भर्खरै :

‘गुप्त दस्ताबेजहरू’ किन नपढ्ने ?

‘गुप्त दस्ताबेजहरू’ किन नपढ्ने ?

‘गुप्त दस्ताबेजहरू’ विचारको सङ्गालो हो । यस ग्रन्थले विचार प्रवाहमात्र होइन दिशा निर्देश गरेको छ । वर्कर्स पब्लिकेसन नेपालद्वारा असार ०७२ मा प्रकाशित यो पुस्तक सरकार, राजनीतिक दल, नेता र कार्यकर्तालाई सतर्क बनाउन र पुराना गल्तीबाट शिक्षा लिन पढ्न आवश्यक छ । यो राज्यको सम्पूर्ण निकायमा मात्र होइन राजनीतिक दलको सबै निकायका सम्बद्ध जिम्मेवार व्यक्तिहरूलाई सुझबुझ बनाउन, देश र जनताप्रति समर्पित बनाउन उपयोगी छ ।
व्यवस्था परिवर्तन हुने बित्तिकै र संविधान बने बित्तिकै जनताको सांस्कृतिक स्तर उठ्ने होइन, सांस्कृतिक स्तर उठाउन यस्तै पुस्तकहरूको अध्ययन गर्नुपर्छ । देश र पार्टीको नेतृत्व असफल पार्न, कमजोर बनाउन चाल पाइकन या नपाइकन शत्रुले मात्र होइन आफ्नै दलभित्रका गलत मनसायका नेताहरूले अनेक षड्यन्त्र गरिरहेका हुन्छन्, एकले अर्कोलाई उचाल्ने र पछार्ने काम गरिरहेका हुन्छन् । विदेशी शक्ति राष्ट्रहरूले अनेक लोभलालच देखाउनुका साथै गुप्तचरहरू खेलाइरहेका हुन्छन् । त्यस्ता षड्यन्त्र र लोभलालच एक क्षण एक समयमात्र होइन लामो समयदेखि रचिरहेका हुन्छन् । अझ आफ्नो उद्देश्य पूरा भइसकेपछि षड्यन्त्रका गोटी चलाइरहेका हुन्छन् । सोभियत सङ्घको बोल्शेविक पार्टी र सरकारको बदनाम गर्न, असफल पार्न, विदेशी दलाल, अपराधी, गुप्तचर र धोखेबाजहरू लागेका थिए । त्यसलाई लेनिन र स्तालिनले असफल पारे ।
गुप्तचरहरू आफ्नो मातृभूमिको कुनै मतलब राख्दैनन्, सेवा गर्न चाहँदैनन् । उनीहरूको काम विदेशीको सेवा गर्नु हो । देश ध्वंश भए पनि उनीहरूलाई कुनै चासो हुँदैन । यस्ता देशविरोधी कुनै पनि लाछी र कायरहरूको षड्यन्त्रबाट सचेत रहन, षड्यन्त्रमा नफसाउन र त्यसतर्फ सरकारका जिम्मेवार व्यक्ति, पार्टी नेता, कार्यकर्ता तथा जनतामा देशभक्तिको भावनाबाट अभिप्रेरित गराउन यो पुस्तक काम लाग्छ ।
पार्टी र राज्य संरचनाभित्रै वर्ग दुश्मनले राज्यविरोधी विध्वंश, हत्या र षड्यन्त्र गरिरहेको हुन्छ । सन् १९३४ डिसेम्बर १ मा लेनिनग्राडमा भएको एसएम किराभको हत्या यसैको उदाहरण हो । गुप्तचरहरूलाई गुप्तचरी गर्ने, आतङ्क मच्चाउने र फाटो ल्याउने आदि तालिम दिइएको हुन्थ्यो । त्यस उद्देश्य फत्ते गर्न पैसाको खोलो नै बगाउँथ्यो । युक्रेनी राष्ट्रवादीहरूले सर्वसाधारण जनताको हत्या गर्ने र आतङ्कित पार्ने काममात्र होइन विखण्डनकारी हमलासमेत गरे । यस्ता आपराधिक क्रियाकलाप कहिल्यै सार्वजनिक गरिँदैन । सञ्चारमाध्यममाथि नियन्त्रण जमाएका पुँजीपतिवर्गसँगै आजको साम्राज्यवाद र बहुराष्ट्रिय सङ्गठनहरूले जनताको विचारमा दिग्भ्रमित पार्न कुनै यथार्थका सामग्री प्रकाशमा ल्याउँदैनन् या जानकारी दिँदैनन् ।
स्तालिनको निधनपछि सन् १९५६ मा ख्रुश्चेभले किरोभ हत्याकाण्डको अनुसन्धान गर्ने नाउँमा त्यससँग सम्बन्धित सबै प्रमाण र दस्ताबेजहरू समाप्त पार्ने प्रयास गरे । पृथ्वीनारायण शाहको फौजले भक्तपुर विजय गरेपछि यहाँका पुराना ग्रन्थ र अनेक पुराना प्रमाण जलाएको यदाकदा नसुनिएको होइन । भक्तपुर काण्ड (२०४५ भदौ ९) को बेला नेमकिपा अध्यक्ष रोहितको घरबाट महत्वपूर्ण ग्रन्थ तथा प्रकाशनहरू गुप्तचर तथा प्रहरीले लगेका थिए । त्यो आजसम्म फिर्ता दिइएको छैन । यसरी कहिले प्रमाण नष्ट गर्न त कहिले दस्ताबेज हात पार्न प्रतिगामीहरू अनेक षड्यन्त्र गरिरहन्छन्, गरिरहनेछन् ।
अरूको राम्रो कामलाई छायाँमा पार्न, दलको लोकप्रियता घटाउन र आफूप्रति आकर्षण घटाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू क्रियाशील भइरहन्छन् । विदेशी शक्ति राष्ट्रहरू, साम्राज्यवादी तत्वहरू लोककल्याणकारी काम गर्न, पैसा बाँड्न पछि पर्दैनन् । नेमकिपाको लोकप्रियता र छवि घटाउन पुँजीवादी, सामन्त र स्वयं आफूलाई कम्युनिस्ट भनिने ठुला दलका नेताहरूले कहिले नेवारको पार्टी, कहिले विकासविरोधी पार्टी त कहिले सरकारमा नजाने पार्टीले देश र जनताको निम्ति केही गर्दैनन् भनी फुके । यसरी जनतामा भ्रमजाल फैलाएर झूटको खेती गरेर फाइदा उठाउने तत्वहरू भएको हुँदा हामीमा इमानदार, कर्तव्यनिष्ठ, देशभक्त, योग्य, असल, लोभलालच र आश्वासनमा नफस्ने तथा विदेशी शक्तिसामु नझुक्ने जुझारू कार्यकर्ताहरूको खाँचो छ । सोभियत कम्युनिस्ट पार्टी (बोल्शेभिक) का केन्द्रीय सचिव एए कुज्नेत्सोभले सन् १९४७ सेप्टेम्बर २९ को केन्द्रीय कार्यालयका कर्मचारीहरूको एक कार्यक्रममा भने, पार्टीका केन्द्रीय पदाधिकारीहरू आफ्नो मातृभूमिप्रति सच्चा बफादार हुनुपर्छ, देशप्रतिको त्याग र सङ्घर्षको प्रतिमूर्ति बन्नुपर्छ, अनुशासित, कर्तव्यपरायण र सोभियत जनताप्रति पूर्ण समर्पित हुनुपर्छ । पार्टीको केन्द्रीय समितिको बैठकमा नेता स्तालिनले भने, पुँजीवादी सरकार (देश) हरू आफू जुनसुकै अवस्थाबाट गुज्रिरहनु परे पनि अन्य देशका विरूद्ध आफ्ना गुप्तचरहरूलाई सक्रिय पारेकै हुन्छन् । साम्राज्यवादी शक्तिहरू कुनै पनि हालतमा सोभियत सङ्घ आफ्नै खुट्टामा उभियोस् र पुँजीवादी देशहरूले भन्दा छिटो प्रगति गरोस् भन्ने चाहँदैनन् । विदेशी शक्तिको षड्यन्त्रबाट देश, दल, नेता र कार्यकर्ता जोगाउन सरकार र पार्टीले ठोस पहल गर्नुपर्ने हुन्छ । सरकारको नेतृत्व गरिरहेका कम्युनिस्टहरू बफादार, समर्पित, देशभक्त र साँचो कम्युनिस्ट हुनुपर्छ । कम्युनिस्ट पार्टीको सदस्यता भिरेर, सदस्य सङ्ख्यामात्र बढाएर पुग्दैन । हरेक कम्युनिस्ट सरकार र कम्युनिस्ट पार्टीले वास्तविक कम्युनिस्ट चरित्र देखाउन हरदम प्रयत्न गर्नुपर्छ ।
जर्मन फासीवादीहरू नेता, कार्यकर्ता र जनतालाई उक्साउन र फसाउन लागेका थिए । उनीहरूले आफूप्रति विश्वास दिलाउन मीठो सपना बाँड्दै भने, भोलि हरेक कुरो तिम्रो हातमा हुनेछ, हामी तिमीहरूको साथमा हुनेछौँ । क्रेमलिन तिमीहरूकै हो । एमाओवादी नेताहरूले पनि जनयुद्धको बेला भोलि हाम्रो सरकार आउनेछ, प्रहरी, सेना बन्न पाउनेछ र जागिर पाउनेछ भनी आशा बाँडेका थिए । पछि धोका साबित भयो । यही भएर रूसी नेता स्तालिनले भने, हाम्रैबिच पनि मित्रको भेषमा रहेका शत्रुलाई देश बेच्न तयार भएका बेइमानहरू घुसेको हुनसक्छ । अतः सैन्य अधिकारीहरूलाई सचेत गराउनुपर्छ, सेनालाई सुदृढीकरण गर्नुपर्छ ।
सन् १९४५ देखि १९५३ सम्म सोभियत रूसको पुनःनिर्माण भइरहेको बेला सोभियत कम्युनिस्ट पार्टीभित्र आन्तरिक द्वन्द्व भइरहेको थियो । नेता स्तालिनले दस्ताबेज प्रकाशित गर्न माग गर्दा उनी अल्पमतमा परे । अनि उनको मृत्युपछि खु्रश्चेभ र मालेन्कोभले दस्ताबेज प्रकाशित गरेनन्, बरू दस्ताबेज लुकाउने, दस्ताबेज हेरफेर गर्ने, तथ्य कुरा छोपेर अर्कै झूट कुरा फलाक्ने र प्रचार गर्ने काम गरे ।
सोभियत कम्युनिस्ट पार्टी केन्द्रीय समितिद्वारा सन् १९३८ मा गठित आयोगबाट प्रकाशित ‘सोभियत कम्युनिस्ट पार्टी (बोल्शेभिक) को सङ्क्षिप्त इतिहास’ कार्यकर्ताहरूको सैद्धान्तिक स्तर उठाउने ध्येयले तयार पारिएको पुस्तक हो ।
उक्त पुस्तकका मूलभूत उद्देश्यहरू :
– माक्र्स र एङ्गेल्सले निर्माण गर्नुभएको धरातलमा लेनिनवादको विकासबारे कार्यकर्ताहरूलाई बुझाउने ।
– पार्टी सङ्गठनकर्ताहरूले वैचारिक पुनर्ताजगीकरण गराउन र नयाँ कार्यकर्ता अनि जनतालाई पार्टीको वैचारिक दृष्टिकोण स्पष्टसँग प्रचार गर्ने ।
– माक्र्सवाद, लेनिनवादबारे गलत बुझाइलाई सच्याउन र बोल्शेविकहरूको विचारलाई अझ उच्च पार्ने ।
आफूले तयार पारेका बुद्धिजीवीहरूलाई विदेशी गुप्तचर संस्थाले किन्न सक्ने हुँदा पार्टीको भावनाअनुरूपका बुद्धिजीवीहरू तयार गर्नुपर्छ भन्ने स्तालिनको तर्क सही हो । कार्यकर्ताहरूले गरिरहेको भूमिकाबारे चिन्ता र चासो व्यक्त गर्दै नेता स्तालिनको ‘वास्तवमै कार्यकर्ताहरू आफ्नो राजनीतिक आदर्श र पार्टीको नीतिअनुसार मरिमेटिरहेका हुन्छन्, कार्यकर्ताहरूले गरिरहेको काम सही वा गलत मूल्याङ्कन गर्नुपर्छ, कसैलाई अनुगमन र नियन्त्रण गरिँदैन र समीक्षा कहीँकतैबाट हुँदैन भन्ने अवस्था बिग्रदै जान्छ भन्ने भनाइ एकदम सही र तर्कपूर्ण छ ।
क्रान्तिकारीहरूले विचारका प्रवर्तक माक्र्स र एङ्गेल्सले हाल्नुभएको समाजवाद र साम्यवादको जगमा टेकेर समाज विकासको विस्तृत व्याख्या गर्ने र समाजलाई अग्रगामी दिशातर्फ लग्ने वैज्ञानिक बाटो खन्ने काम हाम्रो काँधमा रहेको छ । माक्र्स र एङ्गेल्सलाई पढ्नेमात्र होइन, तत्कालीन समय र परिस्थितिको व्याख्या गरेर उनीहरूले गरेका अथक परिश्रमको हृदयगम गरेर आजको समस्या समाधानमा केन्द्रित हुनुपर्छ भन्ने स्तालिनको तर्क आज पनि उत्तिकै सान्दर्भिक छ । आफ्नो मातृभूमिको अस्तित्व सङ्कटमा पर्दा देशलाई ध्वस्त पार्न खोज्ने शत्रुहरूको युद्ध अन्त्यका लागि प्रत्याक्रमण गर्नुपर्छ भन्ने विचार मननयोग्य छ । हाल नेपालको अस्तित्वमा सङ्कटको लक्षण देखिँदै छ । देशको राष्ट्रिय अखण्डता र सार्वभौमसत्ता जोगाउन आम नेपाली जनता जुर्मुरिएर उठ्नुपर्नेमा समयले झकझकाएको छ ।

सोभियत कम्युनिस्ट पार्टी (बोल्शेभिक) को सन् १९३७ मा बसेको बैठकमा प्रस्तुत दस्ताबेजका महत्वपूर्ण सन्देशहरू :
– गुप्तचर संस्थाभित्र छिरेका विदेशी गुप्तचरहरू र विखण्डनकारीहरूलाई त्रोत्स्कीवादीहरूले सहयोग गर्दा पार्टीको तल्लो, माथिल्लो र सरकारको तहमा क्षति पु¥याएको ।
– नेतृत्व पङ्क्तिले विदेशी गुप्तचर, विखण्डनकारी र राज्यविरोधी गतिविधिमा संलग्न व्यक्तिलाई महत्वपूर्ण जिम्मेवारीमा नियुक्त ।
– नेता र कार्यकर्ताहरूको क्रियाशीलता र सङ्गठन विस्तारसँगै शत्रुहरू विलय हुँदै जाने भन्नु र पार्टीको विकाससँगै शत्रु कमजोर बन्दै जाने र समाजवादप्रति प्रतिबद्ध हुँदै जान्छ भन्नु गलत ।
– बजार विस्तार र अन्य देशहरूमाथि कब्जा गर्ने प्रतिस्पर्धाको क्रममा पुँजीवादी देशहरू एक आपसमा युद्ध हुने ।
– आधुनिक त्रोत्सकीवादीहरू कम्युनिस्ट पार्टीभित्र बसेर काम गरिसकेको हुँदा तिनीहरू पुराना शत्रुहरूजस्तै प्रत्यक्ष विरोधमा नदेख्ने, कम्युनिस्टभित्र घुसेर समाजवाद र नेताहरूको प्रशंसा गर्दै आफूलाई बफादार बनाउने कोशिश गर्ने र देशभक्त बन्ने प्रयास ।
– सफलताको पछाडि सम्भावित खतरा हुने हुँदा, सजिलैसँग सफलता प्राप्त भयो भनी खुसी मनाउँदा शत्रुको गुप्त गतिविधि हुने हुँदा आन्तरिक र बाह्यरूपमा देख्न सकिने खतराप्रति सचेत हुनुपर्ने ।
– पुँजीवादीहरू रहुन्जेल शत्रुले सोभियत सङ्घविरूद्ध गुप्तचर, विखण्डनकारी, विध्वंशकारीहरूको घुसपैठ भइरहने ।
– समाजवादविरोधी क्रियाकलाप नगरेसम्म शत्रुलाई शत्रुको रूपमा हेर्न नहुने या शत्रुको व्यवहार गर्न नहुने ।
– शत्रुहरू थोरै भयो भन्दैमा तिनीहरूले देशविरूद्ध गतिविधि गर्दैनन् भन्ने होइन ।
– पार्टी सङ्गठनभित्र लुकेर बसेका शत्रुहरूलाई उदाङ्ग्याउने काममा कार्यकर्तालाई उत्साहित गर्नुपर्ने, हरेक कम्युनिस्ट कार्यकर्ताले आफ्नो देशको रक्षा गर्न अघि बढ्नुपर्ने ।
‘गुप्त दस्ताबेजहरू’ पढेर पाउने शिक्षा :
– सच्चा कम्युनिस्ट, इमानदार, सिद्धान्तनिष्ठ र समाजवादप्रति समर्पित नेताहरूले समाजवादी बन्दोबस्त पाउन निरन्तर लागिरहनुपर्ने ।
– पार्टी नेतृत्वले कुनै पनि बखत खट्नसक्ने कार्यकर्ताहरूलाई छनोट गर्नुपर्छ, छनोट सही हुनुपर्छ ।
– हरेक कम्युनिस्ट कार्यकर्ताले आफ्नो देशको रक्षा गर्नुपर्छ र हामीले आफ्ना कमजोरीहरू हटाउनुपर्छ ।
– शत्रु थोरै भए पनि आफ्नो दल र देशको विरोधमा लागिरहने हुँदा सचेत हुनुपर्ने ।
– सच्चा कम्युनिस्टको लोकप्रियता या छवि घटाउन अन्य पुँजीवाद दलहरू सक्रिय भइरहने, षड्यन्त्र गरिरहने ।
– हाम्रो क्रियाशीलता र पार्टी सङ्गठन विस्तारसँगै शत्रु विलय हुँदै जान्छ भनी सोच्न नहुने ।
– कसैलाई कम्युनिस्ट पार्टी मन नपरे पनि कम्युनिस्ट पार्टीले देशको लागि गरेको योगदानको कदर गर्ने ।
– कम्युनिस्टले सुधार्नुपर्ने कमजोरीहरू औँल्याउनुपर्ने ।
– राज्य सञ्चालन गर्नुको अर्थ सरकारको नेतृत्व गर्नुमात्र होइन कुशलता प्रदर्शन गर्नु पनि हो ।
– पार्टीको वैचारिक दृष्टिकोण विभिन्न माध्यमबाट जनतासमक्ष पु¥याउनुपर्ने ।
– जनतालाई राजनीतिकरूपमा सचेत र सङ्गठित गरी व्यापक परिचालन गर्ने र पुरानो समाजलाई भत्काएर नयाँ समाज निर्माण गर्नुपर्ने ।
– मित्रको भेषमा रहेर शत्रुलाई देश बेच्न तयार भएका देशविरोधीहरूदेखि सावधान हुनुपर्ने ।
– गैरपार्टी सदस्यहरू पनि देशभक्त हुने हुँदा उनीहरूका गुनासाहरूबारे विचार गर्नुपर्ने ।
– पार्टीलाई छोडेर कहिले कुन दल त कहिले कुन दलमा लागे पनि फेरि साथ दिन र सहयोग गर्छ भने उसको कार्यको आधारमा पार्टीमा भित्याउनुपर्ने ।
– कम्युनिस्ट पार्टीको सदस्यता भिरेरमात्र पुग्दैन, कम्युनिस्ट पार्टीप्रति बफादार, देशभक्त र देश र जनताप्रति समर्पित हुनुपर्ने ।
– काम गर्दै जाँदा हुने गल्तीको समीक्षा गर्नुपर्छ र गल्ती सुधार्नुपर्छ ।
– कम्युनिस्टको हैसियतले आलोचना तल्लो तहका कार्यकर्तादेखि केन्द्रीय तहका नेतासम्मको हुनुपर्छ ।
– कार्यकर्ताहरूमा ज्ञान, त्याग र देशभक्तिको भावनाको विकास गराइनुपर्छ ।
– माथिल्लो तहदेखि तल्लो तहका सबै नेता तथा कार्यकर्ताहरूको निरन्तर सही मूल्याङ्कन भइरहनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *