भर्खरै :

विश्वको रक्षा क्षेत्रमा चीनको योगदान

  • जेष्ठ ६, २०८२
  • लेङ शुमेइ
  • विचार
विश्वको रक्षा क्षेत्रमा चीनको योगदान

(विश्व अभूतपूर्व रूपान्तरणको प्रक्रियाबाट गुज्रिरहेको छ । संसार अहिले एउटा सङ्गीन मोडमा छ । शान्ति, विकास, सुरक्षा र सुशासनमा भएको ठुलो खाडलसँग जुध्दै छ । उथलपुथलको यो समयमा मानव जातिले अपूर्व चुनौतीको सामना गर्दै छ । चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा चिनियाँ राष्ट्रपति सी चिनफिङले तीन महत्वपूर्ण नीति अघि सार्नुभएको छ । विश्व विकास अगुवाइ (जीडीआई), विश्व रक्षा अगुवाइ (जीएसआई) र विश्व सभ्यता अगुवाइ (जीसीआई) । यी मूल्यवान अगुवाइले हाम्रो युगका जल्दाबल्दा मुद्दालाई सम्बोधन गर्छन् । यिनले उचित उपाय सुझाउँछन् र साझा भविष्ययुक्त विश्व समुदायको निर्माणप्रति सजीव समर्थन जुटाउँछन् । यी नीति चिनियाँ कम्युनिस्ट पार्टीको शताब्दी लामो सङ्घर्षको समृद्ध ऐतिहासिक अनुभवमा आधारित छ । त्यस्तै यी नीति चीनको परम्परागत संस्कृतिको विवेकसँग घनिष्ट छन् । यी अगुवाइले साझा प्रगति र स्थिरताको खोजीमा सारा संसारलाई एकताबद्ध गर्ने सोचिएको छ ।
यी तीन विश्व अगुवाइको गहिरो बुझाइका लागि विश्व स्तरमा तिनको महत्व उजागर गर्नु आवश्यक छ । हालै चीनले राष्ट्रिय सुरक्षासम्बन्धी श्वेतपत्र सार्वजनिक गरेको छ । यसलाई विश्व र चीनका विज्ञहरूले विश्व सुरक्षा अगुवाइको कोणबाट व्याख्या गर्दै छन् ।– सम्पादकको टिप्पणी)

चीनको राज्य परिषद् सूचना कार्यालयले गत सोमबार नयाँ युगमा चीनको राष्ट्रिय सुरक्षा नीतिबारे पहिलो श्वेतपत्र जारी ग¥यो । श्वेतपत्रले व्यवस्थित रूपमा राष्ट्रिय सुरक्षालाई लिएर चीनको सर्वपक्षीय दृष्टिकोणबारे पहिलोपल्ट सैद्धान्तिक आधार उजागर गरेको छ ।
श्वेतपत्रमा जनाएअनुसार जनगणतन्त्र चीनको स्थापना यता राष्ट्रिय सुरक्षालाई लिएर चीनको सर्वपक्षीय धारणा पहिलो प्रमुख सामरिक सोचको परिणाम हो । यसलाई राष्ट्रिय सुरक्षा प्रयासको मार्गदर्शक सिद्धान्तको रूपमा स्थापित गरिएको छ । यो ‘नयाँ युगका लागि चिनियाँ विशेषतायुक्त समाजवाद’ को सी चिनफिङ विचारको महत्वपूर्ण अङ्ग हो । वास्तवमा यो विश्व समुदायप्रति समकालीन चीनको प्रमुख सैद्धान्तिक देन हो ।
श्वेतपत्रले ‘जीएसआई’ लाई राष्ट्रिय सुरक्षासम्बन्धी चीनको सर्वपक्षीय धारणाको ‘विश्व अध्याय’ को रूपमा प्रस्तुत गर्नु अर्थपूर्ण छ । ‘जिएसआई’ले मानव जातिको साझा भविष्यसँग जोड र विश्व समुदायको सुरक्षा दृष्टिकोणलाई रेखाङ्कित गरेको छ । यसले राष्ट्रिय सुरक्षासम्बन्धी सर्वपक्षीय धारणालाई विश्वव्यापी कोण दिएको छ ।
विकास र समयको बदलावसँगै राष्ट्रिय सुरक्षाका पाटा पक्षहरू निरन्तर फैलिँदै छन् । अन्तर्राष्ट्रिय परिस्थिति झन्झन् पेचिलो र चर्को बन्दै छ । यस सन्दर्भमा राष्ट्रिय सुरक्षाबारे श्वेतपत्र जारी हुनु निकै उल्लेखनीय घटना हो । यसबाट जनसाधारणलाई राष्ट्रिय सुरक्षाको क्षेत्र र उपादेयता बुझ्न सजिलो हुनेछ । समकालीन अन्तर्राष्ट्रिय सम्बन्धको चिनियाँ संस्थानमा कार्यरत रक्षाविद् तथा अध्येता लि वेइको विचार हो यो ।
बदलिँदो माहोलमा यो श्वेतपत्रले सबैलाई राष्ट्रिय सुरक्षासम्बन्धी अझ वैज्ञानिक, विस्तृत एवम् वस्तुगत बुझाइ बनाउन तथा जागरुकता ल्याउन मद्दत गरेको छ – उनले भने ।
वाङ यिवेइ चीनको रेनमिन विश्वविद्यालय सम्बद्ध विशेष अध्येता हुन् । उनको विचार पनि लि वेइकै जस्तो छ । उनले राष्ट्रिय सुरक्षाको अवधारणामा घरेलु तथा अन्तर्राष्ट्रिय सुरक्षा दुवैलाई समेटिएको बताए । साथै, तनावपूर्ण र पेचिलो अन्तर्राष्ट्रिय स्थितिबिच यी दुई पक्षबिचको सीमारेखा बिस्तारै धमिलो बन्दै गएको उनले प्रस्ट पारे । कृत्रिम बौद्धिकताको शासन र पर्यावरणीय व्यवस्थापनजस्ता चुनौती बढिरहेको सन्दर्भमा रक्षाको क्षेत्रमा नयाँ समस्याहरू थपिएको अध्येता वाङले जोड दिए ।
राष्ट्रिय सुरक्षासम्बन्धी चीनको सर्वपक्षीय धारणा अमेरिकाको प्रभुत्वमा आधारित सुरक्षा व्यवस्थाभन्दा नितान्त भिन्न छ । अमेरिकामुखी सुरक्षामा जोड दिनुको साटो चीनको जोड विश्व समुदायको साझा सुरक्षामा छ । चीनले किन ‘जीएसआई’ अगुवाइको प्रस्ताव गर्नुको कारण पनि यही हो । प्रभुत्ववादविहीन साझा तथा दिगो सुरक्षाको नयाँ युगको रचना गर्नु नै राष्ट्रिय सुरक्षासम्बन्धी चीनको सर्वपक्षीय धारणाको मर्म हो – वाङले भने ।

चिनियाँ विवेक
सन् २०२२ अप्रिलमा राष्ट्रपति सी चिनफिङले बोआओ गोष्ठीमा ‘जीएसआई’ अगुवाइको प्रस्ताव राख्नुभयो । उहाँले विश्वका सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्न, शान्तिमा पुगेको चोट भर्न र विश्वभरि साझा सुरक्षा संवद्र्धन गर्न चिनियाँ विवेक, समाधान तथा सबलता अघि सार्नुभयो ।
‘जीएसआई’ को अवधारणापत्र सन् २०२३ मा प्रकाशित भयो । त्यसमा चीनले त्यस अगुवाइका मूल विचार र सिद्धान्तको व्याख्या ग¥यो । राष्ट्रसङ्घको बडापत्रमा स्थापित लक्ष्य तथा सिद्धान्तप्रति पूर्ण प्रतिबद्धता जनाउँदै, संसारका सम्पूर्ण देशको वैध सुरक्षा चासोमा गम्भीर ध्यान दिँदै र संवाद–परामर्शको माध्यमबाट विभिन्न देशबिच आपसी मतभेद र विवाद शान्तिपूर्वक समाधान गर्दै अघि बढ्नुपर्ने चीनले आफ्नो विचार र सिद्धान्त सबैसामु राख्यो ।
‘जीएसआई’ लाई राष्ट्रिय सुरक्षासम्बन्धी चीनको सर्वपक्षीय धारणासँग जोड्दै र त्यसलाई विश्व समुदायको साझा भविष्यसँग जोड्दै श्वेतपत्रले साझा भविष्ययुक्त विश्व समुदायको निर्माणका लागि सुरक्षाका दृष्टिले विशिष्ट योजना उपलब्ध गराएको अध्येता वाङको बुझाइ छ ।
श्वेतपत्रअनुसार ‘जीएसआई’ ले विश्व शान्ति कायम गर्ने र द्वन्द्व टार्ने अन्तर्राष्ट्रिय समुदायको तत्कालीन आवश्यकतालाई सम्बोधन गरेको छ । यसमा विश्वका बहुमत देशको आकाङ्क्षा प्रतिबिम्बित भएको छ । त्यो आकाङ्क्षा प्रभुत्ववाद र धाकधम्कीको ठाउँमा सबै पक्ष विजयी हुने साझेदारी हो । साथै, दिगो शान्ति तथा सबैको सुरक्षाको मानव जातिको साझा खोज पनि हो । विश्व रक्षा अगुवाइले विश्वभरि भइरहेका द्वन्द्वको मूल कारण उन्मूलन गर्ने, विश्वका सुरक्षा चुनौतीहरूको सामना गर्ने र विश्वको रक्षा व्यवस्था सुधार्ने नयाँ मार्ग अघि सारेको छ ।
चीन ‘जीएसआई’ अगुवाइको सक्रिय प्रवक्ता मात्र होइन, त्यसको दृढ अभ्यासकर्ता पनि हो ।
श्वेतपत्रमा जनाइएअनुसार सन् २०२४ को मेसम्ममा चीनले राष्ट्रसङ्घका ३० भन्दा बढी शान्ति मिसनमा ५० हजारभन्दा बढी शान्तिसेना पठाएको छ । यी मिसन विश्वका २० भन्दा बढी देश तथा क्षेत्रमा पठाइएको थियो । चीनले विश्वका ७७ देश तथा क्षेत्रमा ३० हजारभन्दा बढी स्वास्थ्यकर्मी पठाएर विश्वका कम्तीमा ३० करोड बिरामीलाई सेवा दिएको थियो ।
चीनले विश्वका सबैभन्दा चुनौतीपूर्ण क्षेत्रीय द्वन्द्व समाधान गर्न रचनात्मक भूमिका खेलेको छ । अन्योलपूर्ण माहोलमा विश्वमा निश्चय र सकारात्मक ऊर्जा भर्न चीनले अहम् भूमिका खेलेको श्वेतपत्रमा उल्लेख छ । युक्रेन सङ्कटलाई लिएर चीनले त्यसको राजनीतिक समाधानका निम्ति आफ्नो अडान सार्वजनिक गर्दै अवधारणापत्र जारी ग¥यो । मध्यस्थ कूटनीतिमा सहभागी हुँदै चीनले शान्तिवार्तामा जोड दियो । चीनले साउदी अरब र इरानबिच भएको सम्झौतामा सहजीकरण ग¥यो । चीनकै पहलमा प्यालेस्टिनी समूहहरूले आपसी मतभेद अन्त्य गर्दै प्यालेस्टिनको राष्ट्रिय एकता सुदृढ बनाउन पेइचिङ घोषणापत्रमा हस्ताक्षर गरे ।
चीन साँचो बहुपक्षीयतामा कटिबद्ध छ । अन्तर्राष्ट्रिय कानुनको परिपालनमा चीन प्रतिबद्ध छ । विश्वको रक्षामूलक शासन व्यवस्थालाई अझ न्यायी, समतामूलक र बहुसङ्ख्यक देशको हित तथा आकाङ्क्षाप्रति जवाफदेही बनाउने दिशामा सुधारका लागि तयार छ । यो धारणाले विश्वका चुनौतीहरू सम्बोधन गर्न आवश्यक खाँचोहरू पूर्ति गर्ने श्वेतपत्रमा जनाएको छ ।
विश्वलाई चीनको देन
विगत तीन वर्षमा ‘जीएसआई’ विश्वको सुरक्षामा चीनको तर्फबाट महत्वपूर्ण देन छ । यसले सकारात्मक भूमिका खेलेको छ भने व्यापक समर्थन पनि प्राप्त गरेको छ । यसमा वर्तमान समयको माग तथा व्यवहारिक पक्ष झल्किन्छ । यसका साथै ‘जीएसआई’ अगुवाइले विश्व शान्ति तथा विकासको भद्र उद्देश्यमा लाभ पु¥याइरहनेछ ।
‘जीएसआई’ कार्यान्वयन हुँदै गर्दा विश्वका धेरै देश, क्षेत्र तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाले यसलाई मान्यता दिएका छन्, यसलाई बुझ्दै छन् र साथ समर्थन दिँदै छन् ।
श्वेतपत्रमा जनाएअनुसार सन् २०२४ को अन्त्यसम्ममा ‘जीएसआई’ले ११९ देश तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाको समर्थन र सम्मान हासिल गरेको छ । विश्वका १२३ द्विपक्षीय तथा बहुपक्षीय राजनीतिक दस्ताबेजमा यसलाई उद्धृत गरिएको छ ।
चीन र ब्राजिलले सुरक्षाको क्षेत्रमा सहकार्य गर्नसक्ने विषयमा बोल्दै रियो दि जेनेरियो सहरकी सांसद मारिना दोस सान्तोसले नागरिकको सुरक्षामा राज्य प्रभावकारी रहनुपर्ने बताइन् । खासगरी चीनबाट जनसुरक्षाको महत्वपूर्ण पाठ सिक्नुपर्नेमा जोड दिँदै उनले भनिन्, “निजी सुरक्षा र भौतिक सम्पत्तिको सुरक्षाको कुरा मात्र होइन, मान्छेको जीवनस्तर तथा सुस्वास्थ्य प्रवद्र्धनमा पनि सुरक्षाको प्रयोग गर्नुपर्छ भन्ने हो ।”
चीनले अघि सारेका प्रमुख विश्व अगुवाइ (जीडीआई, जीएसआई र जीसीआई) साझा भविष्ययुक्त समुदायको निर्माण गर्नमा महत्वपूर्ण रणनीतिक मार्गदर्शक बनेका छन् । यी तीन अगुवाइले विकास, सुरक्षा र सभ्यताको आयामबाट मानव समाजको प्रगतिको दिशातर्फ औँल्याउँछन् । यिनीहरू आफैमा एकअर्काका परिपुरक पनि हुन् । साझा भविष्यसहितको समुदाय निर्माणको लागि यी अगुवाइले महत्वपूर्ण आधार दिन्छन् । साथै, यी अगुवाइले मानव जातिले शान्ति तथा विकासको बाटोमा तेर्सिने महत्वपूर्ण मुद्दाको चिनियाँ समाधान पस्किन्छन् । अध्येता वाङको बुझाइ यस्तै छ ।
यी तीन विश्व अगुवाइले के देखाउँछन् भने विश्व सुशासनमा चीनको मनोबल सचेत प्रयत्नमा रूपान्तरण हुँदै छ† यसमा घरेलु सुधारहरूलाई योजनाबद्ध रूपमा आपसमा जोड्ने, विश्व सुशासनप्रति खुला रहने र शासन व्यवस्था तथा क्षमताको आधुनिकीकरणलाई सक्रियतापूर्वक अघि बढाउने कार्यहरू पर्छन् – अध्येता वाङले औँल्याए ।
पछिल्लो श्वेतपत्रमा ‘जीएसआई’ अगुवाइको विस्तृत व्याख्या आए जस्तै साझा भविष्यसहितको विश्व समुदायको निर्माणलाई व्यवहारिकरूपमै प्रवद्र्धन गर्ने विशिष्ट दृष्टिकोण तथा योजना ल्याउन चीनले अगुवाइ गर्ने वाङको अपेक्षा छ ।

स्रोत : ग्लोबल टाइम्स 
अनुवाद : सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *