भर्खरै :

‘नाकाबन्दी’ का कारण गाजामा सहायता कार्य बन्द हुने अवस्थामा : संयुक्त राष्ट्रसङ्घ

‘नाकाबन्दी’ का कारण गाजामा सहायता कार्य बन्द हुने अवस्थामा : संयुक्त राष्ट्रसङ्घ

जेनेभा, १९ वैशाख (एएफपी) । इजरायलले गाजामा मानावीय सहायतामा पूर्ण नाकाबन्दी लगाएको दुई महिना पुगेको छ । मानवीय सहायताकर्मीहरूले शुक्रबार गाजाको भोकमरी, द्वन्द्वबाट प्रभावित बालबालिका र पानीका लागि मानिसहरूले सङ्घर्ष गर्नुपरेको भयावह दृश्यको वर्णन गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घ र रेडक्रसले युद्धग्रस्त प्यालेिस्टनी क्षेत्रको भयावह अवस्थाप्रति चिन्ता व्यक्त गर्दै अन्तर्राष्ट्रिय कारबाहीको माग गरेका छन् ।
“गाजामा मानवीय प्रतिक्रिया पूर्णरूपमा प्रभावित भएको छ, “रेडक्रसको अन्तर्राष्ट्रिय समितिले एक विज्ञप्तिमार्फत चेतावनी दिएको छ ।
“तत्काल कदम नचालेमा गाजा थप अराजकतामा फस्नेछ र त्यसपछिका मानवीय प्रयासले त्यसलाई सम्बोधन गर्न निकै कठिन हुनेछ ।
इजरायलले गाजा पट्टीमा रहेका २४ लाख प्यालेस्टिनीहरूका लागि आवश्यक अन्तर्राष्ट्रिय सहायताको सबै प्रवाहलाई कडाइका साथ नियन्त्रण गर्दछ ।
१५ महिनाको युद्धपछि भएको युद्धविरामका कारण शत्रुतामा उल्लेखनीय कमी आएको भएपनि युद्धविराम रहेकै समय अर्थात् मार्च २ देखि गाजामा सहायता वितरणमा इजरायली अवरोधका कारण अवरोध आएको थियो ।
नाकाबन्दी सुरु भएदेखि नै संयुक्त राष्ट्रसङ्घले बारम्बार जमिनमा मानवीय विपत्तिको चेतावनी दिँदै आएको छ र फेरि भोकमरीको सङ्घारमा पुगेको छ ।
संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले एक साताअघि आफ्नो ‘अन्तिम बाँकी रहेको खाद्यान्न’ गाजावासीका लागि वितरण गरेको बताएको थियो ।
संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता निकाय ओसीएचएकी प्रवक्ता ओल्गा चेरेभकोले शुक्रबार जेनेभामा गाजा सहरबाट भिडियो लिंकमार्फत पत्रकारहरूसँग भन्नुभयो, “अहिले मुख्यतया खाद्यान्नको मौज्दात समाप्त भएको छ ।”
“सामुदायिक भान्सा घरहरू बन्द हुन थालेका छन् र धेरै मानिसहरू भाकभोकै बसिरहेका छन्,” उहाँले भोजनको कमीका कारण कुपोषणबाट मृत्यु भएका बालबालिका र अन्य अति जोखिममा रहेका व्यक्तिहरूको रिपोर्टलाई सङ्केत गर्दै भन्नुभयो ।
उहाँले भन्नुभयो, “खाद्यान्नलगायतका सामानमाथिको प्रतिबन्ध निकै घातक देखिएको छ ।” पानीको पहुँचमा पनि ‘अभाव हुँदै गएको’ उहाँले चेतावनी दिनुभयो ।
उहाँले भन्नुभयो, “गाजा भग्नावशेषले भरिएको छ । सडकहरू भग्नावशेषले पुरिएका छन् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *