भर्खरै :

संसारका मजदुरवर्ग एक भएर शोषकवर्गविरूद्ध लड्नुपर्ने

संसारका मजदुरवर्ग एक भएर शोषकवर्गविरूद्ध लड्नुपर्ने

भक्तपुर, २८ वैशाख । १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) तयारी समितिको आयोजनामा शनिबार मे दिवस कार्यक्रमको समीक्षा तथा प्रशिक्षण कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले राजनीति देश र जनताको निःस्वार्थरूपमा सेवा गर्न हो र सबै नीतिको मूल नीति राजनीति भएकोले राजनीतिमा लागेकाहरू निःस्वार्थ भएमात्र देश र जनताको सेवा हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “विद्यालय र विश्वविद्यालयका पाठ्यपुस्तकमा पनि देश र जनताको निःस्वार्थरूपमा सेवा गर्ने विषय उल्लेख गर्नु जरूरी छ । नेपाललगायत पुँजीवादी देशहरूको पाठ्यपुस्तकमा देश र जनताको निःस्वार्थरूपमा सेवा गर्ने विषय उल्लेख गरिएन । यो सरकारमा गएकाहरूको कमजोरी हो ।”
“मजदुरहरूले पुरानो सामान मर्मत गर्नु देशको सम्पत्ति रक्षा गर्नु हो । तयारी विदेशी सामान उपभोग बढे देशको अर्थतन्त्र कमजोर हुँदै जानेछ । सरकारले मर्मत गर्ने मजदुरहरूलाई आवश्यक प्रशिक्षण दिनु अवश्यक छ”, सांसद सुवालले भन्नुभयो ।
समाज विकासको सिलसिला अध्ययन गर्दा विवाह, परिवार, व्यक्तिगत सम्पत्तिको सुरूसँगै समाजमा वर्ग विभाजन सुरू भएको धारणा राख्दै उहाँले भन्नुभयो, “वर्गीय समाजमा अशान्ति, हिंसा, चोरी, डकैटी, भ्रष्टाचार बढ्छ । अन्ततः युद्धमा परिणत हुन्छ । पुँजीवादकै कारण अहिले संसारको ठाउँ ठाउँमा युद्ध भइरहेको छ ।”
सांसद सुवालले भन्नुभयो, “जाति, भाषा, क्षेत्रका आधारमा मानिस विभाजित भए शोषकवर्गलाई फाइदा हुन्छ । भारत–पाकिस्तानको युद्ध जाति–भाषाको आधारमा हुनु बेठीक हो । संसारका मजदुरहरू एक भएर शोषकवर्गविरूद्ध उठ्नु जरुरी छ ।”
आयोजक समितिका संयोजक विष्णुराम दुमरूको सभापतित्वमा भएको कार्यक्रममा नेक्रामसङ्घ जिल्ला समिति भक्तपुरका अध्यक्ष उपेन्द्र सुवाल, सहसंयोजक बिक्रम ढुकुछु, रमेश दुमरू र सहभागी व्यक्तिहरूले मे दिवसको आवश्यकता र मजदुर आन्दोलनबारे आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *