जेलका चिट्ठीहरू पुस्तक धेरैभन्दा धेरै पाठकहरूको मनसम्म पुग्न सफल होस्
- श्रावण २, २०८३
सन्दर्भ : मे २० भुस्याहा कुकुर उद्धार दिवस
सन्दर्भ १ : एक समयको कुरा हो, एउटी महिलाले आफूलाई कहिल्यै कल्पना नगरेको निर्णयको सामना गर्नुप¥यो । नचाहिने, तयार नभएको र आफ्नो स्वास्थ्यको बारेमा प्रश्नहरू बोकेर, उनले आफूले गर्भमा रहेको बच्चा चाहिँदैन भन्ने निर्णय गरिन् । तर, परिस्थिति फरक थियो । गर्भपतन गराउने उनको इच्छाविपरीत शारीरिक अवस्थाले अनुमति नदिएपछि उनले बच्चालाई जन्म दिइन् । सुरुआती दिनहरू अनिश्चितता, असुविधा र सम्बन्धको अभावले भरिएका थिए । तैपनि, समय बित्दै जाँदा, केही सुन्दर घटना घट्यो । पहिले टाढा धकेल्न चाहेको त्यो बच्चाले बिस्तारै उनको मनमा कब्जा जमाउन थाल्यो । हरेक रुवाइ, हरेक मुस्कान र हरेक सानो क्षणसँगै, बच्चाप्रति उनको माया बढ्दै गयो । पहिले अनावश्यक बोझजस्तो लाग्ने कुरा उनको जीवनको सबैभन्दा ठुलो आनन्द बन्यो ।
सन्दर्भ २ : मलाई गल्ली कुकुर सा¥है मन पर्दैन । सडकभरि फोहर गर्ने । रातभरि भुकेर निद्रा बिगार्ने । अझै टोक्यो भने रेबिज सुई लिनुपर्नेजस्ता अनेक कारणले गल्ली कुकुरप्रति मेरो कहिल्यै राम्रो धारणा बनेन । वर्षौँसम्म म गल्ली कुकुरहरूबाट टाढा बसेँ । मलाई कुकुर मन परेनन् – कुकुरको गन्ध र कुकुरको सम्भावितरूपमा आक्रामक हुने डर । म भुस्याहा कुकुरहरूलाई उपद्रवसँग जोड्थेँ । तर, एक दिन, मैले नराम्ररी घाइते भएको एउटा सानो बच्चा कुकुर देखेँ । उनको घाउ ठुलो कुकुरको आक्रमणबाट भएको जस्तो देखिन्थ्यो । ऊ कमजोर थियो, पीडाले काँपिरहेको थियो । उप्रति अनायास मेरो मनमा दया जाग्यो । मैले उसलाई दूध, केही बिस्कुट दिएँ । भेटनरी डाक्टरको सल्लाहमा सामान्य उपचारको रूपमा बेटाडिन र दूधमा थोरै सिटामोल राखेर ख्वाएँ । केही दिनमा कुकुर हिँड्न थाल्यो । अनि अचम्मको कुरा, मैले आफूलाई ऊसँग नजिक भएको महसुस गरेँ । बिस्तारै तर निश्चितरूपमा कुकुरप्रति मेरो भावना परिवर्तन भयो । पहिले भुस्याहा कुकुरहरूलाई घृणा गर्ने म, अब एउटा कुकुरप्रति स्नेह महसुस गर्न थालेँ ।
तर, दुर्भाग्यवस केही दिनपछि उक्त कुकुरको मृत्यु भयो । उसको बिदाइले मलाई स्तब्ध बनायो । म अत्यन्तै दुःखी भएँ र मैले मेरा भावनाको गहिराइ महसुस गरेँ । म, जसले कहिल्यै भुस्याहा कुकुरहरूलाई मन पराउँदैनथेँ, कसरी त्यस्तो कुकुरप्रति यति धेरै दया गर्न सक्छु र ? यो परिस्थितिले आमा र बच्चाको कथालाई पनि चित्रण गर्दछ – कसरी प्रारम्भिक अनिच्छा साँचो प्रेममा परिणत भयो । पहिले नचाहिने कुरा मायामा परिणत भयो । मलाई लाग्यो, त्यस गल्ली कुकुर नै नभई दिएको भए केही दिनको लागि भए पनि मैले दुःख मनाउ गर्नुपर्ने थिएन ।
यस्तो विरोधाभाष विचार जन्मिनुको कारण !
यस्तो विरोधाभाष विचार जन्मिनुको मूल कारण मानव भावनाको लचकता र अनुभवको शक्ति हो । व्यक्ति प्रत्यक्ष अनुभवसँग जुध्दा प्रारम्भिक धारणा भावनात्मक सम्पर्कले परिवर्तन हुन थाल्छ । चाहे त्यो अनिच्छित मातृत्व होस् वा गल्ली कुकुरप्रतिको घृणा, प्रत्यक्ष अनुभवले सहानुभूति र माया विकास गराउँछ, जसले पहिलाको सोचलाई उल्ट्याउन सक्छ । यही परिवर्तनशीलताले नै विरोधाभाष उत्पन्न गराउँछ ।
आजको समाजमा भुस्याहा कुकुर बचाउनुपर्ने माग बढ्नुको मूल कारण मानिसहरूको भावनात्मक परिवर्तन र अनुभवजन्य सहानुभूति हो । पहिले उपेक्षित र घृणास्पद ठानिएको गल्ली कुकुरप्रति मानिसहरूको दृष्टिकोण प्रत्यक्ष सम्पर्कपछि परिवर्तन हुँदै गएको छ । कोही व्यक्तिले घाइते वा असहाय कुकुर देख्दा उसमा दया र स्नेह उत्पन्न हुन्छ र त्यसको हेरचाह गर्छ । यही अनुभवले मान्छेलाई पशुहरू पनि पीडामा हुन्छन्, माया गर्न सक्छन् भन्ने महसुस गराउँछ । साथै, सामाजिक सञ्जालमा कुकुर उद्धारका कथाहरू, तस्बिर र भिडियोहरूले भावनात्मक प्रभाव पार्ने भएकाले समाजमा सहानुभूतिको लहर चल्न थालेको छ । पशु अधिकारप्रतिको चेतना पनि क्रमशः बढ्दै गएको छ । यसरी, प्रारम्भिक अनिच्छा वा घृणाबाट उत्पन्न माया र सम्बन्ध नै अहिलेको संरक्षणवादी सोचको मूल प्रेरणा बनेको देखिन्छ । फलस्वरूप गल्ली, सडक र चोकभरि भुस्याहा कुकुरको बिगबिगी बढ्दै जाँदा फोहर पनि उतिकै बढ्दै गएको छ भने अर्कोतिर अस्पतालमा रेबिजको सुई लिइने सङ्ख्या पनि बढ्दै गएको छ ।
समाधानका उपाय के ?
मानिसहरू रोग प्रतिरोधात्मक क्षमतामा पुग्दा (खोप वा अघिल्लो सङ्क्रमणमार्फत), यसले फैलावटमा असम्भव बनाउँछ र प्रतिरक्षा नभएकाहरूलाई बचाउँछ ।
बथान रोग प्रतिरोधात्मक क्षमताको अवधारणा कुकुरजस्ता जनावरहरूमा पनि लागु हुन्छ । रेबिज नियन्त्रणको लागि यदि समुदायमा ७० प्रतिशतभन्दा बढी कुकुरहरूलाई खोप लगाइन्छ भने रेबिज भाइरसको फैलावट प्रभावकारीरूपमा अवरुद्ध हुन्छ । यसले खोप नलगाइएका कुकुरहरूलाई पनि (र मानिसहरूलाई पनि) बचाउँछ, किनभने भाइरस अब सजिलैसँग प्रसारित हुनसक्दैन । यसैले रेबिज रोकथामको लागि सामूहिक कुकुर खोप अभियान महत्वपूर्ण हुन्छ । ७० प्रतिशतले खोप लिनुपर्ने बथान रोग प्रतिरोधात्मक क्षमता प्राप्त गर्न आवश्यक वैज्ञानिकरूपमा स्थापित थ्रेसहोल्ड हो । कभरेजको यो स्तर पुगेपछि, रेबिज भाइरसको प्रसारण उल्लेखनीयरूपमा कम हुन्छ, जसले खोप लगाइएका कुकुरहरूलाई मात्र होइन खोप नलगाइएकालाई पनि बचाउँछ ।
यद्यपि, नगरपालिकाले प्रायः राम्रो नियतका साथ रेबिज खोप अभियानहरू सुरु गर्छ तर यी कार्यक्रममा प्रायः निरन्तरता र अनुगमनको अभाव भएको विगतको अनुभवले देखाएको छ । फलस्वरूप, अभियान आवश्यक कभरेजमा पुग्न असफल हुन्छ, जसले गर्दा कुकुरको सङ्ख्या बढ्ने दर कहिल्यै नियन्त्रण हुँदैन । फलस्वरूप समुदायभित्र रेबिजको खतरा कायम रहन्छ ।
यस्ता पहलहरूको सफलता सुनिश्चित गर्न नगरपालिकाले रेबिज खोप कार्यक्रममात्र सुरु गर्दा कमसेकम ७० प्रतिशत लक्ष्य पूर्णरूपमा प्राप्त नभएसम्म तिनीहरूलाई निरन्तररूपमा कायम राख्नुपर्छ । निरन्तर अनुगमन, उचित योजना र सक्रिय जनसहभागिता आवश्यक छ । निरन्तर प्रयास र प्रतिबद्धताबिना, राम्रो नियत भएका कार्यक्रमहरू पनि अप्रभावी हुने जोखिम हुन्छ । कुकुर र मानव जनसङ्ख्या दुवैलाई रेबिजको घातक जोखिमबाट जोगाउन यो लक्ष्य हासिल गर्नु महत्वपूर्ण छ । यसको अतिरिक्त नगरपालिकाले रेबिज खोप अभियान सुरु गर्दा एकैसाथ कुकुरको बन्ध्याकरण कार्यक्रम सुरु गर्नुपर्छ । यो दोहोरो उपायले रेबिजको फैलावटलाई नियन्त्रणमात्र गर्दैन, बिस्तारै भुस्याहा कुकुरको सङ्ख्यालाई घटाउँछ, जसले गर्दा रेबिज–मुक्त र भुस्याहा कुकुर–मुक्त नगरपालिका बन्नेतर्फ अग्रसर हुन्छ । यदि यस्तो हुने हो भने अन्ततः मानिसहरूले भुस्याहा कुकुरप्रति देखाउने सहानुभूति आफैँ हराउँदै जान्छ ।
खोप कार्यक्रमको आर्थिक लाभ
रेबिज उपचारको लागत मानिस र कुकुर दुवैको लागि धेरै उच्च हुन्छ । भक्तपुर नगरपालिकाले रेविज सुईकै लागि ख्वप अस्पतालमा थुप्रै रकम खर्च गर्नुपरेको अवस्था छ । रोकथामका उपायमा लगानी गरेर नगरपालिकाले उल्लेखनीय रकम बचत गर्न सक्छ । त्यस्तै गरी सङ्क्रमित कुकुरहरूको उपचार र रोगको प्रकोप व्यवस्थापन गर्नु स्थानीय सरकारको लागि महँगो पर्छ । यदि नगरपालिकाले भुस्याहा कुकुरलाई खोप लगाउने र रेबिज हुनुभन्दा पहिले नै फैलिनबाट रोक्नमा ध्यान केन्द्रित गर्ने हो भने उपचारसँग सम्बन्धित लागत घट्छ । खोप कार्यक्रमले दीर्घकालीनरूपमा पैसा बचतमात्र गर्दैन, रेबिज सङ्क्रमणको जोखिम कम गरेर जनस्वास्थ्य र सुरक्षामा पनि सुधार गर्दछ । सङ्क्रमणपछिको उपचारको लागतको तुलनामा, रोकथामका उपायहरू धेरै लागत–प्रभावी र समुदायको लागि लाभदायक छन् ।
यी अभियानमा समुदायको भूमिका
भुस्याहा कुकुर उन्मूलन अभियान केबल नगरपालिकाको प्रयासमा मात्र हुन सक्दैन । यसका लागि समुदायको सक्रिय सहभागिता आवश्यक छ । बासिन्दाहरूलाई जिम्मेवार घरपालुवा जनावरको स्वामित्व, बन्ध्याकरणको महत्व र जनावरहरूको मानवीय व्यवहारको बारेमा जानकारी गराउन जनचेतना अभियान आवश्यक छ । कुकुर पाल्नेहरूहरूलाई कुकुर प्रजननकर्ताबाट किन्नुको सट्टा आश्रयस्थलहरूबाट कुकुरहरू पाल्न प्रोत्साहित गर्नाले सडकमा आउने अनावश्यक कुकुरको सङ्ख्या पनि घटाउन सकिन्छ ।
Leave a Reply