क्युवाले डाक्टर पठायो, वाशिङटनले एउटा डिस्ट्रोयर !
- बैशाख ४, २०८३
गत अप्रिल २२ को दिन भारत प्रशासित कास्मिर क्षेत्रको पहलगाम भन्ने ठाउँमा केही बन्दुकधारीहरूले कम्तीमा २६ जना तीर्थयात्रीको हत्या गरे (जसमा एक जना नेपाली पनि थियो) । भारत सरकारले ती बन्दुकधारीहरू कास्मिर प्रतिकार मोर्चा नामको सङ्गठनसँग आबद्ध भएको र सो समूहको सम्बन्ध लस्कर ए तैबा नामको पाकिस्तानी अतिवादी समूहसँग भएको दाबी गर्यो । विगतमा भारतमाथि भएका सशस्त्र हमलाहरू (उदाहरणको लागि सन् २००८ मा भएको मुम्बई आक्रमण) मा पनि लस्कर ए तैबाको संलग्नता भएको र त्यो समूहलाई पाकिस्तान सरकारले संरक्षण दिँदै आएको भारतको आरोप छ । त्यसकारण, अप्रिल २२ मा भएको घटनाको निम्ति मुख्यतः पाकिस्तान सरकार जिम्मेवार भएको उसको ठहर हो ।
पहलगाम घटनालाई नै आधार बनाएर भारत सरकारले ६५ वर्षअघि भारत र पाकिस्तानबिच भएको सिन्धु (इन्डस) जल सन्धिबाट पनि फिर्ता हुने घोषणा गर्यो । जवाफमा पाकिस्तान सरकारले पहलगाम घटनामा आफ्नो कुनै संलग्नता नभएको स्पष्टीकरण दिँदै त्यही बहानामा सिन्धु जल सन्धि प्रभावित बनाउने नयाँ दिल्ली सरकारको निर्णयलाई भने युद्ध आह्वानको रूपमा लिने बतायो । भारतले पहलगाम घटनाको निम्ति दोषी भनेको प्रतिकार मोर्चाले पनि औपचारिकरूपमा कहीँ पनि घटनामा आफ्नो संलग्नता स्वीकारेको छैन । केही भारतीय सञ्चारमाध्यमले सामाजिक सञ्जालको सामग्रीकै आधारमा प्रतिकार मोर्चाको संलग्नता दाबी गर्यो । तर, सीएनएनलगायत सञ्चारमाध्यमले त्यस्तो सामग्रीको कुनै आधिकारिकता पुष्टि नभएको समाचार प्रकाशित गर्यो । मे ७ मा भारतीय हवाई सेनाले पाकिस्तान नियन्त्रित कास्मिरका केही भूभागमा कास्मिर प्रतिकार मोर्चाका ‘अखडा’ भन्दै हमला गर्यो । त्यसको केही दिनपछि मे १० मा पाकिस्तानले पनि भारतका केही भूभागमा जवाफी हवाई हमला गर्यो । तर, त्यही दिन दुई देशबिच युद्धविरामको घोषणा पनि भयो ।
पहलगामको गेरु रङ्ग
पहलगाममा बन्दुकधारी समूहको हमलालगत्तै भारतीय समाचारमाध्यमले एउटा प्रसङ्गलाई निकै प्राथमिकताका साथ प्रचार गरे । उनीहरूका अनुसार पहलगाममा बन्दुकधारीहरूले मार्नुअघि मृतकसँग कुन धर्म मान्छौ भनी प्रश्न सोधेका थिए र हिन्दू धर्म मान्छु भन्नेलाई मारेको र मुसलमान हुँ भन्नेलाई छोडेका थिए । गेरु रङ्गको हिन्दूत्वको लहर चलिरहेको भारतमा मानिसहरूलाई यो समाचारले अझ तरङ्गित बनायो । सञ्चारमाध्यमहरूले पहलगाममा पति मारिएका विधुवाका भावुक तस्बिरहरूलाई प्राथमिकताका साथ प्रचारमा ल्याए । तरङ्गित भारतीय जनमानसको मनस्थिति बुझेर मोदी सरकारले पाकिस्तानमाथिको हमलालाई ‘अपरेसन सिन्दुर’ नामकरण गर्यो ।
पहलगाम घटनापछिका यी घटनाक्रमले भारतमा हिन्दूवादी लहर अझ बलियो बन्दै गएको देखिन्छ । राज्य आफै घटनालाई धर्मको रङ्ग दिन आतुर भएर लागेको देखिएको छ । अनि राज्यको चौथो अङ्ग सञ्चारमाध्यमले यो कर्ममा सरकारलाई कसेर साथ दिएको छ । सञ्चारमाध्यमले फैलाएका सनसनीपूर्ण समाचार र त्यसले भारतीय जनतामा पारेको प्रभावलाई बुझेर हिन्दूवादी सरकारलाई यो घटनामा अझ धर्मको गहिरो रङ्ग मिसाउन उपयुक्त मौका प्राप्त भयो । धर्मलाई भारतीय जनताबिच एकताको सूत्रजस्तो गरी प्रचार गरियो । यसको प्रस्ट कारण मोदी नेतृत्वको सरकारले अँगालेको हिन्दूत्ववादी सिद्धान्त हो जसले भारतलाई धर्मनिरेपक्षताबाट हिन्दू राष्ट बनाउनुपर्नेमा जोड दिँदै आएको छ ।
पाकिस्तानी सञ्चारमाध्यम द नेसनले भारतमाथि एउटा गम्भीर प्रश्न उठाएको छ, भारत पाकिस्तान सीमाबाट ३ सय किलोमिटरभन्दा भित्र भारततिर पर्ने पहलगाम क्षेत्र संसारकै सबभन्दा बढी सैन्य परिचालन गरिएको क्षेत्र हो । त्यस्तो क्षेत्रमा हतियारधारीहरूको गतिविधिबारे भारतीय सेना र प्रशासनलाई कसरी पहिला नै हेक्का भएन ? घटना भएको केही घण्टामै प्रमाणको अनुसन्धान नगरी एकोहोरो पाकिस्तानमाथि आरोप लगाउनु र एकैचोटि सिन्धु जल सन्धिमाथि हमला गर्नु पछाडिको अर्थ के हुनसक्छ ?
सिन्धु जल सन्धि
सन् १९६० मा विश्व बैङ्कको मध्यस्थतामा भारत र पाकिस्तानबिच भएको सिन्धु जल सन्धि संसारकै सबभन्दा सफल दुईदेशीय सन्धिहरूमध्ये एक मानिँदै आएको थियो । किनभने, दुई देशबिच पटक–पटक लडाइँ र विवाद हुँदा पनि सन् २०१६ अघिसम्म यो सन्धिमा कुनै प्रभाव परेको थिएन ।
भारतीय उपमहाद्विपको सभ्यताको इतिहाससँग अन्योन्यास्रित सम्बन्ध जोडिएको सिन्धु नदीको पानी प्राचीनकालदेखि नै सिँचाइ र जनजीवनमा उपभोग हुँदै आएको थियो । बेलायतीहरूले भारतमा उपनिवेश जमाएपछि यो नदीमा केही सिँचाइका पूर्वाधारको विकास गरे । सन् १९४७ मा बेलायती उपनिवेश भारतबाट फर्कियो । तर, जाँदा जाँदै उसले यो देशलाई विभाजन पनि गरेर गयो । त्यही विभाजनको सिलसिलामा सिन्धु नदी पनि दुई देशमा विभाजित गरियो । तिब्बतबाट उद्भव भएर भारत प्रशासित कास्मिर अनि पाकिस्तान हुँदै अरब सागरमा मिसिने ३ हजार १ सय ८० किलोमिटर लामो यो नदीको माथिल्लो भूभाग भारतको भागमा पर्यो भने तल्लो क्षेत्र पाकिस्तानको भागमा पर्यो । हिमालय, हिन्द कुश र कारोकोरम छिचोलेर आउने यो नदी पाकिस्तानी भूभाग पसेपछि पहाडी क्षेत्र र सुख्खा मैदान हुँदै फराकिलो भएर बग्छ । पाकिस्तानको लागि यो नदी सिँचाइ र जनजीवनको लागि निकै महत्वपूर्ण नदी हो । पाकिस्तानी अर्थतन्त्र र जनजीवनमा यो नदीको ठुलो महत्व छ ।
नदीको पानी प्रयोग सम्बन्धमा दुई देशबिच देखिएका समस्याबारे सन् १९५१ मा अमेरिकी अध्येता डेभिड लिलिन्थलले विश्व बैङ्कको मध्यस्थतामा यो विवाद हल गर्न सकिने प्रस्ताव गर्यो । विश्व बैङ्कले उनकै प्रस्तावप्रति सकारात्मक प्रयास थाल्दा सन् १९६० को सेप्टेम्बरमा जल सन्धि भएको थियो । सो सन्धिअनुसार सिन्धु नदी र त्यसका सहायक नदीहरूलाई मुख्यतः दुई भागमा विभाजन गरिएको छ, पूर्वी नदीहरू सतलज, बिज्स, राबी अनि पश्चिम नदीहरू सिन्धु, झेलम र चनाब ।
सन्धिअनुसार पूर्वी नदीको पानीमा भारतको पूर्ण अधिकार हुनेछ भने पश्चिम नदीहरूको पानीमध्ये बीस प्रतिशतमात्र भारतले प्रयोग गर्न पाउने, बाँकी भने पाकिस्तानमा बग्न रोक्न अवरोध गर्न पाउनेछैन । कदाचित सन्धिको मूल मर्ममा कुनै आँच आउने काम भए दुवै देशका प्रतिनिधिहरू संलग्न आयोगले समाधानको खोजी गर्नेछ । सो आयोगबाट समस्या हल नभए स्वतन्त्र विज्ञहरू र न्यायाधीकरणको विकल्पमा जान सकिने सन्धिमा उल्लेख छ । सन्धि गर्न विश्व बैङ्कले मध्यस्थता र पूर्वाधार निर्माणमा भूमिका खेले पनि ऊ लामो समय यसमा संलग्न भइरहन तयार देखिँदैन । उसले आफ्नो वेभसाइटमा सो सन्धिप्रति आफ्नो जिम्मेवारीबारे लेखेको छ, हाम्रो काम सीमित र प्राविधिक खालको मात्र हुनेछ ।
सन् २०१५÷१६ यता भारतले सन्धिको भावनाविपरीत पश्चिम सिन्धु नदीका सहायक नदीहरू झेलम र चनाबमा बाँध बाधेपछि दुई देशबिच सन्धिलाई लिएर विवाद सुरु भएको थियो । भारतले हाल झेलम नदीमा ३३० मेगावाटको किसनगङ्गा जलविद्युत् आयोजना निर्माण गरिसकेको छ भने चनाब नदीमा रत्ले जलविद्युत् आयोजना निर्माणाधीन छ । सन्धिअनुसार ती नदीहरूको प्रयोगको निम्ति पाकिस्तानको स्वीकृति आवश्यक थियो । तर, पाकिस्तानको आपत्तिबिच ती जलविद्युत् परियोजना निर्माण गरिए । पाकिस्तानले यो विषयलाई सन्धिले निदृष्ट गरेअनुसार आयोगबाट समाधानको प्रयास गर्यो । तर, ठोस समाधान नआएपछि पाकिस्तानले स्वतन्त्र विज्ञ र न्यायाधीकरणको विकल्पमा जान विश्व बैङ्कसमक्ष आवेदन गर्यो । हाल किसनगङ्गा र रत्ले जलविद्युत् आयोजना सन्धिले देखाएको त्यही प्रक्रियामा छ । कुनै ठोस निर्णय आइसकेको छैन । यसबिच पहलगाम हमलालाई देखाएर मोदी सरकारले हठात् सन्धिबाट आफूले हात झिकेको घोषणा गर्यो । मोदीले युद्धविरामपछिको आफ्नो भाषणमा भनेका छन्, पानी र रगत सँगै बग्न सक्दैन ।
घटनाक्रमलाई यसरी नियाल्दा मे महिनाको पहिलो साता भएको लडाइँ पहलगाम हमलासँग मात्र सीमित देखिँदैन । बरु पहलगाम हमलालाई आधार बनाएर कतै अर्कोतिर प्रहारको गोप्य मन्त्रणा भइरहेको बुझ्न गा¥हो छैन । संसारलाई थाहा छ, पहिलो विश्व युद्धको सुरुवात अस्ट्रियाका एक जना राजकुमारको हत्याबाट सुरु भएको बताइन्छ । खासमा विश्व युद्धका अनेकानेक अरु आर्थिक र राजनीतिक कारण थिए । तर, त्यो हत्या एउटा बहाना बन्यो । त्यसरी नै मोदी सरकारले पहलगाम हमलाको तीर अर्कै लक्ष्य भेदनको निम्ति प्रयोग गर्न खोजिरहेको विश्लेषण निराधार हुनेछैन ।
किन सिन्धु ?
मोदी सरकारले किन सिन्धु जल सन्धिमै प्रहार गरिरहेको छ ? यसका केही कारण निम्न हुन सक्छन् ः
पहिलो, माथि चर्चा गरिएजस्तै सिन्धु नदी पाकिस्तानको अर्थतन्त्रसँग मात्र होइन, दैनिक जनजीवनसँग प्रत्यक्ष जोडिएको नदी हो । अन्तर्राष्ट्रिय कानुनले यसरी नदीमा आश्रित मानिस, प्राणी र पर्यावरणलाई प्रभावित पार्न माथिल्लो तटीय देशले काम उपयोग गर्न दिँदैन । मोदीले सिन्धु नदीका माथिल्ला तटमा यसरी बाँधहरू बनाउँदै गए नदीमा पानीको प्रवाह कम हुँदै पाकिस्तानी जनजीवन अस्तव्यस्त र अर्थतन्त्र कमजोर बनाउनेछ । पाकिस्तानलाई कमजोर बनाउन उसले प्रयोग गर्न सक्ने सबभन्दा उपयुक्त हतियारमध्ये एउटा हो । तर, तल्लो तटीय क्षेत्रका जनताको न्यूनतम मानव अधिकारको उल्लङ्घन हुनेछ ।
दोस्रो, मोदीले सन् २०१९ मा कास्मिरको स्वशासन खोसेका थिए । कास्मिरलाई भारतको संविधानले दिँदै आएका विशेषाधिकार उनले खारेज गरी त्यहाँ केन्द्रको शासन लागु गरेका छन् । त्यसको निम्ति उनले राजनीतिक दमन र सैन्य परिचालनको हतियार प्रयोग गरेका थिए । अहिले कास्मिर संसारकै सबभन्दा बढी सेना र प्रहरी परिचालित क्षेत्रमध्ये पर्छ । कास्मिरका समृद्ध प्राकृतिक स्रोत साधनमाथि केन्द्र सरकारको नियन्त्रणको निम्ति पनि मोदी सरकारले त्यो निर्णय लिएको अहिलेको घटनाक्रमले देखिँदै छ । कास्मिरका प्राकृतिक स्रोत साधनमा केन्द्र सरकारको बढ्दो भूमिकाले कास्मिरमा नयाँ दिल्लीको पकड अझ बलियो बन्दै जानेछ । जसले कास्मिरी जनताको अधिकारको लागि लडिरहेका लडाकुहरूलाई कमजोर बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
भारतका हिन्दूत्ववादीहरू सुरुआतदेखि नै कास्मिरलाई प्रदान गरिएको विशेषाधिकारको विपक्षमा थिए । भारतीय जनता पार्टी (भाजपा) को पुर्खा भारतीय जनसङ्घका नेता श्यामाप्रसाद मुखर्जीको यही मुद्दामा अनसन बस्ने क्रममा निधन भएको थियो । उनीहरू कास्मिरमा नयाँ दिल्लीको बलियो उपस्थितिमार्फत मुसलमान जनतामाथि नियन्त्रणको पक्षमा छन् । उनीहरू कास्मिरी हिन्दूहरूमाथि मुसलमानहरूले अत्याचार गरेकाले त्यहाँ नयाँ दिल्लीको बलियो सत्ता हुनुपर्ने र हिन्दूमाथिको हमला रोक्नुपर्ने मतका पक्षपाती हुन् ।
तेस्रो, सिन्धु नदीलाई हिन्दूत्ववादीहरू आमा नदी मान्छन् । हिन्दूत्वका पिता भिडी सावरकरले आफ्नो कृति ‘को हुन् हिन्दू ?’ मा हिन्दूहरू सिन्धु नदी हुँदै भारतीय उपमहाद्वीपमा फैलिएको तर्क गरेका छन् । उनको शब्दमा हिन्दू शब्दको मूल शब्द सिन्धु हो । सिन्धु नदीबाट आएको हुनाले नै आर्यहरूलाई हिन्दू भन्न थालिएको उनको तर्क हो । त्यसकारण, मोदी नेतृत्वको आजको हिन्दूत्ववादी भारतीय राजनीतिमा सिन्धुलाई पूर्णतः भारतको मात्र बनाउने चिन्तन पनि सिन्धु जल सन्धिमाथि हमलाको मनोवैज्ञानिक कारण हो ।
यथार्थ
मोदीले जलसन्धिबाट पछि हट्न गरेको घोषणाको राजनीतिक महत्व भए पनि तत्काल त्यसको व्यवहारिक महत्व भने देखिँदैन । किन ? सिन्धु नदीको बगिरहने पानी रोक्न भारतसँग आफ्नो भूभागमा अझै पुग्दो पूर्वाधार बनिसकेको छैन । पूर्वाधारको अभावमा उसले नदीको पानी रोकिराख्न सक्दैन । पानी पाकिस्तानको नियमित बाटो बग्नुको विकल्प छैन । तथापि, उनको घोषणाको महत्व तत्कालको लागि भन्दा दीर्घकालको लागि बाटो सफा गर्नु पनि हुन सक्छ । सन्धिकै कारण कानुनीरूपमा परियोजना बनाउनु सन्धिविपरीत हुने भएपछि सन्धिबाट हात झिकेपछि ऊ जलउपभोग परियोजना निर्माण गर्न स्वतन्त्र हुन्छ । उसमाथि अन्तर्राष्ट्रिय कानुनको कुनै बन्देज लाग्नेछैन ।
अन्त्यमा, नदीको राजनीतिक प्रयोग गरी पानीजस्तो नैसर्गिक प्राकृतिक स्रोतलाई हतियार बनाउनु आधारभूत मानव अधिकारको उल्लङ्घन हो । पाकिस्तानका केही टिप्पणीकारहरूको शब्दमा कास्मिर प्रतिकार मोर्चा सन् २०१९ मा मोदीले कास्मिरको विशेषाधिकार खोसिएपछि स्थापना भएको सशस्त्र समूह हो । उसको गतिविधि भारतको आन्तरिक समस्या हो । उसको गतिविधिलाई पाकिस्तानसँग जोड्नुको कुनै तार्किकता छैन । आफ्नै आन्तरिक राजनीतिक समस्याका कारण जन्मेको सङ्गठनका गतिविधिको दोष पाकिस्तानमाथि थोपर्नु अनि त्यसैलाई बहाना बनाएर नदीको पानी रोक्न खोज्नु भारतीय शासकहरूको षड्यन्त्र हुन सक्छ । भारतको नजर एकातिर, निशाना अर्कोतिरको यो चालबाजी बुझ्न विश्वका सचेत मानिसलाई गा¥हो छैन ।
एकातिर धर्मलाई देशभक्तिसँग जोडेर भारतीय जनताको समर्थन बटुल्ने अर्कोतिर शत्रु पक्षलाई अझ कमजोर बनाउने सकिने दोहोरो फाइदाको खेल खेल्न मोदीजस्ता शासकलाई नयाँ कुरा भने होइन ।
Leave a Reply