भर्खरै :

बुद्ध परम्परावादी, अन्धविश्वासी होइन मौलिक विचारक

बुद्ध परम्परावादी, अन्धविश्वासी होइन मौलिक विचारक

देशको लागि ठुलो मान्छेको होइन असल, इमानदार, निःस्वार्थी र दूरदर्शी मान्छेको खाँचो छ । विज्ञान र प्रविधिको यो युगमा भक्ति मार्गभन्दा ज्ञान मार्ग, व्यक्तिगत स्वार्थभन्दा सहयोगी एवम् सेवक व्यक्तिको खाँचो छ । देश र जनताको सेवामा लाग्नुभन्दा पदको दुरूपयोग गरी अकुत सम्पत्ति कुम्ल्याउने, कमिसन खाने, घुस खाने र जसरी भए पनि पदमा पुगेर व्यक्तिगत स्वार्थमा लाग्ने पदलोलुप व्यक्तिहरूको कारण अनियमितता र अपराधीहरूको सङ्ख्या बढ्दै गइरहेको हो । देश विकास गर्न, जनताका आधारभूत आवश्यकता परिपूर्ति गर्न र जनताको जीवन सुनिश्चित बनाउन असल नेता, असल प्रधानमन्त्री, असल मन्त्री, असल सांसद, असल जनप्रतिनिधि, असल कार्यकर्ता र असल कर्मचारीहरूको आवश्यकता छ । शासकहरू निःस्वार्थी, इमानदार भएमात्र देशमा सुशासन हुन्छ या विधिको शासन गर्न सहयोग हुन्छ ।
सरकार भनेको मन्त्रिमण्डल मात्र होइन । नेपाल भनेको हिमाल, पहाड र तराईको भूमिमात्र होइन जनसङ्ख्या पनि हो । सरकारको महत्वपूर्ण काम भनेको देश जोगाउने हो; देश विकास गर्ने हो र जनताको सेवा गर्ने हो । जनता गरिब छन्; खान लाउन पाएका छैनन्, औषधि उपचार गर्न पाएका छैनन् भने देश विकासको सन्देश छरेरै के गर्ने ? यसकारण, शासकहरू देश र जनताप्रति समर्पित हुनुपर्छ; इमानदार, निःस्वार्थी, देशभक्त र दूरदर्शी हुनुपर्छ भनिएको हो । चुनावमा भाग लिनु र जितेर सरकारमा जानु या सरकारको नेतृत्व गर्नुको अर्थ मन्त्रीहरूलाई खुसी पार्न होइन; बढीभन्दा सेवा र सहुलियत लिन होइन; भागबन्डा गरेर सरकारलाई निरन्तरता दिन होइन ।
हो, देशमा राजतन्त्र अन्त्य भएर गणतन्त्र स्थापना भयो । शासकहरूले कमसेकम सङ्घीय गणतन्त्रको भावनाअनुसार काम गर्नुपर्छ; सत्ताको लागि होइन; कुर्सीको होडबाजी गर्न होइन । व्यवस्था परिवर्तन भए पनि संस्कार परिवर्तन भएन भन्ने धेरैको विश्लेषण छ । बहुजनको हित गर्न या सेवा गर्न नै बुद्धले राजदरबार, सम्पत्ति र परिवार त्यागेका थिए । बौद्धिक व्यक्तित्वहरू बुद्धलाई दार्शनिकभन्दा अनुभवबाट ज्ञान प्राप्त गर्ने व्यक्तिको रूपमा लिन्छन् । अनुभवमा विश्वास गर्ने शाक्यमुनि बुद्ध दर्शनमा मात्र अल्झेर बस्न नहुने तर्क राख्थे । कुनै नेता, मन्त्री, सांसद, जनप्रतिनिधि, कार्यकर्ता, कर्मचारी या कुनै पेसामा आबद्ध जो कोहीको बानी व्यहोरा, सुसंस्कृत भएमा, सच्चरित्रवान, नैतिकवान, आदर्शवादी भएमा त्यसको अनुकरण अरुले पनि गर्छन् । समाजमा खराब व्यक्तिहरूले प्रवेश पाएमा अरु पनि खराब हुन्छन् या खराब काम सिक्न अघि सर्छन् । देशमा भ्रष्टाचार, अनियमितता र अपराध बढ्नुको कारण शासकहरू या मन्त्री, उच्चपदस्थ व्यक्तिहरू इमानदार, निःस्वार्थी नहुनु नै हो ।
बुद्ध परम्परावादी, अन्धविश्वासी होइन, मौलिक विचारक थिए । बुद्ध रुढीवादीका विरोधी थिए । बुद्धले सामाजिक र सांस्कृतिक क्षेत्रमा परिवर्तन ल्याए । गलत कार्य, गलत संस्कार छोडाएर, ज्ञान गुण छरेर या बाँडेर नै मानिसको हृदय र विचार परिवर्तन गर्न बुद्ध क्रियाशील भए या त्यस काममा निरन्तर लागिरहे । तर, बुद्धको ज्ञान र उपदेश सुनेर या सुनाएर मात्र सिङ्गो समाज परिवर्तन हुने स्थिति छैन । समाजमा रहेको शोषण, दमन, अन्धविश्वास, अन्याय, अत्याचार कसैले कसैलाई भनेर, सुनाएर पूर्णतः हृदय परिवर्तन हुने लक्षण देखिएन । भनेर, सुनाएर, ध्यानाकर्षण गरेर पनि मानिँदैन भने सङ्घर्ष गर्नुपर्ने हुन्छ, आन्दोलन गर्नुपर्ने हुन्छ । यही कारण कार्ल माक्र्सले वर्गीय समाजमा वर्गसङ्घर्ष स्वाभाविक छ; वर्गसङ्घर्षबिना आमूल परिवर्तन सम्भव छैन या बहुजनको हित हुनेछैन भन्ने अवधारणा ल्याएका थिए । सो धारणाबमोजिम देशमा समाजवादी व्यवस्थाको निम्ति कम्युनिस्टहरू राजनीतिमा क्रियाशील भएका हुन् । कम्युनिस्ट पार्टीको उद्देश्य आमूल परिवर्तन भए पनि कतिपय कम्युनिस्ट भनिने दलहरू त्यो बाटोमा लागेका छैनन् । सबै मिलेर अघि बढ्नुपर्छ भन्ने धारणालाई आत्मसात गरी देशका सामन्त, प्रतिक्रियावादी, पुँजीवादी, दलाल पुँजीवादी, जमिनदार तथा जालीफटाहाहरूसँग मिली शासकहरू कहिले निर्वाचनमा मिल्ने र कहिले सरकारमा गइरहेका छन् । देशमा कालाबजारी, जालीफटाहा, अपराधी, जनतालाई दुःख दिने, शोषण गर्ने मानिसहरू पनि हुने हुँदा बहुजन हितायको विचार महामानव गौतम बुद्धले अघि सारेका हुन् ।
गौतम बुद्धको संस्कृति राजसंस्कृति होइन, राजपरम्परा होइन; जनसंस्कृति हो, समताको संस्कृति हो । बुद्धले कुनै जातजातिको भेदभाव गरेनन्; गरिब र धनी हेरेनन्; तल्लो जात र माथिल्लो जात हेरेनन् । सबै पीडित जनताको पक्षमा लागे । जनताको घर आँगनमा भिक्षा माग्दै हिँड्नु यसको एक दृष्टान्त हो । कसैको कुरा सुन्ने बित्तिकै विश्वास गरिहाल्नु हुँदैन भन्ने बुद्धको विचार हो । कसैले भनेको कुरा ठीक या बेठीक, असल या गलत के हो बुझ्नुपर्छ; थाहा पाउनुपर्छ; विचार गरेर, बुझेर मात्र आफूले कसैको कुरालाई शिरोपर गर्नुपर्छ भन्ने विचार बुद्धको हो । हरेक नागरिकले आ–आफ्नो आचरण राम्रो गर्नुपर्छ । कसैको विचारमा खोट छ; आचरण या व्यवहार सही छैन भने त्यस्तो व्यक्तिले राजनीति गरे पनि, पदमा पुगे पनि जनतालाई विश्वास दिलाउन सकिँदैन ।
बुद्ध अनिश्वरवादी हुन् । बुद्धले ईश्वर छ भनेका छैनन् । बुद्धले आफूलाई ईश्वर सम्झेका छैनन्; ईश्वर या भगवान् सम्झी पूजा पाठ गर भनेका छैनन् । तर, बुद्धप्रति विश्वास जगाउन; बुद्ध धर्मप्रति आस्था जगाउन र बुद्धप्रतिको सद्भाव कायम राख्न कति बौद्धिक व्यक्तित्वहरू सर्वसाधारण जनतालाई ‘भगवान् शरणम्’ भनी पाठ सिकाउँछन्; घोकाउँछन् । यस्ता क्रियाकलापहरू बुद्धको विचारसित मिल्छ कि मिल्दैन ? बौद्धिक व्यक्तिहरूबिच छलफलको विषय बनेको छ । गलत विचारलाई समाजमा फैलाउनु उचित पनि हुँदैन । बुद्धले कसैको विचारलाई बुझेर, विचारेर मात्र आत्मसात गर्नु भनी त्यसै भनेका होइनन् । मानिस जन्मदैमा उँच नीच हुँदैन । उसको कुराले होइन काम, व्यवहारले नै सद्दे असद्दे के हो पर्गेल्नुपर्छ । दुष्कार्य, दुष्कर्मको हामीले विरोध गर्नैपर्छ; त्यस्तो कार्य नगर्न हामीले खबरदारी गर्नैपर्छ ।
महामानव बुद्ध धेरै पुस्तक पढेर विद्वान् बनेका होइनन् । यसको अर्थ धेरै अध्ययन गर्नु हुँदैन भन्ने होइन । बुद्ध व्यवहारिक व्यक्ति थिए । हरेकले आफ्नो मन शुद्ध गर्नुपर्छ भन्ने बुद्धको विचार हो । आफ्नो बोली, व्यवहार, आनी–बानी, चाल चलन राम्रो हुनुपर्छ । मानिसको जीवन असल होस् भन्ने ध्येयले नै बुद्धले बस्ती बस्तीमा असल उपदेशहरू बाँडेका थिए । सिद्धार्थ गौतम बुद्ध भएपछि पनि घमण्डी भएनन्; आफूले आफूलाई ठुलो ठानेनन् । कति महापुरुषहरू आफूलाई विद्वान् ठान्छन् र एकान्त जङ्गलमा गई समाजबाट अलग हुन्छन् । समाजबाट अलग हुने व्यक्तिले कसरी समाजमा ज्ञान गुणका कुरा छरेर जनतालाई सुसूचित पार्छन् ? बुद्ध कट्टर विधि र नियमवादी भएनन् तर बहुजन हितवादी थिए ।
लापरबाही नगर्न र जहिल्यै होसियारी भएर बस्नुपर्छ भन्ने बुद्धको उपदेश या शिक्षा हो । बुद्धत्वको अर्थ बोध हुनु हो । सिद्धार्थ कुमारले राजदरबार त्याग्नुको कारण व्यक्तिगत सुख र मुक्तिको निम्ति होइन; त्यो त्याग अज्ञानी र दुःखीहरूको कल्याण गर्न हो । साँगुरो मन, सानो स्वार्थ त्याग्न, लोभलालच, द्वेषभाव, मोह, इष्र्या र अहङ्कार छोडाउन बुद्धले धेरै मेहनत गरे । हुन पनि पुरानो संस्कार र अन्धविश्वासलाई नत्यागेसम्म, उनीहरूको हृदय परिवर्तन नभएसम्म आफ्नो मति पूरा हुनेछैन । हृदय परिवर्तन नभएसम्म शान्ति पाउने छैन; सच्चा नागरिक बन्ने छैन । संसारमा दुःख छ; दुःखको कारण छ र दुःख अन्त पनि हुन्छ भनेरै बुद्ध जनतामाझ पुगेर ज्ञान छर्दै गए । यसलाई बुद्धले चार आर्य सत्य र आर्य अष्टाङ्गिक माग माने । दुःख अन्त गर्ने मार्गलाई सम्यक दृष्टि, सम्यक सङ्कल्प, सम्यक वचन, सम्यक कर्मान्त, सम्यक आजीविका, सम्यक प्रयत्न, सम्यक स्मृति र सम्यक समाधिलाई माने ।
अपराधको एउटा कारण गरिबी पनि हो । कसैले पैसा कमाउनु, घर बनाउनु तृष्णा होइन; तर आवश्यकताभन्दा बढी या रातारात करोडपति बन्नु तृष्णा हो । हरेक व्यक्तिको मन पवित्र, स्वच्छ या निर्मल हुनुपर्छ । बुद्धको शिक्षामा न ईश्वरलाई मान्यता छ न आत्मालाई । चोरी चकारी गर्नु, झूटो बोल्नु, इष्र्या गर्नु, चुक्लि गर्नु, लोभी हुनु आदि गलत हुन् । मानिसको जीवन सुखमय बन्न पवित्र भावना हुनुपर्छ । चित्त शुद्ध नभइकन जे काम गरे पनि त्यसले राम्रो प्रतिफल पाउँदैन । हो, हामीले आर्थिक जीवन समुन्नत पार्नुपर्छ, जनताको आर्थिक जीवन सुधार्नुपर्छ । जनतालाई काम–मामको व्यवस्था गरिनुपर्छ । जनतालाई आवश्यक स्रोत साधन र काम–मामको व्यवस्था भयो भने आम्दानीको स्रोत हुन्छ र जीवन सुनिश्चित हुन्छ । अनि चिन्ताबाट मुक्त हुन्छ । तर, कसैले अपराध गरे, चोरी चकारी गरे कारबाही गर्नुपर्छ । अपराधीलाई कारबाही गर्नु गलत होइन । कारबाही नगरे जीवन कसरी सुधार हुन्छ या गलत कामले प्रशय पाउँछ । कालो बजार गरेर होइन, परिश्रम गरेर कमाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *