भर्खरै :

सिरिया युद्ध, ‘प्रार्थना’ र सञ्चार युद्ध

-नीरज
सिरियामा राजनीतिक सङ्कट शुरु भएको सात वर्ष भयो । इजिप्टमा होस्नी मुबारक सत्ताविरुद्ध सन् २०११ मा भएको जनआन्दोलनको लहरस्वरुप अरब देशहरुमा फैलिएको राजनीतिक आन्दोलनको शिलशिलामा त्यहाँ पनि राजनीतिक सङ्कट शुरु भएको थियो । बसार अल अस्साद सरकारविरुद्ध सडक आन्दोलनबाट शुरु भएको सिरियाको राजनीतिक सङ्कटले समयान्तरमा हिंसात्मक रुप लिएको थियो । सिरियाली द्वन्द्व शुरु भएयता सञ्चारमाध्यममा सिरियाली द्वन्द्व नियमित समाचारको विषय बन्दै आएको छ । तर यो साता सिरिया युद्धका अत्यन्त हृदयबिदारक तस्वीर र भिडियो सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत् सार्वजनिक भएपश्चात युद्धग्रस्त अरब देशको द्वन्द्वतिर संसारको ध्यानाकर्षण भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ता विशेषतः युवाहरु सिरिया युद्धका ती निर्मम तस्वीरहरुबाट ज्यादै मर्माहित भएर विभिन्न माध्यम र तरिकाबाट विरोध र आक्रोश जनाए ।
नेपालमै पनि केही युवाहरुले द्विपप्रज्वलन गरेर ‘सिरियाली जनताप्रति प्रार्थना गरे ।’ धेरैले सामाजिक सञ्जालमा ‘सिरियाली जनताप्रति प्रार्थना गरौं’ भन्दै आफ्नो मत व्यक्त गरे । तर सिरियाली जनताप्रतिको यो ‘प्रार्थना’ सिरिया युद्धप्रतिको अल्पज्ञानको परिणाम हो । अथवा सिरिया युद्धको मुख्य दोषीलाई दोषमुक्त बनाई हुँदै नभएको भगवानलाई दोषारोपण गर्ने बद्नियत हो । सिरिया युद्ध कुनै भगवानले रचना गरेको सङ्कट होइन । त्यहाँको द्वन्द्वको लागि पश्चिमा साम्राज्यवादी मोर्चा, मुलतः संरा अमेरिका, साउदी अरब र इजरायल जिम्मेवारी छन् ।
सन् २००२ जनवरी २९ मा संरा अमेरिकाका तात्कालीन राष्ट्रपति जर्ज डब्ल्यु बुश जुनियरले इरान, इराक र प्रजग कोरियालाई इङ्गित गर्दै ‘दुष्टहरुको मण्डली’को संज्ञा दिएका थिए । त्यसको चार महिना पछि बुशको भनाईमा थप्दै तात्कालीन संरा अमेरिकी परराष्ट्र उपसचिव जोन आर. बोल्टनले त्यही मण्डलीमा तीन वटा अरु देशहरुको नाम थपेका थिए । बोल्टनले क्युवा, लिविया र सिरियालाई पनि ‘दुष्टहरुको मण्डली’मा समावेश बनाएका थिए । ‘आतङ्कविरुद्धको युद्ध’ नाम दिइएको साम्राज्यवादी हमलाका कारण आज ती ६ वटा देशहरुमध्ये इराक र लिवियामा उनीहरुले चाहेजस्तै सत्ता परिवर्तन भयो र ध्वस्त पनि भयो । आज उनीहरुले बाँकी चार वटा देशहरुलाई विभिन्न उपायमार्फत् त्यही ध्वंशको बाटोमा तान्न खोजिरहेका छन् । संरा अमेरिका नेतृत्वको यो साम्राज्यवादी मोर्चाले यसप्रकार अरु साना सार्वभौम देशहरुमाथि हमला गर्नुको कारण आफ्नो विश्व प्रभुत्व बलियो बनाउनु बाहेक केही होइन । आफ्नो प्रभुत्व अस्वीकार गर्ने कुनै पनि देशको कुनै पनि सत्ताको कमजोरीलाई समातेर या त त्यहाँ आफू अनुकूल सत्ता स्थापना गर्ने, नसके त्यो देशलाई नै ‘प्रजातन्त्र’को नाममा ध्वस्त बनाउने नै उनीहरुको रणनीति हो । उनीहरुले इराक र लिवियामा त्यही गरे । अहिले प्रजग कोरिया र इरानमा त्यही प्रयास भइरहेको छ । त्यही शिलशिलाको अग्रभागमा अहिले सिरिया भएको देख्दैछौं । तसर्थ सिरियामा जे भइरहेको छ, त्यसको दोषी संरा अमेरिकानेतृत्वको साम्राज्यवादी मोर्चा नै हो । यो कुनै भगवानले गरेको होइन । बरु युद्धहरुमा भगवानलाई पश्चिमा साम्राज्यवादले आफ्नो रणनीतिक फाइदाको लागि प्रयोग गरेको छ । अनि साम्राज्यवादले थोपरेको द्वन्द्वको लागि भगवान पुकारा गर्नु साम्राज्यवादको पाप मोचन गर्नु हो । सिरिया युद्धका निर्मम तस्वीर देख्ने अनि त्यहाँ साम्राज्यवाद नदेख्नु या त अल्पज्ञान हो नभए राजनीतिक पूर्वाग्रह हो ।

नेपालका केही मानिसहरु सिरिया युद्धको विरोधमा संरा सङ्घमा ज्ञापनपत्र दिन पुगे । सिरिया युद्धको कारण संरा अमेरिका, साउदी अरब र इजरायलको प्रतिक्रियावादी सत्ता भएका कारण तिनकै विरोध गर्नु समाधानको वास्तविक चाहना हो । राष्ट्र सङ्घको दैलो चहारेर संरा अमेरिकी साम्राज्यवादको विरोध नगर्नु साम्राज्यवादलाई दोषमुक्त गर्नु वा त्यसको विरोध गर्न डराउनु नै हो । आजको आवश्यकता संरा अमेरिकी साम्राज्यवादको मुकामहरुमा विरोधको आवाज उठाउनु हो । कुनै पनि तरिकाबाट साम्राज्यवादलाई विरोध गर्नबाट पन्छिनु संरा अमेरिकी साम्राज्यवादको ताबेदारी हो ।

सिरियाली जनताको दुःखमा साथ दिन भगवान होइन, साम्राज्यवादको विनाशको खाँचो छ । आफ्नो प्रभुत्वको मुठ्ठी बलियो बनाउन र तेललगायतका प्राकृतिक स्रोत तथा बजार कब्जा गर्न एउटा सार्वभौम देशमाथि अनेकन नक्कली विद्रोही र आतङ्कवादी शक्ति बनाएर हमला गर्ने साम्राज्यवाद ध्वस्त नभएसम्म सिरियाली जनताले त शान्तिको श्वास फेर्न सक्दैनन् नै, साथै अरु धेरै सिरियाहरु जन्मिने सम्भावना त्यत्तिकै रहन्छ । त्यसकारण सिरियाली जनताको लागि कुनै शक्तिसँग प्रार्थना गर्ने होइन, साम्राज्यवादको विरोध गर्नु नै सिरियाली जनताका मित्रहरुको दायित्व हो ।
सामाजिक सञ्जालहरुमा आज सिरिया युद्धको भनी ओइरहेका तस्वीरहरु वास्तवमै हृदयबिदारक छन् । तर ती तस्वीरहरु यति बेला नै यति धेरै प्रचारमा आउनुका राजनीतिक कारणको खोजी र आलोचनात्मक सोचको आवश्यकतालाई भने नकार्न मिल्दैन । सात वर्षसम्म चलेको सिरिया युद्धमा अस्सादविरोधी शक्तिले गरेका हमलामा परी अलेप्पो र राक्का शहरमा धेरै सिरियाली जनताले त्यस्तै विनाशकारी हमलाको सामना गर्नुपरेको थियो । निसन्देह त्यत्तिबेला पनि त्यस्ता धेरै हृदयबिदारक तस्वीर खिचिएका होलान्, वा कम्तीमा त्यस्ता निर्मम क्षण भोगिएको हुनुपर्दछ । तर आज घौटाको तस्वीर किन यति व्यवस्थित रुपमा प्रचारमा ल्याइयो ? यो विषयलाई गम्भीरतापूर्वक लिन जरुरी छ ।
साम्राज्यवादले संसारमा आफ्नो प्रभुत्व बलियो बनाउन तीन वटा हतियारको व्यापक प्रयोग गरिरहेका छन्–हात–हतियार, धर्म र सञ्चारमाध्यमहरु । यीमध्ये पनि आजको आधुनिक समयमा उनीहरुले व्यापक उपयोग गर्ने हतियार भनेको सञ्चारमाध्यम नै हुन् । पश्चिमा सञ्चारमाध्यमहरुले साम्राज्यवादी अपराधलाई लुकाउने र साम्राज्यवादका विपक्षीहरुको दोहोलो काढ्ने गरेको वास्तविकता नौलो होइन । अमेरिकी प्राध्यापक नोम चोम्स्कीको सञ्चार सिद्धान्तमा पूँजीवादी सञ्चारमाध्यमहरुले मानिसहरुको चिन्तनलाई समेत इन्जिनियरिङ गर्ने कुरा लेखेका छन् । आज प्रचारमा ल्याइएका तस्वीर स्वंय सिरिया सरकार र त्यहाँको युद्धमा रुसी संलग्नताको दुष्प्रचार गर्ने मनसायबाट अभिप्रेरित छन् । सिरिया युद्धमा अस्साद सरकारले एक पछि अर्को गर्दै पाएको सफलतालाई नकारात्मक परिणाममा पु¥याउन र साम्राज्यवादी मोर्चाका अरु देशहरुलाई पनि सिरियामा तान्न यस्तो प्रचार भएको हुनसक्ने आशङ्कालाई इतिहासमा भएका घटनाबाट पुष्टि गर्न सकिन्छ ।
लिवियामा कर्णेल गद्दाफी र इराकका राष्ट्रपति सद्दाम हुस्सेनको विरोधमा संसारभर दुष्प्रचार गरी त्यहाँ ‘प्रजातन्त्रको लागि सत्ता परिवर्तन गर्नुपर्नु’ विश्व जनमत बनाउन साम्राज्यवादी सञ्चारमाध्यमहरुले भूमिका खेलेका थिए । तर ती देशहरु आज ध्वस्त भए र त्यत्तिबेला सञ्चारमाध्यमले भनेका धेरै कुरा झुठ सावित भयो । आज सिरियाका बसार अल अस्साद र प्रजग कोरियाका किम जोङ उनविरुद्ध त्यस्तै प्रकारका दुष्प्रचारबाजी भइरहेका छन् । अनि यो लक्ष्य पूरा गर्ने ज्यावल बनिरहेका छन्–पूँजीवादी सञ्चारमाध्यमहरु ।
सिरिया युद्धका जस्ता तस्वीरहरु सार्वजनिक भएका छन्, त्यस्ता र तीभन्दा ज्यादै हृदयबिदारक तस्वीर के प्यालेस्टाइन, इराक, अफगानिस्तान, लिवियाबाट आएका थिएनन् ? के मोअम्मर गद्दाफीको रगताम्य लास र सद्दाम हुस्सेनलाई झुण्ड्याउन ठिक्क पारिएको तस्वीर हृदयबिदारक थिएनन् ? किन अझै बिन लादेनको लाश गाडिएको ठाउँ सार्वजनिक गर्ने हिम्मत गर्दैन अमेरिकी साम्राज्यवाद ? त्यसको अर्थ आज घौटामा जुन अमानवीय हमला भयो, त्यसलाई समर्थन गर्न खोजिएको होइन । तर एउटा वास्तविकता के हो भने यदि लिवियाको सन्दर्भमा जस्तै सिरियामा पनि रुस मौन बसेको भए सिरिया पनि आजसम्ममा लिविया बनिसक्थ्यो र अस्सादले आजसम्ममा गद्दाफीको जस्तो मृत्युवरण गरिसक्थे ।
कुनै पनि अमानवीय युद्ध गलत र भत्र्सनायोग्य हो । बालबालिका, ज्येष्ठ नागरिक र सर्वसाधारण नागरिकलाई रगतको आहालमा डुबाउने कुनै पनि हमला गलत हो । तर आज सिरियामा कथित विपक्षी शक्तिसँग अस्साद सरकारको सङ्घर्ष संरा अमेरिका नेतृत्वको साम्राज्यवादी हमलाको प्रतिकार हो । लिविया, प्रजग कोरिया, इराक, इरान, सोभियत सङ्घ, चीन, क्युवालगायतका देशहरुविरुद्ध पूँजीवादी सञ्चारमाध्यमहरुले गर्ने गरेका प्रचारबाजीका आधारमा अहिले सिरिया युद्धका सन्दर्भमा भएका प्रचारबाजीलाई पूर्ण विश्वास गर्न सकिन्नँ र तिनकै आधारमा सत्य पत्ता लगाउन सकिन्नँ ।
क्यानाडाका स्वतन्त्र पत्रकार इभा बार्टलेटले सिरियामा गएर आफ्नै आँखाले हेरेका वास्तविकता र पश्चिमा सञ्चारमाध्यमहरुले गरेका गलत प्रचारबाजीबारे दिएका अभिव्यक्तिले आजभोलि मुलधार भनिएका प्रचारमाध्यमहरुले गरिरहेका प्रचारबाजीहरु कति गलत छन् भन्ने कुरा स्पष्ट हुन्छ । उनले सिरियाको विषयमा पश्चिमा प्रचारमाध्यमहरुले गरेका प्रचारहरु ठीक उल्टो भएको र सिरियाली जनता अस्साद सरकार र सरकारी सेनाका पक्षमा रहेको पटक–पटकको अन्तर्वार्ता र पत्रकार भेटघाटमा बोलेकी छिन् । उनले साम्राज्यवादको आडमा लडिरहेका विपक्षी शक्तिहरुका कारण आज सिरियाली जनता अत्यावश्यक औषधि र खानाको अभावमा बाँच्न बाध्य भएको बताइन् । उनले अस्पताल र जनताको बसोबास क्षेत्रमा अमेरिकी शक्तिको सहायताप्राप्त विपक्षी शक्तिले हमला गरिरहेका छ तर सरकारी सेनाले त्यस्तो नगरेको बताइन् । उनका अन्तर्वार्ता र विचार युट्युबमा हेर्न सकिन्छ ।
नेपालका केही मानिसहरु सिरिया युद्धको विरोधमा संरा सङ्घमा ज्ञापनपत्र दिन पुगे । सिरिया युद्धको कारण संरा अमेरिका, साउदी अरब र इजरायलको प्रतिक्रियावादी सत्ता भएका कारण तिनकै विरोध गर्नु समाधानको वास्तविक चाहना हो । राष्ट्र सङ्घको दैलो चहारेर संरा अमेरिकी साम्राज्यवादको विरोध नगर्नु साम्राज्यवादलाई दोषमुक्त गर्नु वा त्यसको विरोध गर्न डराउनु नै हो । आजको आवश्यकता संरा अमेरिकी साम्राज्यवादको मुकामहरुमा विरोधको आवाज उठाउनु हो । कुनै पनि तरिकाबाट साम्राज्यवादलाई विरोध गर्नबाट पन्छिनु संरा अमेरिकी साम्राज्यवादको ताबेदारी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *