ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
कैलाली, १९ वैशाख । नेपाल मजदुर किसान पार्टी कैलालीको आयोजनामा १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारी लम्किचुहा नगरपालिका वडा नं.२ बघौरामा वैशाख १८ गते प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले नेमकिपाको मुख्य उद्देश्य भनेको किसान र मजदुरको राज्य व्यवस्था स्थापना गर्नु रहेको बताउनुभयो । उहाँले मजदुर र किसानको राज्य व्यवस्था समाजवादी व्यवस्था क्रान्तिबाट मात्र सम्भव भएको बताउँदै नेमकिपाले मजदुर र किसानलाई राजनीतिक रूपले सचेत र सङ्गठित पार्दै अघि बढेको बताउनुभयो । उहाँले शासक दलहरूले उत्पादनका साधनहरू निजीकरण गर्ने काम गरिरहेको र नीति नियम पनि पुँजीपतिको हित अनुकूल बनाउने भएकोले शासक दलहरू पुँजीवादी पार्टी भएको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा कैलाली अध्यक्ष रमेशकुमार रावलले अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना दिँदै नेमकिपाले समाजवाद हुँदै साम्यवादसम्मको लक्ष्य लिएको बताउनुभयो । उहाँले सम्पूर्ण कार्यकर्ताहरूलाई पार्टी प्रकाशनहरू अध्ययन गरी गाउँगाउँमा गएर प्रशिक्षित गराउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेक्राशिसङ्घका केन्द्रीय सदस्य जे.वी. तारामीले एक थरीको पत्रिका पुँजीपतिवर्गको हित गर्ने र अर्को थरीको पत्रिका मजदुरवर्गको हित गर्ने हुन्छ भन्नुभयो । उहाँले कुनै पनि देशमा समाजवादी क्रान्ति हुनको लागि आन्तरिक र बाह्य वातावरण अनुकूल हुनुपर्ने बताउनुभयो । नेपालमा युवाहरू बिदेसिनुको कारण शासक दलहरू भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेक्राशिसङ्घ कैलालीका अध्यक्ष जी. शाहीले मजदुरहरूले कलकारखानामा दैनिक १८ घण्टासम्म काम गर्नुपर्ने र बालबालिकाले दिनको १२–१३ घण्टा काम गर्नुपर्ने स्थितिबारे बताउनुभयो । उहाँले सन् १८८९ मे १ मा फ्रान्सको राजधानी पेरिसमा भएका विश्वका मजदुरहरूको भेलाले मे १ मा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने निधो गरेको बताउनुभयो ।
कार्यक्रममा नेक्रामहिला सङ्घका केन्द्रीय सहसचिव तथा कैलाली अध्यक्ष लक्ष्मी पुन, नेमकिपा कैलाली सचिव गगनबहादुर थापामगर, ज्योति बडुवाल, भक्तिप्रसाद न्यौपाने, दीपेन्द्र शाही, नेक्रायुसङ्घ कैलालीका अध्यक्ष प्रेम सिजापती र नेक्राविसङ्घ केन्द्रीय सदस्य प्रतिभा रावलले पनि बोल्नुभएको थियो ।
Leave a Reply