चे, फिडेलको संस्मरणमा – १४
- कार्तिक ६, २०८२
केही दिनअघि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने कार्यक्रम सञ्चालन गरियो । हरेक वर्ष वैशाख र कार्तिक महिनामा भिटामिन ‘ए’ खुवाइने अभियान सञ्चालन गर्ने गरिएको छ ।
बालबालिकालाई भिटामिन ‘ए’ को कमी नहोस् भनेर भिटामिन ‘ए’ क्याप्सुल खुवाउन थालिएको हो । तर, हाम्रो वरपर सुलभरूपमा उपलब्ध हुने भिटामिन ‘ए’ पाइने खानाहरू भने अपहेलित हुने गरेका छन् ।
सरकारले तपाईँको आफ्नै बारीमा फलेको फल मेवा वा अम्बा खाऊ भन्दैन ।
करीपत्ता, लट्टे–सिस्नोमा भिटामिन ‘ए’ पाइने कुरा किन छलफल नभाको होला ?
भिटामिन मानव शरीरको लागि एकदमै नभइ नहुने तत्व हो । यो शब्दको उत्पत्ति नै ल्याटिनको भाइटल (अत्यन्त आवश्यक) शब्दबाट भएको हो । भिटामिन मानव शरीरलाई अत्यन्त कम मात्रामा चाहिन्छ भन्ने त सबैलाई थाहा छ तर यो हामीले दिनदिनै खाने भोजनबाट नै प्राप्त हुन्छ र यसको बढी प्रयोग गरेर ज्यादा फाइदा हुँदैन भन्ने कुराचाहि कमैलाई थाहा हुन्छ तथा तिनको पूर्तिको लागि हेर्दा आकर्षक देखिने तर महँगा र अनावश्यक झोलहरूले हुन सक्दैन भन्ने तथ्यतर्फ कमैको ध्यान गइरहेको छ ।
धेरैलाई थाहा छैन कि बच्चालाई भिटामिन झोल र टनिकभन्दा भान्सामा भएको भोजन सबैभन्दा उपयुक्त हुन्छ । आधुनिक चिकित्सा विज्ञानका पिता हिपोक्र्याट्सको भनाइमा ‘भोजन नै औषधी हो ।’ विभिन्न विज्ञापनको भरमा औषधी किनेर खाने प्रचलन र घरको खानेकुराले मात्रै हाम्रो शरीर कमजोर हुन्छ भन्ने गलत मानसिकताले नै मानिसहरू बढी औषधी किनेर खान्छन् ।
हाम्रा करेसाबारीमा फलेका हरिया तरकारी, बजारमा पाइने मौसम अनुसारका फलफूल आदिलाई बेवास्ता गरेर हामी धेरैजसो स्वास्थ्य राम्रो पार्नको लागि बजारका ‘टनिक’ किनेर खान्छौँ ।
‘भिटामिनको प्रयोग गर्दा चक्कीभन्दा रङ्गीन झोल वा टनिकहरू बढी फाइदाजनक र झोलभन्दा बढी भिटामिन सुई फाइदाजनक हुन्छन्’ – यो गलत धारणाले गाउँघरमा प्रत्येक रोगको लागि इन्जेक्सनबाट भिटामिन लिने प्रचलन पनि धेरै मात्रामा छ । अनेकौँ भ्रम र अज्ञानले गाउँघरमा पनि सस्ता पोषक खानेकुराहरू छोडेर महँगो झोल तथा सुईका पछाडि दौडिने चलन छ । यस्तो चलन बढ्नुको एउटा कारण रेडियो, पत्रपत्रिका र टिभीजस्ता सञ्चारमाध्यमहरूमा धेरै खानेकुरा जस्तै– हर्लिक्स, बुस्ट, बोर्न भिटाको प्रचारप्रसार अत्यधिक हुनु पनि हो ।
घर वरिपरि पर्याप्त मात्रामा अमला पाइने गाउँमा ‘भिटामिन सी’ को चक्की महँगोमा बेचिन्छ । सस्तोमा पाइने अमला भिटामिन सीको भन्दा सस्तो भएकोले पनि बेवास्ता गरिन्छ ।
आफ्नो कमाइ रङ्गीन झोलहरूमा खर्च गर्नुको कुनै औचित्य छैन । औषधी पसलमा गएर रङ्गीन झोल किन्नुभन्दा अगाडि डाक्टरलाई सोध्नुस्, ‘के साँच्चै मलाई भिटामिन जरुरी छ ?’
भोक लगाउने टनिक खानु वा परिवारका सदस्यहरूलाई खुवाउनुभन्दा अघि सोच्नुस्, ‘के यो वास्तवमा तपाईँलाई चाहिन्छ ? के यसका सम्पूर्ण कुप्रभावहरूबारे तपाईँलाई जानकारी दिइएको छ ? कतै विकसित देशमा कुप्रभाव पर्छ भनेर भनिएका कुराहरू तपाईँबाट लुकाइएका त छैनन् ?’
यदि तपाईँले सन्तुलित भोजनबाट नै सबैखाले भिटामिनहरू पाउन सकिन्छ भनेर बुझ्नुभयो भने वास्तवमा भिटामिन झोल र टनिकको जरुरत नै पर्दैन । त्यसैगरी, धेरै मानिस भोजनपछि ‘पाचन गराउने रस’ किनेर खान्छन् । तर, घरमै भएका ज्वानो, हिङजस्ता औषधीय गुण भएका खानेकुराले पनि पाचन प्रक्रियालाई सहज बनाउँछ भनेर हामीले थाहा पाउनुपर्छ ।
खाना पचाउने भनेर थरीथरीका सिसीको झोल किनेर ल्याउनेहरूले मेवामा भोजन पचाउन चाहिने सबै पाचन रसहरू हुन्छन् भनेर थाहा पाउनुपर्छ । मेवालाई विभिन्न ठाउँमा विभिन्न तरिकाले प्रयोग गरिन्छ । मेवालाई कतिपयले पाकेपछि जुस बनाएर खान्छन् भने कतै काँचो मेवालाई तरकारी वा अचार बनाएर खाइन्छ । जसरी खाए पनि यसले शरीरको रोग प्रतिरोधात्मक शक्ति बढाउनेमात्र होइन कि शरीरमा रहेको कब्जियत, खाना नपच्ने जस्ता समस्या न्यूनीकरण गर्न सहयोग पुग्छ ।
मेवामा भिटामिन ‘सी’ को मात्रा प्रचुर रहेको हुन्छ । आधुनिक पाचन रसबारे जानिफकार मानिने प्रोफेसर म्याकस वोल्फले क्यानेडियन सिपाहीहरूमा एउटा अनुसन्धान गरेका थिए । पर्याप्त मात्रामा पाचन रस भएका फलफूलहरू खान दिइएका सिपाहीहरूको स्वास्थ्यमा सुधार भएको उनले पाए ।
साथै, धेरै रुघाखोकी लागिरहने मध्ये दुईतिहाइलाई त लामो समयसम्म रुघाखोकी नै लागेन । एक तिहाइ सिपाहीहरूलाई रुघाखोकी त लाग्यो तर सामान्य । उनले आफ्ना विभिन्न अनुसन्धानबाट यो निष्कर्ष निकाले कि शरीरमा पर्याप्त मात्रामा पाचन रस हुने हो भने व्यक्तिहरूको शरीरमा कीटाणुहरूले आक्रमण गरेर रोग लाग्ने सम्भावना कम हुन्छ । पाचन रस प्राप्त गर्न टाढा जानै पर्दैन । मेवामा रहेका पर्याप्त तत्वहरू नै खानेकुरा पचाउन पर्याप्त छन् ।
हाम्रो शरीरको रोग प्रतिरोधात्मक शक्ति बढाउन आन्द्रामा रहेका विभिन्न लाभदायक कीटाणुहरूको भूमिका हुन्छ । केही भिटामिनहरू (भिटामिन के, भिटामिन बी समूह) लाभदायक कीटाणुहरूको उपस्थितिमा मात्र पोषण हुन्छ । त्यसको लागि हाम्रै भोजनको बडो ठुलो भूमिका हुन्छ । विभिन्न किसिमका फलफूल, टुसा उमारेका गेडागुडी, तरकारी आदिले आन्द्रामा रहेका लाभदायक कीटाणुहरू बढाउँदै र शरीरबाट निस्कने विषहरूलाई कम गर्न भूमिका खेल्छन् । फलफूलको प्रयोगले शारीरिकरूपमा फाइदा त हुन्छ नै औषधी किन्नुपर्ने पैसा बचेर आर्थिक लाभ पनि हुन्छ ।
तर, प्रायः मानिस फलफूल खान छोडेर औषधी पसलमा गएर पचाउने औषधी, विभिन्न भिटामिन र शक्ति दिने, बालबालिकालाई भोक जगाउने झोल रङ्गीचङ्गी बट्टामा किनेर ल्याउँछन् । ‘नजिकको तीर्थ हेला’ भनेझैँ आफूसँग भएको बहुमूल्य वस्तुलाई हेला गरेर महँगा झोलहरू किन किन्ने ?
Leave a Reply