भर्खरै :

स्पेनको सम्झना’ भित्र सुरक्षित कलापारखी बाङ्देलका झङ्कारहरू

स्पेनको सम्झना’ भित्र सुरक्षित कलापारखी बाङ्देलका झङ्कारहरू

यात्रा संस्मरणले शब्दयानमा पाठकलाई चढाएर यात्रीसँगै सफर गराइदिन्छ । यात्रीका भोगाइहरू आफ्नै भोगाइजस्तै गरी मनभित्र कता कता चिमोटिदिन सक्छ । सम्झनाको शब्दरेखामा कल्पनाको हिँडाइ । अहो ! गजब विधा अनि लोभलाग्दो यात्रा ।
क्यानभासमा पोतिएका इन्दे्रनि रङ्गभित्र कुचिकारको गहिरो हेराइ हेर्दै गर्दा खै किन हो रङ्ग र शब्दको सम्मिश्रणमा आफ्ना अभिव्यञ्जनाहरू व्यञ्जित गर्ने कलाकार लैनसिंह बाङ्देलका कलात्मक हेराइहरू हेर्न मन लाग्यो र उठाएँ उनको ‘स्पेनको सम्झना’ । केही समयअघि म स्पेनिस चित्रकार पाब्लो पिकासोलाई चिन्न खोज्दै थिएँ । उनको द गुहार्निकाभित्रको कोलाहलमा युद्धपछिको सन्नाटा केलाउँदै थिएँ । बाङ्देलको शब्दयानमा चढेर स्पेनका कला कुञ्जहरू उनकै नजरमा हेर्न पाएँ ।
युरोपेली कला अध्ययनको क्रममा लेखक बाङ्देल पेरिसमा रहँदा हिउँले कठ्याङ्ग्रिएको चिसो याममा तातो कफी खाँदै मित्र चिन्तामणि मान्डेसितको प्रागैतिहासिक चित्रकारितामाथि चलेको बहससँगै स्पेनको यात्रा सुरु हुन्छ । “कुरै कुरामा कलाको चर्चा चल्यो । आधुनिक र पुराना कलाबारे धेरै बहस भयो । हुँदा हुँदा प्रागैतिहासिक कलामा गएर हाम्रो बहस रोकियो । अनि गुफाहरूको चित्रको विषय उठ्दा स्पेनको उत्तरी प्रान्तमा रहेको दुनियाँको सबभन्दा पुरानो गुफा अल्टामिया हेर्नै पर्छ भन्ने टुङ्गोमा पुग्यौँ । स्पेन पुगेपछि जगत् प्रसिद्ध प्रादो म्युजियम किन नहेर्ने भन्ने पनि कुरा चल्यो । मलाई युरोपेली देशका नगरको भव्यता हेर्नुभन्दा पनि विभिन्न राष्ट्रिय चित्रशालामा राखिएका कलाको अमूल्य सङ्ग्रह हेर्न ज्यादै ठुलो इच्छा थियो ।
यात्राको पहिलो दिन एकाबिहानै रेलवे स्टेसनमा सहयात्रीहरू पर्खदै गर्दाको शब्द वर्णन बेजोड छ । पाठक मन आफै तुलबुलाइदिन्छ । बस, रेल छुट्ने आखिरी समयमा साथीहरू डा. चिन्तामणि मान्डे र डा. बालकृष्ण अवस्थी दौडदै आइदिन्छन् र यात्राले गति लिन्छ ।
कवि कलाकारहरू हरेक पल र यामको रसास्वादन गर्न खप्पिस छन् । प्यारिस छाडेको आधा घण्टामा नै देहातको प्राकृतिक सौन्दर्यको सम्झना साँच्न लेखक लागिहाल्छन् र लेख्छन् “वसन्तको भर्खर भर्खर आगमन भइरहेको थियो । प्यारिस छोडेपछि बाहिर देहातमा जो प्राकृतिक सौन्दर्य देखिन्छ त्यसको यहाँ वर्णन गरेर साध्य छैन । चार पाँच महिनाको जाडो, तुसारो र हिउँले एकदम उजाड पारेको नाङ्गो प्रकृतिमा जब नयाँ हरिया पालुवा आउन थाल्छन्, हृदयमा कस्तो आनन्दको लहर बग्दो रहेछ । त्यसको कत्रो महत्व हुँदो रहेछ, यो युरोप आएपछि मैले थाहा पाएँ । पाश्चात्य कविहरूले वसन्त र हेमन्तको किन महिमा गाएका रहेछन्, सो पनि राम्ररी बुझियो । (पृ.२)
लेखक बाङ्देलले यात्रामा जे देखे र जे अनुभव गरे त्यही शब्दमा उतारेका छन् । स्पेनका विभिन्न क्षेत्रमा अवस्थित कला सङ्ग्रहालय र प्राण कलाहरूदेखि लिएर स्पेनिसहरूको जनजीवनलाई जीवन्तता दिँदै संस्मरणमा व्यक्त गरेका छन् । अल्टामिया गुफा जाने क्रममा बिलबाआको गाडीमा यात्रा गर्दा भेटिएका स्पेनिस यात्रीहरूलाई लिएर लेखेका छन्, “स्पेन निवासीहरू त अलि खलले जाति नै हुन्, एकोहोरो कुरा गरिरहेका छन्, मानौँ, नबोली त कसैलाई सुखै छैन । आँखामा सधैँ दरिद्र नारायणको प्रतिबिम्ब देखिन्छ ।”
एउटा कस्तो कस्तो उदास भावना हमेसा उनीहरूको अनुहारमा पोतिए जस्तो छ । (पृ.२०) “स्पेनिस नारीहरूको सौन्दर्यलाई वर्णनमा पनि लेखक पछि परेका छैनन् र आफ्नो आँखाले देखेका कुरालाई प्रख्यात चित्रकारहरूको चित्रसँग दाँजेका छन् । सामान्य मानिसको हेराइ र कलाभावले भरिएका मानिसको हेराइमा पाइने भिन्नता यसैमा देखिन्छ । “स्पेनका स्वास्नीमान्छेको सौन्दर्य राम्रोसँग पारख गर्ने सौभाग्य त्यही पाइयो । पहिले पहिले गोया र भेलास्कीले स्पेनिस स्वास्नीमान्छेको तस्बिर लेख्दा अलिकति बढाएर लेखेका हुन् कि जस्तो लाग्थ्यो । अलिकति बढ्ता काल्पनिक सिर्जनापट्टि पनि गएका हुन् कि भन्ने म शङ्का गर्थेँ । अहिले आफ्नै आँखाले हेरेपछि अनि राम्रोसँग थाहा भयो† गोया र भेलास्कीले यहाँका स्वास्नीमानिसहरूको सौन्दर्यलाई कस्तो गजबले लेखेर व्यक्त गर्न सकेका रहेछन् । यो देशमै आएपछि मात्र आज यहाँका नारीहरूको रूप र लावण्यको तारिफ गर्न जानियो । उनीहरूका स्याउजस्ता गाला, सुहाउँदो रूपलावण्य र कटाक्षलाई बाहिरियाले हतपत बिर्सन सक्दैन । यहाँका नारीहरूमा धेरै नै स्वाभाविक लज्जा कोमलता र लावण्य देखिन्छ जुन कुरा अरू पाश्चात्य नारीहरूमा देखिँंदै देखिँदैन । (पृ. २३)
स्पेनको बिल्बाओभित्रको प्राकृतिक सौन्दर्य नारीहरूका सुन्दरता अनि त्यसै सौन्दर्यभित्र लुकेको गरिबीको चर्चाले अनौठो काल्पनिक चित्र कोरिदिन्छ ।
लेखकको पहिलो उद्देश्य अर्थात् अल्टामिरा गुफा, जहाँ हजारौँ वर्षअघिका मानिसहरूले गुफाका भित्ताभरि रङ्गीन चित्र कोरेका रहेछन् । सुन्दैमा अनौठो तर वास्तविक रहेछ । पुस्तक पढिसकेर गुगल सर्च गरी हेरेँ । चित्रहरू अहिले यति टिलिक्क टल्केका रङ्गीन रहेछन् ।
“अहिले पत्ता लागेको यो गुफाका चित्रहरू वैज्ञानिक मतअनुसार कमसेकम १२ हजार वर्षदेखि २० हजार वर्ष अगाडिको भन्नुपर्छ । आजसम्म संसारले जानेको र थाहा पाएको दुनियाँको सबभन्दा पुरानो मान्छेको सभ्यताको चिह्न यही हो । प्राचीन मनुष्यमा रहेको सभ्यताको प्रारम्भ पनि यही समयदेखि भएको हुनसक्छ ।” (पृ.३१)
अल्टामिरा गुफाभित्रका चित्रहरूका बारेमा लेखक लेख्छन्, “यस युगमा यस्तो अँध्यारो गुफा भित्रभित्रै प्रागैतिहासिक मानिसहरू कसरी के खाएर बस्थे होलान्, कसरी यस्तो अँध्यारो गुफाभित्र आश्चर्य पत्थरका भित्ता र छानामा त्यस्ता आश्चर्य लाग्दा तस्बिरहरू लेखे होलान् । सम्झँदा ज्यादै आश्चर्य लाग्छ । हुन त ध्यानपूर्वक हेरेमा त्यहाँ लेखिएका चित्रहरूमा ज्यादाजसो प्राकृतिक रङ नै प्रयोग गरेका छन् । कोइलाबाट कालो रङ, माटोबाट पहेँलो र इँट रङ अनि जनावरको रगतबाट रातो र ध्वाँसे रङ प्रयोग गरेको अनुमान हुन्छ । त्यसैले यतिका हजार वर्षसम्मन् पनि चित्रको रङ फिका भएर उडेको कहीँ देखिँदैन, बरु कतैकतै अजिबसँग चम्केको दखिन्छ । …. प्रागैतिहासिक मानिसको हृदयमा पनि त कलाको प्यास रहेछ । आफू बस्ने ठाउँमा भित्ता र सिलिङभरि त्यस्ता रमाइला चित्रहरू लेखी मनभित्रको भावना प्रकाश गर्न खोजेका छन् । यसबाट यो जाहेर हुन्छ कि सभ्य असभ्य दुवै अवस्थामा मानिसको भाव प्रकाश गर्न माध्यम चित्र नै भएको रहेछ ।”(पृ. ३४–३५)
स्पेनका राजघरानियाँहरू कलाका निकै पारखी रहेछन्, जसको प्रमाण प्रादो म्युजियमलाई लेखकले मानेका छन् । प्रादो म्युजियम स्थापनाको सन्दर्भ र पन्ध्रौँ शताब्दीदेखिका राजघरानियाँहरूको कलाप्रेमको चर्चा यसमा गरिएको छ । इतिहास बुझेर कुनै वस्तु या पक्षको अवलोकन गर्नु सामान्य नजरियाभन्दा भिन्न हुन्छ । यस्तै नजरिया लेखकले प्रादो म्युजियममा बिछ्याएको, रहेछ । विश्वविख्यात भेलास्की रेम्ब्रान्टजस्ता चित्रका चित्रहरू प्रत्यक्ष अवलोकन गरेर आफ्नो चित्रकारिताको अध्ययनमा थप सामग्री बटुलेका रहेछन् । यी कुराहरू चित्रकारिताका अध्यताहरूले अझ बढी बझ्लान् । चित्रका सोखिनहरूलाई त शब्द वर्णन मात्र हो । यस आधारमा चित्रकारिताका अध्यताहरूका लागि यो पुस्तक छुटाउनै नहुने खुराक हो ।
स्पेनिस कलाको इतिहासमा विश्वमा हलचल ल्याउन सफल महान् स्पेनिस कलाकारहरू रिबेरा (सन् १५९१), जुर्बारान (सन् १५९८) भेलास्की (सन् १५९९) देखि लिएर पिकासोसम्मको कला, इतिहास र प्रभाव यसमा उल्लेख गरिएका छन् । यसै सन्दर्भमा उनी लेख्छन्, “राल ग्रेको जन्मेको झन्डै आधा शताब्दीपछि रिबेरा, जुर्वारान र भेलास्कीको जन्म भएको हो । भेलास्की जन्मेको १७ वर्षपछि म्युरिल्लो जन्मी सत्रौँ शताब्दीको नयाँ बत्ती बाले, अनि अठारौँ शताब्दीको बिचमा क्रान्तिको ज्वाला बोकेर फेरि गोया आए । यही गोयाको क्रान्तिलाई उन्नाइसौँ शताब्दीको अन्तिम खुड्किलामा पिकासोले क्रान्ति मात्र होइन कि कलाको क्षेत्रमा प्रलय पनि ल्याए । यिनै पिकासोले कलाको धारामा निधि निषेधको जम्मै सूत्रलाई छिन्नभिन्न पारी भावप्रकाशनको क्षेत्रमा कलालाई चरम सीमामा पु¥याएका छन् । उनको छायामा परेका संसारका कुनै कलाकार उनको प्रभावबाट उम्कन सकेका छैनन् । अन्तर्राष्ट्रिय कलाको क्षेत्रमा उनको जतिको प्रभाव जमाउन सक्ने आजसम्म संसारमा कुनै कलाकार जन्मन सकेको छैन । आफू जीवित हुँदै सारा विश्वमा आफ्नो नाउँ फिजिएको देख्न पाउने कलाकार पनि पिकासो मात्र देखिन्छन् । (पृ.५६)
मलाई अहिले पनि राम्रोसँग सम्झना छ, जुन बेला गोयाका ब्याक पेन्टिङस् राखिएको कोठामा पसेको थिएँ, बिचेस साबादको अगाडि पुग्दा म एकदम झस्केँ । त्यसभन्दा अगाडि गोयाले लेखेका त्यस अवधिका कुनै तस्बिरहरू मैले ओरिजिनलमा हेर्न पाएको थिइनँ । त्यसैले बिचेस साबादमा मैले बिलकुल नयाँ कुरा पाएँ । त्यसमा गोयाले मानिसको भय र त्रासलाई कस्तो गजबसँग लेखेर अङ्कित गर्न सकेका छन् भने त्यो तस्बिर देख्ने बित्तिकै हाम्रो मनलाई एकतमासको पार्दछ । तस्बिरमा दरिद्र स्वास्नीमान्छेहरू खाँदाखाँदै गरी बसेका छन् । तिनको अघिल्तिर पशुको आकारमा एउटा ठुलो कालो जीव उभिएको देखिन्छ । सबको अनुहार भय, त्रास र दुःखले विकृत छ । (पृ.६७–६८)
चित्रका कुराहरू त छँदैछन् । स्पेनको जनजीवनको वर्णनले पनि सामाजिक पक्षको कसी कोरेको छ । स्पेनको दक्षिण प्रान्तको पुरानो सहर सेभिलको यात्राको क्रममा देखिएको चहलपहलको सम्झनामा त्यहाँका नारीहरूको चर्चाले अरु बढी महत्व राख्दछ । स्पेनिसहरूका जीवनस्तर र नारीचेतनाको मापन गराउँछ । हुन त यो सन् १९६१ तिरको कुरा हो । जहाँ उनी लेख्छन्, “सेभिलका गल्लीहरूतिर हिँड्दा जहिले पनि स्वास्नीमानिसकै स्वर सुनिन्छ । आँखा उठाएर मास्तिर हेरियो स्वास्नीमानिस नै देखिन्छन् । स्वास्नीमानिसहरू कि त वारि झ्यालमा उभिएर पारि झ्यालमा छिमेकीसँग कुरा गर्न लागेका कि त बार्दलीमा उभिएर तल छिँडीमा हिँड्नेहरूलाई हेरिरहेका देखिन्छन् । धेरै अग्ला पनि होइनन्† धेरै पुड्का पनि होइनन् । जीउडाल राम्रो मिलेका तर पछि बिहे भई छोराछोरी हुँदै जाँदा बढ्ता मोटाउँदै गएका सेभिलका स्वास्नी मानिसहरू कुरा गर्न र सिँगारपटार गर्न अनि नाचगान भनेपछि चौपट्टै मन पराउँछन् । खित्का छोडी कुरा गर्दा अक्सर उनीहरूको दाँतमा सुन ठोकेको देखिन्छ । कुनै नयाँ मानिसलाई देखेमा कौतुकले फर्कीफर्की हेर्ने उनीहरूको चाला पनि अजिबकै हुन्छ । (पृ.७८)
सेभिलकै यात्राको वर्णनमा लेखक एक ठाउँमा लेख्छन्, “स्पेनियालीहरूमा एउटा अनौँठो के देखियो भने जत्तिकै घनिष्ठता होस् जतिनै परिचित होस्, कहिल्यै उनीहरूले घरमा लगी आफ्ना परिवार र विशेष आफ्नी स्वास्नीसँग पहिचान गराउँदैनन् । यदि कहीँ भेट्नु छ, कुराकानी गर्नु छ भने बाहिरैतिर हुन्छ । घरमा हुँदैन । (पृ.८१)
सेलिभ भित्रकै जिप्सीहरूको बस्ती घुम्दाको अनुभवमा लेखक निकै भावुक बनेका छन् । उनीहरूको गरिबी र असहाय अवस्थाको चित्रणमा दिक्दारी पोखेका छन् ।
“मैले त्यहाँ धेरै तस्बिरहरू कोरँे तर जब कुनै भिखारी र अन्धाहरूको तस्बिर कोर्थँे, उनीहरूको दुर्दिन र गरिबीबाट मैले फाइदा उठाए जस्तो लाग्दथ्यो । अनि मलाई अप्ठ्यारो लागेर आउँथ्यो (पृ.९२–९३) । यसैमा उनले पिकासोको ब्लु पिरियडका चित्रहरूको उदाहरण दिँदै लेखेका छन् र आफ्नो मुटुभित्रको लुकेको कलाकारको दुःखी मन खोलेका छन् । “युरोपमा हेरिएका सबै देशमा स्पेनको अनुहारजतिको उदास अनुहार कहीँ देखिएन । जतिजति दक्षिणतिर बढ्दै गयो उतिउति यस्तो देखिन्छ ।“ (पृ.९४)
लेखक पिकासोको जन्मस्थल मलागा पनि पुगेका छन् । मलागाको आर्ट म्युजियममा युद्धको विरोधमा चित्र कोर्ने पिकासोको चित्रकारितादेखि ताजुप हुन्छन् र लेख्छन्† मदागाको म्युजियममा राखिएका पिकासोका केही चित्र र ड्रइङ देखेर मलाई ताजुप लाग्यो, किनकि सारा स्पेनमा प्रात्ेट सङ्ग्रहकर्ता र बार्सिलोनाको म्युजियम छोडी पिकासोका चित्र कुनै म्युजियममा छैनन् । मलागामै जन्मेका विकासोजस्ता जगत्प्रसिद्ध कलाकारको तस्बिर स्पेनको राष्ट्रिय चित्रशालामा पनि राखिएको छैन । फ्रेन्को स्पेनमा रहुञ्जेल पिकासोका कुनै चित्र प्राडो म्युजियममा टाँगिएला भन्ने पनि सम्भावना छैन । तर पिकासोजस्ता युगप्रवर्तक कलाकारको एउटा तस्बिरसम्म पनि स्पेनको राष्ट्रिय चित्रशालामा नराख्नु ठुलो अन्याय ठहर्छ । (पृ.१०१)
‘स्पेनको सम्झना’ बाङ्देलको नजरमा परेको स्पेनभित्रको कलाजगत् र जनजीवनको समुच्च रूप हो । स्पेनभित्रका कलाजगत् कलाकारितालाई यति नजिकबाट पारख गर्न कलायात्री आज हामीसामु छैनन् तर उनले गरेको कलाको रसास्वादन पुस्तकभित्र सुरक्षित छ, जुन बेला पल्टाए पनि जीवन्त यात्रा यसले गराइदिन्छ । पुस्तकमा वर्णित स्पेनिसकला सङ्ग्रहालयहरू आज पनि उस्तै भित्ताभित्तामा प्रदर्शित होलान् । प्रागैतिहासिक कालदेखिका कलाहरूको सुरक्षित स्थल स्पेनलाई उच्च महिमा दिनुको अर्थ यसमा भेटिन्छन् । कलासङ्ग्रहालयहरूसितको सांस्कृतिक सम्बन्धको महत्व पहिचान गर्न पनि यसले मद्दत गर्दछ । ‘लङ्गडाको साथी’ उपन्यासबाट नेपाली आख्यानमा मानवताको चर्चा चलाउने आख्यानकार बाङ्देलको स्पेनको सम्झनाले रङग र कुचीबाट मानवताको झङ्कार दिएको छ । हरेक दर्जाका पाठकले आआफ्नो स्तर अनुरूप ज्ञान यसबाट बटुल्न सक्छन् । नेपाली रङ्ग र शब्दका पारखी कलाकार बाङ्देलप्रति श्रद्धासुमन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *