङ्घका सदस्यसमेत रहेका विष्णुनारायण ग्वाछाले कमीकमजोरीहरू औँल्याए ।
हालका दिनमा नेपालमा प्रतिभाशाली खेलाडीहरू प्रशस्तै रहेको तर अवसरको अभाव रहेको उनी सम्झन्छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू आफूले चालेको बाटोमा सङ्घर्षरत हुने तर सरकारी तहबाट दीर्घकालीन योजना र स्थिर सहयोगको कमी अझै रहेको उनी भन्छन् । खेलाडीहरूलाई निरन्तर प्रशिक्षण, पोषण, मनोवैज्ञानिक सहयोग र प्रोत्साहन आवश्यक रहेको उनी जोड दिन्छन् । सङ्घीय, प्रदेश र स्थानीय सरकारले खेलाडीलाई सुरुदेखि नै चिन्ने, प्रशिक्षण दिने, छात्रवृत्ति उपलब्ध गराउने र खेलपछि पनि सम्मानपूर्वक पुनस्र्थापना गर्ने नीति बनाउनु अनिवार्य रहेको उनी बताउँछन् । “यसो गर्न सके हामीले विश्वस्तरका खेलाडी उत्पादन गर्न सक्छौँ ।” उनी भन्छन् ।
स्थानीय सरकारले खेलकुदलाई शिक्षासरह प्राथमिकता दिनुपर्ने उनको राय छ । विद्यालयस्तरबाटै खेलप्रतिको अभिरुचि विकास गर्न खेलकुदलाई नियमित पाठ्यक्रममा समावेश गर्नुपर्ने, खेल मैदान, प्रशिक्षण केन्द्र, प्रशिक्षक र खेल सामग्रीको सुनिश्चितता अनिवार्य रहेको तर्क उनको छ । यसका लागि बजेट विनियोजन र योजना कार्यान्वयनमा पारदर्शिता आवश्यक रहेको उनी बताउँछन् । त्यस्तै, प्रतिभा पहिचानका लागि वार्षिक वा अर्धवार्षिक प्रतियोगिता आयोजना गर्नु पनि उपयुक्त हुने उनी भन्छन् । खेलकुदमा लगानी भविष्यको स्वस्थ, सक्षम र अनुशासित पुस्तामा लगानी हो भन्ने दृष्टिकोण राखेर अगाडि बढ्नुपर्नेमा उनी जोड दिन्छन् ।
प्रतियोगितालाई अझ प्रभावकारी बनाउन आयोजक समितिलाई केही सुझाव दिन चाहनुहुन्छ कि भन्ने प्रश्नको जवाफमा उनी भन्छन्, “अवश्य, केही सुझावहरू छन् । भविष्यका प्रतियोगिताहरूलाई अझ प्रभावकारी बनाउन सक्छ । पहिलो, प्रतियोगिताको पूर्वतयारी चरणमै खेलाडी, प्रशिक्षक र निर्णायकहरूका लागि अभिमुखीकरण कार्यक्रम गर्न सकिन्छ । दोस्रो, स्कोरिङ प्रणालीमा प्रविधिको प्रयोग गरी पारदर्शिता र तत्काल परिणाम प्रस्तुत गर्ने व्यवस्था गर्नुपर्छ । तेस्रो, सूचनामूलक बोर्डको आवश्यक छ । अन्तमा, सहभागिता र योगदान दिने सबैलाई प्रमाणपत्र वा सम्मानपत्र प्रदान गरिनु आवश्यक छ, जसले उनीहरूमा थप प्रेरणा दिनेछ ।”
Leave a Reply