भर्खरै :

सामाजिक रुपान्तरणमा ‘लु सुन’ को योगदान

काठमाडौँ, १९ फागुन (रासस) ः साहित्यको माध्यमबाट सामाजिक रुपान्तरण तथा राजनीतिक परिवर्तनमा चिनियाँ साहित्यकार ‘लु सुन’ को महत्वपूर्ण भूमिका रहेको औँल्याइएको छ ।
देवकोटा–लु सुन प्रज्ञा–प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘लु सुनका निबन्ध ः सामाजिक तथा राजनीतिक महत्व’ विषयक अन्तक्र्रियाका वक्ताले लु सुनका निबन्धले अन्तर्राष्ट्रिय रुपमै सामाजिक चेतना अभिवृद्धि गर्न योगदान पुगेको बताए ।
चीनका विभिन्न प्रान्तबाट आएका विज्ञहरुले साहित्यकार लु सुनको साहित्यिक जीवन र चिनियाँ सांस्कृतिक क्रान्तिमा पु¥याएको योगदानको व्याख्या गर्दै आजको सन्दर्भमा पनि लुका सांस्कृतिक दर्शन सान्दर्भिक भएको उल्लेख गरे ।
नेपाली लेखक तथा साहित्यकारको जमघट रहेको उक्त कार्यक्रमका चिनियाँ साहित्यकार लु नेपालको कम्युनिष्ट आन्दोलनका लागि प्रेरक भएको पनि व्याख्या गरिएको थियो ।
कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले चिनियाँ साहित्यका पिताका रुपमा मानिने साहित्यकार लु सामाजिक रुपान्तरण अभियन्ताका रुपमा पनि स्थापित भएको र उहाँका ग्रन्थ नेपाली अध्येताका लागि उपयोगी हुने बताउनुभयो ।
उहाँले साहित्यको माध्यमबाट दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन प्रतिष्ठानले आफ्नो भूमिकालाई बढाएको सन्दर्भमा यस्ता कार्यक्रमले आपसी संस्कृति प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गर्नुभयो ।
देवकोटा लु सुन प्रतिष्ठानका अध्यक्ष निनु चापागार्इंले चीनको आधुनिक साहित्यका प्रवद्र्धक लु चिनियाँ सांस्कृतिक क्रान्तिको रुपान्तरण तथा नेपालको कम्युनिष्ट आन्दोलनका प्रेरक भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा लु सुन सङ्ग्रहालय बेइजिङका कार्यकारी निर्देशक हुवाङ कियाओसेङ, विज्ञहरु वाङ जियापिङ, झाओ जिनहु, दोङ विन्गुये र जियाङ यिछिनले लुका विविध पक्षबारे उल्लेख गर्दै उहाँको सिर्जनात्मक निबन्धले चीनको सांस्कृतिक क्रान्तिलाई अघि बढाउन महत्वपूर्ण योगदान पुगेको बताउनुभयो ।
सो अवसरमा लुका शास्त्रीय शैलीका कविताहरु द्विभाषीय संस्करण’ नामक कृति नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले विमोचन गर्नुभएको थियो । लुका कवितालाई नेपाली र अंग्रेजी भाषामा अनुवाद गरिएको छ ।
त्यसैगरी, नेपालमा लु सुनबारे पहिचान गराउन योगदान पु¥याउने साहित्यकार शान्तदास मानन्धरलाई नगद रु ५० हजारसहित सम्मान गर्ने घोषणा गरियो । उक्त पुरस्कार आगामी कार्यक्रममा प्रदान गरिने संस्थाले जनाएको छ ।
साहित्य क्षेत्रबाट समाजमा भएका विकृतिबारे चिरफार गर्ने लु सुनले शुरुमा आलोचनात्मक ढंगले समाजलाई बदल्न महत्वपूर्ण योगदान गर्नुभएको थियो । उहाँका सामाजिक तथा राजनीतिक परिवर्तनसँग जोडिएका धेरै कृति छन् जुन चीनमा मात्र नभई अन्य एशियाली मुलुकमा समेत चर्चित छन् ।
चिनियाँ कम्युनिष्ट पार्टीका तत्कालीन सर्वोच्च नेता माओत्सेतुङले साहित्यकार लु सुनलाई चीनको सांस्कृतिक क्रान्तिको कमाण्डरको रुपमा समेत व्याख्या गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *