भर्खरै :

धरानका अनाम नाट्य रङ्गमञ्चका पदाधिकारीहरूसँग भेटघाट

धरानका अनाम नाट्य रङ्गमञ्चका पदाधिकारीहरूसँग भेटघाट

सुनसरी, २८ वैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं साहित्यकार नारायणमान बिजुक्छेँ (रोहित) ले धरानका अनाम नाट्य रङ्गमञ्चका पदाधिकारीहरूसँग आइतबार भेटघाट गर्नुभयो ।
भेटघाट कार्यक्रमा अध्यक्ष बिजुक्छेँले मानव सभ्यताको विकासक्रमको सिलसिलामा संस्कृतिको विकास हुँदै जाँदा समाजमा नयाँनयाँ कुराको खोज अनुसन्धान हुने भएकोले संसारमा मानव बस्तीको विकाससँगै नाटकको पनि विकास भएको बताउनुभयो ।
उहाँले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा डबलीहरूको निर्माण भएको जानकारी दिँदै समाजको राम्रो कुरा अगाडि बढाउन र जनताले सरल ढङ्गबाट सिकोस् भन्ने हिसाबले नाटक मञ्चन गरिएको धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “२०२२ सालमा पहिलो पटक धरान आउँदा नै धरान हिन्दुस्तानको केरलाको जस्तै कम्युनिस्टको बहुुसङ्ख्यक रहेको सहर थियो । त्यसबेला भक्तपुरलाई पनि धरान सहर जस्तो बनाउने सोचेको थिएँ ।”
अध्यक्ष बिजुक्छेँले पञ्चायतको बेला आर्थिक स्थिति कमजोरका कारण नाट्यशाला एकदमै कम रहेको अवस्थामा पनि वर्ग परिचय बोकेको र जनताको दुःख, समस्या देखाउने विषयवस्तुको नाटक मञ्चन हुने गरेको बताउनुभयो ।
उहाँले भाषा, कला, संस्कृति र साहित्यको विकास र संरक्षणको लागि स्थानीय तहले पहल गर्नुपर्ने आवश्यकता औँल्याउँदै स्थानीय तहलाई अधिकार सम्पन्न बनाएको खण्डमा प्रदेशको आवश्यकता नपर्ने बताउनुभयो ।
उहाँले भाषाको विकास हुन हजारौँ वर्ष लाग्ने भएकोले भाषा आफैमा ठुलो सम्पत्ति हो भन्दै त्यसका लागि कम्तीमा हरेक प्रदेशमा प्रदेशस्तरीय भाषा, साहित्य, कला र साहित्यको एकेडेमी स्थापना गर्नु जरुरी रहेको बताउनुभयो । उहाँले आनम नाट्य रङ्गमञ्चले मञ्चन गरेका नाटकको लिपिबद्ध गर्नुपर्ने सुझाव दिँदै संसारको जुन नगरमा नाट्यशाला हुँदैन त्यस सहरको विकास नहुने धारणा राख्नुभयो ।
कार्यक्रममा अनाम नाट्य रङ्गमञ्चका अध्यक्ष विजय सुब्बाले स्वागत गर्नुभयो भने सुरेन्द्र राज भुजेल, विनोद श्रेष्ठ, बादल भट्टराई, शारदा शाक्य र सुनिल शाक्यले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *