यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
नेपालको संविधान जारी भएपश्चात् भक्तपुर नगरपालिकामा दोस्रो कार्यकालको निम्ति निर्वाचित भएको आज तीन वर्ष पूरा भयो । वि.सं. २०७९ साल जेठ ६ गतेको दिन हामीले शपथ ग्रहण गरेका थियौँ । निर्वाचनको समयमा जनताबिच पार्टी घोषणापत्रमार्फत गरेका प्रतिबद्धताअनुसार हामीले काम गरिरहेका छौँ । यो तीन वर्षमा अन्य विभिन्न कार्यहरूको अतिरिक्त मुख्यतया पहिलो वर्ष ख्वप अस्पताल उद्घाटन, दोस्रो वर्ष ऐतिहासिक भाज्या पुखू उद्घाटन र तेस्रो वर्ष आज यो लक्ष्मीनरसिंह मन्दिर उद्घाटन गर्दै छौँ ।
भक्तपुर कला र संस्कृतिले भरिएको प्राचीन नगर हो । यहाँ ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्व बोकेका असङ्ख्य मूर्त तथा अमूर्त सम्पदाहरू छन् । समयको अन्तरालमा कैयौँ सम्पदाहरू लोप भए भने कैयौँ लोपोन्मुख अवस्थामा पुगे । भक्तपुरमा रहेका हरेक सम्पदालाई देशको सम्पत्तिको रूपमा ग्रहण गर्दै भक्तपुर नगरपालिकाले आवश्यकताअनुसार अध्ययन अनुसन्धानसमेत गरी मौलिक शैलीमा पुनःनिर्माण र जीर्णोद्घार गर्दै आएको छ । त्यसमध्येको एक हो – लक्ष्मीनरसिंह मन्दिर ।
मौलिकता गुमेको खण्डमा सम्पदाको महत्व समाप्त हुनेबारे हामी अत्यन्त सचेत छौँ । लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माणको प्रक्रिया सुरु हुनुअघि त्यसको पुरानो स्वरूपबारे धेरै सोधखोज भयो । स्थानीय जनता, इतिहासविद्हरू, प्राविधिकहरूको खोज अनुसन्धानले हाल निर्माण सम्पन्न भएबमोजिमको दुईतले छानासहितको मन्दिर भन्ने निष्कर्ष निकाल्यो र त्यसैलाई आधार बनाई भक्तपुर नपाले नक्सा र लागत इस्टिमेट स्वीकृत गरी पुनःनिर्माण कार्य अगाडि बढाएको थियो ।
समयमै यस मन्दिरको पुनःनिर्माण सम्पन्न गर्ने उद्देश्यले नगर प्रमुखको संयोजकत्वमा लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण निर्देशक समिति, ई. सुजन माकको संयोजकत्वमा प्राविधिक समिति, तत्कालीन वडा नं. ४ का वडाध्यक्ष कुमार चवालको संयोजकत्वमा अनुगमन समिति तथा स्थानीय न्हुछेराम भेलेको संयोजकत्वमा उपभोक्ता समिति गठन गरी पुनःनिर्माण कार्य अगाडि बढ्यो । नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले वि.सं. २०७८ मङ्सिर २७ गते यस मन्दिरको शिलान्यास गर्नुभएको थियो । आज साढे तीन वर्षपछि उहाँकै हातबाट यस मन्दिरको उद्घाटन गराउन पाउँदा हामी अत्यन्त खुसी छौँ ।
मन्दिर पुनःनिर्माणको क्रमसँगै हामीले स्वेच्छाले सहयोग गर्न चाहने महानुभावहरूसँग आर्थिक, भौतिक र श्रमदानको लागि आह्वान ग¥यौँ । सोपश्चात् रु. २२ लाख ६६ हजारभन्दा बढी नगद, ७५० जनाभन्दा बढी जनताको श्रमदान र लाखौँ रूपैयाँ बराबरको जिन्सी सामान सहयोग स्वरूप प्राप्त भएको छ । जनताको साथ र सहयोग भएमा हाम्रा सम्पदाहरू मौलिक स्वरूपमै बनाउन आजका पुस्ता पनि सक्षम छन् भन्ने एक अर्को उदाहरण लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण बनेको छ ।
सम्पदा पुनःनिर्माण र जीर्णोद्धार ठेक्कामा दिन नहुनेबारे हामीले बारम्बार आवाज उठाउँदै आयौँ । मौलिकता संरक्षण गर्ने, स्थानीय सीप, स्रोत र साधनको अधिकतम उपयोग गर्ने, गुणस्तरीय निर्माण र संरचनामा स्थानीय जनताको अपनत्व कायम गर्ने उद्देश्यले उपभोक्ता समितिमार्फत हामीले सम्पदा संरक्षणका कामहरू गर्दै आएका छौँ । कुनै विदेशीको सहयोगबिना भक्तपुर नगरपालिका र स्थानीय जनताको सहयोगमै यो मन्दिर पुनःनिर्माण गर्न पाएकोमा हामीलाई गर्व लागेको छ । यो सहयोगी भावनालाई सधैँ कायमै राख्नुपर्छ साथै नयाँ पुस्ताको लागि यो महत्वपूर्ण शिक्षा हुनेछ ।
मन्दिर पुनःनिर्माणसँग सम्बन्धित सम्पूर्ण विवरण समावेश गरेर पुस्तकको रूपमा प्रकाशित गर्ने कोसिस गरेका छौँ । यो पुस्तक इतिहास र संस्कृतिका विद्यार्थीहरू तथा ऐतिहासिक सम्पदाहरूबारे अध्ययन अनुसन्धान गर्नेहरूको लागि महत्वपूर्ण सामग्री बन्ने हाम्रो विश्वास रहेको छ ।
यस मन्दिर पुनःनिर्माणले भक्तपुरको महत्वपूर्ण सम्पदा क्षेत्र टौमढीको स्वरूपमा सौन्दर्यको एउटा इँटा थपेको छ । यसले पर्यटन विकासको लागि महत्वपूर्ण योगदान गर्ने निश्चित छ । यस्ता सम्पदाहरूको पुनःनिर्माण कार्यलाई निरन्तर अगाडि बढाइरहने विश्वास पनि जनतालाई दिलाउन चाहन्छौँ ।
मन्दिर पुनःनिर्माणको क्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले समय–समयमा अनुगमन गर्नुभई कार्यरत डकर्मी, सिकर्मी, कालिगड, जनप्रतिनिधिहरूलाई उत्साहित गर्नुभयो । उहाँप्रति भक्तपुर नगरपालिकाको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछौँ ।
नेमकिपाका सचिव एवम् प्रतिनिधिसभा सदस्य प्रेम सुवाल, वाग्मती प्रदेशसभा सदस्यहरू सुरेन्द्रराज गोसाई र सृजना सैँजूले पनि पटक–पटक निरीक्षण गर्नुभई निर्माणकर्मी र हामी जनप्र

तिनिधिहरूलाई हौसला प्रदान गर्नुभएकोमा उहाँहरूप्रति पनि हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।
त्यसैगरी, मन्दिर पुनःनिर्माणमा आर्थिक, भौतिक र श्रमदान गरी सहयोग गर्ने सहयोगी दाजुभाइ तथा दिदीबहिनीहरू, भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरू, निर्देशक समिति, प्राविधिक समिति, अनुगमन समिति र उपभोक्ता समितिमा बसेर सहयोग गर्ने सम्पूर्ण सदस्य मित्रहरू एवम् समय–समयमा अवलोकन गरी सल्लाह र सुझाव दिनुहुने महानुभावहरू तथा यस पुस्तक प्रकाशन गर्न लेख, रचना दिई सहयोग गर्ने सम्पूर्ण महानुभावहरूलाई भक्तपुर नगरपालिकाको तर्फबाट हार्दिक आभार एवम् धन्यवाद ज्ञापन गर्दछौँ ।
(२०८२ जेठ ६ गते भक्तपुर नगरपालिकाको आयोजनामा भएको भनपा वडा नं. ४ गःहिटीस्थित लक्ष्मीनरसिंह मन्दिर उद्घाटन कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिद्वारा व्यक्त मन्तव्य)
Leave a Reply