नेपालभाषा साहित्य तःमुंज्या राजनीतिक र साहित्यिक दबु
- आश्विन १४, २०८३
साम्राज्यवादी शक्ति र देशी विदेशी प्रतिक्रियावादीहरू समाजवादी देश लक्षित गरेर अनेक जाल बुन्दै छन् । साम्राज्यवादी देशहरू कहिले कर युद्ध त कहिले नाकाबन्दी गर्छन् । अरु स्वाधीन र सार्वभौम देशमा आक्रमण गर्ने, आक्रमण गराउन सहयोग गर्ने, त्यहाँको स्रोत साधन कब्जा गर्ने र शक्ति र प्रजातन्त्रको नाउँमा हतियार बिक्री गरेर धनी बन्ने काम साम्राज्यवादी देशहरूले गरिरहेको यथार्थ हो । समाजवादी देशहरूले गरिरहेको प्रगति रोक्न या बाधा हाल्न, समाजवादी लक्ष्य पूरा नगर्न साम्राज्यवादी देशले सैन्य बल प्रयोग गरिरहेको अर्को यथार्थ हो । साम्राज्यवादी देश संयुक्त राज्य अमेरिकाले प्रजातान्त्रिक जन–गणतन्त्र कोरियामा पनि त्यस्तै धम्की दिएको थियो । एक शक्तिशाली देशले सानो भूभाग रहेको प्रजग कोरियामा कुल्चने, मानव अधिकार हनन गरी आफूले रोजेको दमनकारी र हस्तक्षेपकारी नीतिको विरोधमा र आफ्नो स्वाधीनता र सार्वभौमिकताको रक्षा गर्न प्रजग कोरियाली सन्गुन नीति तयार भएको हो ।
सन्गुन नीति कोरियाली जनताका प्रिय नेता किम इल जङले प्रतिपादन गरेको मौलिक नीति हो† मौलिक राजनीतिक कार्यक्रम हो । साम्राज्यवादीहरूले कोरियालाई समाप्त पार्ने जालसाजी गर्दा, कोरियाको राजनीतिक स्थिति कठिन अवस्थामा रहेको बेला देशलाई जोगाउन र कोरियाली क्रान्तिलाई नयाँ उचाइमा पु¥याउन यो नीति तयार भएको हो । सन्गुन राजनीति परिपक्व समाजवादी राजनीति हो । मजदुरवर्गको क्रान्तिकारी सशस्त्र शक्तिलाई सुदृढ पारी समाजवादी लक्ष्य पूरा गर्ने यो बलियो आधार हो । समाजवादी आजु पूरा गर्ने सङ्घर्षको क्रममा कोरियाली क्रान्तिसामु उत्पन्न राजनीतिक परिस्थितिको मूल्याङ्कन गरी प्रतिपादन गरिएको यो सन्गुन नीति अहिले पनि समय–सान्दर्भिक देखिएको छ । समाजवादी आन्दोलनको इतिहासमा सन्गुन राजनीति समाजवादी राजनीतिको इतिहासकै एक उपलब्धि हो । सैन्य कार्यलाई केन्द्रबिन्दु बनाएर क्रान्ति र निर्माणमा आइपर्ने विभिन्न समस्यालाई सुल्झाउने र जनसेनालाई क्रान्तिको मेरुदण्डको रूपमा अघि बढाउने ध्येय नै सन्गुन राजनीति हो । प्रजग कोरियाको क्रान्तिकारी युद्धमा प्रतिरोध शक्तिलाई उच्च पार्न यो समयको आवश्यकता भयो ।
क्रान्ति र निर्माणमा देखापर्ने सबैखाले जटिलता सुल्झाउन सन्गुन नीति आवश्यक भयो । पार्टी र राज्यको अस्तित्व अनि आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको जग सुदृढ पारी पितृभूमिको रक्षा गर्न यो नीति आवश्यक भयो । यो सेनालाई क्रान्तिको खम्बा र प्रमुख शक्तिको रूपमा उभ्याएर समाजवादी लक्ष्यतर्फ लम्कँदै जाने राजनीतिक उपाय हो । क्रान्तिकारी सेना पार्टी, नेता, पितृभूमि र जनताप्रति बफादार क्रान्तिकारी भावनाबाट ओतप्रोत व्यक्तिहरूको समूह हो । यही क्रान्तिकारी भावनाकै कारण संसारकै शक्तिशाली देश अमेरिकासँग नझुकी डटिरहेको हो । आवश्यक परेको बेला प्रतिकार गर्न आणविक शक्ति तयार गरिएको हो । साम्राज्यवादविरुद्ध लड्न यो शक्ति आवश्यक भयो । साम्राज्यवादी सैन्यनीति शोषकवर्ग पुँजीपतिवर्गको हितको निम्ति प्रयोग गरिने जनविरोधी नीति हो । सन्गुन नीति देशको स्वाधीनता र सार्वभौमिक रक्षा गर्न र जनताको सुरक्षाको निम्ति तयार भएको हो । अर्थात् मजदुर वर्गलाई स्थान दिने सिद्धान्तमा आधारित एक भरपर्दो नीति हो यो ।
पितृभूमिको सुरक्षा गर्नु क्रान्तिकारी जनसेनाको अभिभारा र कर्तव्य हो । क्रान्तिकारी सेनाले देशको सरक्षा गर्न सके मात्र समाजवादी निर्माण र क्रान्तिको उपलब्धि कायम रहन्छ । सन्गुन नीतिलाई वर्गीय दृष्टिकोणको मान्यताअनुसार सैद्धान्तिक, राजनीतिक र विचारधारात्मक रूपमा विकास गरिएको छ । यस नीतिले देशमा समृद्धिशाली र शक्तिशाली राष्ट्र निर्माणको जग बलियो बनाउन टेवा पुग्यो । समाजवादी राजनीति सार्वभौमसत्ताको नीतिमा आधारित हुनुपर्छ । तर, सत्तामा जाने नेपालका कम्युनिस्टहरू सार्वभौमसत्ता जोगाउनेतर्फ ख्याल गर्दैनन् । उनीहरू आफ्नो देशको अस्तित्वमा असर पार्ने, शक्तिशाली देशको हितमा काम गर्न अघि सरेका छन् । नेपाल र नेपालीलाई दूरगामी असर पार्ने बाटो तयार गर्छन् ।
सन्गुन राजनीतिले साम्राज्यवादी शक्तिसँगको मुठभेदमा समाजवादी शक्तिको विजयलाई सुनिश्चित गर्छ । यस राजनीतिले समाजवादी समाजको सामाजिक र राजनीतिक जग सुदृढ बनाउने काम गर्छ । यसले समाजवादी अर्थतन्त्र निर्माणको लागि सहयोग गर्छ । सेनाको कामलाई महत्व दिने विचारधारा नै सन्गुन राजनीति हो । सत्ता भनेको मजदुरवर्ग र समाजको हित एंव संरक्षण गर्ने र समाजको सदस्यलाई पथ प्रदर्शन गर्ने राजनीतिक नेतृत्वकारी अङ्ग हो । व्यापक जनता सत्ताको मालिक हुनुपर्छ भन्ने प्रजग कोरियाको मान्यता छ । सेना कमजोर भयो भने पार्टी भत्किए पनि पुनः निर्माण गर्न सकिन्छ भन्ने प्रजग कोरियाको मान्यता हो । तर, सेना सामन्त, प्रतिक्रियावादी र साम्राज्यवादीहरूको पक्षमा उभिनु हुँदैन; सेना कामदारवर्गको शासन स्थापना गर्न उपयोग हुनुपर्छ ।
सन्गुन नीति कोरियाली नेतृत्वको क्रान्तिकारी सिद्धान्त हो । क्रान्तिको बाटोमा प्रतिक्रान्तिकारी शक्तिबाट षड्यन्त्र पनि हुनसक्छ । त्यसकारण, क्रान्तिकारी सेना आवश्यक हुन्छ । क्रान्तिकारी भावना भनेको कुनै पनि कठिनाइमा पार्टीले दिएको जिम्मा ठीकसँग पूरा गर्ने भावना हो । देश र जनताको निम्ति ज्यानसमेत दिने बलिदानपूर्ण भावना हो । प्रिय नेता किम जङ इलले राजनीतिक संवैधानिक व्यवस्था बलियोसँग तयार पार्दै भन्नुभएको थियो; “भविष्यमा हामीले जनसेना साथमा लिएर समाजवादी क्रान्तिको रक्षा गर्नुपर्छ ।”
समाजवादको उद्देश्य व्यापक जनतालाई सार्वभौम बनाउनु हो । यो उद्देश्य प्राप्त गर्न व्यापक जनतालाई सचेत र सङ्गठित गर्न आवश्यक छ । समाजवाद स्थापना गर्न व्यापक जनतालाई परिचालन गर्नुपर्छ । नेमकिपाले थालेको समाजवादी अभियान यसकै सिलसिला हो । नेमकिपाका नेता तथा कार्यकर्ताहरू जहाँ पुगे पनि, जहाँ सङ्गठन गरे पनि समाजवादी शिक्षा दिन्छन्; सामन्तवाद र पुँजीवादको विरोध गर्छन् । जनतालाई सिद्धान्तनिष्ठ बनाउन, सैद्धान्तिक, वैचारिक र सांस्कृतिक स्तर उठाउन उनीहरू प्रशिक्षित गर्छन् । यो हरेक सच्चा कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरूको जिम्मेवारी हो । त्यो जिम्मेवारी पूरा गर्नुपर्छ । माक्र्सवादी र लेनिनवादीको बखान गरेर कम्युनिस्ट पार्टीले निर्वाह गर्नुपर्ने भूमिमा निर्वाह गरेन भने त्यो देखावटी कम्युनिस्ट पार्टी हुनेछ । सन्गुन नीति व्यापक जनतालाई पुँजीपतिवर्गको दास हुन नदिने नीति हो । समाजवादी नीति व्यापक जनताको हितमा छैन भने त्यो नीति कम्युनिस्ट सिद्धान्तविपरीत हुनेछ । राजनीति भनेकै समाजको सामूहिकको निम्ति जनसमुदायलाई सङ्गठित गर्ने कार्य हो । समाजवादी नीति व्यापक जनतालाई राज्य र समाजको मालिक बनाउने हो । व्यापक जनताको स्वाधीनता कायम राख्न समाजवादीको रक्षा गर्नुपर्छ । समाजवादीको रक्षा गर्न साम्राज्यवादविरुद्ध पनि सङ्घर्ष गर्नुपर्छ ।
नेमकिपा कुनै देशको विरोधमा होइन, कुनै देशको जनताको विरोधमा होइन; साम्राज्यवादी नीति, विस्तारवादी नीति र आतङ्कित पार्ने नीतिको विरोधमा सङ्घर्षरत छ । हरेक कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तामा क्रान्तिकारी भावना चाहिन्छ । उच्च नैतिकता चाहिन्छ, क्रान्तिकारी चरित्र र कार्यशैली चाहिन्छ; दल जतिसुकै ठुलो भए पनि, जतिसुकै नेता तथा कार्यकर्ता भए पनि ती नेताहरूमा क्रान्तिकारी चरित्र छैन; उनीहरूमा आमूल परिवर्तनको भावना छैन भने त्यस्तो शक्ति या पार्टीले कम्युनिस्ट भए पनि परिवर्तन गर्दैन, परिवर्तन गर्न लाग्दैन । समाजवाद नै कामदार वर्गको लागि लागि उत्कृष्ट व्यवस्था हो । यसकारण, नेमकिपाले समाजवाद र पुँजीवादबिचको भेदबारे जनतालाई सुसूचित पार्दै आएको हो ।
किम जङ इलले विश्वमा साम्राज्यवाद रहुञ्जेल सन्गुन नीतिलाई आत्मसात गरिरहने बताउनुभएको थियो । सन्गुन नीति समाजवादमा जाने नयाँ बाटो हो । यो साम्राज्यवादविरुद्ध सङ्घर्ष गर्दै अगाडि बढ्ने क्रान्तिकारी बाटो हो । आक्रमण र युद्ध साम्राज्यवादका अपज हुन् । आक्रमण र युद्ध साम्राज्यवादसँग अलग हुनसक्दैन ।
साम्राज्यवादीहरू आफ्ना विरोधीहरू बलियो भएमा आक्रमण गर्न डराउँछन् । आन्तरिक र बाह्य शत्रुहरूविरुद्ध सङ्घर्षबिना समाजवादको निर्माण सम्भव छैन । सामाज्यवादीहरूको धम्की र नाकाबन्दीको सदा विरोध गरिरहनुपर्छ । समाजवादी देशहरूमाथि आक्रमण गर्नु नै साम्राज्यवादीहरूको ध्येय हो । समाजवादको विकास र विस्तार हुँदै गएकोले नै साम्राज्यवादी शक्तिहरू छटपटिन्छन्; छटपटिरहेका छन् । तर, समाजवादी देशहरू सबै देशमा शान्ति छर्दै विकासमा साथ दिन्छन्; सहयोग गर्छन् । साम्राज्यवादी, विस्तारवादी र पुँजीवादी देशहरू अरु देशको सहयोग र विकासको नाउँमा स्रोत र साधन कब्जा गर्ने काम गर्छन्; आफ्नो उठबसमा राख्ने यत्न गर्छन्; नचाउने प्रयास गर्छन् । जहिलेसम्म संसारमा साम्राज्यवाद रहिरहन्छ तहिलेसम्म संसारमा शान्ति र सुरक्षाको अनुभूति हुनेछैन ।
अमेरिकाले देशकौँ देखि क्युवामा गरेको नाकाबन्दी अहिले पनि फिर्ता लिएको छैन । संसारका सबैजसो मुलुकले क्युवामाथिको नाकाबन्दी फिर्ता लिन निर्णय गरे पनि अमेरिकाले फिर्ता लिएन । यो साम्राज्यवादी देश अमेरिकाको धृष्टता र उन्मादको दृष्टान्त हो । प्रजग कोरिया र क्युवा साम्राज्यवादको विरोधमा सङ्घर्षरत छन् । अहिले पनि अमेरिकी साम्राज्यवादले प्रजातान्त्रिक जनगणतन्त्र कोरियालाई सशस्त्र शक्तिले दबाउन जालझेल गरिरहेको हुँदा सन्गुन नीतिको महत्व झन् बढेको छ । कोरियाली जनता साम्राज्यवादसँग निर्णायक युद्ध लड्न तयार हुनुपर्छ भन्ने भावनाले काम गर्दै छन्; पार्टीको सन्गुन नीतिलाई इमानदारीपूर्वक अगडि बढाउँदै छ । यो समयको माग र आवश्यकता हो ।
Leave a Reply