भर्खरै :

पुँजीवादी व्यवस्थामा कामदार जनतालाई शोषण र दमन हुने

पुँजीवादी व्यवस्थामा कामदार जनतालाई शोषण र दमन हुने

सुर्खेत, १९ वैशाख । १३६ ओैँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल क्रान्तिकारी मजदुर सङ्घ सुर्खेत जिल्ला समितिको आयोजनामा वीरेन्द्रनगरमा जुलुस तथा सभा सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सल्लाहकार सदस्य नर्मा गुरुङले मजदुरहरूले आफ्ना हक अधिकारका लागि न्यायपूर्ण आन्दोलन गर्दा बलिदानी दिनुपरेको १८८६ मे १ को दिनलाई अन्तर्राष्ट्रिय स्तरमा श्रमिक मजदुर दिवसको रूपमा मनाउँदै आएको चर्चा गर्नुभयो । पुँजीवादी व्यवस्थामा कामदार जनतालाई शोषण, दमन, अन्याय र अत्याचार गर्ने भएकोले कामदार वर्गले नै आफ्ना अधिकारका लागि सङ्घर्ष गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तुल्सी खड्काले पुरुष मजदुरजस्तै महिला मजदुरहरू पनि शोषणमा परेको बताउँदै महिला–पुरुष सबै कामदार वर्ग सचेत र सङ्गठित बन्नुपर्ने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी कर्णाली प्रदेश समिति सदस्य धनेन्द्र विकले पुँजीवादी व्यवस्थाको विकल्प समाजवादी गणतन्त्र भएकोले हल्ला र झूटको पछाडि लाग्नु हुन्न; वर्तमान सरकार पनि भष्टाचारी र दलालहरूको संरक्षक भएकोले जनताले यो सरकारबाट आशा गर्नु हुन्न भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टी सुर्खेतका उपाध्यक्ष अकल राना, नेमकिपा वीरेन्द्रनगर नगर समिति अध्यक्ष शेरबहादुर शाही, कवि खड्का, कमल शाही, अङ्गबहादुर शाहीलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा टीकाप्रसाद पोखरेल, शर्मिला विक, भावना सिंह, बिजुकला रानाले गीत–गजल प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम नेपाल क्रान्तिकारी मजदुर सङ्घ जिल्ला समिति सुर्खेतका अध्यक्ष नीरक बहादुर शाहीको अध्यक्षतामा सम्पन्न भएको थियो । सभा अगाडि जुलुसले वीरेन्द्रनगर बजार परिक्रमा गरेको थियो ।
त्यस्तै नेपाल क्रान्तिकारी किसान सङ्घ लेखबेँसी नगर समितिको आयोजनामा १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सुर्खेत जिल्लाको लेखबेँसी नगरपालिकाका मजदुर किसानहरूसँग भेटघाट कार्यक्रम सम्पन्न भयो ।
आयोजक समितिका अध्यक्ष देवबहादुर घर्ती मगरको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तुल्सी खड्काले १३६ औँ श्रमिक दिवसको स्मरण गर्दै नेमकिपा किसान र मजदुरहरूको पार्टी भएको हुँदा किसान र मजदुर नै सचेत र सङ्गठित भई नेमकिपाले लिएको बाटो समाजवाद हुँदै साम्यवाद पुग्ने हो भन्नुभयो ।
किसान र मजदुरको सुनौलो भविष्य अहिलेको व्यवस्थामा नभई समाजवादी व्यवस्थामा मात्र हुने भएकोले गाउँ गाउँबाट उठ्नु अहिलेको आवश्यता हो भन्दै उहाँले चुनाव जितेका ठाउँमा नेमकिपाले जनताको लागि अन्य राजनीतिक दलहरूको भन्दा फरक ढङ्गले काम गरेको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सल्लाहकार नर्मा गुरुङले आर्थिक पूर्वाधार नभइकन बनाइएका नगरपालिकाले जनतालाई सेवासुविधा दिनुभन्दा चरम करको भारी बोकाएर किसान र मजदुरहरूको थप शोषण गरेको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी कर्णाली प्रदेश समितिका सदस्य एवं सुर्खेत जिल्ला सचिव लालबहादुर थापाले अन्तर्राष्ट्रिय श्रमिक दिवसबारे प्रकाश पार्दै मजदुरहरूले आधा पेट खाएर १८ घण्टासम्म काम गर्नुपर्नेजस्तो चरम शोषणविरुद्धमा एक भएर गरेको बलिदानीपूर्ण सङ्घर्षको परिणाम अहिले ८ घण्टा कामको बन्दोबस्त भएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सदस्य प्रेमकुमार थापाले नदी तर्नु छ भने पौडी खेल्न अनिवार्य जान्नुपर्छ, किसान र मजदुरका हक अधिकार सुनिश्चित गर्नु छ भने किसान र मजदुरका छोराछोरीले राजनीति सिक्नुपर्ने आजको आवश्यकता हो भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *