सोभियत हुकुमले गरेका कार्यहरू
- कार्तिक २१, २०८२

कथा
यो कथाका मूल पात्र हुन् – घिसु, माधव र बुधिया । घिसु बाबुको नाम हो – अन्दाजी ६० वर्ष; माधव : छोरोको नाम – अन्दाजी २५ वर्ष, उसको एक वर्षअघि बिहे भएको हुन्छ – जोईको नाम बुधिया ।
घिसु र माधव दलित, उत्पीडित जातिका हुँदाहुँदै पनि निर्घिनी, अल्छीको पिण्ड र कामचोरको रूपमा बदनाम भएका हुन्छन् ! ती कामचोरमात्र होइनन्, साँच्चिकैका चोर पनि नहुन सक्तैनन् – अरूको खेतबारीमा फलेका आलु–टमाटर आदि चोरेर छाक टार्छन् । यिनको घरमा माटोको भाडो सिबाय केही हुँदैन; तैपनि ती आराम गर्न चाहन्छन् । कथाको पृष्ठभूमि किसानहरूको गाउँ हो; कामको कमी हुँदैन तर ती दुईलाई सकेसम्म कसैले पनि काम लगाउँदैनन् किनभने घिसु एक दिन काम गरेपछि तीन दिन आराम गर्छ; माधव आधा घण्टा काम गरेपछि एकघण्टा चिलम तानेर बिताउँछ । घरमा दुई छाक अन्न बचेको बेला ती काममा जाँदैनन् । गाउँलेहरूले अरू कामदार नपाउँदा मात्र यिनलाई काम लगाउँछन् । तैपनि, हुनेखानेले यिनलाई कहिलेकाहीँ बाध्य भएर ऋण दिन्छन् । यिनको टाउकोमा ऋणको ग¥हौँ बोझ हुन्छ तर तिनले आफू ऋणी बनेको महसुस नै गर्दैनन् ।
प्रेमचन्दले ‘कात्रो’ कथालाई ‘मानवीय पतन’ को व्यङ्ग्यको रूपमा प्रस्तुत गरेका छन् भने बाबुछोराको चरित्रलाई सामाजिक फोहोरको रूपमा वर्णन गरिएको छ । सायद, भारत बृटिस–उपनिवेशबाट मुक्त नहुँदासम्म इन्डियन दलितहरूको मानसिकता घिसु र माधवको जस्तै थियो कि ? तर, यस्ता छुद्र र अति निकृष्ट चरित्रका मानिस आज पनि पृथ्वीका धेरै कुनामा भेटिँदैनन् र ?
प्रेमचन्दले त्यो समाजप्रति ठूलो व्यङ्गय गरेका छन् जो बुधिया जीवित छँदा, प्रसव बेदनाले छटपटाइरहँदा मद्दत गर्न आउँदैनन् तर ऊ मरेपछि कात्रो किन्न र क्रियाकर्म गर्न सहयोग गर्छन् । यसबाट के बुझिन्छ भने पतनोन्मुख समाजमा मान्छेभन्दा परम्परागत रीतिरिवाज बढी महत्वपूर्ण हुन्छन् ।
कथा
जाडोयामको रात छ । सारा गाउँ अन्धकारमा लीन छ । झुपडीको ढोकैमा बाउ छोरा निभ्न लागेको आगो तापेर चुपचाप बसेका छन् । भित्र छोरो चाहीँकी जवान श्रीमती बुधिया प्रशव पीडाले छटपटाइरहेकी छ । बेलाबेला उसको मुखबाट निस्किने आर्तनादले बाहिर बसेका बाउछोरालाई स्तब्ध बनाइरहेको छ ।
यस्तैमा बाउ घिसु छोरोलाई भन्छ, “माधव, बिचरी बाँच्छे जस्तो छैन । दिनभर त दौडेरै बिताइस् । जा, एकपल्ट हेरेर आइज !”
माधव रिसाउँदै बाउलाई जवाफ फर्काउँछ, “मर्नै छ भने बरु छिटै किन मर्दिन ? मैले हेरेर आउँदैमा के नै हुने हो र ?”
“कस्तो निष्ठुरी हुन सकेको तँ ? वर्ष दिन जोसँग सुख चैनका साथ बसिस्; उसैको लागि तेरो मनमा रत्ति दया छैन ?!”
“सुख चैनसँग बसेको थिएँ त्यही भएर त उसको यो तड्पाइ देख्न नसकेको हुँ !”
चमारहरूको यो परिवार सारा गाउँमा बदनाम हुन्छ । बाउ घिसुलाई एक दिन काम गर्दा तीन दिन आराम गर्नुपर्ने । छोरो माधव झन् यस्तो काम चोर, आधा घण्टा काम ग¥यो भने पूरा घण्टा चिलिम तान्दै बसिदिने । त्यसैले, यी बाउछोरालाई हतपत कसैले मजदुरीमा लगाउन चाहँदैन थिए । घरमा मुठ्ठी–भर अन्न हुँदासम्म त यी काम गर्ने नामै लिँदैन थिए । दुईचार दिन भोकै बस्नु परेपछि बल्ल घिसु कुनै रुख चढी दाउरा काटेर ल्याउँथ्यो । माधव त्यही दाउरा बजार लगी बेचेर आउँथ्यो । यसरी जम्मा गरेको पैसा रहुन्जेल यी बाउछोरा मस्त घुम्दै बस्थे । खेती किसानी गर्नेहरूको गाउँ भएको हुनाले कामको कमी हुन्थेन, मेहनती मान्छेका लागि गाउँमा जुनसुकै बेला विभिन्न काम उपलब्ध हुन्थ्यो । यी दुई बाउछोरालाई भने तबमात्र मजदुरीका लागि बोलाइन्थ्यो; जब दुई जनालाई काममा लगाएर एक मजदुर बराबरको काम पूरा हुँदा पनि सन्तोष गर्नुपर्ने अवस्था सिर्जना भएको हुन्थ्यो ।
केही गरी साधु भएका भए सन्तोष र धैर्य, संयम र नियमको अभ्यास गर्नुपर्ने आवश्यकता नै पर्दैन थियो यी बाउ छोरालाई । त्यो सबै त यिनको प्रकृतिमै थियो । अचम्मको जीवन थियो यिनीहरूको । घरमा माटाको दुई चार वटा भाँडा सिवाय केही सम्पत्ति थिएन । लाजमात्र ढाक्नेजस्ता फाटेका कपडा लगाउँथे । संसारका चिन्ताबाट मुक्त, ऋणको बोझले थिचिएका; गाली, कुटाइ सबै पचाइसकेका । यिनको दीनता देखेर वसुल होला कुनै दिन भन्ने आसै नहुँदा पनि मान्छेहरू यिनलाई कहिलेकाहीँ ऋण दिने गर्थे । कहिलेकाहीँ बाउछोरा मिलेर अरूको खेतबाट मटर, आलु आदि उखेलेर ल्याउँथे र त्यही खान्थे । कहिले त्यसैगरी अर्काको खेतबाट ऊखु चोरेर ल्याउँथे र रातभर त्यही चुसेर बस्थे । घिसुले त यसरी नै साठी वर्षको जिन्दगी बिताइसकेको थियो । छोरो माधव कम किन हुन्थ्यो, सुपुत्र हुनुको प्रमाण दिँदै ऊ पनि बाउकै पदचिह्नमा आफ्नो जीवन बिताउन उद्यत थियो । अहिले पनि बाउछोरा आगोको अघिल्तिर बसेर कसैको खेतबाट चोरेर ल्याएको आलु पोल्दै थिए । घिसुकी बुढीको त देहान्त भएको निकै भइसकेको थियो ।
माधवको विवाह भने पछिल्लो वर्षमात्र भएको थियो । जबदेखि माधवकी बुढी घरमा आएकी थिई, यी दुवैको लथालिङ्ग जीवन केही व्यवस्थित भएको थियो । बिचरी कहिले कसैका लागि घाँस काटेर त कहिले कसैको अन्न कुटिदिएर थोरैतिनो अन्नको व्यवस्था गर्थी र निकम्मा बाउछोरालाई पकाएर खुवाउँथी । ऊ घरमा आएदेखि त यी दुई बाउछोरा झनै कामचोर र अलमस्त भएका थिए । कसैले मजदुरीका लागी बोलाउँदा दुईगुणा मजदुरी माग्न थालेका थिए । त्यही स्त्री जसले यिनलाई चैनका यी दिन देखाई, आज प्रशव वेदनाले मर्दै थिई र यी दुई भने कहिले मर्ली र आरामले सुतौँला भनेर पर्खी बसेका थिए ।
भुङ्ग्रोबाट आलु निकालेर ताछ्दै घिसु भन्छ, “जा भित्र गएर हेर् एकपल्ट ! धामी बोलाउनुप¥यो भने बेकारमा एक रुपियाँ खर्च हुन्छ । कहाँबाट ल्याउनु तेत्रो ?”
आफू भित्र गएँ भने बाउ एक्लैले सबै आलु खाइदेला भन्ने डरले माधव भन्छ, “जान्नँ ! मलाई डर लाग्छ एक्लै भित्र जान ।”
“के को डर ? म छँदै छु नि यहाँ !”
“आफैँ गएर हेर न त बुढा, खुबै त्यस्तो चिन्ता लागेको भए !”
“मेरी बुढी मर्दा तीन दिनसम्म उसको छेवैमा बसिरहेँ । तेरी बुढी हो, तँ जा । जसको मुखै राम्रोसँग हेरेको छैन मैले, आज यो अवस्थामा उसलाई कसरी हेर्नु ? मलाई देखेर त बिचरी सङ्कोचले कराउन पनि नसक्ली !”
“सोच्दै छु, केही गरी बच्चा जन्माइहाली भने पो के गर्ने ? घरमा त अदुवा, चिनी, तेल केही छैन !”
“भगवान्ले दिन्छन् ! सबै आफैँ आउँछ । जो अहिले एक पैसा दिइरहेका छैनन्; तिनै मान्छेले बोलाई बोलाई दिन्छन् । चिन्ता नगर् ! मसँग के थियो ? नौ सन्तान पार लगाएँ मैले ! भगवानले हेर्छन्, बुझिस् ?”
जुन समाजमा दिन–रात नभनी मेहनत गर्नेहरूको हालत पनि उनीहरूको भन्दा कुनै गतिलो थिएन; जुन समाजमा मेहनती किसानहरू भन्दा किसानहरूमाथि हैकम चलाउने वर्ग ज्यादा सम्पन्न थियो; त्यहाँ घिसुको जस्तो मनोवृत्ति जन्मनु नौलो कुरा हैन । बरु घिसुलाई किसानहरूभन्दा धेरै विचारवान् मान्न सकिन्छ । कम–से–कम किसानहरूले झैँ उसले ज्यान दिएर मेहनत गर्नु पर्दैन थियो; कमसेकम उसको सरलता र निरीहताको कसैले अनावश्यक फाइदा उठाउन पाउँदैन थियो ।
भुङ्ग्रोबाट निकालेको तात्तातो आलु खान थाल्छन् उनीहरू । हिजोबाट केही खाएका छैनन्, त्यसैले आलु सेलाउन्जेल पर्खिने धैर्य दुवैमा छैन । जिब्रो पोल्छ; तालुको छाला खुइलिन्छ । त्यसैले आलु मुखमा नराखी सुलुत्त निल्छन् । घिसु आफू बीस वर्षअघि गएको ठाकुरको जन्ती सम्झिन थाल्छ । त्यहाँ खाएको भोज र त्यसले दिएको तृप्ति उसको जीवनकै सम्झनायोग्य घटनाहरूमा पर्छ । आजसम्म उत्तिकै ताजा याद माधवलाई सुनाउँदै ऊ भन्छ, “त्यो भोज म कहिल्यै बिर्सिन्नँ । त्यहाँ खाएको जस्तरी अन्यत्र कहिले खान पाएकै छैन । केटी पट्टिकाले सबै जन्तीलाई घिउमा पकाएको पुरी खुवाएका थिए । साथमा चटनी, रायता, तीन किसिमका साग, झोल तरकारी, दही, मिठाई । कुनै रोकटोक छैन, जे माग । जती खाऊ । सबैले पेटमा पानीसमेत नअटाउने गरी खाए । अघाइसक्दा पनि तात्तातो कचौडी पस्किन ल्याउने । भयो, अघाएँ भन्दै हातले छेक्दा पनि जबरजस्ती हाल्दिने । खाइसकेर मुख धोएपछि पान–सुकुमेल लिएर आए । म त उठ्नै सकिरहेको थिइनँ । कहाँबाट पेटमा पान सुकुमेल अटाउनु ! म त झटपट घर आएर कम्बल ओढेर सुतेको थिएँ ।”
बाउले बखान गरेका खाद्यपदार्थको मनमनै मजा लिँदै माधव भन्छ, “अब त कसले खुवाओस् त्यस्तो भोज !”
“अब कहाँ खुवाउँछन् त ! त्यो त जमानै अर्को थियो । अचेल त सबैलाई किफायतीको चिन्ता छ । न विवाहमा खर्च गर्छन् न किरियाकर्ममा । गरीबलाई लुटेर कमाएको धन के गर्छन् खै ?”
“बा, तिमीले त बीस वटा पुरी खायौ होला है ?”
“बीसभन्दा बढी खाएको थिएँ ।”
“म भएको भए पचास वटा खान्थेँ होला !”
“पचासभन्दा कम त मैले पनि खाइनँ होला !”
आलु खाएपछि उनीहरू पानी पिउँछन् । त्यहीँ भुङ्ग्रोकै छेउमा आ–आफ्नो धोती ओढेर गुडुल्किएर सुत्छन् । भित्र बुधिया कराई नै रहेकी हुन्छे ।
बिहान सबेरै माधव भित्र गएर हेर्छ । उसकी बुढीको शरीर चिसो भइसकेको हुन्छ । उसको मुखमा झिङ्गा भन्किरहेका हुन्छन् । ढुङ्गाजस्तो जड भएका आँखा माथि टोलाइरहेका हुन्छन् । उसको सारा शरीर धुलाम्य भएको हुन्छ । पेटको बच्चा पनि पेटमै मरिसकेको हुन्छ । ऊ दौडेर बाहिर आई घिसुलाई सबै बेलीबिस्तार लगाउँछ । दुवै जोड जोडले छाती पिट्दै रुन थाल्छन् । एकाबिहानै यो सुनेर जम्मा भएका गाउँलेहरू उनीहरूलाई सम्झाइ बुझाइ गर्न थाल्छन् । रोइकराई गरेर मात्र के गर्नु ! लास बेर्न कात्रो, जलाउन काठ आदिको व्यवस्था गर्नै प¥यो । उनीहरूसँग त त्यसका लागि एक पैसा हुँदैन । दुवै रुँदै कराउँदै जमिन्दारकहाँ पुग्छन् । चोरीको आरोपमा, समयमा काम पूरा नगरेको आरोपमा आफैँले कैयौँपल्ट कुटिसकेको यी बाउछोरालाई जमिनदारले किन पो मन पराउँथे ? रिसाउँदै उनी घिसुलाई सोध्छन्, “के हो घिसुवा, गाउँमा बस्न मन छैन जस्तो छ तँलाई । देखिनै छाडिस् त हिजोआज ।”
भुईँमा टाउको राखुँलाझैँ गर्दै आँखाभरि आँसु पारेर घिसु भन्छ, “सरकार ! निकै ठूलो विपत्तिमा छु । माधवकी बुढी मरी । रातभर तड्पिएर मरी । हामी बाउछोरा उसको सिरानीमै बसिरह्यौँ; सकेको औषधी ग¥यौँ । आइमाईले अन्त्यमा धोका दिएर गई सरकार । हामी त बरबाद भयौँ सरकार ! जे जति थियो, सबै त्यसको औषधि–उपचारमा सकियो । अब त लास उठाउनेसम्म पैसा छैन सरकार ! त्यसैले, तपाईँको द्वारमा आएको हुँ । अन्त कहाँ पो जाऊँ र हजुर !”
त्यसो त जमिनदार दयालु स्वभावका हुन्छन् तर घिसुको स्वभाव उनलाई थाहा नभएको पनि त हैन । मन त लागेको छ, घिसुलाई फट्कारेर पठाउन तर परिस्थितिको बोध गर्दै केबल मनमनै रिसाउँछन् र ऊतिर हेर्दै नहेरी दुई रुपियाँ फ्याल्दिन्छन् । जमिनदारले नै पैसा दिइसकेपछि अरूले नदिऊन् कसरी ? जमिनदारको नामको डङ्का बजाउँदै घिसु गाउँका सबैसँग पैसा उठाउन थाल्छ । कसैले दुई आना त कसैले चार आना दिन्छन् । एकघण्टाभित्र घिसुले पाँच रुपियाँ जम्मा गर्छ । साथै, कसैले अनाज दिएका छन् त कसैले दाउरा । दिउँसोतिर बाउछोरा कात्रो किन्न बजारतिर लाग्छन् । केही गाउँले बाँस काट्न थाल्छन् । गाउँका आइमाई एक–एक गर्दै घरमा लास हेर्न आउँछन्; तप्प दुई थोपा आँसु चुहाएर जान्छन् ।
बजार पुगिसकेर घिसु माधवलाई सोध्छ, “दाउरा त जलाउन पुग्ने जति जम्मा भएकै छ हैन माधव ?”
माधव भन्छ, “दाउरा त पुग्दो छ । कात्रो किने पुग्छ ।”
“जाऊँ उसोभए एउटा सस्तो कात्रो किनेर ल्याऊँ !”
“हो त ! लास उठाउँदासम्म रात परिसकेको हुन्छ । कसैले देख्ने हैनन्; जस्तो कात्रो लगे पनि के फरक पर्छ र !”
“कस्तो नराम्रो चलन हो यो; जसले बाँचुन्जेल मुस्किलले तन ढाक्ने कपडा पाई; उसलाई मरेपछि नयाँ कात्रो चाहिने !”
“त्यही कात्रो पनि लाससँगै जलाउनुपर्ने !”
“यही पाँच रुपियाँ पहिले नै पाएको भए औषधि खुवाउन त हुन्थ्यो त्यसलाई !”
दुवै यसरी एकअर्काको मन चोरिरहेका हुन्छन् । बजारमा यताउता घुम्ने क्रममै साँझ पर्छ । अनेक पसल चहार्छन्† कहिले रेशमको कात्रो हेर्छन् त कहिले सुतीको । चित्त केही गरे बुझ्दैन । अन्त्यमा कहाँकताबाट दुवै एउटा रक्सी भट्टीअघि पुग्छन् । योजना नै गरे जसरी भट्टीभित्र छिर्छन् र केहीबेर अप्ठ्यारो मानेर उभिइरहन्छन् । अन्त्यमा घिसुले साहुलाई भन्छ, “साहुजी, एक बोतल हामीलाई पनि दिनुहोस् !”
केहीबेरमा सितन आउँछ; तारेका माछा । दुवै भुइँमा बसेर आनन्दले खान पिउन थाल्छन् । मातेर रमरम भएपछि घिसु भन्न थाल्छ, “कात्रो किनेको भए पनि के हुन्थ्यो ? आगोमा जल्थ्यो । बुहारीले लाउन त पाउने थिइन क्यारे !”
आकाशतर्फ हेरी देवताहरूलाई आफ्नो निष्पापताको साक्षी बनाउँदै माधव थप्छ, “बेकारमा बाहुनहरूलाई किन हजारौँ रुपियाँ दान गर्दा हुन् मान्छे ? आखिर परलोक देखेकै कसले पो छ र ?”
“धन हुनेले जसरी उडाउनु छ उडाऊन् पैसा । के फरक पर्छ र ! हामीसँग छैन, उडाउँदैनौँ ।”
“तर, मान्छेहरूलाई के उत्तर दिने ? कात्रो खै ल्यायौ भनेर पक्कै सोध्छन्, के भन्ने ?”
घिसु हाँस्छ, “भनिदिउँला पटुकामा राखेको थिएँ† झरेछ कतै । धेरै खोज्यौँ, फेला परेन । पत्याउँदैनन् कसैले तर फेरि सबै मिलेर पैसा जम्मा गरीदिन्छन् । चिन्ता नगर् !”
यो अनपेक्षित सौभाग्य सम्झेर माधव पनि खुसीको हाँसो हाँस्छ । भन्छ, “बिचरी ! मर्दा पनि यति खुवाई पियाई गरेर मरी ।”
आधा बोतल सकिन्छ यसैगरी । साथमा अचार, भुटेको कलेजो र अनेकथरी सितन । भट्टीको सामुन्नेमै एउटा मिठाई दोकान हुन्छ । घिसु माधवलाई त्यहाँबाट पुरी लिएर आउन लगाउँछ । पुरीमा मात्र डेढ रुपियाँ खर्च हुन्छ । अब उनीहरूसँग थोरै पैसा मात्र बाँकी रहेको हुन्छ । दुवै शानसँग पुरी खाँदै हुन्छन् । मानौँ जङ्गलमा कुनै सिंह आफ्नो सिकार उडाइरहेको होस् ! न जवाफदेहीको चिन्ता न बदनामीको डर । यस्ता भावनालाई त बाउछोराले जमानामै जितिसकेका हुन्छन् । घिसु दार्शनिक भावमा भन्छ, “हाम्रो आत्मा प्रसन्न छ । यसको पुण्य पक्कै पाउँछे त्यसले ।”
श्रद्धाले सिर झुकाउँदै माधव थप्छ, “पक्कै पाउँछे । भगवान्, तिमी अन्तर्यामी छौ । हामी हृदयबाट उसलाई आशीर्वाद दिन्छौँ । कृपा गरेर उसलाई बैकुण्ठ लोक लैजाऊ ! आजको जस्तो भोजन हामीले जीवनमा कहिल्यै खान पाएका थिएनौँ ।”
अर्को क्षण माधवको मनमा एउटा शङ्का उत्पन्न हुन्छ । ऊ सोध्छ, “बाउ, एक दिन हामी पनि त्यहीँ जान्छौँ हैन ?”
व्यर्थमा परलोकको कुरा सोचेर घिसु यो आनन्दमा खलल पु¥याउन चाहँदैन । त्यसैले माधवको शङ्काको उसले बेवास्ता गर्छ । यद्यपि, माधवले आफ्नो शङ्का व्यक्त गरेरै छाड्छ ।
“मलाई कात्रो किन नकिन्देका भनेर हामीलाई सोधी भने के उत्तर दिने ?”
“भनिदिउँला तेरो टाउको !”
“पक्कै सोध्छे बाउ ।”
“कात्रो पाउँदिन त्यसले भन्ने कसरी सोचिस् ? पक्कै पाउँछे । हेर्दै गर् । कपाल घाममा सेता भएका हैनन् मेरा । कात्रो पाउँछे र निकै राम्रो पाउँछे !”
माधव पत्याउँदैन । फेरि सोध्छ, “कसले दिन्छ कात्रो ? पैसा त सबै तिमीले सिध्यायौ । तिमीलाई त किन सोध्छे र, मलाई त सोध्छे नि ! सिन्दुर त मैले हालेको हुँ त्यसलाई ।”
“कसले दिन्छ कात्रो ? किन उत्तर दिँदैनौ बाउ ?”
“जसले पहिले दिएका थिए; तिनैले फेरि दिन्छन् । अबको पालि पैसा भने हाम्रो हात पर्दैन ।”
अँध्यारो बढ्दै जाँदा, आकाशमा ताराहरूको चमक बढ्दै जाँदा भट्टीको रौनक बढ्दै जान्छ । कोही गीत गाउन थाल्छन्, त कोही अनेक डिङ हाँक्न थाल्छन् । कोही छेउको आफ्नो साथीलाई अँगालो हाल्छन् त कोही साथीलाई आफ्नै हातले पिलाउन थाल्छन् । भट्टीको वातावरण नै त्यस्तै । त्यहाँको हावामै नसा । रक्सीभन्दा बढी मादक त त्यहाँको हावा नै हुन्छ भन्दा अतिशयोक्ति नहोला ! जीवनका बाधाले त्यहाँ पुगेकाहरू; त्यसैले त केहीबेरलाई सबै बिर्सिन्छन् । यी बाउछोरा पनि सबै बिर्सिएर चुस्कीको मजा लिइरहेका हुन्छन् । सबैका नजर यिनै बाउछोरामा टिकेको हुन्छ । दुवै कति भाग्यमानी ! पूरा बोतल साथमा लिएर बसेका । भरपेट खाएर माधव बचेको पुरी एउटा भिखारीलाई दिएर आउँछ । अघिदेखि भोको आँखाले आफूहरूतिर हेरिरहेको यो भिखारीलाई दिन पाउँदा दिनुको आनन्द, गौरव र उल्लास माधवले पहिलोपल्ट महसुस गर्न पाउँछ ।
घिसु भिखारीलाई भन्छ, “खूब खा र आशीर्वाद दे ! जसको कमाइ हो ऊ त मरेर गई । तेरो आशीर्वाद ऊसम्म पक्कै पुग्छ । कण–कणले आशीर्वाद दे !”
आकाशतर्फ हेर्दै माधव भन्छ, “बैकुण्ठ जान्छे ऊ । बैकुण्ठकी रानी बन्छे ।”
घिसु उठ्छ र उल्लासको लहरमा तैरिँदै भन्छ, “हो छोरा ! बैकुण्ठ जान्छे । न कसैलाई कहिल्यै सताई न कसैलाई कहिल्यै दबाई । मर्दा पनि हाम्रो जिन्दगीको सबैभन्दा ठूलो लालसा पूरा गरेर गई । ऊ नगए को जान्छ बैकुण्ठ ? गरिबलाई दुवै हातले लुटेर कमाएका मोटामोटा सेठ जान्छन् ऊ नगए ?”
अस्थिरता नसाको विशेषता हो । एकैक्षणमा उनीहरूको उल्लास दुःख र निराशामा परिणत हुन्छ ।
माधव भन्छ, “बिचरी, बडो दुःख पाएर मरी ।”
दुवै हातले आँखा छोपेर ऊ रुन थाल्छ ।
उसलाई सम्झाउँदै घिसु भन्छ, “छोरा, खुसी हो । मायाजालबाट मुक्त भएर गई । यो जञ्जालबाट मुक्त भएर गई । बडो भाग्यमानी रहिछे ।”
दुवै उभिएर गाउन थाल्छन् । भट्टीका अन्य पियक्कड अघिदेखि यिनैलाई हेरिरहेका हुन्छन् । यी दुई भने त्यसको परवाह नगरी मस्तीका साथ गाउँछन्; नाच्छन्, उफ्रिन्छन् । अन्त्यमा, नशामा धूत भएर त्यहीँ ढल्छन् ।
(धनपत राय श्रीवास्तव ‘प्रेमचन्द’ को अन्तिम कथा हो – ‘कात्रो’ । उनी उर्दू र हिन्दी आख्यान परम्पराका पिता मानिन्छन् । अनुवाद : अनुपम पोखरेल/साहित्यपोस्ट)
Leave a Reply