यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले लेख्नुभएको ‘आत्मनिर्भरताको प्रश्न र आर्थिक विकास’ नामक पुस्तकको तेस्रो संस्करण २०८१ असोज महिनामा जनप्रकाशन गृहले प्रकाशित ग¥यो ।
पुस्तकको पहिलो संस्करण युवा अध्ययन गोष्ठी काठमाडौँले २०४६ साल असारमा र दोस्रो संस्करण नेपाल मजदुर किसान पार्टी केन्द्रीय प्रकाशन समितिले २०५८ साल साउनमा प्रकाशन गरेको थियो । पुस्तकको पहिलो खण्ड आत्मनिर्भताको प्रश्न र दोस्रो खण्ड आर्थिक विकास गरी दुई खण्डमा विभाजित छ ।
पुस्तकमा नेपालको आर्थिक विकासको सन्दर्भ, के नेपाल आफ्नै खुट्टामा उभिन सक्छ ? भन्ने प्रश्नको जवाफ छ । पुस्तकमा लेखिएको छ, नेपाली जनता आफ्नो भविष्यप्रति जिम्मेवार हुने हो भने हामी आफ्नै खुट्टामा उभिन सक्छौँ । नेपाली पौरख, प्राकृतिक सम्पदा जल, जमिन र जङ्गल छ । हिमाल, पहाड र तराईको भूगोललाई उपयोग गरेर नेपाली जनता आत्मनिर्भर बन्न सकिन्छ ।
पञ्चायती निरङ्कुश व्यवस्थाको समयमा पनि मित्र देशहरूले बनाइदिएका कलकारखानाले हामीलाई आत्मनिर्भर हुन टेवा पु¥याएका थियो । ती उद्योगहरूको संरक्षण सँगसँगै घरेलु तथा कुटीर उद्योग र साना एवम् मझौला उद्योगहरूसमेत विकास गर्दै जानु जरूरी छ । तर, बहुदलीय व्यवस्था पुनःस्थापना र गणतन्त्र नामको पुँजीवादी व्यवस्थाले भएका कलकारखानाहरू कौडीको मोलमा निजीकरण गर्दै देशलाई परनिर्भर बनाउँदै लग्यो । विदेशीको जुठो नखाई बाँच्नै नसक्ने शासक पार्टी नेका, एमाले तथा माओवादी, रास्वपा, राप्रपाका नेताहरूको बुद्धिले देशको उद्योगधन्दा र कृषि व्यवसाय धराशायी बनाएको छ । शासक दलहरूको परनिर्भर प्रवृत्तिको विरोध गर्नुपर्ने, आफ्नै मौलिक सीप र आर्थिक विकासलाई जोड दिनुपर्ने र आत्मनिर्भर भएर जिउन सिक्नुपर्ने सन्देश यो पुस्तकले दिएको छ ।
अन्तर्राष्ट्रिय सद्भाव र सहयोग जरूरी होला तर साम्राज्यवादी र विस्तारवादीको सहयोगको नाममा गुलियो पोतिएको विष जरूरी हुनेछैन । बरू, घरेलु आवश्यकता पूरा गर्न स–साना उद्योगहरू खोल्दै जानुपर्नेमा यस पुस्तकले जोड दिएको छ ।
देशमा उद्योगधन्दा तथा कलकारखानाहरू एकै ठाउँमा सञ्चालन गराउनु उपयुक्त हुनेछैन । देशको सन्तुलित विकास हुने गरी आर्थिक विकासका आधारहरू स्थापना गर्नुपर्दछ । बाह्य हस्तक्षेपबाट मुक्त राख्न नेपालको भित्री मधेश र मध्य पहाडी क्षेत्रमा उद्योगहरूको स्थापना गरी आर्थिक आधार बलियो बनाउनुपर्ने सुझाव पुस्तकमा छ ।
यस पुस्तकको आर्थिक विकास खण्डमा एसिया, युरोप र अमेरिकाका केही देशहरूको आर्थिक विकासको सङ्क्षिप्त वर्णन पनि दिइएको छ ।
आफूले उपनिवेश कायम गरेका गरिब राष्ट्रहरूलाई लुटेर बेलायत सम्पन्न भएको हो । तर, साम्राज्यवादी लुट सधैँ कायम रहन्न । आज बेलायत अमेरिकी साम्राज्यवादको पुच्छर समातेर वैतरणी तर्ने कोशिश गर्दै छ भने ब्याज खान पल्केको फ्रान्स, जमिनबाट फस्टाएको जर्मनी, पश्चिमा सिको गर्ने जापान र एकाधिकारबाट उदाएको अमेरिकालाई आफ्नो अस्तित्व कायम राखिरहन २१ सौँ शताब्दीमा धौधौ परेको पुस्तकमा उल्लेख छ ।
मजदुर, किसान र बुद्धिजीवीको भरोसामा विकास भएको देश सोभियत सङ्घ हो । तर, सिद्धान्तबाट स्खलित नेतृत्वको कारण सोभियत सङ्घ १४–१५ टुक्रामा विभाजित भयो । तर, आफ्नै पसिनाबाट बनेको प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले विश्वमा आफ्नो छुट्टै परिचय कायम गरेको छ । आज प्रजग कोरियाले अमेरिकी साम्राज्यवादलाई हाँक दिन सक्ने देश भएको छ । प्रजग कोरिया एकपछि अर्को सफलता हासिल गर्दै आत्मनिर्भर र स्वाधीन भएर बाँचेको पुस्तकमा उल्लेख छ ।
सानो आकारको पुस्तक सजिलै बोक्न सकिने, स्पष्ट बुझिने अक्षरले पाठकलाई पढ्न र बुझ्न सहज भएको छ । पुस्तकको मूल्य साथीहरूसँग एक चियाबसाइ खर्च रू. २२५।– यथोचित छ । प्रकाशक संस्थाबाट अरू यस्तै पठनीय पुस्तक प्रकाशनको अपेक्षा गर्दै धन्यवाद दिन चाहन्छु ।
Leave a Reply