भर्खरै :

मानव विकासको गति सुस्त, ३५ वर्षयताकै न्यून प्रगति

मानव विकासको गति सुस्त, ३५ वर्षयताकै न्यून प्रगति

संयुक्त राष्ट्रसङ्घ, २४ वैशाख (सिन्ह्वा) । संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रम (यूएनडीपी) ले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार, मानव विकासको प्रगति सन् १९९० यताकै सबैभन्दा सुस्त रहेको देखिएको छ ।
संयुक्त राष्ट्र सङ्घ महासचिवका उपप्रवक्ता फरहान हकले मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा भन्नुभयो, “सन् २०२०–२०२१ को गम्भीर सङ्कटपछि विश्वले अपेक्षाअनुसार द्रुतगतिमा सुधार गर्ने विश्वास गरिएको थियो, तर त्यो सम्भव हुन सकेन ।” उहाँले ‘विकल्पको कुरा : कृत्रिम बुद्धिमत्ताको युगमा मानिस र सम्भावना’ भन्ने शीर्षकको सन् २०२५ को मानव विकास प्रतिवेदन उद्धृत गर्नुभयो ।
प्रतिवेदनमा सन् २०२४ को प्रक्षेपणअनुसार विश्वका सबै क्षेत्रहरूमा मानव विकास सूचकाङ्कमा उल्लेखनीय सुधार नदेखिएको उल्लेख गरिएको छ । यदि यही अवस्था दीर्घकालीन रूपमा कायम रह्यो भने, संसार अझ असुरक्षित, विभाजित र आर्थिक तथा वातावरणीय सङ्कटहरूप्रति झनै संवेदनशील बन्ने सम्भावना रहेको चेतावनी दिइएको छ ।
स्वास्थ्य, शिक्षा र आयजस्ता सूचकहरूमार्फत गरिएको विश्लेषणले कम विकास सूचकाङ्क भएका मुलुक र उच्च सूचकाङ्क भएका मुलुकहरूबिचको खाडल लगातार चौथो वर्ष पनि अझ फराकिलो बन्दै गएको देखाएको छ । विशेषतः न्यून सूचकाङ्क भएका देशहरू व्यापारिक तनाव, ऋण सङ्कट र प्रविधिमा आधारित बेरोजगार औद्योगिकीकरणका कारण थप समस्यामा परेका छन् ।
यद्यपि, प्रतिवेदनमा गरिएको सर्वेक्षणअनुसार, धेरैजसो नागरिकहरू कृत्रिम बुद्धिमत्ताको प्रभावप्रति यथार्थवादी तर आशावादी दृष्टिकोण राख्ने देखिएका छन् । सर्वेक्षणमा सहभागी १० मध्ये ६ जनाले प्रविधिले रोजगार क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने र भविष्यमा नयाँ प्रकारका रोजगारी सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *