नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
काठमाडौँ, २४ वैशाख । काठमाडौँको नक्सालस्थित नेपाल बाल मन्दिरको २८ रोपनी ५ आना जग्गा लिज प्रकरणमा १७ जनाविरूद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले बुधबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।
फाइल प्राप्त भएसँगै सबै प्रक्रिया पूरा गरी अदालतमा मुद्दा दायर गरिएको कार्यालय प्रमुख सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले जानकारी दिनुभयो । जिल्लाले मुद्दा चलाउन नपर्ने निर्णयसहित महान्यायाधिवक्ताको कार्यालयमा पठाएकोमा अनुसन्धानपछि मुद्दा चलाउनुपर्ने देखिएकाले ठगी मुद्दा चलाइएको उहाँले बताउनुभयो ।
कार्यालयले उपप्रधान तथा नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहकी दिदी बाल मन्दिरकी तत्कालीन अध्यक्ष रीता सिंह वैद्य, उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ, गणेशभक्त श्रेष्ठ, कृष्णशङ्कर शाह, श्यामकुमार आले, सुवासकुमार पोखरेल, प्रचण्डराज प्रधान, रामकाजी कोने, योगेन्द्रबहादुर शाही, दीपकदास श्रेष्ठ, प्रवीणराज जोशी र मुरारीनिधि तिवारीविरूद्ध मुद्दा दायर गरेको हो ।
यस्तै पुरूषोत्तमराज जोशी, श्रद्धा सेढाईँ, अमिन सिंहानियाँ, सिद्धार्थ केडिया र कीर्तिप्रसाद पाण्डेलाई पनि प्रतिवादी बनाइएको छ । उनीहरूविरूद्ध मुलुकी ऐन ठगीको महलको १ र २ नम्बर तथा मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा १ र २ कसुरमा मुद्दा चलाइएको हो । आरोप प्रमाणित भएमा उनीहरूलाई ७ वर्ष कैद र ७० हजार रूपैयाँसम्म जरिवाना हुनसक्नेछ ।
उक्त प्रकरणमा काङ्ग्रेस नेता चिरञ्जीवी तिवारी, बाल मन्दिरका तत्कालीन कोषाध्यक्ष मनोहरगोपाल श्रेष्ठ र उपमहासचिव सुमन श्रेष्ठ पनि मुछिएकोमा उनीहरूको निधन भइसकेको छ । ‘अपराधीको मृत्युसँगै अपराध मर्छ’ भन्ने फौजदारी कानुनको सिद्धान्तअनुसार उनीहरू विरूद्ध मुद्दा नचलाइएको हो ।
यसअघि २०८१ वैशाख २७ गते बाल मन्दिर जग्गा प्रकरणमा २० जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो । जसमध्ये तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ पक्राउ परेकोमा बयान पछि हाजिरी जमानीमा छाडिएको थियो ।
सीआईबीले अनुसन्धान सकेर माघ दोस्रो साता जिल्ला सरकारी वकिलको कार्यालयमा फाइल पेस गरेकोमा जिल्ला र उच्च सरकारी वकिलको कार्यालयले उक्त प्रकरणमा मुद्दा चलाउन नपर्ने निर्णयसहित सिफारिस गरेकोमा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा चलाउने निर्णय गर्दै फाइल जिल्लामा पठाएको थियो ।
२०२१ सालमा राष्ट्रिय निर्देशन ऐनअनुसार ११९ रोपनी १२ आना ३ पैसा जग्गामा नेपाल बाल सङ्गठन (बाल मन्दिर) स्थापना भएको थियो । जसमध्ये २८ रोपनी ५ आना जग्गा २०५९ सालमा उक्त जग्गा बृहस्पति विद्या सदनलाई भाडामा दिइएको थियो ।
२०८९ सालसम्म तीस वर्षका लागि भाडामा दिने सम्झौता भए पनि समयावधि सकिनुभन्दा १७ वर्षअघि नै २०७२ सालमा थप ४३ वर्षका लागि अर्थात् वि.सं. २१३१ सम्मका लागि सो जग्गा लिजमा दिइएको थियो ।
कौडीको भाउमा मिलेमतोमा बिना प्रतिस्पर्धा लिजमा लगाई अपचलन गरी व्यापारिक समूहलाई लाभ हुने र सरकारलाई नोक्सान हुने गरी लिजमा लगाइएको आरोपमा उजुरी परेपछि उक्त घटना बाहिर आएको थियो । सीआईबीले अनुसन्धान सकेर प्रतिवेदन पठाए पनि राजनीतिक आडमा उनीहरूलाई उन्मुक्ति दिन खोजिएको आरोप लागेको थियो ।
Leave a Reply