अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, २८ वैशाख । जन कलाकार रामेश श्रेष्ठद्वारा लिखित ‘जीवनका सङ्घर्षका ज्वारभाटाहरू’ पुस्तकको परिसंवाद कार्यक्रम केदारनाथ बचत तथा ऋण सहकारी संस्था लि. र सार्थक जनसङ्गीत प्रतिष्ठानको आयोजनामा शनिबार भाटेढुकुर सिटी गाउँमा सम्पन्न भयो ।
कार्यक्रममा कलाकार रामेश श्रेष्ठले भक्तपुर अहिले देशको अभिभावकीय भूमिकामा रहेको उल्लेख गर्दै शिक्षा, सरसफाइलगायतमा भक्तपुरले गरेको प्रगतिलाई व्यापक बनाउनुपर्ने बताउनुभयो । उहाँले काठमाडौँ मनपा प्रमुख बालेनले समेत भक्तपुरबाट सिक्नुपर्ने बताएको उल्लेख गर्नुभयो । उहाँले राल्फाबाट पञ्चायतविरुद्ध गीति अभियान सुरु गरेको चर्चा गर्दै पार्टी सत्तामा पुगेपछि देश र जनताको हितमा काम नगरेकोले अर्को व्यवस्था परिवर्तनको लागि सबै फेरि जुट्नुपर्ने बताउनुभयो ।
उहाँले देश भनेको भूमिमात्र नभई जनताको सुख भएको बताउँदै ठुला दलका नेताहरूले हँसिया हथौडाको झन्डाको दुरूपयोग गरेर देशलाई बर्बाद गरे तर त्यही झन्डा बोकेको चीन विश्वको पहिलो देश बन्न लागेको बताउनुभयो । उहाँले पचासाँै लाख नेपालीहरू बिदेसिए पनि सुख नपाउने बताउँदै इमानदारहरूलाई पाखा लगाएकोमा चिन्ता व्यक्त गर्दै सबैलाई धनी बनाउनुपर्नेमा सीमित व्यक्ति धनी र बहुमत जनता गरिब बनाएको बताउनुभयो । उहाँले ‘गाउँ गाउँबाट उठ’ गीतले ऊर्जा दिएको तर यो गीतलाई राष्ट्रगान बनाउनेमा गिरिजा बाधक बनेको बताउनुभयो ।
जनकवि चन्द्रबहादुर उलकले राल्फा साङ्गीतिक समूह वर्गविहीन समाज निर्माणको लागि स्वयम्स्फूर्त अगाडि बढेको लोकप्रिय र बोझिलो संस्था भएको बताउनुभयो । उहाँले रामेशलाई पार्टीले दुरूपयोग गरेको बताउँदै शोषण, अन्याय, अत्याचारबाट विरक्त भएर चीन, रुस र क्युवाबाट मान्छे कसरी कम्युनिस्ट बन्दो रहेछ भन्ने कुरा बताउनुभयो । उहाँले जनतालाई सङ्गठित गरी भक्तपुरले शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा संरक्षणमा गरेको प्रगति नेपाल मजदुर किसान पार्टीको देन भएको बताउनुभयो ।
इतिहासविद् डा.पुरुषोत्तमलोचन श्रेष्ठले दुःखमा साथ दिने व्यक्ति सच्चा मित्र हुने बताउँदै मित्रघाटले पृथ्वीनारायण शाहले रणजित मल्ललाई राज्य छोड्न बाध्य बनाएको इतिहाससँग जोडेर जीवन सङ्घर्षका ज्वारभाटाका लेखक रामेश श्रेष्ठलाई पनि साथीहरूले खुट्टा तान्ने गरेको बताउनुभयो । उहाँले शब्दमा शक्ति भएको बताउँदै संसार बदल्न सक्ने भएकोले गाउँ गाउँबाट उठ गीत राष्ट्रगीत घोषणा नगरे पनि अन्तर्राष्ट्रिय गीत भएको कुरा विभिन्न भाषामा भएको अनुवादले प्रस्ट छ भन्नुभयो । उहाँले १७९९ को फ्रान्सेली क्रान्ति सबै क्रान्तिको जननी भएको बताउनुभयो । उहाँले गणतन्त्रको पहिलो गीत शिरोमणी कवि हरिराम जोशीले लेखेको बताउनुभयो ।
प्राध्यापक विश्वमोहन जोशीले हरेक जिन्दगीमा ज्वारभाटाहरू हुने उल्लेख गर्दै अनुभव सम्पत्ति भएको सिकेको कुरा व्यवहारमा उतार्न सके पुस्तकको सार्थक हुने बताउनुभयो । उहाँले देशमा कम्युनिस्ट पार्टी र नेताहरू धेरै भए पनि सिद्धान्तअनुसार व्यवहार गर्ने एकै पार्टी नेमकिपा र नेता अध्यक्ष नारायणमान बिजुक्छेँ भएको बताउनुभयो ।
अमृत साइन्स क्याम्पसका पूर्वप्रमुख पुष्पलाल हुमागाईंले गाउँ गाउँबाट उठ गीतले चेतनाको लहर फैलेर देशमा केही होला भनेको त ७० लाखभन्दा बढी युवाहरू बिदेसिए पनि जनताको दुःख नघटेको बताउनुभयो ।
लेखक श्याम तमोटले प्रजातन्त्रपछि स्वतन्त्रता प्राप्त भई धेरै विकास निर्माणले गौरव गर्ने ठाउँ भएकोले अझ प्रगतिको लागि कामदार जनता र बहुसङ्ख्यक गरिब जनताको हितमा काम गर्न व्यवस्था परिवर्तन आवश्यक भएको बताउनुभयो ।
संस्थाका सल्लाहकार रामकृष्ण प्रजापतिले ‘जीवनसङ्घर्षका ज्वारभाटाहरू’ एक मार्मिक कृति हो, जसमा लेखक श्रेष्ठले आफ्ना जीवनका कठिन सङ्घर्ष, सामाजिक बाधा, वर्गीय विभाजन र श्रमजीवीवर्गको जीवन यथार्थलाई साहित्यिक भाषामा प्रस्तुत गरेको बताउनुभयो ।
कार्यक्रममा लोकसेवा आयोगका पूर्वअधिकृत मणिरत्न बज्राचार्यले यो कृति विशेषतः युवा पुस्ताका लागि प्रेरणाको स्रोत बनेको बताउनुभयो । उहाँले ‘रामेश श्रेष्ठको जीवनसङ्र्घषका ज्वारभाटाहरू’ एक पठनीय, सन्देशमूलक र प्रेरणादायी कृति हो भन्नुभयो ।
केदारनाथ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजभाइ तजलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा व्यवस्थापक दयाराम तजले, कोषाध्यक्ष साजन कसपाल र ऋषिकेश श्रेष्ठले पनि बोल्नुभएको थियो ।
Leave a Reply