भर्खरै :

संरक्षणको प्रतीक्षामा लोमान्थाङको टास्सी ध्याफेल दरबार

  • जेष्ठ ३, २०८२
  • धर्मेन्द्र झा
  • विचार
संरक्षणको प्रतीक्षामा लोमान्थाङको टास्सी ध्याफेल दरबार

ढुङ र माटोबाट निर्मित विशाल पर्खालले घेरिएको ठूलो बस्ती र बस्तीको बिच भागमा सुन्दर दरबार । मुस्ताङको लोमान्थाङ राजदरबार कुनै समय निकै शक्तिशाली र त्यस क्षेत्रका मानिसहरूको आस्थाको केन्द्र थियो । त्यही शक्तिकेन्द्र कालान्तरमा कमजोर मात्रै होइन मानिसविहीन बनेको छ ।
छसय वर्षअघि सैनिकहरूले पहरा दिइरहने दरबारको रक्षा यतिबेला एउटा भोटेकुकुरले गरिरहेको झैँ देखिन्छ । दरबार छेउमा आउनेलाई तर्साउँदै गरेको देख्दा सोही कुकुरले दरबारको रक्षा गरिरहेको हो कि भन्ने लाग्छ । १५ औँ शताब्दीमा माटो ढुङ र दाउराले बनेको यो दरबारलाई स्थानीयहरू टास्सी ध्याफेल दरबार भन्छन् । जसको अर्थ भाग्यमानी दरबार भन्ने हुन्छ ।
तत्कालीन समयमा यहाँका पहिलो राजा आमेपालले बाहिरी आक्रमणबाट बच्न नौ मिटर अग्लो र ५६३ मिटर लामो पर्खाल निर्माण गर्नुभएको इतिहास छ । दिनभरि खुला हुने दरबार साँझ ५ बजेपछि भने बन्द गरिन्थ्यो । यही बन्द पर्खालभित्र जनताका घर, गुम्बा र बिच भागमा काँचो माटोले बनेको भव्य दरबार अझै देख्न सकिन्छ । त्यो समयमा पर्खालभित्र १६० वटा घरसम्म थिए भन्ने गरिएको छ ।
तत्कालीन समयमा राज्य सञ्चालनका लागि दरबार नजिकै मन्त्रालयहरू हुन्थे । आ–आफ्नो जिम्मेवारी बाँडफाँट गरिन्थ्यो । हाल पनि ती मन्त्रालयका भवन लोमान्थाङमा देख्न सकिन्छ । तत्कालीन समयमा पर्खालभित्र मात्रै घर निर्माण गर्ने चलन थियो, त्यसताका पर्खालबाहिर घर बनाउँदा यहाँका राजालाई शत्रुको आक्रमण हुन्छ भन्ने लाग्थ्यो तर मुलुकमा गणतन्त्र आइसकेपछि पर्खालबाहिर पनि बस्ती विस्तार भइरहेको छ । बस्ती दरबारबाट टाढिँदै गर्दा दरबारको रेखदेखमा पनि कमी आएको छ । यसले दरबार एक्लिँदै गएको छ ।
माटोले बनेको दरबार भएकाले कसैले यसलाई माटोको उहर पनि भन्छन् । ऐतिहासिक र पुरातात्विक महत्वको यो दरबार हाल संरक्षण, संवद्र्धन र प्रचारचारको पर्खाइमा छ तर दरबार संरक्षणका लागि राज्यस्तरबाट कुनै पनि प्रकारको सहयोग प्राप्त नभएको स्थानीयको गुनासो छ ।
विगतमा भूकम्पपछि बाहिरी मानिसलाई दरबारभित्र प्रवेश निषेध गरिएकोले भित्रको अवस्था कस्तो छ भनेर धेरैलाई थाहा हुन सकेको छैन । यहाँका अन्तिम राजा जिग्मीपलवर बिस्टलाई हाल पनि निकै श्रद्धापूर्वक मानिसहरूले सम्मान गर्दै आएका छन् । उनीहरू बिस्टलाई पूर्वराजा होइन राजा नै मान्ने गर्छन् ।
त्यसो त लोमान्थाङ कुनै समय आर्थिक गतिविधिको केन्द्र थियो । तिब्बतको पश्चिममा पर्ने यो ठाउँ भारतदेखि तिब्बतसम्मको व्यापार हुने समयमा आर्थिक केन्द्र पनि थियो । त्यही प्रभावले पनि यहाँका राजालाई शक्तिशाली मानिन्थ्यो । “सन् १३८० सम्म लोमान्थाङ स्वतन्त्र राज्यका रूपमा चिनिन्थ्यो तर जब साल्ट ट्रेड रूट बन्द भयो र तिब्बतमा सांस्कृतिक आन्दोलन सुरू भयो, त्यसपछि व्यापार सुक्दै गयो । त्यसको असरले यहाँको आर्थिक अवस्था कमजोर भयो ।
कुल पाँचवटा वडा रहेको लोमान्थाङमा करिब दुई हजार जनसङ्ख्या छ । चौतर्फी माटोको पर्खालले घेरिएको यो बस्ती सुक्खा पहाडको काखमा छ । बस्ती प्राकृतिक सुन्दरताले जति आकर्षक छ, सांस्कृतिक सम्पदाले त्यत्ति नै भरिपूर्ण छ । यहाँका दरबार, गुम्बा, सांस्कृतिक राजा, मुखिया परम्परा, तिब्बती संस्कृतिसँग मिल्दोजुल्दो संस्कार र जीवनशैली लोमान्थाङको पहिचान हो ।
समुन्द्री सतहदेखि तीन हजार ८८० मिटर उचाइमा रहेको लोमन्थाङ उपल्लो मुस्ताङको प्रवेश विन्दु पनि हो । यहाँ दुई हजार वर्षभन्दा पहिले माटोको पहाड खोपेर बनाइएको ‘सिजा झोङ’ छ ।
नीलगिरि र धौलागिरि हिमशृङ्खलाको बिचमा रहेको यस क्षेत्रमा यहाँका २६ औँ राजा अझै पनि यही बसोबास गर्छन् । इतिहास र धर्ममा रूचि राख्नेका लागि विविध कारणले यो क्षेत्र निकै महत्वपूर्ण गन्तव्य भएको अध्यक्ष गुरूङको बुझाइ छ ।
लोमान्थाङ हजारौँ वर्ष पुरानो तिब्बती र बौद्ध संस्कृतिको केन्द्र हो । यहाँका गुम्बा, महलहरू र पुराना चित्रकलामा त्यो इतिहास देख्न पाइन्छ । यहाँ रहेको राजमहल र झम्पा, थुब्चेन, छोदे र छोपलाका गुम्बा धार्मिक तथा कलात्मक दृष्टिले विशेष छन् । भौगोलिक रूपमा लोमान्थाङ सुक्खा भूभाग भएको ठाउँ हो । यहाँबाट नीलगिरि, धौलागिरि र अन्नपूर्ण हिमालहरूको दृश्यावलोकन गर्न सकिन्छ ।
लोमान्थाङमा राजसी गुम्बा, हजारौँ वर्ष पुराना भित्तेचित्र, मूर्तिकला र बौद्ध ग्रन्थहरू पाइन्छन् । यहाँ आउने पर्यटकका लागि ‘लो राज्य’ छँदाका राजाहरूको ऐतिहासिक दरबार आकर्षणको केन्द्र बन्दै गएको छ । यसको संरक्षण, प्रवद्र्धन र विकासका लागि ध्यान दिनसके आन्तरिक तथा बाह्य पर्यटकका लागि रोजाइको केन्द्र बन्नसक्थ्यो । त्यसबाट स्थानीयले मात्र नभई राज्यले नै लाभ लिने भएकाले उचित ध्यान दिनुपर्ने धेरैको माग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *