भर्खरै :

सिद्धान्त र व्यवहारमा एकरूपता हुनुपर्छ

हो चि मिन्ह राष्ट्रिय स्वतन्त्रता अभियानका सफल योद्धा हुनुहुन्थ्यो । माक्र्सवादी र लेनिनवादी विचार आत्मसात गर्ने उहाँ भियतनामी राष्ट्रियता र साम्यवादको लागि लड्ने महत्वपूर्ण व्यक्तित्व हुनुहुन्थ्यो । समाजवादका सफल नेता र सच्चा कम्युनिस्ट उहाँ स्वतन्त्र सेनानी पनि हुनुहुन्थ्यो । सर्वहारा अन्तर्राष्ट्रवादमा विश्वास राख्ने कुशल क्रान्तिकारी हो चि मिन्ह स्वतन्त्र सेनानी हुनुहुन्थ्यो । विश्व कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण योग्दान गर्ने उहाँ क्रान्तिकारीहरूको लागि उदाहरणीय हुनुहुन्थ्यो । माक्र्सवादी, लेनिनवादी भावना आत्मसात गर्ने उहाँ राष्ट्रिय स्वतन्त्रताको लागि देशभक्तिपूर्ण सङ्घर्षको प्रतीकको रूपमा चिन्नुहुन्थ्यो ।
हो चि मिन्हको सम्पूर्णजसो जीवन साम्राज्यवादविरुद्ध क्रान्तिकारी सङ्घर्षमा बितेको थियो । संयुक्त राज्य अमेरिकाद्वारा नेतृत्व गरिएको विश्व साम्राज्यवादको विरुद्ध क्रान्तिकारी सङ्घर्ष गर्ने हो चि मिन्ह प्रेरणाका स्रोत हुनुहुन्थ्यो । उहाँ उत्तर भियतनामको राष्ट्रपति मात्र होइन भियतनाम एकीकरण र स्वतन्त्रताका प्रतीक हुनुहुन्थ्यो । विश्वका देशभक्त, प्रजातन्त्रवादी र कम्युनिस्टहरूको लागि राष्ट्रपति हो चि मिन्हको जीवन एउटा विद्यालयजस्तै हो । हिन्द, चीन, एसिया, अफ्रिका र ल्याटिन अमेरिकी जनताले हो चि मिन्हलाई इतिहासको सुनौलो पानामा सम्झिरहेका छन् । उहाँ लेनिनजस्तै सरल, असल र महान् हुनुहुन्थ्यो । उहाँले फ्रान्सेली, जापानी र अमेरिकी साम्राज्यवादीहरूलाई हराउनुभएको थियो । अमेरिकी साम्राज्यवादी र फ्रान्सेली उपनिवेसवादीहरूविरुद्ध लड्न भियतनामीहरू कहिल्यै थाकेनन्; अन्तिम घडीसम्म लडिरहे र भियतनामलाई स्वाधीन बनाएरै छोडे । हो चि मिन्हले भन्नुभएको थियो, “हामी भियतनामीहरू हजार वर्षसम्म जुझ्यौँ; आवश्यक प¥यो भने हामी भियतनामीहरू अरु हजार वर्ष जुझ्नेछौँ । सम्पूर्ण भियतनामी जनताको बलिदानको भावनालाई कुल्चिन सक्ने कुनै सेना र कुनै हातहतियार पनि छैन ।”
हो, क्रान्ति गर्नु, पुरानो समाजलाई नयाँ समाजमा फेर्नु एक निकै गौरवशाली तर ज्यादै बोझिलो काम हो† एक जटिल, दीर्घकालीन र कठिन सङ्घर्ष हो । यदि क्रान्तिकारीले आफ्नो गौरवशाली क्रान्तिकारी अभिभारा पूरा गर्ने हो भने उसमा क्रान्तिकारी नैतिकताको खँदिलो जग हुनुपर्छ । पुरानो समाजको सबभन्दा खराब र सबभन्दा खतरनाक अवशेष व्यक्तिवाद हो । व्यक्तिवाद क्रान्तिकारी नैतिकताविपरीत छ । पुरानो समाजका खराब अवशेषहरू हटाउन र क्रान्तिकारी गुणहरूको विकास गर्न हामीले कठिन अध्ययन गर्नुपर्छ; लगातार प्रगति गर्न आफूलाई शिक्षित पार्नु र सुधार्नुपर्छ । नत्र हामी पछि पर्नेछौँ र अगाडि बढिरहेको समाजले हामीलाई अस्वीकार गर्नेछ । परम्पराको नाउँमा कति कुरीति, अन्धविश्वास, विसङ्गति, जनविरोधी क्रियाकलाप सुधार नभएसम्म, सुधार नगरिएसम्म समाजमा परिवर्तन सम्भव छैन । क्रान्तिकारी गुण भएका या समाज परिवर्तन गर्न चाहेका मानिसहरू या नेता कार्यकर्ताहरू कठिनाइदेखि डराउँदैनन् न दुःखकष्ट वा असफलतादेखि डराउँछन् । तिनीहरू न ढुलमुल गर्छन् न पछि हट्छन् । पार्टी क्रान्ति, वर्ग, राष्ट्र र मानव जातिको हितको लागि तिनीहरूले आफ्नो स्वार्थ त्याग गर्न आनाकानी गर्दैनन् । पार्टीको उद्देश्य प्राप्त गर्नको लागि प्रयास गर्न, मजदुर वर्ग र श्रमजीवी जनताको इमानदारीपूर्वक सेवा गर्नु र कहिल्यै ढुलमुल नहुनु या स्पष्टसँग जनतासमक्ष आफ्नो सिद्धान्त र विचार राख्नु पनि क्रान्तिकारी नैतिकता हो ।
हो, हाम्रो देशका शासक कम्युनिस्टहरूमा क्रान्तिकारी नैतिकताको अभाव छ या छैन । श्रमजीवी वर्गको इमानदारीपूर्वक सेवा गर्ने भावना छैन न त दलको मार्ग निर्देशक सिद्धान्तअनुसार राजनीति नै गरिएको छ । हामी मिहिनेती, मितव्ययी, इमानदार, निष्कपट, अध्ययनशील, देश र जनताको निम्ति कठिनभन्दा कठिनपूर्वक सङ्घर्ष गर्ने भावना, आँट, जोस र जाँगर हुनुपर्छ । उनीहरू जनतासँग मिल्नुपर्छ† भिज्नुपर्छ । जस्तोसुकै परिस्थितिमा पनि सबै शत्रुहरूविरुद्ध दृढतापूर्वक सङ्घर्ष गर्नुपर्छ । अनि मात्र शत्रुलाई हराउन सकिन्छ र आफ्नो क्रान्तिकारी अभिभारा पूरा गर्न सकिन्छ ।
हो चि मिन्हले भन्नुभएको थियो; सबभन्दा पहिले जनताको भलाइ गर अनि मात्र आफ्नो भलाइ गर । पार्टी कार्यकर्ताहरू देशप्रति निष्ठावान, जनताप्रति कर्तव्यपरायण हुनुपर्छ; सिद्धान्त र व्यवहारमा एकरूपता हुनुपर्छ । पार्टी सदस्यहरूले पहिले आफ्नो कर्तव्य पालन गर्नुपर्छ र सुखको अनुभवको खोजी पछि मात्र गर्नुपर्छ ।” सच्चा कम्युनिस्टहरू उपयुक्त कुरालाई आफ्नो जिम्मेवारी या कर्तव्य ठानी काम गर्छन् । के सरकारमा गएका कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताले यी जिम्मेवारी पूरा गरेका छन्; पूरा गर्न लागिरहेका छन् ? तर, विश्वविख्यात क्रान्तिकारी नेता हो चि मिन्हको नेतृत्वमा भियतनामी जनताले ३० वर्षभन्दा बढी अनवरतरूपले फ्रान्सेली, जापानी र अमेरिकी साम्राज्यवादविरुद्ध सङ्घर्ष गरे । अन्ततः साम्राज्यवादी, उपनिवेशवादी पञ्जामा रहेको भियतनाम मुक्त भयो । भियतनामी जनताको मनोबललाई अझ मजबुत पारी साहसी काम गरियो । अतः समस्या समाधानको उपाय निकाल्ने हो चि मिन्ह सैद्धान्तिक व्यक्ति, व्यवहारिक व्यक्ति मात्र नभई योद्धा पनि हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *