भर्खरै :

लेनिनका सम्झनाहरू – ३

लेनिनका सम्झनाहरू – ३

रुसमा रुसीहरूमा, रुसी कलामा गर्व गर्ने विलक्षणता उहाँमा मैले कहिलेकाहीँ मात्र देखेको हैन । कहिलेकाहीँ यो विलक्षणता लेनिनका निम्ति पराया हुनुपर्नेजस्तो मात्र हैन, अबोध पनि लाग्दथ्यो, तर पछि त्यसमा म कामदार जनताप्रतिको गहिरो रूपमा लुकेको खुशीयालीपूर्ण प्रेमको प्रतिध्वनि सुन्न थाल्थेँँ ।
काप्रीमा भयङ्कर समुद्री माछाले च्यातेका र अल्झाएका जाल माझीहरूले सतर्कतासाथ फुकाएको दृश्य हेर्दै टिप्पणी गर्नुभयो :
“हाम्रा मजदुरहरू छरितो काम गर्छन् ।”
तर जब मैले यसमा शङ्का प्रकट गरेँ, उहाँले अलि क्षुब्ध स्वरमा भन्नुभयो :
“म्ह–म्ह, यस टापूमा बसेर तपाईँ रुसलाई बिर्सदै त हुनुहुन्न ?”
भा.अ. देस्नीत्स्की–स्त्रोएभले मलाई के बताए भने एकपटक उनी लेनिनसँगै स्वेडेनको यात्रा गरिरहेका थिए, र गाडीको डिब्बामा ड्यूरेरबारे जर्मन पुस्तक पढिरहेका थिए ।
डिब्बाका सहयात्री जर्मनहरूले यस किताबबारे उनलाई सोधे । कुराकानीबाट के पत्ता लाग्यो भने उनीहरूले आफ्ना महान् चित्रकारबारे केही थाहा पाएका रहेनछन् । यो सुनेर लेनिन छक्क पर्नुभयो र दोह¥याएर, दुईपटक गर्वसाथ देस्नीत्स्कीलाई भन्नुभयो :
“उनीहरूलाई आफ्नाहरूबारे थाहा छैन, तर हामीलाई थाहा छ ।”
मास्कोमा एक साँझ, ए. पा. पेश्कोभाको घरमा इसाई दोब्रोभइनद्वारा प्रस्तुत बेचोभेनको गितिका सुनेर उहाँले भन्नुभयो :
“ब्उउबककष्यलबतब भन्दा राम्रो अरू कुनै सङ्गीत सुनेको छैन, दिनदिनै सुन्न तयार छु । असाध्यै अचम्मको, अचाक्ली राम्रो अलौकिक सङ्गीत । म सधैँ गर्वसाथ, हुन सक्छ अबोध नै होस्, सोच्दछु मानिस कस्तो आश्चर्यको सिर्जना गर्न सक्दछ ।”
अनि आँखा खुम्च्याउँदै नरमाइलो किसिमले थप्नुभयो : “तर जहिले पनि सङ्गीत सुन्न सक्दैनँ, मगजमा प्रभाव पार्दछ, रमाइला अर्थनबर्थका कुरा गर्न र ती मानिसहरूका टाउका मुसार्न मन लागेर आउँछ जो फोहोर नरकमा बसेर पनि यस्तो सौन्दर्यको सिर्जना गर्न सक्दछन् । तर आज कसैको पनि टाउको मुसार्नु हुँदैन, हातै टोकिदिन्छन्, टाउकामा ठटाउनु पो पर्छ, निर्दयतापूर्वक थुर्नुपर्छ हुन ता हामी, आदर्शतः मानिसमाथि कुनै पनि बलजफ्तीका विरोधी हौँँ । म्ह–म्ह, काम त यो नारकीय कठिन हो ।”
आफू झण्डै विरामी, निक्कै थकित पनि उहाँले ९ जुलाई १९२१ मा मलाई लेख्नुभयो :
“अलेक्सेइ माक्सिमोभिच !
तपाईँँको चिठी ल.ब. कामेनेभ कहाँ पठाएको छु । म कति थाकिसकेँ भने फुट्टी केही गर्न सक्दिनँ ।
तपाईँँ रगत खकार्नु हुन्छ, तैपनि तपाईँ जान्नुहुन्न !! यो ता साँच्चि नै अचाक्ली बेइमानी र नराम्रो भयो ।
युरोपमा, राम्रो सैनेटोरियमा औषधि पनि गराउनुहुनेछ र तीन गुणा बढी काम पनि गर्नुहुनेछ । साँच्चै भनेको । हामीकहाँ न औषधोपचार हुन्छ, न काम हुन्छ, – एउटा हड्बडी मात्र । काम न काजको हड्बडी ।
जानुहोस्, औषधि गराउनुहोस् ! जिद्दी नगर्नुस् ! तपाईँँलाई मेरो अनुरोध !
तपाईँँकै लेनिन ।”
उहाँले एक वर्षभन्दा बढी ठुलो हठ गरिराख्नुभयो, म रुसबाट हिँडिहालू भनेर; तर मलाई भने अचम्म लागेर आउँथ्यो, काममा हुनसम्म व्यस्त मानिस उहाँ, कहाँको विरामी छ र कसलाई आराम गर्नु आवश्यक छ भन्ने कुरा कसरी सम्झिराख्नुहुन्थ्यो ?
उपरोक्त चिठीजस्ता चिठी उहाँले विभिन्न मानिसहरूलाई लेख्नुभयो, सम्भवतः दसौ चिठी ।
साथीहरूप्रति उहाँको औधि अभिरुचिपूर्ण हेराइ, उनीहरूका जीवनका स–साना अप्रिय घटनाबारे पनि थाहा पाइहाल्ने तीक्ष्ण ध्यानबारे अघि नै भनिसकेको छु । तर उहाँको यस्तो भावनांमा त्यो स्वार्थी चासोको झलक मैले कहिल्यै देखिनँ, जो कहिलेकाहीँ बुद्धिमान् मालिक र उसका इमान्दार तथा योग्य कामदारको सम्बन्धमा स्वाभाविक हुन्छ ।
अहँ, यो सच्चा साथीको हार्दिक ध्यान नै थियो, समानको समानप्रति प्रेमको भाव थियो । मलाई के थाहा छ भने भ्लादीमिर लेनिन र उहाँको पार्टीका ठुलठुला मानिसहरूसम्मका बिच पनि बराबरीको चिह्न राख्न सकिँदैन, तर उहाँ भने यो कुरा देख्नुहुन्नथ्यो, ठीकठीक भन्ने हो भने देख्न चाहनुहुन्नथ्यो । उहाँ मानिसहरूसँग खुल्लमखुल्ला, प्रष्ट व्यवहार गर्नुहुन्थ्यो, कहिलेकाहीं त अझ उल्लिविल्ली पनि पार्नुहुन्थ्यो । यो सब कुरा साँचो हो ।
तर कतिपटक हिजो मात्र उहाँले हप्काउनु भएका तथा ‘निन्दा गर्नुभएका’ मानिसहरूबारे कुरा गर्दा उहाँका शब्दहरूमा यी मानिसहरूको प्रतिभा र नैतिक दृढताप्रति हार्दिक आश्चर्यको भाव झल्केको मैले प्रष्टसँग सुनेको छु । उनीहरू सन् १९१८–१९२१ को नारकीय वातावरणमा, सबै देशहरू र पार्टीहरूका गुप्तचरहरूको घेरामा, युद्धले दुब्लाएको देशका शरीरविरुद्धका दुर्गन्धित घिनलाग्दा षड्यन्त्रहरूका माझ आफ्नो कठिन र दृढ काममा डटिरहन्थे, विश्रामै नगरी, जेनतेन आधा पेट खाई, आतङ्कपूर्ण वातावरणमा काम गरिराख्थे ।
तर लेनिन यो वातावरणको कठोरताको, गृह–युद्धको रक्तपातले हल्लाएको जीवनका आतङ्कको मानौँँ अनुभव नै गर्नुहुन्नथ्यो । एकपटक मात्र मा. फ्यो. आन्द्रेयेभासँगको कुराकानीमा, उनको भनाइअनुसार, लेनिनका मुखवाट कस्तो–कस्तो शिकायतजस्तो भाव निस्केको थियो :
“के गर्ने खै, मारीया फ्योदोरोभ्ना? सङ्घर्ष गर्नु जरुरी छ । अनिवार्य छ । हामीलाई मुश्किल परेको छ ? निःसन्देह । तपाईँँ ठान्नुहुन्छ मलाई मुश्किल हुँदैन ? हुन्छ, अझ कस्तो । तर जेर्झीन्स्कीलाई हेर्नुस् के रूप भइसक्यो । गर्न नै के सकिन्छ र । मुश्किल होओस्, केही छैन, जित्न मात्र सकियोस् ।”
स्वयम् मैले एकपटक मात्र उहाँले गर्नुभएको शिकायत सुनेको छुः “दुःखको कुरा छ, मार्तोभ हाम्रो साथमा छैनन्, औधि दुःख छ । कस्ता बेस साथी, कस्ता चोखा मानिस ।”
सम्झन्छु, कति रमाइलो साथ र निकैबेर उहाँ हाँस्नुभएको थियो, कहाँ हो कुन्नि मार्तोभका शब्द पढ्नुभएछ :
“रुसमा जम्मा दुइटा कम्युनिस्ट छन् : लेनिन र कोलान्ताय । हाँसिसकेर लामो सास तान्दै उहाँले भन्नुभएको थियो :
“खुब जान्ने । ओह…”
एक जना साथी ‘अर्थ–प्रबन्धक’ लाई बिदा गरेर उहाँले साँच्चि नै आदर र आश्चर्यसाथ भन्नुभयो :
“कति भयो तपाईँले उनलाई चिनेको ? उनी कुनै पनि युरोपेली मन्त्रि–मण्डलको नेतृत्व गर्न सक्नेथिए ।”
र हात मुसार्दै हाँसेर थप्नुभयोः
“प्रतिभाशाली मानिसहरूमा युरोप हामीभन्दा गरिब छ ।”
मैले उहाँलाई प्रमुख आयुधकार्यालय जाने, एक जना बोल्शेभिक, भूतपूर्व तोपचालकले आविष्कार गरेको उपकरण ‘विमानमा निशाना ठीक गर्ने उपकरण’ हेर्ने सुझाउ दिएँ ।
“म यसमा के जान्दछु र ?” उहाँले सोध्नुभयो, तर जान भने जानुभयो ।
अँध्यारो कोठामा, उपकरण राखिएको टेवुलवरिपरि करिब सात जना उग्र निदाउरा जर्नेलहरू– सबै, कपाल फुलेका जुड्गे बुढाहरू, विज्ञानवेत्ताहरू भेला भएका थिए । उनीहरूका माझ लेनिनको विनम्र नागरिक आकृति घुलमिल भयो, कसोकसो नदेखिनेझै भयो । आविष्कारकले उपकरणको संरचनाको वर्णन गर्न थाल्यो । लेनिनले दुई–तीन मिनेट सुन्नुभयो र प्रशंसाको स्वरमा भन्नुभयोः “म्ह–म्ह ।” अनि आविष्कारकलाई त्यत्तिकै छरितोसाथ सोध्न थाल्नुभयो, मानौँ राजनीतिको परीक्षा लिइरहनुभएको होस् :
“तपार्इँले निशाना–चिन्ह पत्ता लगाउने यन्त्रको दोहोरो काम एकैसाथ कसरी सम्भव पार्नुभयो ? तोपको तल्लो भागको कामसूचक यन्त्रको कार्यसित स्वचालितरूपमा सम्बन्धित गर्न नसकिएला ?”
निशाना–क्षेत्रको परिधिबारे र अरू के के बारे सोध्नुभयो । आविष्कारक र जर्नेलहरूले उत्साहपूर्वक सबै कुरा बताए । दोस्रो दिन आविष्कारकले मलाई भने :
“मैले हाम्रा जर्नेलहरूलाई तपाईँँ साथीसँग आउनुहुनेछ भन्ने जनाउ दिएँ, तर को साथी भनेर बताइनँ । उनीहरूले इल्यीचलाई चिनेनन्, र सम्भवतः होहल्ला, चहलपहल, अङ्गरक्षकहरूविना उहाँ यसै आउन सक्नुहोला भन्ने चिताउनै सकेनन् । सोधे : ‘यि प्राविधिज्ञ प्रोफेसर हुन् ? लेनिन ?’ अचाक्ली अचम्म माने ‘कसरी ? हुनै सक्दैन । हाम्रा रहस्यबारे उनलाई के थाहा ? साँच्चै भन्नुहोस् । यी त प्राविधिक क्षेत्रमा दखल भएको मानिससरह पो प्रश्न गर्थे । भ्रम त हैन !’ लाग्दछ, लेनिन नै आउनुभएको भनेर उनीहरूले पत्याउँदै पत्याएनन् …”
लेनिन भने प्रमुख आयुधकार्यालयबाट फर्कदा बाटोमा जोशिलो हाँसो हाँस्दै आविष्कारकबारे भन्दैहुनुहुन्थ्यो :
“मानिसको मूल्याङ्कनमा कस्तो गल्ती गर्न सकिँदोरहेछ । मलाई थाहा थियो, उनी पुराना इमान्दार साथी हुन्, तर तीमध्येका जो आकाशका तारा टिप्न सक्दैनन् । तर उनी भने यसै कुरामा पारङ्गत देखिए । क्याबात् । ओहो, उपकरणको उपादेयतामा शङ्का प्रकट गरेको त जर्नेलहरू कसरी झम्टनै आएका ! तर मैले जानीजानी यसो गरेको हुँ–उनीहरू यो औधि बुद्धिमान भाँडोको कसरी मूल्याङ्कन गर्छन् भनेर जान्न चाहेकाले ।”
बेस्सरी हाँस्नुभयो, अनि सोध्नुभयो :
“भन्नुहोस्, इ. सँग अर्को आविष्कार पनि छ ? जरुरी छ, उनी यताउताको काममा नलागुन् ओह, यी सबै प्राविधिज्ञहरूलाई उनीहरूका काममा आदर्श सुविधा प्रदान गर्न सक्ने भएको भए । पच्चीस वर्षपछि रुस संसारको अगुवा देश हुनेथियो !
हो, उहाँले साथीहरूको प्रशंसा गर्नुभएको म प्रायः सुनिराख्थेँ । अझ, ती मानिसहरूबारे कुरा गर्दा पनि, जसले, हल्लाअनुसार उहाँको निजी सहानुभूति पाएका थिएनन्, लेनिन उनीहरूको उत्साहशक्तिको आदर गर्न जान्नुहुन्थ्यो ।…
मप्रतिको उहाँको सम्बन्ध कडा अध्यापकको एवम् स्नेही, ‘हितैषी साथीको सम्बन्ध’ थियो ।
“तपार्इँ रहस्यमय मानिस हुनुहुन्छ ।” उहाँले ठट्टा गर्दै मलाई भन्नुभयो, “साहित्यमा राम्रा यथार्थवादी देखिनुहुन्छ, मानिसहरूप्रतिको धारणामा भने कल्पनावादी । तपाईँकाअनुसार, सब इतिहासका शिकार भए, हैन? हामीलाई इतिहास थाहा छ र हामी शिकारलाई भन्दछौँ : बलिको खाँबा, फ्याँक, मन्दिर भत्काऊ ईश्वर मुर्दावाद । यता तपाईँँ मलाई विश्वास दिलाउन चाहनुहुन्छ कि मजदुरवर्गको आन्दोलनकारी पार्टीले सर्वप्रथम बुद्धिजीवीहरूलाई न्यानो ठाउँ दिनु जरुरी छ ।”
हुन सक्छ, यो मेरो भूल होस् तर मलाई के लाग्थ्यो भने मसँग कुरा गर्न भ्लादीमिर इल्यीच रुचाउनुहुन्थ्यो । उहाँ सधैँजसो भन्नुहुन्थ्यो :
“आउनोस्, फोन गर्नुस्, भेटघाट गरौँला ।”
एकपटक भन्नुभयो : “तपाईँँसँग छलफल गर्न सधैँ रमाइलो हुन्छ, तपाईँका चाखका विषयहरूमा अनेकता र व्यापकता छ ।”
बुद्धिजीवीहरूको मनस्थितिबारे, खास गरेर वैज्ञानिकहरूबारे उहाँ सोधिराख्नुहुन्थ्यो, म त्यसबेला आ.ब. खालातोभसँगै ‘वैज्ञानिकहरूको रहन–सहन सुधार आयोग’ मा काम गरिरहेको थिएँ । उहाँ सर्वहारा साहित्यबारे चाख राख्नुहुन्थ्यो :
“तपाईँँ यसबाट के आशा राख्नुहुन्छ ?”
मैले भनेँः निकै कुराको आशा राख्दछु, तर साहित्य विद्यालयको स्थापना अत्यधिक जरुरी ठान्दछु, जहाँ भाषा विभाग, विदेशी भाषाहरू–पश्चिमेली र पुर्वेली भाषाहरू, लोकभाषा एवम् साहित्य, विश्व साहित्यको इतिहास र छुट्टै रुसी साहित्यको इतिहाससम्बन्धी विभागहरूको व्यवस्था होओस् ।
“म्ह–म्ह । आँखा झिम्झिमाउँदै र हाँस्दै उहाँले भन्नुभयो, “व्यापक र चकाचक । व्यापकको विरोधमा म छैनँ, तर औधि चकाचक पो भयो, हैँ ? यी विषयहरूका हाम्रा आफ्नै प्रोफेसरहरू छैनन्, र पुँजीजीवी प्रोफेसरहरू यस्तो इतिहास देखाइदिनेछन्… । अहँ, अहिले हामी यो उठाउन सक्नेछैनौँ । तीन वर्ष, पाँच वर्ष जति पर्खनुपर्ला ।”
अनि शिकायत गर्नुभयो :
“पढ्न एकदमै समय पुग्दैन !… तपार्इँलाई लाग्दैन, कविता निक्कै लेखिन थाले ? पत्रिकाहरूका पाना–पानाभरि कविता हुन्छन्, दिनदिनै जसो कवितासङ्ग्रह निस्किराख्छन् ।”
मैले के भर्ने भने यस्तो समयमा युवाहरू गीततिर आकर्षित हुनु स्वाभाविकै हो र मेरो विचारमा, सामान्यस्तरका कविता लेख्नु गद्य लेख्नुभन्दा सजिलो हुन्छ, कवितालाई समय पनि कम चाहिन्छ, यसका अतिरिक्त हामीकहाँ कविता लेख्ने तरिका सिकाउने राम्रा गुरुहरू पनि निक्कै छन् ।
“आ, गद्यभन्दा कविता सजिलो हुन्छ भन्ने कुरा म पत्याउन्नँ । कल्पनै गर्न सक्दिनँ । मेरो छाला नै तारिदिए पनि म दुई पङ्क्ति कविता लेख्न सक्नेछैन ।” निधार खुम्च्याउँदै भन्नुभयो, “सप्पै पुरानो क्रान्तिकारी साहित्य जे–जति हामीकहाँ र युरोपमा छ त्यसलाई जनसमुदायसम्म पु¥याउनुपर्छ ।”
उहाँ यस्तो रुसी मानिस हुनुहुन्थ्यो, जो निक्कै लामो समयसम्म रुसबाहिर बस्यो, जसले आफ्नो देशलाई ध्यान दिएर हे¥यो, टाढाबाट त्यो रमाइलो र चम्किलो देखिन्छ । उहाँले त्यसको सम्भावित शक्तिको सही मूल्याङ्कन गर्नुभयो– जनताको ठुलो प्रतिभा सम्पन्नता, स्पष्ट रूपमा अझै अभिव्यक्त नभएको, कठिन र पट्टाइलाग्दो, इतिहासले नबिउँझाएको, तर जता हे¥यो उतै प्रतिभा सम्पन्नता, कल्पनामय रुसी जीवनको अँध्यारो पृष्ठभूमिमा सुनौला ताराझै चम्कने प्रतिभा ।
यस संसारका महान्, सच्चा मानिस भ्लादीमिर लेनिनको मृत्यु भयो । यस मृत्युले ती मानिसहरूको हृदयमा अत्यधिक चोट पु¥यायो जो उहाँलाई चिन्दथे । ठुलो चोट !
तर मृत्युको कालो रेखाले यस संसारका आँखामा उहाँको महत्व अझ जोडसँग प्रस्ट गरेको छ– आम विश्वका कामदार जनताका महान् नेताको महत्व ।
लेनिनप्रतिको घृणा, उहाँको नामका चारैतिर फैलाइएको फट्याइँ र बदख्वाइँ अझ घना भएर आए पनि यस्तो कुनै शक्ति छैन, जसले लेनिनले माथि उठाउनुभएको मसालको उज्यालो रोक्न सकोस् जुन मसाल बहुलाएको संसारको उकुसमुकुस अँध्यारोमा उठाइएको छ ।
फेरि संसारमा यी मानिस जत्तिकै अमर सम्झनाको अधिकारी अरू कोही छैन ।
भ्लादीमिर लेनिनको मृत्यु भयो । उहाँको बुद्धि र भावनाका उत्तराधिकारीहरू जीवित छन् । जीवित छन् र यति सफलतापूर्वक काम गर्दैछन् जति संसारमा कसैले पनि, अहिलै पनि, कहीँ पनि काम गरेन ।

समाप्त
स्रोत : हुरी चराको गीत र अरु कथाहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *