भर्खरै :

विद्यालय भलिबल प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

विद्यालय भलिबल प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

भक्तपुर, १ कार्तिक । भक्तपुर नगरपालिकाको आयोजनामा गत असोज २६ गते आइतबारदेखि सञ्चालन भएको एकहप्ते विद्यालयस्तरीय भलिबल प्रशिक्षक प्रशिक्षण तालिम शनिबार प्रमाणपत्र वितरणसहित सम्पन्न भएको छ ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले नैतिक ज्ञान र अनुशासित प्रशिक्षकबाट प्रशिक्षित विद्यार्थीहरू जस्तोसुकै कठिनाइमा पनि देशभक्ति भावना राखी डटेर लाग्नुपर्ने बताउनुभयो ।
उपप्रमुख जोशीले भन्नुभयो, “हाम्रा पूर्वजहरूले उज्यालो बनाउनुपर्छ भनेर वैज्ञानिक रूपमा नयाँ पुस्तासमक्ष संस्कृतिको हस्तान्तरण गरेका छन् ।”
हरेक क्षेत्रको काम गर्दा सकारात्मक सोच आवश्यक भएको बताउँदै उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिबारे थाहा पाइराख्नुपर्ने बताउनुभयो ।
भक्तपुर जिल्ला भलिबल सङ्घका अध्यक्ष विनोदचरण रायले भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष सञ्चालन गरेको खेलाडी प्रशिक्षक प्रशिक्षण तालिम, खेलको नैतिक मूल्य र मान्यता, उत्कृष्ट खेलाडी छनोटबारे बताउनुभयो ।
प्रशिक्षक विजयकृष्ण बाडेले तालिमबाट शिक्षकहरूको क्षमता अभिवृद्धि भएको र व्यवहारिक छलफल तथा शिक्षणको माध्यमबाट विद्यार्थीले सिकाइलाई सहजरूपमा लिने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिका वडा नं १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा खेलकुद समितिका सदस्य उपेन्द्र सुवाल तथा प्रशिक्षार्थीद्वयलगायतले बोल्नुभएको थियो ।
उक्त एकहप्ते भलिबल प्रशिक्षक प्रशिक्षण तालिममा विजयकृष्ण बाडे, सुलोचना सिजख्व, रीता प्रजापति, जगदीश भट्ट, गौतमप्रसाद लासिवा तथा डा. लक्ष्मण अधिकारीलगायतले प्रशिक्षण दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *