भर्खरै :

हिउँदको दिन – समय र बदाम

हिउँदको दिन – समय र बदाम

सहरभरि हिउँद आएर
दिन बिछ्याई सुकाइरहेछ
मानिसहरू त्यसैमा बसी
आ–आफ्नो समय छोडाउँदै खाइरहेछन्
मानो, बदाम हो समय
यात्रा जिन्दगीको ।

कसैलाई डढेको छ यो
कसैलाई कुहेको छ त कसैलाई टर्रो
कसैलाई भने झुरुमझुरुम मिठो
सुकाइराखेको एउटै दिनको सहभागितामा
एउटै सहरका मानिसहरूमा
समय छोडाउँदै खाइरहेकाहरूको अनुहारमा मुड फरक–फरक छ
उनीहरूको खुसी र रिसको डिग्री फरक–फरक छ
समयको स्वादको कुरा उठ्यो कि
झगडा हुने नै त्यसैले
यसलाई फेर्नुपर्ने नपर्ने कुरामा ।

सबैले रमाइलोसँग दिन काटुँ भनेर नै
बिहानैदेखि मानिसहरू आ–आफ्नो रगत पसिनाले
पोल्टा भरिभरि समय लिएर आइरहेछन्
दिन फिजाउन ल्याएको घामको नाङलोबाट
जिन्दगी नै समयको एक पोको न हो ?
अलिकति घाम र छायाँको
अलिकति हावा र हुस्सुको
अलिकति वर्षहरूको पोको यो ¤
तर एउटै थलोका मानिसहरूको भागमा पनि
समय यस्तरी काँचो–पाको, मिठो नमिठो किन हुन्छ ?
कसले कुन संस्कारमा भुटेर ल्याएको रहेछ यो समय ?

कतिले भन्छन्
हिजोको बीउ नै उन्नत छैन
समय रोप्ने यहाँको माटो र हावापानी नै ठीक छैन
त्यसको स्थापित संस्कार नै बिग्रेको छ आदि

तर चुपचाप
दिनहुँ यस सहरमा, बिहान आकाशको ढोका उघ्रनासाथ
यहाँ समयका बिस्कुनहरू सुकाइन्छन् – भित्याइन्छन्
भित्याइन्छन् र फेरि सुकाइन्छन्
सायद, आउँदा समयमा कीरा लाग्ला भनेर
समयको यस हाट–बजारमा
नपाइएला झैँ हतार–हतारमा मानिसहरू
हात परे जति समयमा
दिनहुँ आफ्ना जीवन भिजाइ लिन्छन्
तेल पोख्दा हतार–हतारमा बत्ती भिजाएझैँ
जो केही बल्छन् उज्यालिएर
केही धमिलिएर
कति त धुवाँमै सिद्धिन्छन्
यी आयुका बत्तीहरू समयका बीउ

तर समय, जो चुपचाप
प्रत्येक जीवनबाट तप्किरहेछ
प्रत्येक बस्तीबाट बगिरहेछ
चुपचाप – चुपचाप
यद्यपि विरोध छ, चुपचाप छ भित्रभित्र पनि टन्न टन्न
नफुटेसम्मको एउटा मौन युग बग्छ युग भित्रभित्र

मेरो रात र दिनको माझ–माझबाट
मेरो बिहान र बेलुकाको किनार–किनारबाट
म पनि यही समयबाट चुहिरहेको छु
तप्प…. तप्प…. यस भुइँमा
एउटा समय मबाट पनि चुहिँदै निस्किरहेछ
तप्प…. तप्प…. त्यहाँ
जहाँ यस माटोको भविष्य भरिँदै आइरहेछ ।
……
घाउ घाउबाट उठेको वेदनाको सङ्कल्प ¤
रु न्हुछेरत्न वुद्धाचार्य
आफू आफूभित्र
मैले आफैलाई चिनँे
अनि थाहा पाएँ
म त मेरो आँखालाई
घाउ घाउबाट उठेको वेदनाको
सङ्कल्प लिएर अगाडि बढिरहेका ।

द्वन्द्व अन्तद्र्वन्द्वको मनमा
मलाई भूत वर्तमान भविष्यको
आकाङ्क्षाले आह्वान गरिरहन्छ
हिजोसम्मको मेरो इतिहासमा
विवसता र बाध्यताले सताइरहन्छ
ज्वालामुखीझैँ गुनगुनभित्र जलिरहे पनि
मेरो व्यक्तिलाई बाध्यताले मौन गराइदिन्छ ।

तर, यो वर्तमानमा
आफूलाई एक पटक घुमाइदिन्छ
च्याम्पति घुमाएजस्तै यो धरातलमा
अनि आफैले रोकेर हेर्छ
त्यही बेला मेरो कानमुनि
भोकको वेदनाको आवाज गुञ्जिरहन्छ
यो अत्यासलाग्दो पथमा
यो भोकमा डुबेको व्यथाको रोदन
कान कानभित्र कहिले सुनिने
आजको यो विकराल समस्या
कहिले समाधान हुने
आफूलाई उकुसमुकुस भएर ।

अनि पाखा पर्वत चढेर डुलिरहन्छु
फेरि मेरो भेट हुन्छ प्रत्येक बस्तीमा
आँसु आँसु बगाएर कष्ट भोगिरहेकाहरू
भोका नाङ भएर हाहाकार परिरहेकाहरू ।

मेरो वर्तमानको गौरवमय अनुभवलाई
प्रत्येक घाउ घाउबाट उठेको विलापले
पीडित मानवको आँखामा
परिवर्तनको ज्वाला देखा पर्छ ।

अनि यो विरोधले पाइला टेकेको बस्तीमा
आफ्नो सङ्कल्प पूरा गर्न अघि बढिरहेका
रगत पसिना बगाएर मरी मरी बाँचिरहेकाहरूको
मुक्तिको आवाजले उन्मुक्त भएर निस्केको शक्तिले ।

यो कुहिरोले ढाकिएको
अँध्यारो आकासमा उज्यालो देखापर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *