भर्खरै :

शून्य समयमा सांसदहरूद्वारा विविध विषयमा सरकारको ध्यानाकर्षण

शून्य समयमा सांसदहरूद्वारा विविध विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, २३ वैशाख । प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा शून्य समयमा सांसदहरूले शिक्षा, मनसुनदेखि सडक निर्माणसम्मका विषयवस्तुबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।
बैठकमा सांसद अच्युत मैनालीले विश्वविद्यालय अनुदान आयोगले पछिल्लो समयमा विपन्न विद्यार्थीलाई दिँदै आएको अनुदानलाई निरन्तरता दिन माग गर्नुभयो । सांसद अन्जनी श्रेष्ठले पेट्रोलको भाडा बढाउन एउटा निश्चित मापदण्ड बनाउन सरकारसँग माग गर्नुभयो ।
सांसद अनिता देवीले वैशाख १७ गते जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको एकता अघि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई अपहरण शैलीमा पक्राउ गरेको घटनाप्रति आपत्ति प्रकट गर्नुभयो । सांसद अमनलाल मोदीले विराटनगरको चक्रपथका लागि पर्याप्त बजेट विनियोजन नभएको तथा केशरीया र सिनिया खोलाका लागि बजेट छुट्याएर निर्माण नगर्दा विराटनगर डुबानमा पर्ने खतरा बढेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद अम्बरबहादुर थापाले नेपाल सरकारको यस वर्षको नीति तथा कार्यक्रमको कार्यान्वयनको पाटो कमजोर देखिएको बताउनुभयो । सांसद डा. अमरेशकुमार सिंहले नेपालले छमेकी राष्ट्रहरूसँग सन्तुलित सम्बन्ध राख्नुपर्नेमा जोड दिनुभयो ।
सांसद अर्जुननरसिंह केसीले काठमाडौँ–नुवाकोट सदमुकाम जोडने बालाजु–नुवाकोट–काठमाडौँ सडकका लागि आवश्यक बजेट छुट्टयाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद आस्माकुमारी चौधरीले नेपालमा मनसुन सुरु भइसकेकोले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद ईश्वरबहादुर रिजालले देशभर बाँदर आतङ्कका कारण ठूलो धनजनको क्षति भएकाले त्यसको रोकथामका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद ईश्वरी घर्तीले विवाह गर्ने उमेर २० वर्षबाट १८ वर्ष बनाउने विषयमा बालिकाको आर्थिक, सामाजिक र सांस्कृतिक पक्षबारे ध्यान दिन सरकारसँग माग गर्नुभयो ।
सांसद ईश्वरीदेवी न्यौपानेले टीकापुर घाट निर्माण कार्यमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद उर्मिला माझीले सुदूरपश्चिम प्रदेशको दार्जुलामा टिङ्कर सडक बजेट अभावका कारण अधुरै रहेकाले आवश्यक बजेट उपलब्ध गराउन सरकारसँग आग्रह गर्नुभयो ।
सांसद ऋषिकेश पोखरेलले मोरङका चारवटा पुल समयमै निर्माण गर्न माग गर्नुभयो । सांसद एकनाथ ढकालले सरकारले शिक्षकहरूसँग गरेको सहमति कार्यान्वयन गर्न आउँदो बजेटमै सम्बोधन गर्न माग गर्नुभयो । सांसद गङ्गा कार्कीले सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।
सांसद चित्रबहादुर केसीले २०६२/६३ सालको आन्दोलनको क्रममा कालीकोटका कर्णबहादुर शाही घाइते भएको उल्लेख गर्दै हालसम्म पनि उपचार खर्च नपाएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *