भर्खरै :

संरा अमेरिकाले छेडेको नयाँ व्यापार कचिङ्गलबारे

संरा अमेरिकाले छेडेको नयाँ व्यापार कचिङ्गलबारे

चीनविरुद्ध संरा अमेरिकाले पुनः व्यापार कलह छेडेको देखिन्छ । सन् २०२३ मा चीनले नयाँ ऊर्जा अर्थात् नवीकरणीय ऊर्जाबाट सञ्चालित हुने सवारी साधन निर्यातमा संरा अमेरिकासँगै अन्य सम्पूर्ण देशलाई उछिन्यो । चीन विशेषतः विद्युतीय सवारी साधन निर्यात गर्ने पहिलो देश बन्न सफल भयो । पछिल्लो ९ वर्षको तथ्याङ्कअनुसार चीनले विद्युतीय गाडीमात्र ७७ प्रतिशत निर्यात वृद्धि गरेको देखिन्छ । त्यतिमात्र होइन विश्व बजारको मागअनुसार चीनले हाइब्रिड गाडी उत्पादनलाई पनि जोड दियो । हाइब्रिड भन्नाले आवश्यकताअनुसार विद्युत् र डिजेल पेट्रोल दुवैबाट चल्ने सवारी साधन हुन् । विद्युतीय गाडी र हाइब्रिड गाडीको विश्वव्यापी मागले विश्वमा एकखाले रूपान्तरणको सङ्केत गरिरहेको छ । जलवायु परिवर्तनको विश्व सङ्कटसँग जुभ्mने राम्रो विकल्प चीनले हरित ऊर्जा निर्यातमार्फत प्रदान गरेको चर्चा सर्वत्र छ । त्यतिमात्र होइन पेट्रोलियम पदार्थ र खनिज तेलको विकल्प नवीकरणीय ऊर्जा या जलविद्युत् हुन सक्छ भन्ने उपाय या बाटो चीनले देखाएको छ ।
चीनले विद्युतीय गाडी खरिदकर्तालाई निश्चित अनुदान या छुट दिने व्यवस्था पनि गर्यो । संरा अमेरिकाको उत्पादन विद्युतीय गाडी ‘टेस्ला’ चीनको बजारमा पुग्नुले पनि एक किसिमको प्रतिस्पर्धाको वातावरण तयार भयो । उक्त प्रतिस्पर्धाको कारण चीनले उच्च गुणस्तरको प्रविधि र उपभोक्ता केन्द्रित उत्पादन परिष्कृत बनाउन सकेको हो भन्छन् चिनियाँ उत्पादकहरू । विद्युतीय सवारीसाधनमा चीन र अमेरिकाबिचको प्रतिस्पर्धा संरा अमेरिकाको निम्ति पनि फाइदाजनक र ठुलो अवसरको विषय नै हो । यद्यपि प्रतिस्पर्धामा आफू पछाडि परेको संरा अमेरिकालाई स्विकार्य भएन । विश्वमा चिनियाँ उत्पादनको लोकप्रियता उसको लागि ठुलो टाउको दुखाइ बन्यो । त्यसकारण, संरा अमेरिकाले फेरि डब्लुटीओको खुला व्यापार नीतिविरुद्ध व्यापार संरक्षणवादी नीति लिएको छ । संरा अमेरिकामा चीनको विद्युतीय उत्पादन रोक्ने उद्देश्यले आयातमा थप भन्सार कर लादेको छ । यसलाई २०२०–२०२१ मा चीनविरुद्ध अमेरिकाले छेडेको व्यापार युद्धकै निरन्तता भन्न मिल्छ । यतिबेला संरा अमेरिकाले चिनियाँ विद्युतीय गाडीमा १०० प्रतिशत र चिनियाँ सोलार उत्पादनमा दोब्बर भन्सार वृद्धि गरेको छ ।
अर्थशास्त्रमा व्यापारको अर्थ नाफा लिनु मात्र होइन, अरूको उत्कृष्ट उत्पादनबाट सिक्नु पनि हो । चीनले अमेरिकी विलासिता सामग्री एवम् महँगा र उच्च श्रेणीका वस्तु (High end goods) र कृत्रिम बौद्धिकताबाट सिक्न खोज्यो । आज ती वस्तु र प्रविधिले चीनको नयाँ ऊर्जामा परिपूरक भूमिका खेल्दै छन् । अमेरिका चीनबाट सिक्न खोज्दैन बरु सिध्याउन खोज्छ भन्ने अनुभूति पछिल्लो घटनाक्रमले देखाउँछ ।
डब्लुटीओले निर्धारण गरेको व्यापार नीति नियम समाजवादी विचार होइन । पुँजीवादी र विकसित देशहरूकै सहयोगका लागि बनेको सङ्गठन हो डब्लुटीओ । खुला व्यापारको विचार, व्यापारमा जीत—जीतको सिद्धान्त, व्यापारमा संरक्षणवादी नीतिको विरोध र व्यापारमा आपसी लाभ र अहस्तक्षेपको नीति डब्लुटीओले नै निर्धारण गरेको हो । संरा अमेरिका आफैले बनाएको व्यापार नीति पटक पटक उल्लङ्घन गर्दै छ । त्यसो त अमेरिकी व्यापार युद्धको लामै इतिहास छ । दोस्रो विश्वयुद्धपछि विश्वमा ‘अमेरिका प्रथम’ को प्रभुत्ववादी विचारविरुद्ध उदयीयमान हरएक अर्थतन्त्रलाई निमोठ्ने काम संरा अमेरिकाले जारी राख्यो । चीनभन्दा अगाडि जापान विश्वको दोस्रो ठुलो अर्थतन्त्रमा उदय भएको थियो । जापानको आर्थिक विकासले असुरक्षित महसुस गर्दै अमेरिकाले जापानविरुद्ध व्यापारयुद्ध मात्र गरेन बरु जापानलाई पश्चिमीकरणको पासोमा बेर्यो भन्ने विगत पढ्न पाइन्छ ।
चीन २०२५ मै विश्वको पहिलो अर्थतन्त्र बन्ने प्रक्षेपण अमेरिकी थिङ्क ट्याङ्कले गरेको थियो, ‘गोल्डम्यान साच’ को भनाइ पनि त्यही थियो । त्यसपछि संरा अमेरिकाले चीनविरुद्ध व्यापारयुद्ध छेडेको थियो । आप्mनो इमान र विचारमा अविचलित भई चीनले युद्धको प्रतिकार गर्यो । अमेरिकाभित्रै उद्योगी व्यापारीले व्यापारयुद्धको विरोध गरेपछि, अमेरिकी अर्थतन्त्र ओरालो झरेपछि व्यापार युद्धको विराम गर्यो तर अमेरिकाले चीनको थाइवान, हङकङ र तिब्बतमा कलह मच्चाउने प्रयास छोडेन । चीनले निकै संयमित र शान्त भई परिस्थिति एवम् चुनौतिको मुकाबिला गरेको अनुभव विश्वलाई छ । यतिकैमा कोभिड १९ नामको ‘किटाणुयुद्ध’ मार्फत अमेरिकाले चीनलाई कमजोर बनाउन खोज्यो । परिणामतः विश्वले ठुलो मानवीय, आर्थिक, भौतिक क्षेति बेहोर्नुपर्यो । चीनले कोभिड १९ महामारीविरुद्ध निकै सावधानीपूर्वक लड्यो । उसले कोभिडविरुद्ध खोप विकास गरी विश्व मानव समाजको रक्षार्थ ठुलो योगदान पु¥यायो । चीनको अर्थतन्त्रमा भने कोभिड १९ को महामारीले अमेरिकाले चिताए जस्तो क्षति भएन । बरु पश्चिमको अर्थतन्त्र ओरालो झर्यो । आर्थिक वृद्धि रोकियो । त्यसकारण, विश्वमा आर्थिक मन्दी सुरु भयो । कोभिड – १९ ले पनि चिनियाँ अर्थतन्त्रको उडान नरोकिएपछि संरा अमेरिका विश्वमा युद्धहरूको बिजारोपण र सैन्य गुटबन्दीतर्फ लाग्यो । आज रुस युक्रेन युद्ध र इजरायलले प्यालेस्टाइन माथि गरेको युद्धले विश्व नै आर्थिक सङ्कटमा छ । चीनको प्रगति रोक्ने संरा अमेरिकी चालबाजी नरोकिए पनि यतिबेला आर्थिक मन्दीबाट विश्वलाई जोगाउन सक्ने शक्ति चीन मात्रै हो भन्ने विश्वको बुझाइ छ ।
चीन अबको १० वर्षमा अर्थात् सन् २०३५ सम्ममा विश्वको पहिलो अर्थतन्त्र बन्ने प्रक्षेपण फेरि पनि अमेरिकी ‘थिङ्क टैङ्क’ कै हो । त्यसकारण, संरा अमेरिका पुनः अतालिएको हो । कुनै बेला पश्चिममा चीनविरोधी प्रचारका लागि उसले माकर्थिवादलाई हतियार बनायो । पश्चिमा देशहरूले चीनलाई कहिले ‘नवउपनिवेशवादी’ कहिले ‘नवसाम्राज्यवादी’ देशको आक्षेप लगाए । केही वर्षअघि मात्र संरा अमेरिकाले चीनको क्षेत्र तथा मार्ग अगुवाइलाई “ऋण पासो कूटनीति” भनी आरोप लगायो । त्यसै उसले २०२०–२१ को व्यापारयुद्धमा त चीनलाई “बौद्धिक चोरीको आक्षेप समेत लगायो । अहिले पुनः उसले चीनको विद्युतीय गाडी र सामग्रीको उत्पादनतिर हेरेर “आवश्यकताभन्दा बढी उत्पादन अर्थात् ओभर क्यापासिटी” को कल्की लगाएको छ । यो नयाँ शिराको आर्थिक युद्धबारे पेइचिङ रिभ्यूको मे महिनाका अङ्कहरूले सग्लो र स्पष्ट विचार प्रस्तुत गरेका छन् ।
वास्तवमै वाइडेन प्रशासनले चीनबाट भइरहेको हरित ऊर्जा उत्पादन निर्यातलाई सुरुदेखि नै ‘थ्रेट’ अर्थात् चुनौतीको रूपमा लिएको थियो । सन् २०२३ मा चिनियाँ उत्पादनबाट विश्व बजार आकर्षित भएपछि उसले हाकाहाकी आक्षेप लगाउन थाल्यो । यो वर्ष गएको मे महिना १४ गते अमेरिकी राष्ट्रपति जो बाइडेन आदेशानुसार चिनियाँ वस्तुहरू विशेषतः विद्युतीय गाडी, ब्याट्री, सोलार र सेमिकण्डक्टर आयातमा भन्सार कर वृद्धि गरेबाट भने आर्थिक कचिङ्गलले नयाँ रूप लियो । संरा अमेरिकी नीतिनिर्माण तहका खोजकर्ता र मिडियाले भने यसलाई चीनबाट सुरु भएको ‘आर्थिकयुद्ध’ भनी प्रचार गर्दै छन् । यसको एउटै मात्र उद्देश्य सस्तो र सुपथ मूल्यमा वस्तु या उत्पादन निर्यात गरिरहेको चीनलाई विश्व बजारमा कमजोर बनाउनु र चीनको तीब्र आर्थिक वृद्धि रोक्नु हो । तेस्रो विश्व अर्थात् विकासोन्मुख मुलुकले पनि किन्न सक्ने मूल्यमा सवारी साधन या विलासिताका वस्तु निर्यात विश्वमा एकखाले पाराडाइम सिप्mट नै हो । वस्तु उत्पादनका लागि चिनियाँ कम्पनीहरूलाई राज्यनियन्त्रित ऋण प्रदान गरेको र त्यो ऋण असुल गर्न बढी भएको अर्थात् Surplus उत्पादन विश्व बजारमा पठाउने गरेको आक्षेप पनि संरा अमेरिकाले थोपेको छ । संरा अमेरिकी ‘वालस्ट्रिट जर्नल’ निरन्तर चीनको अध्ययन गर्दै छ ।
यो “ओभर क्यापासिटी” र ‘आर्थिकयुद्ध’ को आक्षेपको पछाडि पश्चिमको चीनविरोधी युद्ध मानसिकता प्रस्ट अनुभव गर्न सकिन्छ । आउँदा दिनहरूमा पनि यस्तै या योभन्दा तुच्छ आरोप लगाउन अमेरिका उद्यत रहनेछ । चीनको उत्पादन विश्व बजारको मागबमोजिम अर्थात् अर्थशास्त्रको सामान्य सिद्धान्तबमोजिम भइरहेको तथ्य लुकाउन खोज्छ अमेरिका । चिनियाँ अर्थतन्त्रमा माग र पूर्तिको राम्रो सन्तुलन कायम छ । यदि बढी उत्पादन भइहाल्यो भने पनि त्यो क्षणिक हुन्छ, घरेलु र अन्तर्राष्ट्रिय बजारले तुरुन्तै सन्तुलनमा ल्याउँछ । यो विचार चिनियाँ प्र्रधानमन्त्री ली छियाङको हो । चीनको विद्युतीय वस्तु उत्पादन—वृद्धि परिष्कृत आविष्कार र पूर्तिचक्रको उपज हो भन्छन् चिनियाँ उद्योग तथा व्यापार मन्त्री । नयाँ ऊर्जा क्षेत्र अर्थात् नवीकरणीय ऊर्जा क्षेत्रमा चीनको विकासको एउटा महत्वपूर्ण फड्को विद्युतीय गाडी उत्पादनमा सफलता हो । पश्चिमले चीनविरुद्ध “ओभर क्यापासिटी” को आरोप लगाएको यो पहिलो पटक होइन । चीनले सन् २००१ मा विश्व व्यापार सङ्गठनमा प्रवेश गर्नेबित्तिकै विश्व बजारमा चिनियाँ वस्तुको निर्यात ठुलो आकारमा भयो । त्यतिबेला पनि पश्चिमबाट “ओभर क्यापासिटी” अर्थात् आवश्यकताभन्दा बढी उत्पादनको आरोप चीनले खेपेको थियो । त्यतिमात्र होइन चिनियाँ वस्तु निर्यात् पश्चिम र दक्षिण पूर्वी एसियाली देशहरूको निम्ति थ्रेट या चुनौती हो भन्ने प्रचारबाजी भएको थियो । दशकअघि चीनबाट क्षेत्र तथा मार्ग अगुवाइको आह्वानपछि पश्चिमी देशहरूले यसलाई निकै महत्वाकाङ्क्षी परियोजना र प्राचीन रेसम मार्गको सञ्जालभन्दा जटिल परियोजना भनी खण्डन गरेका थिए । त्यति नै बेला केही पश्चिमा देशहरूले चीनलाई ‘नवसाम्राज्यवादी’, ‘नवउपनिवेशवादी’ भनी आरोप लगाए । त्यतिमात्र होइन उनीहरूले बीआरआई जो कोहीका लागि ‘ऋण पासो’ हुने जिकिर गरे । प्रकारान्तरमा सबै आरोपहरू गलत साबित भए । तसर्थ नयाँ आक्षेपबाट चीन विचलित हुने कुरै भएन । बरु पश्चिमी देशहरूको वातावरणीय सुधार र स्थायित्वको निम्ति चिनियाँ विद्युतीय उत्पादनहरू अपरिहार्य बन्ने समय नजिकिँदै छ । अर्थशास्त्रका केही पश्चिमा विज्ञ आफै भन्छन् — यदि कुनै पनि देशले निकै कम लागतमा उत्पादन गर्ने क्षमता राख्छ भने ती वस्तुमाथि भन्सार कर अवरोध बढाउने होइन बरु वस्तु आयात वृद्धि गर्नुपर्छ र आप्mनो विशिष्ट क्षमताको उत्पादन प्रदान गरी फर्काउनुपर्छ । यो ‘तुलनात्मक फाइदा’ को सिद्धान्त हो । यो सिद्धान्तले खुला व्यापारको वकालत गर्छ । यो सिद्धान्त अस्विकार गर्नेहरूले व्यापार संरक्षणवाद अँगाल्छ । आजभोलि ‘तुलनात्मक फाइदा’ वस्तुको उत्पादनमा लाग्ने Opportunity cost अर्थात् ‘मौकाको मूल्य’ का आधारमा छिनोफानो हुन्छ न कि व्यापार साझेदारहरूका आधारमा । कुनै बेला पश्चिमले तुलनात्मक फाइदा या स्वतन्त्र व्यापारको वकालत गथ्र्यो । आजभोलि चीन उत्पादनमा निकै अगाडि छ र अमेरिका स्वतन्त्र व्यापारमा अवरोध बन्दै छ । स्वतन्त्र व्यापारको वकालत चीनले गर्न परेको छ ।
सन् १९८० बाटै पश्चिमी देशहरूले घरेलु श्रम मूल्य घटाउन आप्mनो लोकल उत्पादन उद्योगहरूलाई अन्य देशहरूमा सारेका थिए । चीनको उत्पादन क्षेत्रको व्यापक विकास र विस्तार यही समयमा भयो । सन् २०२३ मा चिनियाँ उत्पादन उद्योगको मूल्य अभिवृद्धि उत्पादन विश्वको कुल उत्पादनको ३० प्रतिशत पुग्यो । चीनले केही दशकमै ‘अपर्याप्त क्षमता’ बाट अधिशेष अर्थात् बढी क्षमतामा सङ्क्रमणको अवधि देख्यो । यो अवधिका लागि चिनियाँ सरकारले निर्वाह गरेको भूमिका नजरअन्दाज गर्न मिल्दैन । हरेक देशले आप्mनो देशको आर्थिक विकास गर्छ तर चिनियाँ सरकारले देशलाई उत्पादन या निर्माणको ‘पावरहाउस’ बनायो । आज चीनसँग विश्वकै उत्कृष्ट एवम् सबै हिसाबले पूर्ण औद्योगिक प्रणाली छ । यद्यपि, High–End अर्थात् उच्च श्रेणीको वस्तु उत्पादन उद्योगमा चीनले निकै काम गर्न बाँकी छ । मध्यम र निम्न सम्पन्न श्रेणीका (Medium and low end) वस्तु उत्पादनमा चीन सबैभन्दा अगाडि छ । यसलाई अर्को भाषामा मध्यम र कम मूल्यका अत्यावश्यक वस्तु उत्पादनमा चीनले जोड दिएको विलासिताका उच्च मूल्यका सामग्री उत्पादनमा चीनले काम गर्न बाँकी रहेको अर्थ राख्छ ।
डोनाल्ड ट्रम्पको पालामा संरा अमेरिकाले पुनःऔद्योगिकीकरणको नीति अघि सारेर मध्यम र कम मूल्यका वस्तु उत्पादनमा जोड दिएको थियो तर अमेरिकाले धेरै अघि यी वस्तु उत्पादनमा तुलनात्मक फाइदा गुमाइसकेको थियो । त्यसकारण उसले चीनलाई जित्न सकेन । निश्चय नै अर्थतन्त्रमा विकासको अर्थ निम्नबाट मध्यम र मध्यमबाट उच्च श्रेणीको वस्तु उत्पादन नै हो । यसको उपाय नक्कल तथा आप्mनै मौलिक प्रविधिको आविष्कार हो । चीनले प्रविधिको आविष्कार, नयाँ उत्पादकीय क्षमता बढोत्तरीमा जोड दियो ।
पश्चिमा देशहरूले ‘चिनियाँ थ्रेट’ को हौवा पिटे पनि चीनको उदय निकै शान्त छ । विश्वमा खुलापनको नयाँ उदाहरण निर्माण गर्दै छ । ऊ विश्वव्यापीकरणको नयाँ परिभाषा बनाउँदै छ । चीन संरा अमेरिकाको जस्तो भूराजनीतिक स्वार्थ राख्दैन । चीनले अन्य देशहरूको आन्तरिक मामिलासँग सरोकार राख्दैन । युरोपेली र पश्चिमा देशहरू आफूले नयाँ ऊर्जाका उद्योगका लागि सबैभन्दा बढी अनुदान दिइरहेको जिकिर गर्छन्; हरित ऊर्जाका लागि सबैभन्दा कम काम चीनले गरिरहेको भन्छन् । तर, अमेरिका र युरोपमा चिनियाँ विद्युतीय गाडीको प्रतिस्पर्धा छ । सर्वसाधारण विद्युतीय गाडीप्रति आकृष्ट छन् ।
संरा अमेरिका ‘अमेरिका प्रथम’ को व्यापारवादी (Mercantilist) जिद्दी समातेर बसेको छ । अमेरिकी प्रशासनले संरक्षणवादलाई हतियार बनाएको छ । ट्रम्प प्रशासनदेखिको व्यापारवादी अमेरिकी नीतिले चीनमात्र होइन सारा विश्वलाई प्रभावित गर्यो ।
संरा अमेरिकामा केही राज्य नियन्त्रित उत्पादनका साधन छन् जहाँ राज्यले पनि बजेट विनियोजन गर्छ । यसको उदाहरण अमेरिकी चिप्स उद्योग हो । बाइडेन प्रशासनले थाइवानको सेमिकण्डक्टर उत्पादन कर्पोरेसन लिमिटेडलाई ६.६ अर्ब अमेरिकी डलर बजेट विनियोजन गर्यो । थाइवानको उक्त उद्योग विश्वको उत्कृष्ट माइक्रो चिप्स उत्पादकमध्ये एक हो । त्यतिमात्र होइन माइक्रोचिप्सका तीन प्रमुख क्षेत्र र सेमिकण्डक्टर उत्पादन प्लान्टमा पनि अमेरिकाले लगानी गरेको छ । अमेरिकाले अरबौँ डलर लोकल सेमिकण्डक्टर उत्पादक कम्पनीलाई दिएको देखिन्छ ।
संरा अमेरिकी प्रशासन प्रतिस्पर्धा बजारका लागि नियमनहरू हटाउनतिर लागेको छ । कृत्रिम बौद्धिकतामा प्रतिस्पर्धा उच्च महसुस गरिँदै छ । तसर्थ ऊ बाधा अवरोध हटाउन लागिपरेको छ । अब चीनको भूमिका के रहन्छ ? यसबारे पनि चिन्तन जरुरी छ । चीन डब्लुटीओमा प्रवेश गर्नेबित्तिकै केही देशहरूले अब विश्व बजारको रोजगारी चीनले चोरी गर्छ भन्ने पनि डर मानेका थिए तर त्यो डर छोटो समयमै हट्यो । चीनले मध्यम र निम्न श्रेणीका वस्तु उत्पादन (जसमा मानवीय श्रम ज्यादा प्रयोग हुन्छ) मा पश्चिमी र दक्षिणपूर्वी एसियाली देशहरूलाई उछिनेपछि विश्व अर्थतन्त्रमा योगदानसँगै ती देशहरूको आर्थिक रूपान्तरणसमेतमा सघायो । धेरै वर्षदेखि चीनले विश्वव्यापी आर्थिक वृद्धिमा ५० प्रतिशत योगदान गर्दै आइरहेको छ । पश्चिमाहरूले लगाएको आरोपविपरीत चीनको बीआरआईले साझेदार देशहरूका लागि पर्याप्त लाभ प्रदान गर्यो । जाकार्टा बङ्डुङ उच्च गतिको रेलवे, लावस चीन रेलमार्ग, अफ्रिकाको औद्योगिक पार्क केही उदाहरण हुन् ।
उदीयमान अर्थतन्त्रहरू ब्राजिल, भारत, मेक्सिको चीनको निर्यातविरुद्ध पश्चिमा देशहरूसँग हातेमालो गर्दै छन् भन्ने पनि सुनिन्छ तर यो केवल अतिरञ्जित अफवाहबाहेक केही होइन भन्नेमा चीन ढुक्क छ । चीनको निर्यातले यी अर्थतन्त्रहरूलाई सबैभन्दा बढी लाभ भइरहेको सत्य हो । चीनले यी अर्थतन्त्रबाट आप्mनो आयातको आकार ठुलो बनाउने सोच राखेको छ ।
औद्योगिक विकासको दृष्टिले चीनले अझ धेरै लामो हिँड्न बाँकी छ । उच्च गुणस्तरको प्रविधि विकासमा निकै मेहेनत गर्न बाँकी छ । विश्वव्यापी दृष्टिकोणमा चीनले जस्तोसुकै बाहिरी अवरोध सामना गर्न परे पनि कहिल्यै पनि संरक्षणवादी नीति लिने छैन । बरु समस्या समाधानका लागि देश देशसँग काँधमा काँध मिलाउनेछ । मुख्य देशहरूसँग उच्च श्रेणीको उत्पादनका लागि बजार अझ खुला र व्यापक बनाउनेछ । व्यापारमा जीत जीत सिद्धान्तविरुद्ध जाने छैन । विश्वव्यापी अर्थतन्त्र सन्तुलनका लागि सहयोगी बन्नेछ । पर्याप्त क्षमताका साथ चीन नयाँ, दिगो अनि समतामूलक विश्व अर्थव्यवस्थाको आकार निर्माण गर्न सदैव प्रतिबद्ध रहनेछ । यो नै चीनको नैतिक र सैद्धान्तिक आधार हो । अहिले स्थापित भाष्य “चीनले बनाउँछ संसारले किन्छ” स्थापित हुनेछ । बढ्दो व्यापार संरक्षणवादी अवरोधले भूराजनीति नै नबदलिएला भन्न सकिन्न । विश्व बजारमा ७० प्रतिशत स्थान ओगटेको विद्युतीय गाडी, हाइब्रिड गाडीले विश्व पर्यावरण शुद्धीकरणमा पु¥याएको योगदानको पनि मूल्याङ्कन कसो नहोला । विशेषतः ग्लोबल साउथ अर्थात् दक्षिणी विश्वका देशहरू चीनप्रति निकै सकारात्मक छन् । भरपर्दो र दह«ो विश्व अर्थतन्त्रका निम्ति अब चीनलाई अलग्याउनु कल्पनाभन्दा परको विषय हो भन्छ दक्षिणी विश्व । चीनले पनि ‘सँगसँगै हामी सक्छौँ’ को उत्साह सञ्चार गर्दै छ । सारमा चीन पश्चिमी देशले लगाएको बेतुकको आरोपबाट कति पनि विचलित छैन । चीनलाई आफू कता लाग्ने प्रस्ट थाहा छ । चीन भविष्यकेन्द्रित सहकार्यमा जोड दिँदै छ । पछिल्लो समय नेता सीको युरोपभ्रमण एउटा दृष्टान्ट हो । चीन युरोप जोड्ने ३५० किलोमिटर लामो रेलमार्गले चीन युरोप सम्बन्धको उचाई अझ उचो बनाएको छ । फ्रान्ससँग ६० वर्षको कूटनीतिक सम्बन्ध अझ व्यापक बन्दै छ । पूर्वी र पश्चिमी सभ्यताको अन्तरघुलन एकातिर छ भने दुइपक्षीय व्यापार ८०० गुणाले बृद्धि भएको र सन् २०२३ सम्म ७८.९ अर्ब अमेरिकी डलरको व्यापार करोबार भएको तथ्याङ्क छ । फ्रान्सको सबैभन्दा ठुलो व्यापार साझेदार एसिया नै हो । जहाँ चीनको तेस्रो ठुलो व्यापार साथी फ्रान्स हो । युरोपसँग चीनको सम्बन्ध ‘नयाँ शीतयुद्ध’ मानसिकतालाई हतोत्साहित गर्नको निम्ति पनि बलियो बन्नुपर्छ । अत्यन्त सभ्य बहुपक्षीयता, बहुधु्रवसहितको विश्व आजको आवश्यकता हो । फ्रान्ससँगै सर्बिया, हङ्गेरी र सम्पूर्ण इयू देशहरूसँग चीनको राम्रो सम्बन्ध छ । पछिल्लो समय यूरोपसँग चीनको राम्रो सम्बन्ध कै कारण इयू देशहरूमाथि संरा अमेरिकाले व्यापार संरक्षणवादी नीति लियो । त्यतिमात्र होइन युक्रेन र गाजामा सङ्कट खडा गर्यो ।
डब्लुटीओकै अध्ययनमा चीन र इयुबिच सदैब असल सहकार्य जारी रहेको तथ्याङ्क छ । शून्यजोड अर्थात् अरूलाई हार आफूलाई जीतको शीतयुद्ध मानसिकताविरुद्ध खुलापन र सहकार्यको विकल्प छैन भन्नेमा इयु पनि सहमत छ ।
यसर्थ चीन कुनै पनि आरोप प्रत्यारोपको कलहमा अल्मलिने देखिन्न । आफू र आफूसँगै सारा विश्वको भविष्यबारे चिन्तन गर्ने चीन यतिबेला विश्वको सर्वश्रेष्ठ निर्यातकर्ता देश मात्र होइन लगानीको केन्द्रविन्दु पनि हो । उत्पादनको मुख्य ‘पावरहाउस’ मात्र होइन नयाँ आविष्कार र निर्माणको ‘हव’ पनि हो । पेइचिङ रिभ्यूका यी दुई अङ्कहरूले चीनको वर्तमान चुनौती र भावी पाइलाहरूबारे जानकारी दिन्छन् । यो बुलेटिन विश्व अर्थतन्त्रबारे चासो राख्ने जो कोहीका निम्ति निकै पठनीय अध्ययन सामग्री हो । नेपाल जोडिएको चीन र चीनको आँखाबाट विश्व अर्थव्यवस्था बुझ्ने हो भने पेइचिङ रिभ्यू नपढी हुन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *