जेलका चिट्ठीहरू पुस्तक धेरैभन्दा धेरै पाठकहरूको मनसम्म पुग्न सफल होस्
- श्रावण २, २०८३
मोहन मैनालीको २०७१ फागुनमा प्रकाशित ‘मान्ठ डराएको जुग’ बारे धेरै पहिले सुनेको थिएँ । २०८२ को वैशाखमा मात्र पढेँ । विशेषगरी माओवादी ‘जनयुद्ध’ का व्यथाहरू पुस्तकमा समावेश गरिएको छ । ६ खण्डमा विभाजित पुस्तकमा ५८ ओटा लेख छन् ।
लेखहरूले विशेषतः सर्वसाधारण जनताले माओवादी र राज्य दुवै पक्षबाट भोगेका सा¥है दुःखदायी पीडा समावेश गरिएको छ । लेखकले केही हदसम्म आवाजविहीनहरूको आवाज उठाउने प्रयास गरेका छन् । सङ्कटकालको समयमा समाचार–सूचना सङ्कलन र प्रकाशन गर्नु सजिलो त पक्कै पनि थिएन । पत्रकार पनि दुवै पक्षबाट पीडित थिए । त्यसैले लेखकले गरेको मिहिनेतलाई धन्यवाद नदिई बस्न सकिन्न । पुस्तक पढ्दै जाँदा अन्तर्राष्ट्रवादी पत्रकार जोन रिड र अन्ना लुइस स्ट्रङको सम्झना पनि गरायो । उहाँहरूले रूसी र चिनियाँ जनक्रान्तिका समाचार सङ्कलन गरेर विश्वलाई जानकारी गराउनुभएको थियो ।
लेखकले पुस्तकमा ‘जनयुद्ध’ को उत्कर्ष तथा सङ्कटग्रस्त अवस्थादेखि १२ बुँदे सहमतिसम्मको घटनाक्रम समावेश गरेका छन् । उनले तत्कालीन परिस्थितिमा जनताले भोगेको पीडासहित गाउँठाउँको वस्तुस्थिति पुस्तकमा उजागर गरेका छन् । नेपालको विकासको अवस्था र जनताको चेतनास्तर उनले समेटेको कथासँगै आएको छ । वर्गीय असमानता र त्यसले पारेका असरहरू पनि पुस्तकमा प्रस्ट देखिन्छ ।
सामन्तवादी व्यवस्थाको प्रभाव समाज र जनतामा स्पष्ट देखिन्छ । त्यसबेलाका शासक र प्रशासकहरूमा सामन्तवादी सोच हाबी देखिन्छ । तिनमा मात्र होइन यो सोच जनमुखी भनाउँदा माओवादीका नेता र कार्यकर्तामा पनि देखिन्छ । द्वन्द्वकालमा पनि आफूले भनेको मात्र हुनुपर्छ, अरूलाई दबाउनै पर्छ, आफूभन्दा सानालाई जे गरे पनि हुन्छ भन्ने व्यवहार जहानिँया राणा शासनमा भन्दा त्यत्ति फरक देखिन्छ । मान्छेको राजनीतिक र सांस्कृतिक स्तर नउठेसम्म जुनसुकै पदमा पुगे पनि, जति नै पढे पनि व्यवहारमा तात्विक भिन्नता नहुने रहेछ ।
द्वन्द्वकालमा मैनाली नेपालका विभिन्न ठाउँमा पुग्दा लगभग एकै र साझा खालका समस्या थिए । सङ्खुवासभाको खाँदबारी पुग्दा होस् या बाजुराको मार्तडी, कालीकोटको कोटबाडा, मुगुको आँम गाउँ, जुम्लाको खलङ्गा, डोल्पाको दुनै, अछामको मङ्गलसेन सबै ठाउँका समस्या र जनताको दुःख–पीडा उस्तै थियो । यातायात, खाद्यान्न, शिक्षा, स्वास्थ्य, रोजगारीको समस्या सबै ठाउँमा थियो । सबभन्दा ठुलो समस्या स्वतन्त्रताको थियो । स्वतन्त्रताको हक द्वन्द्वरत दुवै पक्षबाट खोसिएको थियो । सरकार जनअधिकार खोस्ने दौडमा थियो । स्वघोषित जनसरकार घोषणा गर्नेहरूले पनि आफ्नो प्रभाव क्षेत्रमा जनताको स्वतन्त्रताको हक अपहरण गरेका थिए । जनतालाई बाँच्नमात्र होइन सास फेर्न नै गा¥हो थियो । मुख थुनिएको, घाँटी निचोरिएको त्यो एक दुःखदायी समय थियो ।
लेखकले पुस्तकमा धेरै ठाउँका आम मानिसका दुःख समेटेका छन् । कालीकोटको कोटबाडामा एकै चिहान बनाइएका जोगीमारा, धादिङका १७ जना कामदारको घटनाले धेरैलाई दुःखी बनाउँछ । त्यो घटनामा आर्थिक, राजनीतिक र सामाजिकरूपमा पछाडि परेका चेपाङ समुदायका किशोरदेखि ६० वर्षीय वृद्धसम्म थिए । कहिले नसुनेको, कहिले नसोचेको, कल्पना र थातथलोदेखि धेरै टाढाको भूमिमा केही कमाइ गरी जीवनस्तर सुधार गर्ने आसमा उनीहरू कोटबाडा गएका थिए । युद्धमा कसैको पक्षमा नलागेका सोझा–सिधा कामदारलाई आतङ्ककारीको बिल्ला लगाइनु मान्छे मारेको भन्दा बढी पीडादायी हुन गयो, बाँचेका परिवारजनका लागि । धेरै दिनसम्म खबर नपाउनु अर्को पीडा थियो । जिउँदो नभेटे पनि मृतकहरूको शरीर हेर्न पाउनुपर्ने थियो । तर, लास पनि नपाएपछि घाँसको मुठालाई लास मानी दाहसंस्कार गर्नु कति दुःखलाग्दो थियो होला ? लास नपाएको हुनाले धेरैलाई आफ्ना छोरा, बुबा, दातइ एक न एक दिन फर्केर आउनेछन् भन्ने आस गरिरहे । तर, त्यस्तो कहिल्यै भएन ।
बाजुरा अङ्गउपानीका युवाले माओवादीको सास्ती सहन नसकी ‘लालसेनासँग प्रतिकार गर्न कालसेना’ बनाएका थिए । माओवादीलाई लखेटेका पनि थिए । त्यसको बदलामा माओवादीहरूले एकजना गाउँलेलाई मारे । पछि शाही सेनाले रातमा तास खेलिरहेको समयमा त्यो गाउँका ७ जनालाई एक चिहान बनाएको थियो । त्यसमा पनि मारिने, पिटिने र लुटिने जनसाधारण नै थिए । बारीमा काम गर्दै गरेका किसान पत्रकारले क्यामरा झिक्न खोज्दा ‘मार्न लागे है’ भनेर भाग्ने स्थिति थियो । उनै किसानले त्यो कालरात्रीलाई भनेका थिए, “मान्ठदेखि मान्ठ डराउन्या जुग ।” अर्थात्, मान्छे देखेर मान्छे डराउने समय ।
एउटा मान्छेको दाहसंस्कार कति चोटि गरिन्छ ? उत्तर आउँछ – एक पटक । तर, जुम्लामा दुई पटकसम्म जिउँदो मान्छेको दाहसंस्कार गरियो । मरे भनेर दाहसंस्कार गरेको केही समयपछि ती मान्छे पुनः फर्किन्छन् । ती त प्रतिनिधि पात्र र घटना मात्र हुन् । युद्धको समयमा धेरैजनाको त्यस्तो भएको हुनुपर्छ । मान्छे हराउँदा पनि मारियो होला भनेर दाहसंस्कार गर्नुपर्ने कहालिलाग्दो अवस्था थियो । हाम्रोमा केही हजार मान्छे मारिँदा त यस्तो स्थिति छ भने लाखौँ सर्वसाधारण मारिएका, बेघर बनाइएका, थातथलोबाट लखेटिएका प्यालेस्टिन र प्यालिस्टिनी जनताको दशा अझ कस्तो होला ? अमेरिकी आक्रमणपछिको भियतनाम, कम्बोडिया, इन्डोनेसियाको अवस्था कस्तो थियो होला ? हाम्रो कल्पनामा त्यो दृश्य अटाउन सक्दैन ।
कर्णालीलगायत विकट ठाउँमा खाद्य संस्थानले बिक्री–वितरण गर्ने केही चामलले दुर्गम जिल्लाको चित्र उतारेको छ । व्यवस्थाले विकट भेगलाई परनिर्भर बनाएको छ । शासक दलका नेता, सरकार र अचेत जनताको सोच, दिमाग र नीतिमा नै परनिर्भरता झल्किन्छ । खाद्य–संस्कृतिबारे राम्रो जनचेतना र दिगो कृषिसम्बन्धी तालिम दिएको भए त्यो अवस्था पक्कै आउने थिएन । हाम्रो देशका धेरै भूभागमा चामलको मात्र खाद्य सुरक्षा नभएको हो । अन्य खाद्यान्न बालीले हामीलाई खान नपुग्ने होइन । भारतलाई सम्पन्नताको प्रतीक मान्नुले पनि ठुलो समस्या निम्त्याएको छ । मधुमेहलगायत रोग र स्वास्थ्यसम्बन्धी चेतनाले बिस्तारै त्यो मान्यता धेरै हटिसकेको छ ।
लेखक मैनालीले भनेअनुसार माओवादी कार्यकर्तालाई केही कुरा घोकाइएको हुन्थ्यो । त्यही शब्द र विचार उनीहरू एकोहोरो दोहो¥याउने गर्थे । मुगुमा जनवादी शिक्षा लागु गरिएको क्षेत्रका एक कमान्डर नै जनवादी शिक्षाबारे अस्पष्ट थिए । राज्यसत्ता कब्जा र जातीय मुक्तिको कुरा मात्र धेरै प्रचार गरिएको थियो । साम्यवाद, समाजवाद, माक्र्सवाद र लेनिनवादबारे जनतालाई शिक्षित गर्ने, आधार तयार गर्ने काम खासै गरिएको थिएन । माओवादीहरू माओ विचारधारा स्वीकार गर्न तयार थिएनन् । माओले नै नभनेको ‘माओवाद’ मा भुलेका थिए । जनतालाई शिक्षित नगरी हतियार थमाउनु, राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति अनुकूल नहुँदै सशस्त्र सङ्घर्ष गर्नुले देश र जनतालाई फाइदा नभएको समयले पुष्टि गरिसकेको छ । माओवादी द्वन्द्वले एक किसिमले समाजवादी आन्दोलनलाई नै एक कदम पछाडि धकेल्ने काम ग¥यो ।
फाइनप्रिन्टद्वारा प्रकाशित ‘मान्ठ डराएको जुग’ को कभर डिजाइन, भाषाशैली र लेखनी आकर्षक छ । जनताको लुकेको इतिहास, घटना, पीडा, दुःखकष्ट निकै मिहिनेत गरेर ज्यान हत्केलामा राखी सङ्कलन र प्रकाशन गर्नुहुने लेखकलगायत सहयोगी सबैमा हार्दिक नमन ।
Leave a Reply