चे, फिडेलको संस्मरणमा – १५
- कार्तिक ७, २०८२
“कला भनेको सिर्जनात्मक कल्पनाद्वारा सत्यको सुन्दर प्रदर्शन हो”
– महाकवि लक्ष्मीप्रसाद देवकोटा
कला मानव भावनाको अभिव्यक्ति हो । मानिस अनुकरणशील छ । कलाकारले अनुग्रहण गरेको कुरा आफूसँग मात्र सीमित राख्न चाहँदैन† अभिव्यक्त गर्न खोज्दछ । अभिव्यक्त गर्ने साधन मुख्यतः भाषा, चित्रकारिता, शिल्प, नृत्य आदि हुन् ।
नेपालको कला र वास्तुकलामा जुन उन्नति भयो त्यो धेरै नै महत्वपूर्ण छ । काठमाडौँ उपत्यकामा मुख्यतः कान्तिपुर, भक्तपुर र ललितपुर तीन सहरमा रहेका मन्दिर, भवन र त्यसमा रहेका मूर्तिहरूले नेपालको कलाको उन्नति स्पष्ट रूपले दर्शाउँछ । यदि हामीले ती कला र वास्तुकलाको अध्ययन गर्दै गयो भने ती मूर्तिहरू, कला भवन र मन्दिरहरू सत्यम शिवम सुन्दरमले विभूषित भएका छन् भन्ने स्पस्ट रूपले देखिन्छ ।
कलाको साधन ६४ मानिएको छ तापनि नेपाली कलालाई निम्नलिखित भागमा बाँड्न सकिन्छ ।
१) वास्तुकला
२) मूर्तिकला
३) चित्रकला
४) नृत्य र सङ्गीतकला
वास्तुकला : वास्तुकला नेपालको आधुनिक श्रृजना होइन । किराँत, लिच्छवि आदि प्राचीन कालदेखि नै यसको विकास भएको हो ।
मानदेवको मानगृहमा देखिएको वास्तुकलाको बारेमा इतिहासकारहरूले महत्वपूर्ण कुरा उल्लेख गरेका छन् ।
चाँगुनारायण र पशुपतिनाथ मन्दिरको निर्माणमा पनि लिच्छविकालीन वास्तुकलाको झलक पाइन्छ ।
चीनको ताङवृत्तान्तमा लेखिएको नरेन्द्रदेवको दरबारको वर्णनले लिच्छविकालीन विकसित कलाको पुष्टि गर्दछ । राजा शिवदेवले बनाउन लगाएको कैलशकुट भवन नेपाली वास्तुकलामा सर्वश्रेष्ठ मानिन्छ ।
नेपाली वास्तुकलाको यस्तो आदर्श विकासलाई विदेशी यात्रीहरूले ‘पेगोडा शैली’ भनेका छन् ।
पेगोडा शैलीको चरम सीमा कैलासकुट भवनमा नै पुगेको प्रमाणित हुन्छ । पेगोडा शैलीको विशेषता र उदाहरण नेपालमा पाइने झिगँटी छानाका मन्दिर हुन् ।
मानिसको बसोबास नै वास्तुकलाको मूल अभिप्राय हो । नेपालमा सर्वप्रथम वास्तुरचनाको विकासको उदाहरणमा हामी मण्डप शैलीलाई लिन सक्छौँ । त्यो शैली मल्लकालमा आएर एक सुन्दर रूपमा परिणत भयो ।
यसको पुष्टि काठमाडौँको धर्मशाला, हनुमानढोका र पाटनको दरबारले गर्छ । त्यसपछि नेपालमा चैत्य शैली विकास भयो । नेपालको चैत्य शैलीको उत्कृष्ट नमुना स्वयम्भू चैत्य शैली हो । भक्तपुर दरबारको सुन ढोकाको कालीगडी, ५५ झयाले दरबारको कलाकृतिको प्रशंसा नेपालमा मात्र सीमित नभई विदेशमा पनि फैलिएको छ । यो चीनको पेचिङ सहरनिरको एउटा ठुलो ढोकासँग मिल्छ ।
नेपाली राजकुमारी भृकुटीले नेपालबाट बौद्ध मूर्तिहरू कोसेली लगेबाट नेपाली वस्तुकलाको प्रभाव तिब्बतमा पनि परेको थियो । यसरी नेपालमा वास्तुकलाको विकास पहिलेदेखि नै भएको देखिन्छ ।
मूर्तिकला : नेपालमा लिच्छविकालदेखि नै मूर्तिकलाको विकास भएको देखिन्छ । लिच्छविकालीन मूर्तिकलाको ‘गौरवपूर्ण’ नमुना बुढानीलकण्ठको जलाशयी नारायण हुन्’ । यो मथुरा शैलीको आधारमा निर्माण भएको छ । लिच्छवि कालका नमुना भएका अरु मूर्तिहरू पनि पाइएका छन् । जस्तोः– पूर्वको पलाञ्चोक भगवती, बनेपाको बुद्ध मूर्ति, पाटनको पद्यपाणीसहितको बुद्ध मूर्ति आदि ।
सातौँ शताब्दीपछि नेपाली मूर्तिकलामा स्त्रीका मूर्ति पनि कँुदिए । फलस्वरूप भगवती, तारा, लक्ष्मी, सरस्वती, मायादेवी आदि बने । त्यसपछि बुद्ध, मञ्जुश्री, गणेश आदि मूर्तिहरू कुँदिए । उदाहरणको निम्ति स्वयम्भूको ठुलो ४ बुद्ध मूर्ति र पशुपतिको मूलढोका अगाडिको गणेशलाई लिन सकिन्छ । यो बुद्ध मूर्तिमा शान्त र सहिष्णुताले बढ्ता स्थान प्राप्त गरेको छ ।
नेपाली मूर्तिकलाको क्षेत्रमा महाङ्कालको मूर्ति घृणाको प्रतीक स्वरूप देखिन्छ ।
भैरवका मूर्तिहरू क्रोधको प्रतीक स्वरुप देखिन्छन् । तर, नारायणको मूर्ति शान्त भावनाको देखिन्छ । बौद्ध धर्मअन्तर्गत काल्पनिक देवदेवीका मूर्तिहरू निर्माण भएका छन् । लुम्बिनीमा अशोकको पत्थरका विशाल स्तम्भमाथि शिवको मूर्ति पाइएको छ । प्रायः नेपाल र भारतका स्तम्भहरूमाथि सिंह, घोडा, साँढे आदि बनाउने शैली मेसोपोटा मियामा पनि पाइन्छ । हिन्दू र बौद्ध धर्मले जस्तै कलाले पनि दक्षिण पूर्व एसियामा प्रभाव पारेको छ । एसियाभरि गणेशको मूर्ति पाउनु यसको ठुलो प्रमाण हो ।
चित्रकला : नेपाली चित्रकलाले पनि नेपाली रीतिरिवाज, सामाजिक व्यवहार र धर्मलाई बोध गराउँछ । चीन र तिब्बतमा जस्तै नेपालमा पनि कपडामा अनेक पौभा चित्र पाइन्छ । यस चित्रमा खास गरेर शैवमतको तान्त्रिक मतका र बौद्धमतका धेरै पाइन्छ । पाटनको कृष्ण मन्दिरका भित्री चित्रहरू हिन्दू समाजको प्रतीक हुन आएको छ । ९ सय वर्ष पुराना प्राचीन बौद्ध ग्रन्थहरूमा चित्रित बौद्ध चित्रहरू नै नेपालका प्रसिद्ध चित्रकला हुन् ।
नेपालमा बौद्ध ग्रन्थको चित्रकलाको तुलनामा हिन्दू देवदेवताका चित्रहरू न्यून मात्रामा पाइएका छन् । नेपाली हस्तकलाका विविध विधामध्ये थाङ्का (पौभा) चित्र लेख्ने पनि एक मौलिक कला हो । थाङ्का विशेष गरेर बुद्धका चित्रहरू बढी मात्रामा कोरिएको पाइन्छ । बौद्ध विचारअनुसार निलो चित्र विज्ञानको द्योतक, पहँेलो वेदनाको प्रतीक स्वरूप रातो चेतनाको प्रतिरूप प्रयोग गरिन्छ । यसप्रकार नेपाली चित्रकलाअन्तर्गत विभिन्न रङहरू अनेक भागमा प्रयोग गरिन्छ ।
सङ्गीत तथा नृत्यकला : नेपालमा सङ्गीत तथा नृत्य जुनसुकै जात्रा चाडपर्वमा आवश्यकता पर्दछ । नेपालको विभिन्न जाति खासगरी नेवार, मगरहरूको नृत्य स्गीतमा धेरै देन छ । सङ्गीत क्षेत्रमा मल्लकाल विशेष महत्वपूर्ण छ । जयस्थिति मल्लको समय वि.स. १४३७ मा भैरवानन्द र जगतज्योति मल्लको पालामा हरगौरी – विवाह नाटक संस्कृत भाषामा लेखिएको प्रमाण पाइन्छ ।
फेरि सिद्धिनरसिंह मल्ल र भूपतीन्द्र मल्ल, रणजित मल्लले आफ्ना सुन्दर कृतिहरू छोडेर गएका छन् ।
अनि अनेक जात्रा, उत्सव र चाडपर्वको अवसरमा अनेक नाच सुरुआत हुन्छ । विभिन्न राजाहरूको पालामा यी नाच विभिन्न देवी देवताहरूसँग सम्बन्धित देखिन्छ । नेपालमा प्राचीनकालदेखि नाटक मनोरञ्जनको एक साधन भएर आएको छ । राजाका छोराको व्रतबन्ध, पास्नी, विवाहमा नाचगान गराउने काम गराउँदै आइरहेको पाइन्छ ।
नेपालमा सङ्गीतको विकासबारे जयप्रकाश मल्लको पालामा एउटा अन्तर्राष्ट्रिय सङ्गीत सम्मलेन गराएको कुरा हनुमानढोकाको प्रासादमा अङ्कित चित्रबाट विदित हुन्छ ।
फेरि जयप्रकाश मल्ल आफैले रत्नेश्वर प्रादुर्भाव नाटक लेखेर मल्लकालमा नाचगानको महत्व दर्शाएको देखिन्छ । हाम्रा पुर्खाहरू नाचगानमा सौखिन भनेर टोल टोलमा बनाइराखेको डबलीले प्रमाणित गर्छ ।
वि.स. १७३१ मा हनुमानढोका दरबारमा हरिसिद्धिको नाच हेर्दा हेर्दै मुत्यु भएका प्रताप मल्लको इतिहास छ ।
यसरी हाम्रो देशमा कलाको क्षेत्रमा अतीतदेखि नै विकास हुँदै आएको इतिहासले प्रमाणित गरेको देखिन्छ ।
सन्दर्भ सामग्री :
१) Ancient Nepal – D.R. Regmi
२) नेपालको ऐतिहासिक रूपरेखा –बालचन्द्र शर्मा (लिच्छविकालीन सभ्यता, मल्लकालीन सभ्यता )
३) नेपाली कलाको झलक – माधवप्रसाद शर्मा (नेपाल पत्रिका त्रि.वि.)
४) नेपाली कलाको सूक्ष्म परिचय – दुर्गा अर्याल (नेपाल पत्रिका त्रि.वि.)
५) साहित्य प्रकाश – डा. केशवप्रसाद उपाध्याय ( नेपाली नाटकको उद्भव र विकास)
Leave a Reply